Banner
अब सुधारवाद कि परिवर्तनवाद ?
सुन्दा उस्तै-उस्तै लाग्ने शब्दहरूको प्राज्ञिक परिभाषा फरक हुने मात्रै होइन समय परिस्थिति अनुसार त्यसको प्रयोगले देश र नागरिकको भविष्यमा समेत दीर्घकालीन असर राख्दछ। तत् समयको समाज र राजनीतिलाई व्याख्या र आगामी बाटोलाई देखाउने सान्दर्भिक शब्दावलीको प्रयोग सो देशको प्राज्ञिक संस्था, राजनीति र सिङ्गो नागरिक समाजको गुणस्तर मापनको प्रमुख आधार पनि हो।
जस्तै एउटा उदाहरण हेरौं। संसारभर सन् १९९७ देखि २०१२ को बीच जन्मेका मानिसलाई जेन-जी पुस्ता भन्ने प्रचलन छ। विकसित देशहरूमा यो समयमा जन्मेका बालबालिकाहरूले १० वर्षको उमेरदेखि नै स्मार्ट फोनसँग खेलेर हुर्केको हुन्छन् र तिनीहरूलाई छुट्टै पुस्ताको रूपमा वर्गीकरण गरियो।
त्यही कालखण्डमा जन्मेका हाम्रा पहाड, हिमाल र तराईमा घाँसदाउरा, भारोपर्म, खेतीकिसानी गर्दै, आफ्ना भाइबहिनीलाई लालनपालन गर्दै, १५ वर्षको उमेरदेखि घरको मूल आम्दानीको स्रोतको रूपमा काम गर्दै हुर्केका हाम्रा प्यारा भाइबहिनी एवं हाम्रो देशका धरोहरहरूलाई यो उपनामले कति न्याय गर्छ ? सिधा प्रश्न “आरे दे अल्सो जेन-जी ?” खासमा हामी युवाका कुरा गर्दा कति प्रतिशतको बारेमा कुरा गरिरहेका हुन्छौं ?
राजनीतिमा त्यस्तै हुँदैछ। देशमा रहेका राजनीतिक विचार र समूहलाई आ-आफ्नै मर्जीले वर्गीकरण गर्ने, अरू सबै गलत र आफू मात्रै शुद्ध, पवित्र, ज्ञानी, क्षमतावान्, लोकतान्त्रिक, न्यायमूर्तिको रूपमा प्रस्तुत गर्नु अहिले नेपाली राजनीतिको फेसन नै बनेको छ। दुःखका साथ आत्मसात् गर्नुपर्दछ, हाम्रो राजनीतिमा लोकरिझ्याइँमा फसेको छ भन्ने प्रमुख आधार पनि हो।
विचारको धमिलो पानीको अहिलेको राजनीतिलाई अन्त्य गर्नुपर्दछ। त्यसको लागि कुनै पनि राजनीतिक दल, समूह वा व्यक्तिले आफू सुधारवादी हो कि परिवर्तनवादी हो स्पष्ट हुनु आवश्यक छ। त्यसका राजनीतिक आधारहरू प्रस्तुत गर्नु आवश्यक छ। र आफ्नो विचार न्यायोचित हुने राजनीतिक गतिविधिमा मात्र सहभागी हुने हिम्मत र राजनीतिक इमानदारी देखाउनु आवश्यक छ।
लामो समय नेपाली राजनीतिमा खासगरी २०४७ सालदेखि ‘अहिलेको व्यवस्थाप्रति हाम्रो पूर्ण समर्थन छैन तर अहिले हामीसँग यसलाई रणनीतिक रूपमा प्रयोग गर्नुको विकल्प पनि छैन’ भन्ने धारणा व्यक्त गर्नेहरू राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा रहिरहे। अपवाद बाहेकका समयमा उनीहरू नै नेपाली राजनीतिको संस्थापन रहे। रहर भन्दा पनि बाध्यताले सत्तामा गएको भाष्य मार्फत राजनीतिक प्रभुत्व मात्रै स्थापित गरिएन यसले नेपाली राजनीतिमा दीर्घकालीन नकारात्मक प्रभावहरू पर्यो र अहिले हामी त्यसको नतिजा भोगिरहेका छौं।
२०४७ देखि राजनीतिक सुधारको बहस नेपाली राजनीतिको चिन्तन, छलफल र प्रतिस्पर्धाको प्रधान विषय बन्न सकेन। बन्यो त केवल ऐच्छिक विषय। यसो बेला मौकामा त्यो पनि फुर्सदको समयमा चर्चा गर्ने विषयमा सीमित रह्यो। हाम्रो संसदीय व्यवस्था राष्ट्रपतीय जस्तै एक जना व्यक्ति वा प्रधानमन्त्री केन्द्रित भई सक्दा पनि हामीले संसदीय सर्वोच्चताको विषयमा छलफलसम्म पनि सुरुवात गर्न सकेका छैनौं।
अनुमानित राजस्व नउठ्नु, तर्जुमा भएको पूँजीगत बजेट खर्च हुन् नसक्नु एक दशकदेखिको नियमित घटना हुँदा पनि सरकार, सदन र राजनीतिक दलहरूले सुधारको प्रष्ट खाका प्रस्तुत गर्न सकिरहेका छैनन्। सार्वजनिक भन्ने शब्द प्रति आम मानिसको डरलाग्दो नकारात्मक धारणा विकास हुँदा पनि नागरिक र राज्यको विश्वास अभिवृद्धिमा कसैको ध्यान गएको देखिंदैन।
