Banner
आज र भोलि काठमाडौंमा ‘कलिङ साहित्यिक महोत्सव’ हुने
काठमाडौंः आज र भोलि ‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ आयोजना हुने भएको छ । सो महोत्सवमा नेपाल र भारतका दर्जनौ कलाकार, रंगकर्मी, चलचित्रकर्मी र साहित्यकारले सहभागिता जनाउने भएका छन् ।
आयोजकले पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी दिएको हो । महोत्सवका संस्थापक तथा कल्पनाकार रश्मी रञ्जन परिडा, निर्देशक रञ्जना निरौला, निर्देशक देवाशीष समन्त्रये, कवि तुलसी दिवस, कवि दिनेश अधिकारी र आख्यानकार माया ठकुरीले महोत्सवको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्दै वरिष्ठ कवि तुलसी दिवसले आफूले आयोजना गर्ने सोचे पनि नसकिरहेको समयमा सो समूहले महोत्सव आयोजना गरेर आफ्नो सपना पूरा गरिदिएको बताए । कवि दिनेश अधिकारीले एकै महोत्सवमा यति धेरै कवि, कलाकार साहित्यकारको जमघट र मन्थन बिरलै हुने बताउँदै यस्ता खालका महोत्सवले दुई देशको सांस्कृतिक तथा साहित्यिक आदानप्रदान मात्र नभई नेपाली साहित्यको अन्तरराष्ट्रियकरणमा टेवा पुग्ने बताए ।
‘भारत र नेपाल सभ्यताको यात्रा र आत्माको खोजी’ मूल उद्घोषका साथ आयोजना हुने साहित्यिक महोत्सवमा दुई देशका दुई सयभन्दा बढी साहित्यकार सहभागी हुने भएका छन् । नेपाल र भारतका साहित्यकारले महोत्सवमा विभिन्न प्रस्तुति राख्ने आयोजकले जनाएको छ ।
साहित्यिक महोत्सवले नेपाल र भारतका साहित्यकारबीचको सम्बन्ध स्थापित गर्न नयाँ आयाम थपिने आयोजकको तर्फबाट रञ्जना निरौलाले जानकारी दिइन् ।
महोत्सवले नेपाल र भारतको साहित्यिक ऐतिहासिक सम्बन्ध र दुई देशबीचको सभ्यताको सम्बन्धलाई सुमधुर बनाउने तथा कला, संस्कृति र साहित्यको प्रवद्र्धन र विश्वव्यापीकरणमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।
कार्यक्रममा ७० प्रतिशत वक्ता नेपालका र बाँकी भारतका हुनेछन् । नेपाली कला, साहित्य र संस्कृतिमा केन्द्रित रहेको यस महोत्सवमा भारतबाट आएका व्योमेश शुक्लाको ‘राम की शक्तिपूजा’ थिएटर (काशी)मा प्रस्तुति रहने छ भने चर्चित बलिउड गायक, अभिनेता पियुष मिश्र, बलिउडका चर्चित संगीतकार राज शेखर र चर्चित कलाकारले प्रस्तुति पनि दिनेछन् ।
महोत्सवमा मालिनी अवस्थीको प्रस्तुतिका साथै भारतको साहित्य क्षेत्रमा विशेष योगदान पु¥याउने अशोक वाजपेयी, सुधीर चन्द्र, मृदुला गर्ग, अरुण कमल, रञ्जित रे, आनन्द नीलकण्ठ लगायतको सहभागिता रहनेछ ।
कार्यक्रममा ‘कलिङ काठमाडौँ यशस्वी साहित्य सम्मान’को घोषणा गरिएको छ । यस वर्षको सो सम्मान नेपालका शताव्दी पुरुष सत्यमोहन जोशी र भारतका वरिष्ठ साहित्य साधक अशोक बाजपेयीलाई प्रदान गरिने भएको छ । सरस्वतीको प्रतिमा र नगद जनही ५० हजार रुपैयाँले सम्मान गरिने जनाइएको छ ।
साहित्यिक महोत्सवमा दिनेश अधिकारी, युवराज घिमिरे, अनुप बराल, दिपेन्द्र के खनाल, लक्ष्मी बर्देवा, सुजित बिडारी, नयनराज पाण्डे, महेशविक्रम शाह, श्रवण मुकारुङ, अशेष मल्ल, मञ्जु काँचुली, तिवारी, तीर्थ श्रेष्ठ, रमेश क्षितिज, कनकमणि दीक्षित, अर्चना थापा, गणेश पौडेल, भागीरथी श्रेष्ठ लगायतको सहभागिता रहनेछ ।
साहित्यिक महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभलको सहकार्यमा आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login