Connect with us
Advertisement
Advertisement

नेपाल प्रवेशबारे कोरोना अझै कन्फ्युज !

Published

on

संसारका अरु देशमा निर्धक्क घुमफिर गरिरहे पनि नेपाल छिर्न नसकेको सोह्रैआना सही हो । तर मान्छे अझै पत्याउँदैनन् । आइसकेको पक्कै हो, कि सरकारले लुकायो कि डाक्टरले देख्न सकेन भनेर आशंका गर्छन् । अरुले त शंका गरे गरे, आफूलाई ठूलै डाक्टर हुँ भन्ने मान्छे पनि त्यसै बुरुकबुरुक गर्छन् । सरकारलाई मात्रै होइन, कोरोनालाई नै खाउँलाझैं गरी चोरऔंला ठड्याउँदै, दाह्रा किट्दै, कुटौंलाझैं गर्छन् । अन्त आउने हाम्रोमा अझै किन नआएको हँ भनेझैं गर्छन् । आइसक्या छ तर सरकारले पत्ता लगाएन भनेर घोक्रो सुकाउने गरी कराउँछन् ।

हैन मन्त्रीको सम्पत्तिजस्तो हो र, लुकाएर लुक्न मिल्ने ? डाक्टरको अक्षरजस्तो हो र, हेर्दा पनि नदेखिने, नबुझिने ? न कसैले लुकाउन सक्छ, न कसैले झुक्याउन ? आएपछि त आयो आयो । तर मान्छे मरे पत्याउँदैनन् ।

जे कुरामा पनि शंका गर्ने नेपालीको पारा देखेर कोरोनालाई रीस उठेर आउँछ । ‘हो लुकेर बसेको थिएँ, अब निस्किएँ, के गर्छौ ? पहिले तिमीहरुबाटै सुरु गरौं त’ भनेर झम्टन मन लाग्छ । तर भाइरस भइयो भन्दैमा धैर्यता गुमाइहाल्न मिल्दैन भनेर कोरोना पर्ख र हेरको अवस्थामा छ ।

खराब र मौकाको फाइदा लिन जानेका नेपालीहरु देखेर कोरोनालाई एकपटक नेपाल छिरेर देखाउँ जस्तो पनि लाग्छ । फेरि खानपान, जीवनशैली, आस्था र आत्मविश्वासमा भर पर्ने नेपालीको विश्वास तोड्न मन पनि लाग्दैन । त्यसमाथि मास्क लगाएर को कस्तो भन्ने नै नचिनिने भएका छन् । सबै हात धोएर कोरोनाको पछि लागेका छन् । के गर्ने, के नगर्ने ? नेपाल प्रवेशबारे कोरोना अझै कन्फ्युजमा छ ।

कसैलाई कोरोना नेपाल आएन भन्ने चिन्ता छ । कोही आउँदै आउँदैन भनेर त्यसै ढुक्क छन् । अनि कोहीकोही चाहिँ कोरोनाको हल्ला गरेर कमाउन र रमाउन व्यस्त छन् । थरीथरीका नेपाली देखेर कोरोनालाई उदेक लाग्छ । अझ सरकारको पारा देखेर अचम्म लाग्छ ।

सार्वजनिक गाडी र हवाईसेवा रोकेको छ, तर भारतीय सीमा नाका खुलै छ । मानौं कोरोनाले नेपालभर चल्ने गाडी र बाहिरी देशबाट आउने जहाजको मात्र यात्रा गर्छ, भारतीय नाकाबाट पस्दैन । भारतका ठाउँठाउँ चाहारिसकेको कोरानालाई एकपटक त्यही खुला नाकाबाट नेपाल छिरौं कि क्या हो भन्ने झोंक पनि चल्छ ।

लाखौं विद्यार्थी परीक्षाको तयारीमा थिए । पढ्ने काम सकिसकेको थियो, कापीमा लेख्न मात्रै बाँकी थियो । त्यहीबेला सरकारले परीक्षा स्थगित भनिदियो । उत्साहित भएर लेख्न ठिक्क परेका विद्यार्थी निराश र त्रसित भए । विद्यार्थी मात्र होइन, सबै डराए । अहिले काठमाण्डौका बसपार्क र सडक दशैं लागेजस्तो भएको छ ।

पोकापन्तुरा बोकेर घर जानेहरुको लर्को लागेको छ । नेपाली डराए भनौं भने हामीजस्तो बलिया कोही छैनौं भनेर फूर्ति लगाउँछन्, डराएनन् भनौं भने हल्लैहल्लामा पोको बोकेर गाउँ कुद्छन् । आतंक फैलाउने उस्तै, आतंकित बनाउने उस्तै ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ । २५ जनासम्म सँगै भेला हुँदा चाहिँ कोरोनाले नछुने, २६ जना मात्रै भयो भने चाहिँ छुने ! कति धेरै जान्ने नेपाल सरकार ! अनि सार्वजनिक बसमा ५० जनाभन्दा बढी चढेकै छन्, सिटभन्दा बढी बसेकै छन् । त्यहाँ २५ जनाभन्दा बढी भयो भनेर कसले सम्झाउने ? सिट क्षमताभन्दा धेरै किन बसेको भनेर कसले भन्ने ? नेपालको कानुन र व्यवहार सम्झेर कोरोनालाई हाँसो पनि उठ्छ ।

कोरोनालाई लाग्यो, प्रायः सबै नेपाली फुर्सदिला र सृजनशील रहेछन् । केही न केही उट्पट्याङ गरिरहने, फेसबुकमा थरीथरी लेखेर मान्छेलाई आतंकित बनाउने । उट्पट्याङ गरेर कोरोनालाई हाँसोमा उडाउने र अरुलाई तर्साउनेलाई पहिले सङक्रमण सार्न मन थियो । त्यसो गर्न पनि अहिले ठिक लागेन ।

सरकारले केही गरेन भनेर गाली गर्ने, अनि केही गर्न थालेपछि यस्तो पनि गर्छन् भनेर बुरुकबुरुक गर्ने नेपालीको बानी त झन् बुझिनसक्नु । तीनवटा ग्यासको सिलिण्डर घर पुर्याएपछि चौथोपटक सिलिण्डर लिन जाँदा अभाव भयो भनेर सरकारलाई गाली गर्नेहरु पनि रहेछन् ।

कोरोना सम्झेर धेरैलाई डर भए पनि ग्यास, तेल, खाद्यान्न र मास्क बेच्ने चाहिँ नडराउने रहेछन् । सबै मरे पनि आफू मात्रै बाँचौंला भन्ने रहेछ यिनलाई । पहिले नाकाबन्दी लगाउँदा कतिले तेल बेचेरै घर बनाएका थिए । अहिले मास्क बेचेर घर बनाउन खोज्नेहरु धेरै रहेछन् । अभाव र संकटको बेला ठग्न र कमाउन पल्केकाहरुलाई आक्रमण थालेर नेपाल प्रवेश गरौं कि भन्ने पनि कोरोनालाई लाग्यो । तर अझै पर्खौं न के के उपद्रो गर्न जानेका रहेछन् भनेर फेरि चुप भयो ।

नेपालका टेलिभिजनमा मात्रै होइन, ठाउँठाउँमा कमेडी च्याम्पियन हुने रहेछन् । कोरोना भाइरसको नाममा नयाँ जागिर मिलेको रहेछ मान्छेहरूलाई । बन्दाको पातदेखि सालको पातसम्म, बाँसको चोयादेखि रुखको बोक्रासम्मको माक्स बनाएर फोटो प्रदर्शन गरिरहेका छन् । फेसबुकमा उस्तै । कोरोनालाई लाग्यो, प्रायः सबै नेपाली फुर्सदिला र सृजनशील रहेछन् । केही न केही उट्पट्याङ गरिरहने, फेसबुकमा थरीथरी लेखेर मान्छेलाई आतंकित बनाउने । उट्पट्याङ गरेर कोरोनालाई हाँसोमा उडाउने र अरुलाई तर्साउनेलाई पहिले सङक्रमण सार्न मन थियो । त्यसो गर्न पनि अहिले ठिक लागेन ।

