Connect with us
Advertisement

३ जना स्रष्टाका छन्दोबद्ध रचना (छन्द दिवस विशेष)

Published

on

विराटचोकः आज छन्द दिवस । यसै अवसरमा छन्दको ज्ञान दिने तथा छन्दमा साहित्य सिर्जना गर्ने ३ जना साहित्यकारले आफ्नो फेसबुक वालमा राखेका छन्दात्मक कविता यहाँ प्रस्तुत गरिएको छ । २ स्रष्टाका कविता आजै उहाँहरुले फेसबुक वालमा राख्नुभएको हो भने १ जना स्रष्टाले नयाँ वर्षको दिनमा राख्नुभएको हो ।

 

 

 

 

 

 

छन्दमोहनी

रामप्रसाद ज्ञवाली

नाच्छिन् छमछम छन्दमा हिम–लता सौन्दर्यकी स्वामिनी
हाँस्छिन् खित्खित छन्दमा मृदु–ल–ता चान्चल्य सौदामिनी
छर्छिन् स्वप्निल जूनले अवनिमा यै छन्दमा चाँदनी
बढ्दैछन् रसछन्दमा कविहरू लाग्दा मिठो मोहनी ।

उड्छन् फुर्फुर वागभित्र पुतली यै छन्द वाची यहाँ
भाँच्छन् कम्मर फन्फनी मुजुरले यै छन्द नाची यहाँ
बाजाको तिरिरी, बतास सिरिरी हुन् छन्दकै रागिनी
बढ्दैछन् रसछन्दमा कविहरू लाग्दा मिठो मोहनी ।

छन्दैछन्द बनेर डुल्दछ यहाँ प्रेमीहरूको मन
छन्दैछन्द बनेर फुल्दछ यहाँ सङ्कल्पको जीवन
माया मोह विमोह द्रोह सबमा छिन् छन्द आकर्षिणी
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मिठो मोहनी ।

मान्छेको सुख छन्द हो र सुखको क्रीडा सबै छन्द हो
मान्छेको दुःख छन्द हो र दुःखको पीडा सबै छन्द हो
छन्दैमा छ परार्थ स्वार्थ अनि यो संसारको जीवनी
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मिठो मोहनी ।

बेछन्दे कविता नि मुक्त लयमा स्वच्छन्दको छन्द हो
जल्ले छन्दबिना छ भन्छ कविता बेछन्दको छन्द हो
अण्ड स्वेदज यी जरायुज सबै हुन् छन्दकै जीवनी
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मिठो मोहनी ।

हावामा, जलमा, अकाश, थलमा सम्पूर्णमा छन्द छ
छन्दैछन्द छ चेतना र मनमा क्यै छन्द बेछन्द त
हुन् विज्ञान र ज्ञान सान सृजना यै छन्दका शोभनी
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मिठो मोहनी ।

मान्छेका सब धर्म कर्म तिनका संस्कार छन् छन्दमै
मान्छेका सुख, स्वर्ग, नर्क मनका विश्वास छन् छन्दमै
छन्दै हुन् नि अशान्ति–शान्ति सबका आशा निराशा पनि
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मिठो मोहनी ।

यो संसार गति– स्थिति– प्रलयका आधार छन् छन्दमै
सारा दृश्य अदृश्य सृष्टि लयका आकार छन् छन्दमै
चुँड्नासाथ सितार छन्द–लयको मासिन्छ यो जीवनी
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मिठो मोहनी ।

 

 

 

 

 

 

 

 

चाहना

कल्पना काफ्ले

आफ्नै यौटा घरजमिन होस् साथमा नोकरी होस्
नातागोता वरपर सबै आत्मसम्मान छाओस्
छोराछोरी सब असल हुन् उच्चशिक्षा सबैको
हेर्ने इच्छा हरपल छ है टाकुरामा पुगेको ।

अग्ला अग्ला हिमशिखरमा हुन्छ सौन्दर्य बास
नक्सा कोर्दै घरतिर लगी छोपी राखूँ सुवास
धारो, पानी, घर र बिजुली साथमा खोज्न आउन्
सोचूँ साँच्चै क्षणभर कतै विघ्नबाधा नआउन्।