यस्ता अनगिन्ती विषयहरू छन् जसमा अर्थपूर्ण सुधार नगर्दासम्म अब कुनै पनि व्यवस्था प्रभावकारी सञ्चालन गर्न कठिन भइसकेको छ। सार्वभौम संसद्देखि सामुदायिक वनका समिति र उपभोक्ता समितिसम्म हामीले सुधार गर्नुपर्ने, क्षमता विकास गर्नुपर्ने, विधि, पद्धति र संस्कारमा रूपान्तरण गर्नुपर्ने तमाम विषयहरू हुँदाहुँदै पनि त्यसले स्थान पाउँदैन किनकि सत्तामा रहेका अधिकांश शासकहरूका लागि यो अन्तिम व्यवस्था होइन।
यहाँ प्रश्न उठ्छ, अन्य देशमा जस्तो नेपालमा सुधारवादी मात्रै भएर राजनीति गर्न कठिन हुने अवस्था कसरी सिर्जना भयो? पहिलो, पञ्चायती व्यवस्थाको विशेषता र त्यस पश्चात्को राजनीतिक घटनाक्रमहरूका कारण विचारमा आधारित राजनीतिक प्रतिस्पर्धा संस्थागत हुन नै सकेन।
पञ्चायती व्यवस्था निर्दलीय थियो। अन्य देश जस्तै बंगलादेश, पाकिस्तानमा दलीय अधिनायकवादी व्यवस्था थियो। सामान्यतया लोकतन्त्रको स्थापना पश्चात् अधिनायकवादी शासन व्यवस्थामा सत्तामा रहेका दल दक्षिणपन्थी विचारमा आधारित रहे भने लोकतान्त्रिक दलहरू प्रगतिशील।
तर नेपालको हकमा पञ्चायती व्यवस्थामा सत्तामा रहेकाहरू संगठित थिएनन्। प्रजातन्त्रलाई संयुक्त जनआन्दोलन गरेका दलहरू नै एकअर्कालाई फरक विचारमा देख्न थाले, आरोप लगाउन थाले। नेपाली कांग्रेस आफैंले औपचारिक रूपमा स्वीकार गरेको त छैन तर यो नेपालको सबैभन्दा ठूलो दक्षिणपन्थी शक्तिको रूपमा चित्रित भयो। नाममा कम्युनिष्ट पार्टी लेख्ने दलहरू कुनै पनि कोणबाट कम्युनिष्ट रहेनन्। दलहरूले आफ्ना विचार र नीतिहरूलाई बेलगाम फेर्दै लगे र यस्तो अवस्थामा आए कि आफ्नो विचार के हो स्पष्ट भन्नै नसक्ने अवस्थामा पुगे।
आफैंमा सिद्धान्तमा अस्पष्ट दलहरूले सिद्धान्तमा आधारित सुधारको बहस गर्ने सामर्थ्य राख्ने कुरै भएन। पात्र परिवर्तन भनेकै राजनीतिक परिवर्तन हो भन्ने जबर्जस्त राजनीतिक भाष्य स्थापित गर्न खोजियो। राजनीतिमा टिक्नको लागि परिवर्तनको मुद्दाको सहारा लिनै पर्ने अवस्थामा पुगे।
दोस्रो, आम नेपालीहरू किन सुधार भन्दा परिवर्तनको पक्षमा धेरै उभिन्छन् भन्ने बुझ्न हाम्रा विश्वविद्यालयमा अध्यापन हुने समाज र राजनीतिसँग सम्बन्धित विषयहरूका पाठ्यक्रमहरूलाई सूक्ष्मरूपमा केलाउनु आवश्यक छ। उदारवादी अमेरिकादेखि समाजवादी चीनसम्मका विश्वविद्यालयहरूमा प्रकार्यवादी सिद्धान्तको मात्र धेरै र केही आलोचनात्मक सिद्धान्तहरू अध्यापन हुन्छन्।
विद्यार्थीहरूलाई संख्या र संख्याको सम्बन्ध अर्थात् मात्रात्मक विधिमा निपुण पारिन्छ। साथै, समाज र राजनीतिमा आउन सक्ने समस्या समाधानका बहुआयामिक उपायहरूका बारेमा कक्षाकोठाभित्र र बाहिर घनीभूत प्रयोगात्मक अभ्यास गरिन्छ। त्यसैले कुनै समस्या आउँदा सुधारका क्षेत्रमा उनीहरूको ध्यान जाने सम्भावना धेरै हुन्छ।
नेपालको हकमा विश्वविद्यालयमा आफूलाई आलोचनात्मक भन्ने प्राध्यापक र उहाँहरूले अवलम्बन गर्नु हुने सिद्धान्तहरूको बाहुल्य छ। सिद्धान्त आफैंमा राम्रो वा नराम्रो हुँदैन। तर विश्वविद्यालयमा त्यसको सन्तुलित अध्यापन भएन भने सुधार र समाधान केन्द्रित गुणस्तरीय जनशक्ति उत्पादन हुन कठिन हुन्छ।
र, हाम्रो जस्तै सबै परिवर्तनकारी हुने अवस्था पनि सिर्जना हुन्छ। हामी सबैले हामीलाई नै एक पटक प्रश्न गर्ने बेला भएको छ : के हामीले ‘प्रब्लम सल्भिङ’ सिद्धान्त र विधिलाई कक्षाकोठाभित्र प्राथमिकता दिएका छौं ?
