मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरमा स्थापना गरिएको शिल्पी नाट्य केन्द्र शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ नाटक ‘छुटेका सपना’ को पहिलो मञ्चनसँगै स्थानीय स्तरमै रंगमञ्चको नयाँ गन्तव्य थपिएको हो। नगरप्रमुख केदारप्रसाद गुरागाईं र नाटकका परिकल्पनाकार तथा निर्देशक युवराज घिमिरेले संयुक्त रूपमा मसाल बालेर नाट्य केन्द्रको उद्घाटन गर्नुभएको थियो।
शिल्पी नाट्य केन्द्रले निर्माण गरेको यो स्थानलाई आगामी दिनमा भुल्के एम्फी थिएटरका रूपमा विस्तार गर्दै कला र संस्कृतिको केन्द्र बनाउने योजना अघि सारिएको छ। उद्घाटनकै दिन मञ्चन गरिएको नाटक हेर्न दर्शकको उल्लेख्य सहभागिता देखिएको थियो, जसले सलकपुरमा रंगमञ्चप्रतिको बढ्दो आकर्षणलाई स्पष्ट पारेको छ।
नाटक ‘छुटेका सपना’ ले समाजमा व्याप्त राजनीतिक, सामाजिक तथा प्रशासनिक विकृतिलाई व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरेको छ। भ्रष्टाचार, ढिलासुस्ती, बेथिति र गरिबीका कारण किसानले भोग्नुपरेका दुःख–पीडालाई कलाकारहरूले सशक्त अभिनयमार्फत जीवन्त बनाएका छन्।
नाटकमा संगीता उराँव, सुशिला लुहार, सम्पदा थुलुङ राई, इच्छा सिंह, कञ्चन दास, पवित्रा खड्का, अनुप तिमिल्सिना, ज्याक डी.सी. बराल, गोविन्द ओली, सुमित भण्डारी, धनराज सुनार, रविन परियार, झकेन बी.सी. र उत्सव काकीं लगायत कलाकारहरूको अभिनय रहेको छ।
कार्यक्रममा कवि कुमार नगरकोटीले कविता वाचन गर्दै सांस्कृतिक माहोल थप जीवन्त बनाउनु भएको थियो। निर्देशक घिमिरेले शिल्पी नाट्य केन्द्रलाई आफ्नो दीर्घकालीन सपनाको सुरुआतका रूपमा व्याख्या गर्दै आफू जन्मेको स्थानलाई नै पहिचानयुक्त नाट्य गन्तव्य बनाउने लक्ष्य रहेको बताउनुभयो। आम मानिस एउटै ठाउँमा बसेर कला अनुभूति गर्न सकून् भन्ने सोचका साथ एम्फी थिएटर निर्माण गरिएको उहाँको भनाइ छ।
नाट्य केन्द्रलाई नाफामुखी भन्दा पनि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानका रूपमा अघि बढाइने स्पष्ट पार्दै घिमिरेले प्रत्येक दुई–दुई महिनामा नयाँ कार्यक्रम ल्याइने योजना रहेको जानकारी दिनुभयो। स्थानीय कला, संस्कृति र सिर्जनालाई मञ्च दिने उद्देश्यसहित सलकपुरबाट सुरु भएको यो प्रयासले पूर्वी नेपालमा रंगमञ्चको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
You must be logged in to post a comment Login