अब हामी कोरोना भाइरसको दबाइ बनाएर, बेचेर सम्बृद्ध हुन्छौं भनेर गफ दिनेहरु पनि रहेछन् । कोरोनाको चिन्ताभन्दा धेरै आनन्द लिनेहरु पनि रहेछन् । कोही अब घरमा पाहुना आउँदैनन् भनेर मख्ख । कोही अब स्कुल क्याम्पस र कार्यालय बन्द भयो, पढाउन र काम गर्न जान पर्दैन भनेर दंग । ख्वाक्क खोक्दा र हाच्छ्युँ गर्दा बम पड्केको र भुईंचालो आएकोभन्दा धेरै डराउने पनि रहेछन् । त्यसकै निहुँमा अफिस आउँदिन है, नत्र रुघाखोकी सर्ला भनेर डर देखाउनेहरु पनि रहेछन् ।

कोरोनालाई एक मनमा लाग्छ, अवसर र मौका छोपेर गलत गर्नेहरुलाई मात्रै छानीछानी पछारौं । अर्को मनमा लाग्छ, नेपालमा मान्छेको ज्यान लिने र अर्थतन्त्रलाई तहसनहस बनाउन अरु धेरै कुरा नै काफी छन् । कोरोनाभन्दा डरलाग्दो भ्रष्टाचार छ । कोरोनाले भन्दा रक्सीले धेरै मरिररहेका छन् । छुवाछुत, बोक्सी जस्ता अन्धविश्वासमा भर परेर त्यसमै ज्यान लिने र ज्यान फाल्नेहरु पनि छन् । रुघाखोकी र झाडापखालाले मर्नेहरु अझै कति छन् । अकालमा मर्न र मार्न कोरोना नै नचाहिने । कतिपय नेपालीका कुबुद्धि, कुविचार र कुबाटो नै पर्याप्त रहेछन् ।

खराब र मौकाको फाइदा लिन जानेका नेपालीहरु देखेर कोरोनालाई एकपटक नेपाल छिरेर देखाउँ जस्तो पनि लाग्छ । फेरि खानपान, जीवनशैली, आस्था र आत्मविश्वासमा भर पर्ने नेपालीको विश्वास तोड्न मन पनि लाग्दैन । त्यसमाथि मास्क लगाएर को कस्तो भन्ने नै नचिनिने भएका छन् । सबै हात धोएर कोरोनाको पछि लागेका छन् । के गर्ने, के नगर्ने ? नेपाल प्रवेशबारे कोरोना अझै कन्फ्युजमा छ ।

–उज्यालो अनलाइन डट कम

कोरोना: हल्ला बढी चर्कियो

Continue Reading

Facebook Comment

Advertisement
14 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

गीति लेखनका सूत्रधार रत्नसमशेर थापाको जीवनी

Published

on

गीति लेखनका सूत्रधार अग्रज रत्न समशेर थापा अब हामी माझ रहेनन् । रहे त तिनै कालजयी सिर्जना । उनै सर्जक थापाको संक्षिप्त जीवनी यहाँ प्रस्तुत गरिएको छ ।

थापाको जन्म र बाल्यकाल
रत्न समशेर थापाका पूर्खाहरु काभ्रे जिल्लाको ओपी भन्ने ठाउँबाट बसाइँ सरी काठमाडौ आएका हुन् । उनका कुप्रा बाजे केशरसिंह थापाका दुई बहिनीहरु धीर शमसेरले विवाह गरेपछि एक जना फुपूकी सन्तानलाई शमसेर, र अर्की फुपूका सन्तानलाई जङ्गको उपाधी राणाहरुले दिएका हुन् ।

डायमण्ड शमसेरले नेपाली उपन्यास (सत्प्रयास) मा चन्द्र शमसेरका मामा केशरसिंह थापा भनी उल्लेख गरेको पाइन्छ । यिनै केशरसिंहका पनाति हुन् कवि तथा गीतकार रत्न शमसेर थापा ।

केशरसिंहका कान्छा छोरा पद्म शमसेरका ७ भाइ छोरामध्ये माइला छोरा तीर्थ शमसेर थापाका ४ सन्तानमध्ये एक मात्र छोराका रुपमा उनी १९९४ साउन १६ गते काठमाडौंको कमलपोखरीमा जन्मिए ।

आमा स्व. तुलाकुमारी जुद्ध शमसेरका हजुरिया कर्नेल स्व. इन्द्रबहादुर कार्कीकी छोरी हुन् । त्यसो त राणाकालमै बाबु तीर्थ शमसेरले कोलकोत्ताको सेन्ट जेभियर्स कलेजबाट स्नातक पास गरेका थिए ।

कमलपोखरीको मूलबाटोबाटै देखिने त्यो अग्लो तीन तले पुरानो ढाँचाको सेतो घरले हिजोसम्म शमसेर थापाहरुको पारिवारिक इतिहासको परिचय दिन्थ्यो । जहाँ थापाले बाल्यकाल रमाउँदै बिताएका थिए । तर २०७२ सालको महाभूकम्पले यसलाई भग्नावशेषमा बदलिदियो ।

शिक्षादीक्षाः
४\५ वर्षको उमेरमै श्रीपञ्चमीको दिन थापाले घरबाटै शिक्षा आरम्भ गरे । यो क्रममा महाकवि देवकोटादेखि रामप्रसाद जोशी, दाहाल सर, हीरारत्न र मोहनविक्रम यिनका गुरु रहे । दरबार हाइस्कुलबाट वि.स.२००९ मा म्याट्रिक दिए पनि उनले एकपल्ट असफलता बेहोर्नुपरेको थियो ।

२०१० मा विभिन्न कठिनाइका बाबजुद पनि उनलाई सफलता हात लाग्यो । तत्पश्चात थापाको उच्चशिक्षा त्रिचन्द्र कलेजमा शुरु भयो । उनी दिवा सेवाको कक्षामा विज्ञान विषय लिएर भर्ना भए । अतिरिक्त समयमा स्कुलको शिक्षक पनि बन्न पुगे । २०१२ मा दोस्रो वार्षिक परीक्षा दिँदै गर्दा उनी अचानक बेहोश भए । यही कारण उनको परीक्षा पूरा हुन सकेन । यसरी परीक्षा अड्केका र अलमलमा परेका थापा जोगबनीको चिनी कारखानामा जागिरे हुन पुगे । फेरि जागिरे जीवनबाट पनि हात धुँदै २०१५ मा काठमाडौं फर्किए ।

२०१६ बाट फेरि त्रिचन्द्र कलेजमा भर्ना भई आफ्नो उच्च शिक्षा अगाडि बढाए । यसैबेला स्व. नातिकाजी, नारायण गोपाल, सुशीला कंसाकार, दीपक अर्याल, उत्तम कुँवर, मदन रेग्मी, बालमुकुन्ददेव पाण्डे, डा. लोकविक्रम थापा, डा. पुष्करराज सत्याल, डा. ठाकुरप्रसाद पन्त, पाइलट स्व. शिवबहादुर थापा, बासुदेव त्रिपाठी, जनकनाथ प्याकुरेल आदि सहपाठी र सहकर्मीका रुपमा उनले पाए । विशेषगरी नारायण गोपाल, नातिकाजी, दीपक अर्याल र उनी कलेजको वार्षिक उत्सवमा निकै सक्रिय देखिन्थे । यसै समयमा आपसको सहयोग र संयोगबाट स्रोताको मन जित्दै समाजमा आफ्नो परिचय दिन सफल साबित भइसकेका थिए ।

यसै समयमा थापाको पहिलो गीत ‘गाजलु आँखा मोहनी रुप हँसिलो मुहार…’ नारायण गोपालको स्वरमा पहिलो पटक रेडियो नेपालबाट प्रसार भएको थियो । साथै ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो…’, ‘बिछोडको पीडा नसकी खप्न…’, ‘जाग, लम्क चम्क हे…’, ‘आँखाको भाका…’, ‘स्वर्गकी रानी….’, ‘मधुमासमा यो दिलको बाग…’, ‘कुञ्जमा गुञ्जियो…’, ‘मौन छु आँशु पिई…’, ‘सेरो र फेरो मेरो अँध्यारो पारी गयौ…’ गरी उनका कुल १० गीत नारायण गोपालले गाए । जुन गीत आज पनि कालजयी छन् ।

यसरी २०२२ मा स्नातक पूरा गरी २०२६ मा त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एमए गरे । २०१० देखि शुरु भएको उच्च शिक्षा विभिन्न समस्याका बीचमा उनले २०२६ सालमा आएर पूरा भयो ।

दाम्पत्य जीवन र परिवार
४६ वसन्त पार गरेपछि सप्तरीको कञ्चनपुर निवासी २६ वर्षीया भैरवी बस्नेतसंग २०४२ बैशाख महिनामा उनको विवाह सम्पन्न भयो । विवाहको ४ वर्षको अन्तरमा २ छोराको जन्म भई ४ जनाको सुखी परिवार बन्यो ।

आर्थिक स्थिति
मध्यमवर्गीय थापा खलकको ठूलो परिवारमा जन्म भए पनि प्रायः सबैजसो सेनामा जागिरे भएकाले खासै आर्थिक संकटको स्थिति नआएको देखिन्छ । पुख्र्याैली सम्पत्तिको रुपमा कमलपोखरीको २२ रोपनी जग्गा अंशबन्डा भइसकेपछि उनी त्यहीँ अलग्गै आफ्नै निवासमा बसे । जागिर खासै नखाए पनि आफ्नै लेखनप्रति इमान्दार रही यसैलाई पेशा तथा कर्म क्षेत्र बनाएका छन् ।

पुरस्कार र सम्मान
नेपाल राष्ट्रिय पुस्तकालयद्वारा आयोजित गायन प्रतियोगितामा २०१४ मा पहिलो र छिन्नलता पुरस्कार २०४० तथा गद्दी आरोहण २०५३ उनले प्राप्त गरे । रेडियो नेपालद्वारा विशिष्ट कदरपत्र २०५३, साधना सम्मान र युगकवि पुरस्कार २०५६, मुक्ति पुरस्कार २०५६ नेपाल सम्मान २०५७, भीमनिधि तिवारी सम्मान २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८, प्रथम गोर्खा दक्षिण बाहु चौथो, बीपी स्मृति पुरस्कार र कान्तिपुर विशेष सम्मान इमेज लाइफ टाइम अचिभमेन्ट आदि उनले पाएका सम्मान तथा पुरस्कार हुन् ।

विदेश भ्रमण
विदेश भ्रमणमा दिल्ली, पाकिस्तान र मुम्बईको भ्रमण अरु भन्दा विशेष, विशिष्ट र अविष्मरणीय छन् ।

मुम्बईमा सङ्गीतकार जयदेवले गीत माग्दा आफूसँग गीत नहुनु र पाकिस्तानी सङ्गीतकार वाजिद अलि नासादले तुम्हारा बापका गीत ए हए कि नहीँ भन्दा घुँडा समाती नतमस्तक हुनु, दिल्लीमा प्रदीप रिमालले साहिर लुध्यन्बी लाई हि इज अल्सो पोएट फ्रम नेपाल भन्दा साहिरले यु मस्ट कम टु माइ प्लेस भन्नु र दिल्लीकै प्रमुख कवि गिरिजाकुमार माथोरले कविता वाचन गरेको सुनेपछि (आपका कविता विराट हे भन्नुस्) भन्नु उनका घतिला र दिमागी डिस्केटमा इरेज नै नहुने इभेन्टहरु हुन् । धुँदा पनि नजाने गरी बसेका सम्झनाका टाटाहरु हुन् । प्रसंशा चाहिन्छ र काम अनुसार पाउनुपर्छ भन्ने मान्यतामा अडिग थापा यसरी अरुले आफ्नो बारेमा व्यक्त गरेको कुराले प्रफुल्लित र आल्हादित मुद्रामा वर्षापछिको आकाश खुलेझैँ खुल्थे । जस्तै,

मलाई उठाउने तिमी नै हौ भन्दै गायक माणिक रत्नले १०५ प्रतिशतमा १०० नै क्रेडिट दिन्छु भन्दा उनी अहिलेसम्म आधाआधामै सम्झौता गरौं भन्दछन्, तर माणिक रत्नले नमान्दा ठीकै छ भनी हर्षित मुद्रामा स्वीकार्छन् ।

‘१०० भन्दा अर्को ५ मा जाँदा अतिशयोक्ति हुने हुनाले मैले एकल गायक तथा सङ्गीतकार भई उनीसँग काम गरे पनि कुनै ५ दिन सक्या छैन । किनकि अग्रज माणिकले सय मा सय दिई सकेपछी अब कुनै अतिरिक्त प्रतिशतको खाँचो छैन भन्ने मेरो ठम्याइ हो’, उनी भन्छन् ।

प्रभाव र प्रेरणा 
विशेषत घरेलु वातावरण, स्वर्गीय आमा, कान्छा मामा, काइँला काका मणि समशेर (जसले राग गाउँदा माइक नै फुट्लाजस्तो भएर १० फिट पर राख्नु पथ्र्याे), गायन शिरोमणि यज्ञराज शर्माले उनलाई सेतो साँढे भनी उपाधी नै दिएका थिए । उनीहरुकै प्रभाव र प्रेरणाद्वारा थापाले सानैमा तबला बजाउन सिके ।

रोमान्टिक कविहरुका कविता मन पराउने थापा अप्रत्यक्ष स्वदेशी तथा विदेशी कविहरुबाट प्रभावित भएको स्वीकार्छन् । उर्दू र हिन्दी लेखनमा साहिर लुदयान्बि, शकिल बदायी, मर्जु सुल्तानपुरी, राजा मेदि अलिखां, शैलेन्द्र, प्रदीप, गोपालसिंह नेपालीबाट उनी प्रेरित थिए । नेपालका अग्रज तथा समकालीन कवि तथा गीतकारहरु लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, भीमनिधि तिवारी, लेखनाथ पौडेल, माधवप्रसाद घिमिरे, रमेश धिताल, किरण खरेल, भीम विराग, भूपि शेरचन, वैरागी काइँला, ईश्वरबल्लभ, प्रेमविनोद नन्दन, मोहनहिमांशु थापा, मोहन कोइराला, कृष्णभक्त आबिाट उनी प्रेरित थिए ।

सानो उमेरमा स्रोता र पाठकमा आफ्नो वास्तविक नामबाट नआऔँ भन्ने विचारले होला, २००८ सालमा रचित उनको पहिलो रचना ‘मन पर्छ त्यो रात (आरएस मधुरको) नामबाट पटनाको म्याग्जिनमा छापियो । तर मित्र जनकनाथ प्याकुरेलको सुझावअनुसार वास्तविक नाम राखी रचना प्रकाशन गर्न थाले ।

अर्थपूर्ण र आफूलाई चुनौती दिने कुनै पनि विषयमा थापालाई अझै लेखौझैँ लाग्थ्यो । कलम र शरीरमा ताकत रहुन्जेल अष्टचिरञ्जीवीले काललाई जितेझैँ आफू पनि लेखनमा लागिरहने उनको भनाइ थियो ।

स्वागत गीत, देशभक्ति गीत, भजन, अभिनन्दन, चेतनामूलक गीत, प्रेमपूर्ण गीत, गजल, ठुमरीलगायत धेरै प्रकारका गीत उनले लेखेका छन् ।
जीवनलाई ईश्वरको वरदानको रुपमा लिने थापा धुनमा गीत लेख्न सक्नुको रहस्यमा सानैदेखि तालको आफूमा हुनु नै कारक भएको बताउँथे । अम्बर गुरुङको धुनमा लेख्न आफूबाहेक अरुले नसकेको उनी सुनाउँथे । यसको ज्वलन्त प्रमाण क्वायर लेखन हो । उनी विशेषत अन्त्यानुप्रास मात्र नमिलाई पुरै छन्दमा गीत लेख्न रुचाउँथे ।

यो उमेरसम्म मात्र गीति क्षेत्रलाई अँगाल्दै जागिरे जीवनको वास्ता नगरी आम्दानीविहीन क्षेत्रसँग झुमेर बस्न चाहनु र बस्न सक्नु, धैर्यको बाँधमा रत्तिभर हलचल आउन नदिनु, अत्यन्त ठूलो त्याग र निष्ठा भनी हामी सबैले स्वीकार्नैपर्छ ।