घुम्नेफिर्ने अवसर मिलोस् शानले डुल्न पाऊँ
खल्ती रित्तो कति पनि नहोस् खर्च आफैँ जुटाऊँ
निद्रामा झन् अति सहजले स्वप्न राम्रो म देखूँ
राम्रैराम्रो सुखसयलको काव्यधारा म लेखूँ ।

साथीसङ्गी मृदुल धुनका गीत मेरै बजाउन्
देख्दा मेरो मृदुवदन यो अप्सरा नै लजाउन्
मेरै आस्था सबतिर पुगी भावगङ्गा बगाओस्
हत्केलाको श्रमशिविरमा भाग्यले सिक्न आओस् ।

माटो मेरो झलमल बनोस्, चम्कियोस् पाखुरामा
बाटो मेरो अलमल नहोस्, लम्कियोस् टाकुरामा
मेरा आस्था जनक, भृकुटी, बुद्धको स्नेह पाऊँ
मेरो प्यारो हिमशिखरको गर्वले गीत गाऊँ ।

नयाँ वर्षमा

डा. देवी नेपाल 

चढ्दै जान्छ नयाँ नयाँ समयले अग्ला ठुला टाकुरा
छोड्दै जान्छ कता कता विगतका सम्झेर बाँच्ने कुरा
कैले आउँछ दुःखको विष लिई कैले छ त्यो हर्षमा
सारा सङ्कट दूर हुन् सुख सबै छाओस् नयाँ वर्षमा ।

यौटा जीवन एक वर्षसरि हो बद्लिन्छ पालो गरी
कैले हुन्छ वसन्तको मधुरिमा कैले असारे झरी
कैले ग्रीष्म बनेर पोल्छ कहिले हेमन्तझैँ शीतमा
गर्दै युद्ध अवश्य जित्नु छ धरा ऐले नयाँ वर्षमा ।

आयो वर्ष नयाँ अवश्य तर यो सन्त्रासको कालमा
सारा मानव त्रस्त छन् घरघरै माछा बनी जालमा
यो यौटा युगको परीक्षण घडी जित्दैन ती तर्कले
साँच्चै अन्त्य गरोस् विषालु क्षण यो हाम्रो नयाँ वर्षले ।

यो हो युद्धसमान विश्वभरको चल्दैन गोलाबम
मान्छेको हुन सक्छ धैर्य मतिको साँचो परीक्षा क्षण
नाचौँला पछि शान्तिले र सुखले उल्लासले हर्षमा
ऐले शान्त भएर नै घर बसौँ प्यारो नयाँ वर्षमा ।

कोराना विष मृत्यु भै घरघरै डुल्दै गरेको दिन
मान्छे नित्य हजार लाख सजिलै ढल्दै मरेको दिन
मान्छे हो अब नाच्न सक्छ कसरी उत्साहले पर्वमा ?
हाम्रो जीवन यो सुरक्षित बनोस् सोचौँ नयाँ वर्षमा ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बुढासुब्बा गोल्डकप माघ २२ देखि शुरू हुने

Published

on

हरेक वर्ष धरानमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि हुने भएको छ ।

धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गरिरहेको प्रतियोगिताअन्तर्गत यस वर्षको प्रतियोगिता यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ । हिजो पत्रकार सम्मेलनमार्फत गएको वर्ष आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यसवर्ष १० वटा टोलीको सहभागिता रहने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो ।

यस वर्ष प्रतियोगितामा एनआरटी क्लब काठमाण्डौै, चर्च ब्वाइज क्लब काठमाण्डौ, नेपाल पुलिस क्लब काठमाण्डौ, रोयल थिम्फु क्लब भुटान, जर्जियन क्लबका लेम्पुङ भारत, एलए क्लबपोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाटेड क्लब काठमाण्डौ, झापा–११ झापा र धरान फुटबल क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Continue Reading

Banner

नझरेका फूलहरूको गजल मुशायरा सम्पन्न

Published

on

 

नझरेका फूलहरूले विराटचोकमा बुधवार पोएट्री कन्सर्ट एण्ड गजल मुशायरा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।
गीतकार तथा गजलकार रूपनारायण श्रेष्ठको मुख्य प्रस्तुति रहेको गजल मुशायरामा श्रेष्ठले आधा दर्जन गजल सुनाउनुभयो।श्रेष्ठको प्रस्तुतिमा दर्शकले जोडदार ताली र हुटिङसहित मनोरञ्जन लिएका थिए।

त्यस्तै पोएट्री कन्सर्टका लागि आयोजना गरिएको कार्यक्रममा अंशु बस्नेत, शिक्षा खनाल, अनु धिमाल र शान्ता चेमजोङ लिम्बूले समेत बेजोड प्रस्तुति राखेको बताइएको छ।

साहित्यकार पुरन याक्खा,नाट्यकर्मी भरत बर्बरिक,गीतकार गीताप्रसाद श्रेष्ठ, गजलकार यादव भट्टराई, कवि सोम भट्टराई, राजनीतिकर्मी कमलादेवी अधिकारी, सुरेन्द्रबहादुर थापा, मनमाया तामाङ, कविता न्यौपाने बजगाईँ, हिमालय बोर्डिङ स्कुलका प्रिन्सिपल कमल खनाल, शिक्षासेवी सुलोचना अधिकारी, सुजिता राई, युवा नेता मोहन रेग्मी, धनु तामाङ, लीला ढुंगाना, गीता थापा, सीता छाराहाङ त्यस्तै इन्द्रपुर जुनियर जेसिज वर्ष २०२६ का लागि अध्यक्ष रेजिना आचार्य लगायतका दर्शकहरूको सहभागिता रहेको थियो।

नझरेका फूलहरूले उद्घोषण तथा भाषणकला तालिम समापनको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
वृषिका तुम्छाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार पुरन याक्खा रहनुभएको प्रस्तोता केपी घिमिरेले जानकारी दिनुभयो। स्वागत मन्तव्य मनु तामाङले राख्नुभएको थियो।

Continue Reading

Banner

इटहरीमा ‘नीलो प्रेम’ उपन्यासका लेखक पुरुषोत्तम बजगाईँको स्वागत

Published

on

अहिलेको बहुचर्चित उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईँ र प्रकाशक इन्डिगो इन्क प्रकाशनका अध्यक्ष विष्णुकुमारलाई नझरेका फूलहरूले कोशी प्रदेशको इटहरीमा स्वागत गरेको छ। इटहरी स्थित माइतीघर क्याफेमा आज बिहान नीलो प्रेम उपन्यासको चर्चा-परिचर्चाका लागि लेखकसँग पाठक भेटघाट नाम दिएर नझरेका फूलहरूले स्रष्टा भेला गरेको हो। माइतीघर क्याफेसमेतको सहकार्यमा नझरेका फूलहरूले आयोजना गरेको स्रष्टा भेलामा कवि हेमन यात्री, किरण टी लिम्बू, पुरन याक्खा,गोपाल देवान, श्रीप्रसाद पोखरेल, रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ, सुविद गुरागाईँ, गीताप्र्साद श्रेष्ठ, पुष्पा सायरा, दीपा दीपहरि, जि पी तिवारी, राज भट्टराई लगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो। भेलामा सुन्दरहरैँचा, धरान, विराटनगर, इटहरी लगायत अन्य ठाउँका पाठकहरूको समेत उपस्थिति रहेको थियो। लेखक बजगाईँले आफ्नो कृतिका बारेमा बोल्नुभएको थियो। नझरेका फूलहरूका अध्यक्ष केपी घिमिरेको अध्यक्षता रहेको कार्यक्रमलाई रामप्रसाद खरेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा लेखकको हस्ताक्षर सहित पुस्तक बिक्री गरिएको थियोे। भोलि मङ्सिर २४ गते बिहान ८ बजे महेन्द्र बहुमुखी क्याम्पस धरानमा समेत कार्यक्रम आयोजना गरिएको नझरेका फूलहरूले जानकारी दिएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक