Banner
आर्य–खस कामरेडहरु, एक नम्बर प्रदेशको नाम ‘किरात’ किन नहुने ?
निनाम लोवात्ती
हाल एक नम्बर प्रदेशको नाम के राख्ने ? भन्ने सम्बन्धमा तातो बहस र छलफल भइरहेको देखिन्छ । त्यसरी बहस र छलफल गर्ने क्रममा एक पक्षले ‘अरुण, वरुण, अरुण–कोशी, कोशी–किरात, किरात–कोशी, सगरमाथा–किरात, किरात–सगरमाथा, सुनकोशी–सगरमाथा, मेची–कोशी–सगरमाथा, सप्तकोशी, कनकाई, विराट, हनुमाननगर, पूर्वाञ्चल, पाथीभरा’ ‘विजयपुर’ आदि नाम राख्नुपर्ने वकालत गर्ने गरेको देखिन्छ ।
अर्को पक्षले ‘लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात–लिम्बुवान’, ‘किरात–खम्बुवान’, ‘किरात–लिम्बुवान–कोचिला’ वा ‘किरात’ नाम रहनुपर्ने÷ राख्नुपर्ने भनी आवाज उठाइरहेका छन् । तर प्रदेश एकको नाम ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ अथवा ‘किरात–लिम्बुवान–कोचिला’ अझ ‘किरात’ हुनुपर्छ भनी आवाज उठाउनेहरूको स्वरचाहिँ साह्रै मसिनो र मधुरो स्वरमा सुनिने गरेको देखिन्छ । यस्तो हुनुमा नेपालका मूलधारका भनिने मिडियाहरूले यी नामहरूका सम्बन्धमा प्रचारप्रसार नगरिदिनु र साथ नदिनु नै हो । त्यसैले एक नम्बर प्रदेशको नाम के राख्ने ? भन्ने सम्बन्धमा हाल भइरहेको तातो बहस र छलफलका क्रममा ‘अरुण, वरुण, अरुण–कोशी, कोशी–किरात, किरात–कोशी, सगरमाथा–किरात, किरात–सगरमाथा, सुनकोशी–सगरमाथा, मेची–कोशी–सगरमाथा, सप्तकोशी, कनकाई, विराट, हनुमाननगर, पूर्वाञ्चल, पाथीभरा’ ‘विजयपुर’ आदि नाम राख्नुपर्ने भनी वकालत गर्नेहरूकै हाली मुहाली देखिन्छ । किनभने, मूलधारका भनिने मिडियाहरूले त्यही भर्सनलाई मात्रै महत्व दिइरहेका छन् ।
तर, उनीहरूले ल ठीकै छ, भिन्न मतलाई पनि ठाउँ दिऊँ महत्व दिऊँ ! भोलि के हो, के हो ? भनेर दूरदृष्टि राखेर ‘लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात–लिम्बुवान’, ‘किरात–खम्बुवान’, ‘किरात–लिम्बुवान–कोचिला’ वा ‘किरात’ नाम हुनु पर्छ भन्नेहरूको पनि लेख रचना छापौँ, स्थान दिऊँ भनेर सोचे जस्तो लाग्दैन । हुन पनि हो, झट्ट सुन्दा र देख्दा, ‘लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात–लिम्बुवान’, ‘किरात–खम्बुवान’, ‘किरात–लिम्बुवान–कोचिला’ जातीय नाम जोडिएर आएको जस्तो लागेता पनि ‘किरात’ नाममा त नेपालका आर्य, खस समूहका बाहुन, क्षेत्री, ठकुरी, दशनामी–सन्न्यासी, रानाभाट, दलित आदि र आदिवासी जनजाति सहमत हुँदा के फरक पर्ला ? के बिग्रेला ? कि आकाशै खसिहाल्छ, धरती नै फाटिहाल्छ ?