उनले नेपालका प्रायः सबै कलाकारसँग काम गरे । नारायण गोपाल, प्रेमध्वज प्रधान, माणिक रत्न, पन्नाकाजी, पीएल श्रेष्ठ, अम्बर गुरुङ, फत्तेमान, योगेश वैद्य, रुबि जोशी, भक्तराज आचार्य, नगेन्द्र हाडा, उदय समशेर, कनैया, दीप श्रेष्ठ, दीपक जङ्गम, दीपक खरेल, ओमविक्रम बिष्ट, रमेश ताम्राकार, रबिन शर्मा, निर्मल रिमाल, प्रकाश श्रेष्ठ, सुदेश शर्मा, रामकृष्ण ढकाल, यम बराल, राजेश पायल राई, शिशिर योगी, एड्रिन प्रधान, नारायण ओली आदिसँग उनले काम गरे ।

गायिकाहरुमा तारादेवी, सुशीला कंसाकार, दिलमाया खाती, अन्जु (आसाम निवासी) अरुणा लामा, शान्ति ठटाल, मीरा राणा, ज्ञानु राणा, तारा थापा, सुक्मित गुरुङ, हसना श्रेष्ठ विमला सेन्चुरी, कुन्ती मोक्तान, संगीता राना, लोचन भट्टराई, विमला राई, सुनिता सुब्बारमनिला सोताङदेखि झुमा लिम्बू र मिलन अमात्य आदिसँग उनले काम गरे ।

त्यस्तै, भारतीय कलाकार उदितनारायण झा, सोनु निगम, कविता कृष्णामूर्ति, साधना सर्गम, पूर्णिमा आदिसँग उनले काम गरे ।

संगीतकारहरु नातिकाजी, शिवशंकर, प्रेम माणिक, नारायण गोपाल, अम्बर गुरुङ, हुतराज शर्मा, नोर्बु छिरिङ, सि.के. रसाइली, शान्ति ठटाल, तारादेवी, चन्द्रराज शर्मा, शुभबहादुर, गणेश परियार, कृष्णमान, दीपक जङ्गम, शम्भुजीत, शक्तिबल्लभ श्रेष्ठ, मदन दिप्बिम, मदन परियार, दीप तुलाधर, नारायण ओली, किशोर गुरुङ, शरद गुरुङ किशोर गुरुङ, शरद गुरुङ आदिसँग उनले काम गरेका थिए ।

चलचित्रतर्फ जुनी, भाग्यरेखा, २५ वसन्त, अन्याय, चोखो माया, सिमाना, अवतार, जमिन, रणभूमि, राजकुमार, संजोग, ग्रहण, घरसंसार, हतियार आदि चलचित्रमा उनले गीत लेखेका थिए ।

त्यस्तै, ‘दोभान’ गीति एल्बममा अम्बर गुरुङको एकल संगीत र थापाकाे रचना रहेकाे थियाे । त्यस्तै, आँखाको भाका आँखैले, घुम्तीमा , दाेभान,आऊ सुटुक्क  आदि उनका रचनामा निस्किएका गिति एल्बमहरु हुन् ।

ओभानो सिउँदो (२०२०) र रुझेका परेला (२०२५) मा पनि उनले लेखेका गीत रहेका छन् । चक्लाभरीको घाम (२०३६), ताराका काँचा रङ (२०६०) मा पनि उनले संगीत दिएका थिए ।

नारायण गोपालले थापाका १० गीतहरुलाई आफ्नै संगीतमा निरन्तर गाएका थिए । अम्बर गुरुङले एकल र संयुक्त गरी उनका ७ ओटा गीत गाएका छन् । प्रेमध्वजले २० ओटा गीत उनको संगीतमा गाएका छन् । माणिकरत्नले १५ ओटा जति गीत उनकै संगीतमा गाएका थिए । योगेश वैद्यले युगल २ र तारादेवीसँग गरी ७ ओटा गीत गाएका छन् । त्यसमध्ये आँखैमा …. उनको गीत स्नातकोत्तर तहको पाठ्यक्रममा राखिएको छ ।

