स्थानीय तह
धरान महोत्सव सम्पन्न, स्मार्ट सिटी बनाउन प्रदेश सरकारले सहयोग गर्ने
धरानः ३ दिने धरान महोत्सव आइतबार सम्पन्न भएको छ । धरान स्थापना दिवसको अवसर पारी पुस १८, १९ र २० गते स्थापना दिवस मनाइएको हो ।
महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री शेरधन राईले धरानलाई स्मार्ट बनाउन आवश्यक सहयोग गरिने बताए । धरानलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले चालु आर्थिक वर्षमा पर्यटन नगरी घोषणा गरी १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गरे ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् प्रदेश सभामुख प्रदीप भण्डारीले धरानको पर्यटकीय गन्तव्य, अर्गानिक उत्पादन र मौलिक संस्कृति र परिकारको बजारीकरण गर्न सुझाव दिए ।
कार्यक्रममा हालै भएको दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई गाडीमा राखेर नगर परिक्रमा गराई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राईले स्वर्ण विजेतालाई ५० हजार, रजत विजेतालाई ३५ हजार र कास्य विजेतालाई २५ हजार नगद र सम्मानपत्रले सम्मान गरेका थिए । प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।
सागमा ८ जना खेलाडीले ६ स्वर्ण, १ रजत र ३ कास्य जितेका थिए । सागमा तेक्वान्दोकी सिना लिम्बू मादेनले १ स्वर्ण र १ कास्य जितेकी थिइन् । त्यस्तै, स्वस्तिका तामाङ र निता गुरुङले स्वर्ण तथा युनिसा राईले कास्य जितेका थिए । गल्फमा शुक्र राईले १ स्वर्ण र १ कास्य तथा निरज तामाङले स्वर्ण जितेका थिए । फुटबलमा हेमन्त थापामगरले स्वर्ण तथा बास्केटबलमा डा. आशा राईले रजत पदक जितेकी थिइन् ।
खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले पनि पदक विजेता खेलाडीलाई सम्मान गर्ने बताएका थिए ।
कार्यक्रममा क्षत्री जातिको खस नाच, बाहुन जातिको सङ्गिनी नाच, मगर जातिको हुर्रा नाच, याम्फू जातिको डोकेनी नाच, नेवार जातिको धिमे नाचका साथै मारवाडी, सुनुवार तथा अन्य जातजातिको गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
मितेरी साइनो रहेको पोखरा महानगरपालिकाको सांस्कृतिक प्रस्तुतिका साथै साहित्यिक कार्यक्रम पनि महोत्सवमा भएको थियो । धरानको जन्मदिनको अवसर पारी महोत्सव भएकाले केक काटेर बाँड्नुका साथै डोरी तान प्रतियोगिता पनि कार्यक्रममा भएको थियो ।

Facebook Comment
Banner
सलकपुरमा शिल्पी नाट्य केन्द्रको विधिवत् उद्घाटन, ‘छुटेका सपना’ मञ्चनसँगै सञ्चालन सुरु
मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरमा स्थापना गरिएको शिल्पी नाट्य केन्द्र शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ नाटक ‘छुटेका सपना’ को पहिलो मञ्चनसँगै स्थानीय स्तरमै रंगमञ्चको नयाँ गन्तव्य थपिएको हो। नगरप्रमुख केदारप्रसाद गुरागाईं र नाटकका परिकल्पनाकार तथा निर्देशक युवराज घिमिरेले संयुक्त रूपमा मसाल बालेर नाट्य केन्द्रको उद्घाटन गर्नुभएको थियो।
शिल्पी नाट्य केन्द्रले निर्माण गरेको यो स्थानलाई आगामी दिनमा भुल्के एम्फी थिएटरका रूपमा विस्तार गर्दै कला र संस्कृतिको केन्द्र बनाउने योजना अघि सारिएको छ। उद्घाटनकै दिन मञ्चन गरिएको नाटक हेर्न दर्शकको उल्लेख्य सहभागिता देखिएको थियो, जसले सलकपुरमा रंगमञ्चप्रतिको बढ्दो आकर्षणलाई स्पष्ट पारेको छ।
नाटक ‘छुटेका सपना’ ले समाजमा व्याप्त राजनीतिक, सामाजिक तथा प्रशासनिक विकृतिलाई व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरेको छ। भ्रष्टाचार, ढिलासुस्ती, बेथिति र गरिबीका कारण किसानले भोग्नुपरेका दुःख–पीडालाई कलाकारहरूले सशक्त अभिनयमार्फत जीवन्त बनाएका छन्।
नाटकमा संगीता उराँव, सुशिला लुहार, सम्पदा थुलुङ राई, इच्छा सिंह, कञ्चन दास, पवित्रा खड्का, अनुप तिमिल्सिना, ज्याक डी.सी. बराल, गोविन्द ओली, सुमित भण्डारी, धनराज सुनार, रविन परियार, झकेन बी.सी. र उत्सव काकीं लगायत कलाकारहरूको अभिनय रहेको छ।
कार्यक्रममा कवि कुमार नगरकोटीले कविता वाचन गर्दै सांस्कृतिक माहोल थप जीवन्त बनाउनु भएको थियो। निर्देशक घिमिरेले शिल्पी नाट्य केन्द्रलाई आफ्नो दीर्घकालीन सपनाको सुरुआतका रूपमा व्याख्या गर्दै आफू जन्मेको स्थानलाई नै पहिचानयुक्त नाट्य गन्तव्य बनाउने लक्ष्य रहेको बताउनुभयो। आम मानिस एउटै ठाउँमा बसेर कला अनुभूति गर्न सकून् भन्ने सोचका साथ एम्फी थिएटर निर्माण गरिएको उहाँको भनाइ छ।
नाट्य केन्द्रलाई नाफामुखी भन्दा पनि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानका रूपमा अघि बढाइने स्पष्ट पार्दै घिमिरेले प्रत्येक दुई–दुई महिनामा नयाँ कार्यक्रम ल्याइने योजना रहेको जानकारी दिनुभयो। स्थानीय कला, संस्कृति र सिर्जनालाई मञ्च दिने उद्देश्यसहित सलकपुरबाट सुरु भएको यो प्रयासले पूर्वी नेपालमा रंगमञ्चको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
Banner
पुसमा गाडी दुर्घटनाः २ सय ३८ जनाले ज्यान गुमाए
गएको पुस महिनामा गाडी दुर्घटनामा परेर देशभर २ सय ३८ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुसमा ४ हजार ५ सय ४९ वटा गाडी दुर्घटना हुँदा २ सय ३८ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १ सय ९२ जना पुरुष, ३१ जना महिला, १५ जना बालबालिका छन् ।
पुसमा गाडी दुर्घटनामा ६ सय ६३ जना गम्भीर घाइते भएका छन् । यस्तै ३ हजार ३ सय ५३ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।
पुस महिनामा सबैभन्दा धेरै २ हजार ३ सय ८२ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी ७ सय ३६, बस १ सय ८०, टेम्पो २ सय ४७ वटा दुर्घटनामा परेका छन् । २ सय ८८ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ ।
सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् ।
गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, अनावश्यक ओभरटेक, जाँड–रक्सी खाएर चलाउनु, चालकको असक्षमता, यात्रुले हतारमा बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले पुस महिनामा ८८ हजार ९ सय ६९ जना चालकलाई कारबाही गरेर ८ करोड ४ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।
Banner
पियु सेवा आयोग अध्यक्षमा प्रा.डा. अधिकारी
पूर्वाञ्चल विश्वविद्यालय (पियू) को सेवा आयोगले नयाँ नेतृत्व पाएको छ । विश्वविद्यालयको रिक्त रहेको सेवा आयोगको अध्यक्ष पदमा प्रा.डा. देवेन्द्र अधिकारी र सदस्य पदमा प्राध्यापक समी लामा नियुक्त भएका हुन् ।
२९ जना प्राज्ञिक व्यक्तित्वहरूले आवेदन दिएको यस पदमा २७ जना प्रतिस्पर्धीलाई पछि पार्दै अधिकारी र लामाको जोडीले आयोगको कमान्ड सम्हाल्ने अवसर पाएको हो । विश्वविद्यालयको सेवा आयोगमा हुने नियुक्तिलाई निकै चासोका साथ हेरिएको थियो । नवनियुक्त अध्यक्ष प्रा.डा. देवेन्द्र अधिकारीले आफ्नो झन्डै तीन दशक लामो प्राज्ञिक अनुभवलाई अब विश्वविद्यालयको जनशक्ति व्यवस्थापन र वृत्ति विकासमा खर्चिने बताएका छन् ।
अधिकारीले २०५३ सालमा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसबाट सेवा सुरु गरेका थिए । त्यसपछि उनी २०५७ सालमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा स्थायी भए ।
उनी शैक्षिक र प्रशासनिक दुवै क्षेत्रमा खारिएका व्यक्तित्व हुन् । उनी २०६३ सालमा रिडर (सह–प्राध्यापक) भए भने २०६९ सालमा प्रोफेसर भए । भौतिक शास्त्रका विज्ञ अधिकारीले सन् २०१२ मा छिमेकी राष्ट्र भारतबाट उच्च शिक्षा हासिल गरेका हुन् । ‘मैले २०१२ मा भारतको टीएम भागलपुर युनिभर्सिटीबाट फिजिक्स विषयमा पीएचडी गरेको हुँ,’ उनले भने ।
भोजपुरमा जन्मिएका अधिकारी हाल विराटनगर–१ का स्थायी बासिन्दा हुन् । उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा लामो समय विभागीय प्रमुखका रूपमा काम गरे भने ६ वर्षसम्म रिसर्च म्यानेजमेन्ट सेलको नेतृत्व समेत सम्हालेका थिए । प्रा.डा. अधिकारीसँग पूर्वाञ्चल विश्वविद्यालय मात्र नभई त्रिभुवन विश्वविद्यालय र खुला विश्वविद्यालयमा समेत काम गरेको अनुभव छ । ‘मैले पूर्वाञ्चल विश्वविद्यालयको एकेडेमिक काउन्सिलमा ३ वर्ष र स्ट्यान्डिङ कमिटीमा पनि काम गरेँ । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम बनाउने विषय समितिमा झन्डै १२ वर्ष बसेँ, जुन तीन टर्म हुन आउँछ,’ उनले भने ।
त्यस्तै, विश्वविद्यालयहरूको गुणस्तर मापन गर्ने क्युए प्रक्रियामा उनले कोर्डिनेटरको रूपमा ६ वर्ष बिताएका छन् । स्वास्थ्य शिक्षाको क्षेत्रमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा आयोग छनोट समितिमा ३ वर्ष सदस्य रहेर काम गरेको अनुभवले उनलाई अबको नयाँ जिम्मेवारीमा थप सहज हुने देखिएको छ । ‘मैले खुला विश्वविद्यालयको पाठ्यक्रम निर्माण समितिमा २ वर्ष र त्रिभुवन विश्वविद्यालयको फ्याकल्टी बोर्डमा ३ वर्ष काम गरेको छु,’ उनले आफ्नो अनुभवको फेहरिस्त सुनाए ।
लामो समयदेखि सेवा आयोगमा पदाधिकारी नहुँदा शिक्षक र कर्मचारीहरूको वृत्ति विकास ठप्प प्रायः थियो । पदभार ग्रहण गरेसँगै अधिकारीले ती फाइलहरू पल्टाउन थालिसकेका छन् । उनले भने, ‘अहिले मैले फाइलको अध्ययन गर्दैछु । बढुवा प्रक्रियाहरू अलिकति रोकिएको छ, त्यसलाई अगाडि बढाउन कोसिस गर्दैछु ।’
बढुवा मात्र नभई नयाँ जनशक्तिको लागि खुला प्रतियोगिता गराउनु पर्ने दायित्व पनि उनीमाथि छ । ‘खुला प्रतियोगिताको लागि लिखित परीक्षाहरू गराउनुपर्ने र विज्ञापन खोल्नुपर्ने कुराहरू रहेछन्, म त्यो प्रक्रिया अगाडि बढाउँछु भनेर सरहरूलाई भनिसकेको छु,’ उनले भने ।
तर, हाल निर्वाचनको आचारसंहिता लागेको कारण केही काम रोकिने उनले बताए । ‘अहिले चुनाव पनि छ, त्यसैले आचारसंहिताका कुराहरू हुन्छन् । नयाँ कुराहरू तत्काल गर्न सकिँदैन । निर्वाचन आयोगको सहमतिमा पुराना कामहरू के–के गर्न सकिन्छ, त्यसको थालनी गर्छौँ,’ उनले भने ।
यो नियुक्ति राजनीतिक भागबन्डा भन्दा पनि योग्यता र प्रतिस्पर्धाका आधारमा भएको दाबी गरिएको छ । शिक्षा मन्त्रीको अध्यक्षतामा गठन भएको तीन सदस्यीय छनोट समितिले २९ जना आवेदकहरूको कार्ययोजना र बायोडाटा अध्ययन गरी प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो ।
विश्वविद्यालयमा हाल करिब ३५० कर्मचारी र करिब २०० शिक्षकहरू कार्यरत छन् । यी जनशक्तिको उचित व्यवस्थापन र नयाँ दक्ष जनशक्तिको भर्ना नै आयोगको मुख्य चुनौती हो । नवनियुक्त सदस्य प्राध्यापक समी लामा र अध्यक्ष अधिकारीको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगलाई कत्तिको प्रभावकारी र पारदर्शी बनाउँछ, त्यो भने आगामी दिनले देखाउनेछ ।
तर, लामो अनुभव बटुलेका प्रा.डा. अधिकारीको आगमनले विश्वविद्यालयका शिक्षक र कर्मचारीहरूमा भने उत्साह जगाएको छ । उनले पनि आफ्नो भूमिका अनुसारको जिम्मेवारी तदारुकताका साथ निर्वाह गर्ने बताएका छन् ।
हाम्रो मतबाट साभार
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login