Connect with us
Advertisement

अग्लो बन्ने आकांक्षामा एक्लो ओली

Published

on

१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीको खण्डनमा उत्रन पार्टीका नेता–कार्यकर्तालाई बारम्बार निर्देशन दिँदै आएका छन् । आइतबार, १४ वैशाखमा राजधानीमा आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रम मार्फत पनि ओलीले विरोधीको आरोपलाई खण्डन गर्न अपिल गरे ।

पार्टीको औपचारिक निर्णय मार्फत नै एमाले नेता–कार्यकर्तालाई नेतृत्वको रक्षार्थ उभिन पटकपटक निर्देशन गरिएको छ । तर नेतृत्वको रक्षार्थ भन्दा पनि विरोधीलाई बल पुग्नेगरी गतिविधि भइरहेको गुनासो आइतबारको कार्यक्रममा ओलीले गरे ।

‘पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो, सही बाटो होइन’, ओलीले भनेका छन् ।

आफ्नै नेता–कार्यकर्तासँग यस्तो गुनासो गरेपछि प्रधानमन्त्री ओली सत्ता सहयात्री नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध खनिए । गभर्नर नियुक्तिको सन्दर्भमा थापाले प्रधानमन्त्रीको बेडरुमसम्म विचौलिया पुग्ने गरेको टिप्पणी गरेका थिए । ‘हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरुको पहुँज प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो । नेतृत्वको बेडरुमसम्म हुने भयो’, २ वैशाखमा थापाले भनेका थिए ।

थापाको यस्तो टिप्पणीले ओलीलाई बिझाएको बुझियो । ओलीको चाहना रहेछ, अरू नेताले नै गगन थापाको प्रतिवाद गरिदेओस् । तर कसैको पनि सशक्त प्रतिवाद नसुनेपछि उनी आफैं अगाडि सरे ।

 

आफूमाथिको टिप्पणीविरुद्ध ओली स्वयं प्रतिवादमा उत्रनु वर्तमान एमाले नियतिको पछिल्ला प्रतिनिधि घटना मात्र हुन् । केही वर्षयता एमाले नेतृत्व र निर्णयप्रति हुने हरेकजसो गतिविधि, टिप्पणी र निर्णयको प्रतिवादमा ओली एक्लैजसो भिडिरहेका छन् ।

नलुकेको संकट

शनिबारको संसदीय दलको बैठकमा भने ओलीले पार्टीकै नेताहरूबाट साथ नपाएको निष्कर्ष सुनाएका थिए । शिक्षक आन्दोलनले अप्ठ्यारो परिरहेका बेला पार्टीकै नेताले शिक्षामन्त्रीबाट राजीनामा दिने अनि राजीनामा दिएका नेतालाई हिरो बनाउन शीर्ष नेता नै लागिपरेको उनको भनाइ थियो ।

तर ओलीले सुनाएको संकटमा ‘साझेदार बन्छौं भन्ने’ जवाफ दिनलाई त्यो बैठकमा कोही निस्किएनन्, सबै सांसद सुनिरहे मात्रै । जबकि ओली र उनी नेतृत्वको सरकार सामुन्ने शिक्षक आन्दोलन सहित देखिनेगरीका अरू थुप्रै संकट छताछुल्ल छन् ।

अनेक समूहका आन्दोलनले राजधानी अस्तव्यस्त छन् । शिक्षक आन्दोलित छन्, चिकित्सक आन्दोलित छन् । न्यायको माग राखेर सहकारी र लघुवित्त पीडित आन्दोलित छन् । कवाड ब्यावसायी आन्दोलित छन् । अरू सामाजिक आन्दोलन उत्तिकै चर्को छ ।

राजनीतिक माग सहितका आन्दोलन थप सशक्त बनिरहेको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले गणतन्त्र स्थापनापछि पहिलोपटक भिडियो सन्देश मार्फत् निर्णायक अपिल (समय आयो भन्ने भाषामा) गरेका छन् । राजावादीहरू तुलनात्मक एकताबद्ध छन् । ओलीले नै हुर्काएका दुर्गा प्रसाईंदेखि गंगा चौधरीहरू ‘एमाले सिध्याउने’ भनेर चुनौती दिइरहेका छन् ।