समग्रमा नेपालको राजनीतिक संरचना र शिक्षा प्रणाली सुधारको बहस मैत्री छैनन्। तर, यो पनि कटु यथार्थ हो कि आफूलाई राजनीतिको मूलधार मान्नेहरूको राजनीतिक मुद्दा सुधार हुनुपर्दछ। सत्तामा पनि जाने, सुधारको भन्दा परिवर्तनको वकालत गर्दै जाँदा एकपछि अर्को ‘पपुलिस्ट’ दल र नेताको उदयको प्रमुख कारण आफूहरू नै रहेको तथ्यलाई मूलधारमा रहेका दल र नेताले नजरअन्दाज गर्नुहुँदैन।
अहिलेका प्रमुख तीन दल र उनीहरूका सबै नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रमा आफूहरू पूर्ण रूपमा कटिबद्ध रहेको वकालत गरेको भए १५ चैत २०८१ को दिन आउँथ्यो? अहिलेको व्यवस्थाप्रति शंका उत्पन्न हुने ‘राजनीतिक स्पेस’ कसले निर्माण गर्यो?
यदि राजनीतिलाई सही ट्रयाकमा लैजाने हो भने सदनमा रहेका दलहरूले आफ्नो विचारका आधारमा सुधारका मुद्दा के हुन् र त्यसलाई कसरी कार्यान्वयनमा लैजानेमा आफू प्रष्ट हुने, नेता र कार्यकर्ताका बीच आम सहमति सिर्जना गर्ने विषयलाई प्रमुख प्राथमिकता दिनुपर्छ। मूलधारका राजनीतिक दलका नेता र कार्यकर्ताका विचार र टिप्पणीहरूले परिवर्तनवादलाई प्रोत्साहन गरिरहेको कटु यथार्थ हामी सबैको अगाडि जगजाहेर नै छ।
तर, कुनै दल वा नेतालाई परिवर्तनको मुद्दामा वकालत गर्ने अधिकार नै छैन भन्ने होइन। जो–कोहीलाई पनि अधिकार हुन्छ। तर यो व्यवस्थाले दिएको सबै सुविधा उपयोग गर्ने, अनि परिवर्तनको पक्षधर भन्न पनि नछोड्ने दोहोरो चरित्रको राजनीतिलाई अहिले यही बिन्दुबाट बिदाइ गर्नुपर्दछ। दल र नेताहरूले अरूलाई आरोप लगाउनु अगाडि आफैंलाई प्रश्न गर्नुपर्दछ: हामी आफैंमा प्रष्ट छौं? प्रष्ट हुँदाहुँदै पनि जनतालाई झुक्याइरहेका त छैनौं? नेता प्रष्ट हुँदा, देशको अलमल पनि कम हुन्छ।
एउटा ऐतिहासिक तथ्यलाई प्रस्तुत गरेर यो आलेख बिट मार्न चाहन्छु। दोस्रो विश्वयुद्धपछिको फ्रान्समा चार्ल्स डुगोल सबैभन्दा लोकप्रिय नेता थिए। उनी आफ्नो विचारमा प्रष्ट थिए: फ्रान्सले दोस्रो विश्वयुद्धमा भोग्नु परेको ठूलो हारको कारण संसदीय व्यवस्था थियो र अब राष्ट्रपतीय व्यवस्थामा जानुपर्दछ। उनका दलका अन्य नेताहरू त्यसमा सहमत थिएनन्। द्विविधाका बीच फ्रान्स निर्वाचनमा गयो।
उनको दल पहिलो बन्यो। तर उनी सरकारमा जान मानेनन्। राजनीतिबाट संन्यास लिए। युद्धका अनुभव सहितका पुस्तक लेखे। आफ्नो मुद्दामा अडिक रहे। उनको सिद्धान्तलाई डुगोलवाद भनियो। उनकै मुद्दालाई स्वीकार गर्दै सन् १९५९ मा फ्रान्समा नयाँ व्यवस्था स्थापना भयो र उनी फ्रान्स पाँचौं गणतन्त्रको पहिलो राष्ट्रपति बने। जो–कोही परिवर्तनवादीले यस्तो समर्पण देखाउन सक्नुपर्दछ ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login