त्यसैले हामीले प्रदेश नम्बर एकको नाम ‘किरात–लिम्बुवान’, ‘किरात–खम्बुवान’, ‘किरात–लिम्बुवान–कोचिला’ नाम राख्दा शुद्ध रूपमा जाति नाम जस्तो लागेर राख्न नसक्ने र, सबैले स्वीकार गर्न पनि अलि गाह्रै पर्ने हुनाले कम्तीमा ‘किरात’ नाम राख्न सकिन्छ, राख्नु पनि पर्छ । किनभने, ‘किरात’ भनेको केवल एक जाति नाम मात्रै नभएर इतिहास हो, सभ्यता हो, धर्म हो, भूगोल हो, भने किरात शब्द प्राचीन धर्मग्रन्थहरूमै पनि उल्लेख गरिएको छ । त्यसैले हामीले प्रदेश नम्बर एकको नाम ‘किरात’ राख्दा केवल एक जाति ‘किरात’लाई मात्रै स्वीकार गरेको नदेखिएर\ नभएर इतिहास, सभ्यता, धर्म, भूगोल, प्राचीन धर्मग्रन्थ आदिलाई स्वीकारेको ठहर्छ । अझ किरातीहरु अहिले आएर एक जाति मात्रै नभएर महाजाति भइसकेका छन् । किनभने, किरात भनेर आफूलाई दाबी गर्ने जातिहरू अहिले दुई दर्जनभन्दा पनि बढी रहेका छन् । जस्तै आठपहरिया, कुलुङ, खालिङ, थामी, धिमाल, बान्तवा, बाहिङ, मेवाहाङ, याम्फु, जिरेल, हायु, लिम्बू, याक्खा, सुनुवार आदि छन्, जुन जातिहरूलाई किरात भनेर चिनिन्छ, अथवा उनीहरूले आफूलाई किराँती भनी चिनाउँछन् ।
हुन पनि ‘किरात सभ्यता’लाई प्रायः सबै इतिहासकार तथा लेखकहरूले विश्वकै सबैभन्दा पुरानो सभ्यता र व्यापक रूपमा फैलिएको सभ्यतामध्ये एक मान्ने गर्छन् । किरातीहरु हजारौँ वर्षअघि ब्रह्मपुत्र तथा गंगा नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । किरातीहरुले सुरुमा एशिया महादेशको दक्षिण एशिया, दक्षिण पूर्व एशिया, मध्य एशियामा आवाद गरेका थिए । त्यस्तै कश्मीर पूर्व, कामरुप, भुटान हुँदै मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किरातहरू विस्तारित थिए भन्ने इतिहासकारहरूको भनाइ रहेको छ ।
किरातीहरुको ऐतिहासिकता तथा चर्चा–परिचर्चा संस्कृत साहित्यहरू जस्तै अथर्व वेद, वाल्मीकि रामायण र महाभारत (किराती राजाहरू र जनताहरूको) उल्लेख गरेको पाइन्छ । त्यस्तै प्राचीन संस्कृत साहित्यहरू ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखहरूमा पनि किरात जाति किरात सभ्यताको उल्लेख गरेको वा भनौँ उल्लेख रहेको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म लगायत विभिन्न धर्म ग्रन्थहरू र प्राचीन वास्तुकला, शिल्पकला, लोक साहित्य, मिथक, लोककला, चित्रकलाहरूमा पनि किरात सभ्यताका बारेमा प्रशस्तै चर्चापरिचर्चा गरिएको पाइन्छ ।
त्यसैले एक नम्बर प्रदेशका किराती मूलका माननीयहरू मात्रै नभएर आदिवासी जनजाति मूलका माननीयहरूका साथै आर्य खस समूहका बाहुन, क्षेत्री, सन्न्यासी, दलितका साथै मधेसी आदि जातजातिका माननीय ज्युहरूले पनि ‘किरात’लाई केवल एक जाति नाम मात्रै नसम्झेर ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ आदि सम्झेर दुई तिहाइ मात्रै होइन प्रदेश नम्बर एकको सिङ्गो संसद्ले एक मतले पारित गर्नुहोस् । तपाईँहरूले यसो गर्नुभएमा ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ सबैले तपाईँहरूलाई हार्दिक नमन गर्नेछ, हार्दिक धन्यवाद भन्नेछ ।
फेरि पनि किरात वा किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नुपर्दा गोपाल राजवंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता एवम् भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरूले काठमाडौँ उपत्यकामा राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एशियाका विभिन्न क्षेत्रहरूमा किरातीहरुले शासन चलाई आएका थिए ।
यसरी कुनै बेला एशियाको ठूलो भू–भागमा फैलिएका किरातीहरु पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरूको हस्तक्षेप एवम् उपनिवेशीकरणका कारण किरातीहरु विस्थापित हुँदै र आफ्नो जिमी–भूमिको साथै आफ्नो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित भू–क्षेत्रमा मात्रै बाँकी रहेका छन् । निश्चय नै किरातभित्र ठूलो बगाल वा भनौँ समूह रहँदै आएको भए तापनि अहिले आएर दक्षिण एशियाको पनि सगरमाथा क्षेत्र हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेशका केही जिल्लामा मात्रै आफूलाई किरात भन्नेहरूको बसोबास रहेको छ ।
यसरी सानो भू–भागमा मात्रै आफूलाई प्रस्ट रूपमा किराती भनी चिनाउने जातिहरू बाँकी रहेका छन् । तर, उनीहरू पनि नेपालको भौगोलिक एकीकरण भएसँगै आफ्ना पिता पुर्खाहरूले स्थानीय स्तरमा शासन गर्न नियुक्त हुँदा पाएको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ पदवी वा पगरीलाई नै जाति मान्न थाले । सोही कारण आफू असलियतमा १६ खम्बुका सन्तान भएको वास्तविकता बिर्सिँदै उनीहरूले जानाजानी वा अरूको दबाब अथवा प्रभावमा परेर आफ्नो नाम वा समुदायलाई चिनाउँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ भनी लेखाउन÷भनाउन वा लेख्न÷भन्न थाले । त्यसो हुँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ आदि विभिन्न ‘करण’सँगै उनीहरूको असली किराती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ । यसरी ‘करण !’ मा परेर आफ्नो जातीय स्वपहिचान र अस्तित्व सङ्कटमा परेका वा पर्न आँटेका किरातीहरुमा सबैभन्दा बढी १६ खम्बुका सन्तानहरू देखिन्छन् । यसरी ‘करण’मा परेका कुलुङलगायत खम्बुका सन्तानहरूलाई उदाहरणको रूपमा लिन सकिन्छ । वास्तवमा १६ खम्बुका सन्तानहरू बढी नै ‘राई करण’को मारमा परेको भेटिन्छ \देखिन्छ ।
त्यसैले आशा गरौं, सन्निकट आउन लागेको प्रदेश नम्बर एकको हिउँदे अधिवेशनमा एक नम्बर प्रदेशका सबै राजनीतिक दलका माननीयहरूले किरात प्रदेश नामका लागि एक ढिक्का भएर लाग्नु हुनेछ, एकमतले पारित गर्नु हुनेछ । यस कार्यका लागि विभिन्न राजनीतिक दलका हाइ कमान्डका नेताहरूले पनि एक नम्बर प्रदेशको नाम किरात प्रदेश राख्न आफ्ना दलका माननीयहरूलाई एक मतले निर्देशन दिनुहोस् । किनभने, ‘किरात प्रदेश’ नाम राख्दा केवल एक जाति ‘किरात’लाई मात्रै स्वीकार गरेको नभएर इतिहास, सभ्यता, धर्म, भूगोल, प्राचीन धर्मग्रन्थमा उल्लेख भएका प्रसङ्ग आदिका साथै एक नम्बर प्रदेशको भूभागमा इतिहासको लामो कालखण्डदेखि बसोबास गर्दै आएका किराती महाजातिभित्रका साढे दुई दर्जन बढी जातिहरूको अपनत्वलाई पनि स्वीकारेको अर्थमा लिन सकिन्छ ।
त्यसैले फगत जाति नाम मात्रै नसम्झनुहोस् । ठूला राजनीतिक दलका ठूला नेताहरूका साथै आर्य खस समूहका घागडान तर, आदिवासी जनजाति समुदायप्रति अनुदारवादी रुझान राख्ने बुद्धिजीवी कामरेडहरु, छातीमा हात राखेर खुलस्तसँग भन्नुहोस्, ‘कोशी’ प्रदेश नाम हुने तर, कुनै हालतमा ‘किरात’ प्रदेश नाम नहुने के कारण छ ? – कपुरी न्युजबाट
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login