विपक्षीहरू एकताबद्ध छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका विपक्षी दलहरू आवद्ध समाजवादी मोर्चाले एकताबद्ध गतिविधि गरिरहेको छ । सत्ता साझेदारभित्रै असहजता छ । मुख्यगरी कांग्रेसभित्रको अन्तर संघर्ष चर्को छ । अशोक राई र उपेन्द्र यादवलाई सँगै लिएर हिँड्नु सजिलो छैन ।

भन्नलाई दुई तिहाइको सरकार भनेपनि भूमि सम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने परिस्थितिले ओलीको संकट अनुमान लगाउन सकिन्छ ।

भू–राजनीतिक संकट लुकेको छैन । प्रधानमन्त्री बनेको ९ महिना हुन लाग्दा समेत ओलीलाई दक्षिण छिमेक भारतले भ्रमणको निम्तो दिएको छैन । यसप्रति उठेको टिप्पणीमा पनि ओली आफैंले खण्डन गरिरहेका छन् । ओलीले भनिरहेका छन्– यो सरकार ढल्दैन, छिट्टै भारत भ्रमण गर्छु ।

लामो राजनीतिक संघर्ष र इतिहास बोकेका एमाले नेताहरू बोलिरहेकै छन्, सकेको पहलकदमी पनि लिइरहेकै छन् । तर उनीहरुको बोली र पहलकदमी अर्थपूर्ण बनिरहेको छैन ।

तर ओलीका संकट सकिएका छैनन् । शिक्षक आन्दोलनका क्रममा झडप भएलगत्तै कांग्रेस संस्थापन इतरका नेता शेखर कोइरालाले चर्को टिप्पणी गरेका छन् । कोइरालाले शिक्षकहरुको माग सम्बोधन गर्नुको साटो बल प्रयोग हुनु कुशासनको उदाहरण भएको टिप्पणी गरेका छन् ।

कोइरालाको भाषामा कांग्रेस महामन्त्री गगन थापा सहितका नेताहरुको पनि साथ देखिन्छ । संभवतः कोइराला–थापा टिप्पणीको जवाफ ओलीले केही दिनभित्रै दिन सक्छन् ।

किनकि अहिले ओली चुप लाग्दा पनि एमालेका अरू नेताले बोलेर अथवा पहलकदमी लिएर कुनैपनि समस्या हल हुन सक्ने स्थिति छैन । जबकि एमाले विधानतः सामूहिक नेतृत्व प्रणालीबाट चल्ने पार्टी हो ।

यसको अर्थ १९ जनाको पदाधिकारी सहित झण्डै साढे तीन सय केन्द्रीय सदस्यको निर्णयबाट एमाले चल्नुपर्ने हो । तर पार्टीका गतिविधि, निर्णय र राष्ट्रिय राजनीतिक संघर्षहरूमा ओली एक्लै देखिन्छन् ।

यसको अर्थ अरू नेता निष्कृय रहेको भन्ने होइन । लामो राजनीतिक संघर्ष र इतिहास बोकेका एमाले नेताहरू बोलिरहेकै छन्, सकेको पहलकदमी पनि लिइरहेकै छन् । तर उनीहरुको बोली र पहलकदमी अर्थपूर्ण बनिरहेको छैन । एमालेमा ओली बाहेक अरुको कुरा चल्दैन भन्ने बुझाइ लगभग स्थापित छ । त्यसैले एमालेमाथि उठ्ने प्रश्नको जवाफ अरू नेताले दिँदा आम पंक्तिले नस्वीकार्ने तथ्यप्रति स्वयं ओली जानकार छन् ।

ओली ब्राण्डको असर

राष्ट्रिय राजनीतिमा देखिने संकटहरुमा अहिले ओली लगभग एक्लै पर्ने परिस्थिति भने उनी स्वयंले निर्माण गरेका हुन् । यदि पार्टीलाई सामूहिक नेतृत्व प्रणालीमै चल्न दिएका थिए भने संभवतः एमालेका अरु पदाधिकारी र नेताहरू पनि संकट/अवसरका साझेदार बन्ने थिए ।

तर ओलीले आफ्नो एकल ब्राण्ड निर्माणमा ठूलै शक्ति खर्च गरे । १ भदौ २०८० को पार्टी बैठकबाट त उनले आफूलाई पुष्पलाल, मदन भण्डारी र मनमाहेन अधिकारीकै तहको नेताका रुपमा निर्णय गराए ।

‘कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रज नेताहरू– संस्थापक महासचिव पुष्पलाल, जनननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त) पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको छ’, एमालेको अपानिमा भनिएको थियो ।

एमाले भनेकै ओली भन्ने भाष्य उत्कर्षमा पुगेको चाहिँ प्रतिनिधि सभा विघटन र नेकपाको विभाजनपछि हो । ५ पुस २०७७ मा ओलीले प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक निर्णय गरेपछि राष्ट्रिय राजनीति नै ध्रुविकृत बन्यो ।

प्रतिनिधि सभा विघटनका पक्षधरहरुले ओलीलाई साथ दिए भने बाँकीले विरोधमा आवाज उठाए । समयान्तरमा प्रतिनिधि सभा विघटनको पक्षमा उभिने नेताहरू ओलीका छाया पात्र जस्ता बन्न पुगे । अलग अस्तित्व र निर्णय लिने हैसियत ती नेताहरुमा रहेन । किनकि प्रतिनिधि सभा विघटनमै उनीहरूले ‘ओलीले गरेको निर्णयलाई साथ दिनुपर्छ’ भन्ने बाहेक आम स्वीकार्य तर्क गर्न सकेका थिएनन् ।

‘आज होइन भोलिलाई– दश वर्ष ओलीलाई’, ‘केपी बा– वी लभ यू’, ‘राज नेता केपी बा– जिन्दावाद !’ जस्ता नारा लिएर सडकमा ओलीको मस्कट सहित निस्कने जुलुसहरूको ती नेताहरू मौन साक्षी बने ।

कतिसम्म भने पुनर्स्थापित एमालेको वडा अधिवेशनको प्रमुख अतिथि पनि ओली बाहेक अरू नेता नबन्ने परिस्थिति बन्यो । ६ कात्तिक २०७८ मा भर्चुअल माध्यमबाट प्रमुख अतिथि बन्दै ओलीले देशैभरका (६,७४३ वडामै कमिटी रहेको एमाले दाबी छ) वडा अधिवेशन एकैपटक उद्घाटन गरे ।

यस्तै शैलीमा ९ कात्तिक २०७८ मा ७५३ वटै पालिका र २३ पुस २०७८ मा ७७ जिल्लाकै अधिवेशन ओलीले उद्घाटन गरे । अधिवेशनहरूमा पुगेका बाँकी एमाले नेताहरू ताली बजाउने भूमिकामा सीमित भए ।

बिस्तारै–बिस्तारै ‘ओलीलाई अप्ठ्यारो पार्नेगरी प्रश्न गर्नु भनेको एमाले र सिंगो देशमाथि आक्रमण गर्नु हो’ भन्ने निष्कर्ष कार्यकर्ताहरूलाई पढाउन थालियो ।

पार्टी प्रशिक्षण बाहेक अरु माध्यमबाट पनि ओलीको एकल ब्राण्डलाई जोड दिइयो । पार्टीका विद्यार्थी र युवा संगठन मार्फत् ‘केपी बा’ ब्राण्ड आम रुपमा फैलाने प्रयास भयो । ओली आफैंले ‘केपी बा’ नामक युट्यूब च्यानल खोले ।

‘मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरू मेरो युट्यूब च्यानलमा शेयर गर्दै आइरहेको छु । आगामी दिनमा पनि म यस्तै अनुभवहरू बाँड्दै जानेछु । च्यानल सब्सक्राइब गर्नुहोस् न है’ ३१ असार २०८० मा ओलीले फेसबुक स्टाटस लेखेका थिए । आजसम्म ‘केपी बा’ युट्यूब च्यानलमा ओलीका ११३ वटा भिडियो पोष्ट गरिएको छ ।

यस्ता थिएनन् ओली

आज समकालीन नेताहरूलाई अनुयायी जस्तो भूमिकामा सीमित गरेका ओलीको शक्ति–स्रोत भने पार्टीभित्रको आन्तरिक लोकतन्त्र र सामूहिक नेतृत्व प्रणालीको वकालत थियो ।

जसका निम्ति ११ वर्ष अघिको परिस्थिति सम्झनुपर्छ । २०६५ सालको आठौं महाधिवेशनमा झलनाथ खनालसँग हारेका ओलीले २०७१ मा सम्पन्न नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई हराएर अध्यक्ष जितेका थिए । ४१ मत अन्तरले माधव नेपालविरुद्ध जित निकाल्नु अघिसम्म केपी ओली पार्टीभित्र आन्तरिक लोकतन्त्रका चर्का वकालतकर्ता थिए ।