मैले २०३५ देखि रत्न शमसेरका गीतहरु रेडियोबाट सुन्ने गरेको हुँ । शुरुमा यो शमसेर भन्ने नाम पनि गीत संगीतमा कसरी भन्ने लाग्थ्यो । दार्जिलिङमा पढेर काठमाडौ आएपछि करिब २०४५ देखि यसै क्षेत्रमा गाँसिएँ । विभिन्न कार्यक्रम तथा रेडियो नेपालमा म उनलाई देख्थेँ ।

२०५० सालपछि एक दिन म त्यो निवासमा पुगेँ । रमाइलो वातावरण बन्यो । २०५५ सालमा मैले उनको एउटा गीत सुनगाभा एल्बममा राखेँ । त्यो पंक्तिकारको एकल संगीत र रबिन शर्माको स्वरमा थियो । ( गीतको बोल ‘चाहे पाप भन या अपराध मैले त मीठो भूल गरें…’ भन्ने थियो ।

त्यसपछि रेडियो नेपालमै फत्तेमान र रबिन शर्माको साथमा तथा फत्तेमानको एकल गरी दुई गीत गर्यौँ । एड्रिन प्रधान, शिशिर योगी, डा. गोपालहरुसँग पनि काम गर्याैँ । यसको अलवा २०६८ मा गीतकार थापा र पंक्तिकारको एकल एल्बम आऊ सुटुक्क म्युजिक नेपालले बजारमा ल्यायो । यसरी थापासँग १ दर्जन भन्दा बढी गीतमा सँगै रहेर काम गर्ने अवसर मिल्यो ।

उहाँसँग सधैँ एक अग्रज र अनुजको आत्मिक सम्बन्ध कायम रह्यो ।
(ओली रेडियो नेपालमा संगीतकार रहेका छन् ।)

 

Continue Reading

Banner

गीतकार रत्नशमशेर थापाको निधन

Published

on

विराटचोकः आज दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा गीतकार रत्नशमशेर थापाको निधन भएको छ ।

अस्वस्थ भएपछि उनलाई बुधबार उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनको ८३ वर्षको उमेरमा निधन भएको हो ।

‘जाग, लम्क, चम्क हे नौजवान हो…’ भन्ने देशभक्तियुक्त गीत उनको चर्चित छ । त्यस्तै, ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो..’ जस्तो शृङ्गारिक भावको गीत र ‘बिछोडको पीडा नसकी खप्न…’ लगायतका कालजयी गीत उनले रचना गरेका छन् ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भनी जाँच गर्न स्वाब लिइएको छ । स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्रै शव परिवारको जिम्मा लगाइने भएको छ ।

Continue Reading

कला / साहित्य

प्रेयसी जाडोलाई

Published

on

शेर्पा दाइ
ठ्याक्कै पाँच वर्षअघि
म यहीँ थिएँ— मिल्केको काखमा

जसरी छु यहीँ आज पनि

शेर्पा दाइ
आज बेढङ्ग बेढङ्गमै
यो बेसोमती जाडो
किन इत्रिन्छ हँ ?
मसँग यसरी

जाडोकै मौसम लडाइँ हुँदा
चौंरी चराउँदाचराउँदै हराएकी हुन्
मेरी प्रेमिका
यहीँ मुन्तिरको जङ्गलमा

र, भेटिएकी हुन् धेरैपछि
यतैकतैको चिहानघारीमा

शायद यो शीतलहर
हराएकी मेरै प्रेयसीको आँसु हुनुपर्छ

शायद यो जाडो
हराएकी मेरै प्रेमिकाको सन्देश हुनुपर्छ

र, नै इत्रिँदैछ
— यो बेसोमती जाडो
निर्धक्क मसँग यसरी

म त फेरि छाडेर जानेछु यो ठाउँ

बिन्ती छ !
शेर्पा दाइ
लगेर ओढाइ दिनू—
रातो गुराँसे सिरक
बेरिदिनू—
एक हूल किरणको फरिया
र, कोरिदिनू—
निगालोको एक काँटी सलाइ
प्रेयसी जाडोलाई !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक