निष्पक्षखबर



कोरोना: हल्ला बढी चर्कियो

ज्यादै नै अफवाह फैलिन गयो सञ्चार हो कारण
साच्चै रोग विना मिल्यो दिन दशा बढ्दै गयो ताडन।
भोका पेट असङ्ख्य दु:ख गरिबी त्यो गाउँ देख्तैछ को ?
मर्दैछन् अनिकालभित्र निमुखा तड्पेर लेख्तैछ को ?

 

को देख्छन् घर गाउँ जीर्ण झुपडी छानो चुहेको यहाँ ?
मुर्दा छोप्न समेत हुन्न कपडा आमा कुहेको यहाँ ?
चर्चा मात्र बटुल्न लेख्छ जसले होला र त्यो लेखक ?
पैसा मात्र कमाउने नियतले को बन्दछन् सेवक ?

 

छन् भन्लान् कुखुरा समुद्र नदमा ती हंसझैँ पौडिने
मिथ्या शब्द सुनेर सत्य नबुझी हल्ला तिरै दौडिने !!
निर्धाका पसिना र मौलिक कुरा को सक्छ औँल्याउन ?
नाङ्गा आङ अभाव विश्वभरमा को सक्छ फैलाउन ?

 

को को छन् धन अन्न रत्नमणिले ती दीर्घजीवी यहाँ ?
को को मूर्ख सदैव मान पदले छन् बुद्धिजीवी यहाँ ?
को भन्छन् वनमा छ औषध यहीँ खोजी गरौँ सज्जन
हल्लाका पछि विज्ञ लाग्दछ भने भुल्नेछ आफ्नोपन ।

 

हावा दैनिक बाँड्छ बासन यहाँ रोक्दैन ऊ व्यस्त छ
पानी दैनिक प्यास मेट्छ जगको कर्तव्य ऊ बुझ्दछ।।
के हुन्थ्यो यदि सूर्य ताप नभए यो सृष्टिको हालत ?
छन् आफ्नै गुण भेद कर्मफलमा यो सृष्टि संवाहक।।

 

प्राणी निश्चित मर्छ जन्मन पुगे तर्केर तर्किन्छ र ?
कोठा बन्द गरेर लुक्न सकिए त्यो काल फर्किन्छ र ?
जस्तै होस् बल दम्भ बुद्धि गतिलो देखाउने मात्र हो
मान्छे भौतिक रूप जीवन लिने लेखाउने पात्र हो।।

 

Spread the love



One thought on “कोरोना: हल्ला बढी चर्कियो

Leave a Reply

Your email address will not be published.