‘प्रत्येक व्यक्तिलाई सरकार, राजनीतिक पार्टीहरू, सामाजिक संस्थाहरू, नेताहरू र अधिकारीहरूको बारेमा आफूलाई लागेका कुराहरू स्वतन्त्र रूपमा बोल्न दिनुपर्छ’, नवौं महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरिरहँदा पनि ओलीको मान्यता थियो ।

त्यसबेला पार्टी नेतृत्वमा झलनाथ खनाल थिए भने अध्यक्ष पदको प्रतिस्पर्धामा माधव नेपाल थिए । ओलीले लोकतान्त्रिक प्रतिस्पर्धा मार्फत नेतृत्व हस्तान्तरणको एजेण्डा अगाडि बढाएका थिए ।

‘आफू बाहेक अरुले पार्टीको नेतृत्व गर्नै नसक्ने मनोदशा बोकेर कसरी नयाँ नेतृत्व निर्माण हुन सक्छ र राष्ट्रले नयाँ नेतृत्व पाउन सक्छ ?’ ओलीको सार्वजनिक प्रश्न र प्रतिबद्धता थियो, ‘म स्पष्ट गर्न चाहन्छु, अब पार्टी छिटाछिटो नयाँ नेतृत्व हुँदै नयाँ पुस्तामा नै जाने स्थिति सुनिश्चित गर्नुपर्छ । म त्यसका लागि मार्गप्रशस्त गर्दै अघि बढ्न चाहन्छु ।’

कतिसम्म भने वामदेव गौतम र ईश्वर पोखरेललाई फकाउन ओलीले पुरा कार्यकाल पनि अध्यक्ष नचलाउने सार्वजनिक प्रतिबद्धता गरेका थिए । ‘म त भन्छु अब एक कार्यकाल पनि पुरा गर्नु हुँदैन । किनभने नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रिया धेरै अवरूद्ध भइसक्यो’ ओलीले महाधिवेशनकै प्रयोजनमा प्रकाशित गरेको ‘जबज र पार्टी जीवनको लोकतान्त्रीकरण’ पुस्तकमा लेखेका थिए ।

अझ अगाडि बढेर ओलीले बहुपद र सामूहिक निर्णय प्रणालीले एमाले सशक्त बन्ने दाबी गर्थे । ‘… हामी त नायकहरूको खेती गर्छौं र नायकहरू पैदा गर्छौं । हाम्रो गोलकिपर नायक छ, तर गोल हान्ने मान्छे चाहिँ छैन भन्ने खालको अवस्था हुनु हुँदैन । एक से एक एघारवटै हाम्रा खेलाडी मैदानमा एक–एक नायक र असाधारण हुनैपर्छ’, ओलीको निष्कर्ष थियो ।

नेताहरुका अनुसार पार्टी बैठकहरूमा पनि नेतृत्वको देवत्वकरण गरिन नहुने अडान लिन्थे, ओली । ‘पार्टी नेतृत्वको कमजोरी भेटेपछि माफी नमागेसम्म अवथा नसच्याएसम्म केपी ओली अडान छोड्थेनन्’, एक नेता सम्झन्छन्, ‘एकपटक झलनाथ खनालको फोटो भित्तामा राखिएको थियो, त्यो गल्ती थियो भनेपछि बल्ल बैठक अगाडि बढेको थियो ।’

ती नेताका अनुसार ओलीले त्यो बैठकमा निकै नरमाइलो उदाहरण दिएका थिए । ‘जिउँदो मान्छेको फोटो भित्तामा टाँगेर कार्यक्रम कसरी गर्ने ? यसरी त दिवगंत नेताहरुलाई राखिन्छ’ तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनालप्रति ओलीको टिप्पणाी थियो ।

अध्यक्ष जितेपछि भने ओलीले विगतका आफ्नै निष्कर्ष र प्रतिबद्धताहरू भुले, जसकारण उत्पन्न संकटमा सामू ओली गुनासा गरिहेका छन् । अनि आन्तरिक लोकतन्त्रको अभ्यासको माग राख्नेहरूलाई भनिरहेछन्– अझै २०/२५ वर्ष कुर्नू ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक