Connect with us
Advertisement

इटालीबाट नेपालीको चिठी: लकडाउनका बेला हेल्चेक्य्राईं नगर्नुहोला

Published

on

 ‘भेनिस कार्निभल’ चलिरहेको थियो। इटालीको प्रमुख पर्यटकीय शहर भेनिसमा पर्यटकहरूको चहलपहल बढ्दै थियो।

चीनमा कोरोनाको संक्रमण बढेको कुरा सुनिरहेका थियौँ। चिनियाँ पर्यटकबाट यता पनि आउनसक्छ भन्ने आंकलन भइरहेको थियो। ईटलीका अरू धेरै स्थानीयले पनि त्यस्तै सोच्थे। चिनियाँको जस्तो अनुहार देख्दा अर्कै नजरले हेर्थे। वर्षौंदेखि यतै बसेर व्यवसाय गरेका चिनियाँहरूलाई पनि हेर्ने नजर अर्कै भयो।

 चिनियाँहरूले संचालन गरेका बार, रेस्टुरेन्ट, कफिसप, टेलर्सदेखि मोबाइल रिपेयरिङ सेन्टरसम्म बन्द भए। संचालनमा रहेका केही कममा पनि स्थानीय जानै छोडे। फेब्रुअरी २१ मा कोरोनाबाट ईटलीको पादोभा शहरमा पहिलोपटक एक जनाको मृत्यु भएको खबर बाहिरियो। पादोभा हामी बसेको भेनिसबाट नजिको शहर हो। त्यतिञ्जेलसम्म त हामीले सामान्य नै सोच्यौँ। लाग्यो: अवस्था त्यति जटिल नहोला, सबै ठीक हुनेछ। कोरोना संक्रमणका कारण पहिलो व्यक्तिको मृत्यु भइरहँदा धेरै ईटलीवासीहरू यस्तै मनस्थितिमा थिए।

बसमा, रेल तथा बजारमा सबैतिर मान्छे सामान्य अवस्थामा जस्तै थिए। मास्कको प्रयोग पनि गरिएको थिएन। यतै बसेका र पर्यटकको रुपमा आएका चिनियाँ, कोरियन र केही बंगालीले मात्र मास्क लगाएको देखिन्थ्यो। मास्क लगाएर हिंड्नेलाई पनि धेरैले असामान्य तरिकाले हेर्ने गर्थे। 

हामी सेवा क्षेत्रमा काम गर्ने गर्छौं। संक्रमित र मर्नेको संख्या बढ्दै गएपछि हाम्रो काम पनि कम हुँदै थियो। फुर्सद धेरै थियो। अरू इटालीयन त यसरी हिँड्दैछन् भन्ने सोच्दै हामी केही नेपाली साथीहरू पनि भीडभाड, सपिङ मल र पुल हाउसजस्ता मानवीय गतिविधि बढी हुने स्थानमा गइरहेका थियौं। यो सरकार हामीले गरेको हेल्चक्य्राईं थियो। अहिले सोच्दा डर लाग्छ : त्यही भीडभाडमा अन्य कसैमा संक्रमण थियो भने त हामीलाई पनि सर्न सक्थ्यो। धन्‍न हामी अहिलेसम्म संक्रमित छैनौँ।

लोम्बार्दी राज्यमा संक्रमितको संख्या अत्यन्तै बढेको समाचारहरू आउन लागे। त्यो क्षेत्रलाई ‘लकडाउन’ गर्ने भनेपछि अरू क्षेत्रबाट आएर त्यहाँ बसेर काम गर्नेहरू हजारौंको संख्यामा बाहिरिन लागेछन्। जता जो संक्रमितको सम्पर्कमा थियो : त्यो सर्दै-सर्दै गयो र आजको भयावह अवस्था आयो। १/२ दिनपछि त ईटलीभर संक्रमित बढ्न थालेको खबरहरू आयो। हाम्रो काम पनि बन्द भयो। 

शुरूमा हामी बसेको भेनेतो, लोम्बार्दी लगायतका १४ राज्यहरू ‘लकडाउन’ गरियो। कति व्यवसायीले चाहिँ यसरी अत्यावश्यक सेवाहरू समेत बन्द गरिदिए। यसले झनै त्रास बढ्यो। शुरू-शुरूमा ‘लकडाउन’को हल्ला चल्दै गर्दा खाद्यान्न लगायत अत्यावश्यक सामग्री नपाउने हो कि भन्ने लाग्यो। अरूले पनि धेरै किने, हामीले पनि केही हप्तालाइ पुग्ने जति किन्यौँ। तर त्यस्तो अभाव चाहिँ भइरहेको छैन।

यहाँ व्यापार बढ्ने समयमा नकारात्मक असर गर्‍यो भनेर गुनासो गर्नेहरू छन्‌। ‘लकडाउन’ शुरू हुँदाताका त बार र रेस्टुरेन्टहरू समेत सञ्चालन भइरहेको थियो। सरकारले मानिसहरूमा कम्तीमा एक मिटरको दुरि कायम गरेर व्यापार-व्यवसाय संचालन गर्न भनेको थियो।

पछि अवस्था झन्-झन् बिग्रदै गयो। ‘लकडाउन’लाई कडा बनाउँदै लगियो। एउटा शहरबाट अति आवश्यक र अनुमतिबिना आवतजावत गर्न बन्द गरियो। सबैलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र ‘सेल्फ-क्वारेन्टाइन’मा घरमै बस्न भनियो। पछि त पूरा ईटली नै ‘लकडाउन’ भयो। आज हरेक दिन समाचार हेर्दा संक्रमित र मृत्यु हुनेको संख्या घटेको समाचार आए हुन्थ्यो भन्ने लाग्छ। तर दिन प्रतिदिन बढिरहेको छ। आशा, कामना अनि प्रार्थना गरौँ : अब चाँडै सबै ठीक हुनेछ र जनजीवन सामान्य हुनेछ।

यतिखेर हामीले नेपालमा कोरोना संक्रमण नफैलियोस्‌ भनेर निरन्‍तर कामना गरिरहेका छौं। नेपालमा अहिलेसम्म भयावह अवस्था देखिएको छैन। तर डर लागिरहेको छ। मानिसहरूसँग नजिक हुन खोज्ने र आत्मीयता बाँड्न चाहने हाम्रो संस्कारले समस्या पो पार्छ कि! किनकी हाम्रो सामाजिक संरचना र संस्कार नै अर्कै छ। अति सुन्दर छ। वल्लो घर-पल्लो घर गर्ने, छिमेकमा जाँदा चियाखाजा सोध्ने, दिने-खाने, बसेर तास खेल्ने, लुडो खेल्ने, गफ गर्ने, सरसहयोग गर्ने! यदी कसैलाई संक्रमण भयो भने त समाज, गाउँ हुँदै पूरै देशमा कस्तो अवस्था आउला? हाम्रो मथिङ्गल यसैले हल्लाइरहेको छ।

यो अनावश्यक त्रासको कुरा होइन। ईटलीको अवस्था हेर्दा सरकारी तवरबाट मात्र गरेको तयारीले मात्र नपुग्‍ने रहेछ। हामी आफैंमा कति सजग छौँ? त्यो महत्त्वपूर्ण रहेछ। संक्रमण फैलिएपछि यो जे हुन्छ, मानिसहरूले अनुशासन पालना नगर्दा जे हुन्छ, राज्यले बेलैमा सजगता नअपनाउँदा जे हुन्छ : त्यो देशले ईटलीले झैं क्षति ब्यहोर्नुपर्छ।

देशभरका अस्पतालमा सामान्य अवस्थामा अरू नै स्वास्थ समस्या भएका हजारौं बिरामी हुन्छन्। त्यसैमाथि हजारौं या लाखौंको संख्यामा संक्रामक बिरामी एकैपटक थपिए भने कस्तो होला? मान्छे राख्ने बेड नै नहुँदा, उपचार गर्ने सामान नै अभाव हुँदा, डाक्टर र नर्स नै बिरामी पर्दा कस्तो होला? बिरामी दिनहुँ हजारौं थपिएर अलि बाँच्ने सम्भावना हुनेलाइ मात्र हेर्ने, अनि अरूलाई छोड्नुपर्ने अवस्था आउँदा कस्तो होला ? 

इटालीमा डाक्टरहरूले भनिरहेका छन्‌ कि अस्पताल आएका बिरामीलाई हेर्ने समय नै नहुँदा उनीहरूको ज्यान गइरहेको छ। नर्सहरूका अनुसार अक्सिजन दिन समेत नभ्याउँदा कैयौं संक्रमितको ज्यान गइरहेको छ। विश्वकै शक्तिशालीमध्ये एक मानिने इटालीमा यतिखेर स्वास्थ्यसामग्री समेत अभाव भएको छ। अस्पतालमा ठाउँ अभाव हुँदा पानीजहाजमा समेत बिरामी राखिएको छ।

सैयौं लाशहरूलाई एकैपटक व्यवस्‍थापन गर्न गाह्रो हुँदा सेनाले आफ्ना गाडीहरूमा राखेर अर्को प्रान्तमा पुर्‍याउनुपरेको छ। शुरूमा संक्रमित भेटिँदा र केही मानिसको मृत्यु हुँदासम्म यस्तो हुन्छ भन्‍ने कसैले कल्पना समेत गरेका थिएनन्‌। हामी प्रवासीहरूलाई पनि आश्रय लिएको देशको अवस्था यस्तो होला भन्ने लागेकै थिएन। स्थानीयहरू ढुक्‍क देखिन्‍थे। केही सय मानिस मर्दासम्म ढुक्‍क देखिएको इटालीको अवस्‍था आज भयावह र शोकाकुल छ। 

नेपालमा अहिलेसम्म जम्मा दुई जनामा मात्र कोरोना संक्रमण देखिएको जानकारी हामीले पाएका छौं। संक्रमितमध्ये पनि एक जना त उपचार पाएपछि पूर्ण स्वास्थ्यलाभ हासिल गरी घर फर्किइसकेका रहेछन्‌। तर नयाँ संक्रमित, त्यो पनि देश फर्किएको निकै समयपछि पहिचान भएकाले अब नेपालीहरूले उच्च सतर्कता अपनाउनुपर्नेछ। हेल्चक्य्राईं गर्दा इटालीको जस्तो अवस्था निम्तिन सक्छ। नेपालमा ईटलीको जस्तो अवस्था आयो भने त्यसले अकल्पनीय क्षति निम्त्याउँछ।  

त्यसैले सबै नेपालीहरूमा आग्रह छ: कृपया आफैं सजग बनौं, कोरोनालाई सामान्य रुपमा नलिऔँ। तर ज्यादा त्रसित पनि नबनौँ। घरबाट बाहिर ननिस्कौँ। केही सामान किन्न परिवारका एकजना जाऔँ, सामान लिएर आऔँ, राम्रो सँग हात धोऔँ।

सार्वजनिक सवारीसाधन प्रयोग नै नगरौं। छिमेकी, वल्लो घर-पल्लो घरको मान्छे भेट्नै परे भेट्दा केही हात टाढै बसौं। जिन्दगी रहे त नजिक हुने, भलाकुसारी गर्ने, सरसहयोग गर्ने, रमाइलो गर्ने समय फेरि पनि आउँछ। कोरोना संक्रमण नियन्त्रणमा सरकारको भर परेर हुँदैन। किनकी यो सरकारले कुनै निर्देशन दिँदैमा नियन्त्रण हुने कुरा पनि होइन। यो त तपाईं-हाम्रो दैनिक जीवनव्यवहारका कारण, भाैतिक निकटकता कारण र स्वास्थ्य सजगता नअपनाउँदा महामारीको रूप लिने समस्या हो। यसलाई रोकथाम गर्न त नागरिककै तर्फबाट जति सक्दो सजगता अपनाउनु पर्ने रहेछ। हामी जति कम मान्छेको सम्पर्कमा जान्छौं, त्यति नै संक्रमणको जोखिम कम हुने रहेछ।

त्यसैले सरकारले ‘लकडाउन’ घोषणा गरेको हो। विश्वभर नै कोरोना संक्रमण फैलन नदिन सरकारहरूले यस्तो घोषणा गरिरहेका छन्‌ र नागरिकले पनि इमान्दारीपूर्वक सरकारी घोषणालाई पालना गरिरहेका छन्‌। लकडाउनको अर्थ सरकारले तपाईंलाई नियन्त्रण गर्न खोजेको वा अधिकार खोसेको भन्ने होइन। बरू संक्रमण फैलिएर तपाईंको ज्यानै लिन सक्ने कोरोना भाइरसलाई नियन्त्रण गर्न खोजेको हो। स्वस्थ भई बाँच्न पाउने तपाइँको अधिकारलाई सुनिश्चित गर्न सरकारले ‘लकडाउन’ गरिदिएको हो। ‘

अहिलेसम्म केहि भएकै छैन’ भनी कोरोना संक्रमण जोखिमलाई सामान्य रूपमा लिन नहुने रहेछ। संक्रमण फैलिएपछि यसले विकराल रूप लिन्छ। त्यसलाई हामीले चाहेर पनि रोक्न सक्दैनौं। सकेसम्म घरबाट ननिस्कौँ, अरू मानिसको प्रत्यक्ष सम्पर्कमा नजाऔं, भीडभाड देखिहाले त्यसतर्फ जाँदै नजाऔँ। 

नेपालीहरूले ‘लकडाउन’को निर्णयलाई हुबहु पालना गरे अहिले विश्वका कयौं शक्तिशाली मानिने देशहरूले भोगिरहेको साह्रै नै कठिन समस्या भोग्‍नुपर्ने छैन। कोरोना महामारीले बितण्डा मच्चाएको प्रवासबाट हामीले सबै नेपालीहरूको सु-स्वास्थ्य र दीर्घायुका लागि कामना गरिरहेका छौं। फेरि पनि : स्वास्थ्य सजगता अपनाउनुहोला, भीडभाडमा नजानुहोला, कोठा या घरमै बस्नुहोला, सँगै रहेका परिवार बाहेकका अरू मानिसहरूसँग सकेसम्म नभेट्नुहोला, ‘लकडाउन’लाई पूर्ण रूपमा कार्यान्वयन गर्नु/गराउनुहोला। धन्यवाद ! – थाहा खबर डट कमबाट 

Continue Reading

Facebook Comment

23 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

होटल जलेर खरानी भए पनि समाजसेवा रोकिएन, दुलालले बनाए नमुना ज्येष्ठ नागरिक चौतारी

Published

on

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले मौलिक नेपाली संस्कृति र धार्मिक महत्व झल्काउने ज्येष्ठ नागरिक चौतारी (फल्चा) निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।

दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण गरिएको उक्त चौतारी दुलालले आफ्नै निजी १२ धुर जग्गामा करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेका हुन्। उपत्यकाबाहिर विरलै देखिने मौलिक शैलीको चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ तथा निर्माण सामग्री ल्याइएको थियो।

इँटा र काठमा आकर्षक बुट्टा कुँदेर निर्माण गरिएको चौतारीले पुरानो नेपाली मौलिक संस्कृति र वास्तुकलाको झल्को दिन्छ। चौतारी निर्माणका क्रममा भक्तपुरमा पूजाआजा गरी देवीझोडाको माटो र मास प्रयोग गरेर इँटा जडान गरिएको दुलालले बताए।

दुलाल दम्पतीको परिकल्पनामा निर्माण भएको चौतारीको निर्माण कार्य प्रमिला दुलाल इन्द्रपुर लायन्स क्लबको अध्यक्ष रहेका बेला अघि बढाइएको थियो। निर्माण सम्पन्न भएपछि यसको मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी इन्द्रपुर लायन्स क्लबलाई दिने गरी समुदायलाई हस्तान्तरण गरिएको हो।

होटल जलेर खरानी भए पनि समाजसेवा निरन्तर
दुलालले सञ्चालन गर्दै आएको नेपालीरिका होटल गत वर्षको जेनजी आन्दोलनका क्रममा आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। होटल जलेर ठूलो क्षति व्यहोर्नुपरे पनि दुलाल परिवारले सामाजिक सेवाको अभियानलाई निरन्तरता दिएको हो।

आफ्नो व्यक्तिगत पीडाका बाबजुद दुलालले जग्गासहित करिब १ करोड रुपैयाँ बराबरको संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।

चौतारी हस्तान्तरण कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले दुलाल परिवारले देखाएको सामाजिक संस्कार र सेवाभावबाट सबैले सिक्नुपर्ने बताए।

उनले पछिल्लो समय समाजमा सामाजिक तथा नैतिक संस्कार कमजोर हुँदै गएको उल्लेख गर्दै मानवीय र नैतिक शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। दुलालले निर्माण गरेको चौतारीले नेपाली मौलिकपनलाई जीवन्त राख्नुका साथै ज्येष्ठ नागरिकबीच अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण थलोका रूपमा भूमिका खेल्ने उनको भनाइ थियो।

निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था
चौतारी परिसरमा शौचालय, खानेपानीको धारा र किचनसमेत निर्माण गरिएको छ। साथै, दुलालको आफ्नै उद्योग पीएलओ ल्युब आयल प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्समार्फत हरेक मंगलबार ज्येष्ठ नागरिकसहित समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको दुलालले जानकारी दिए।

चौतारीको संरक्षण, संवर्द्धन तथा रेखदेखको जिम्मेवारी सुन्दर नमुना टोल विकास संस्थाले लिने अध्यक्ष गोपाल दाहालले बताए। समुदायका सबै पक्षको सहकार्यमा संरचनाको संरक्षण गर्दै आगामी पुस्ताका लागि समेत उपयोगी बनाइने उनको भनाइ छ।

हस्तान्तरण कार्यक्रममा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य रूजा घिमिरे, इन्द्रपुर लायन्स क्लबका अध्यक्ष योजना शर्मा, इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेत तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीलगायतको उपस्थिति थियो।

दुलाल परिवारले विगत ३६ वर्षदेखि सुन्दरहरैँचा क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाइएको छ। व्यक्तिगत कठिनाइ र क्षतिका बीच पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहेको दुलाल परिवारको कार्यक्रममा उपस्थित अतिथिहरूले प्रशंसा गर्दै आगामी दिनमा समेत सेवाकार्यलाई निरन्तरता दिन शुभकामना दिएका थिए।

Continue Reading

Banner

प्रमिला ढकाल ‘एरिका’ कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार

Published

on

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि युवा नेतृ प्रमिला ढकाल ‘एरिकाले उम्मेदवारी दिने तयारी गरेकी छन्। कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता असोज १९ गते हुने निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेको छ।
ढकालले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघको इकाइ सदस्यबाट सुरु गरेकी हुन्। उनका अनुसार उनी २०७२ सालमा सुकुना बहुमुखी क्याम्पसको नेविसंघ इकाइ सदस्य, २०७५ सालमा नेविसंघ सुन्दरहरैँचा नगर उपसभापति हुँदै संगठनमा सक्रिय रहिन्।
त्यसपछि २०८० सालमा नेविसंघको केन्द्रीय सदस्य बनेकी ढकालले २०८१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय शिक्षा विभाग प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्। २०८० सालमा एरिका ढकाललाई नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य रहेकी थिइन् उनको राजनीतिक सक्रियता विद्यार्थी संगठनमा मात्र सीमित छैन। २०८१ सालमा उनी नेपाली कांग्रेसकी क्षेत्रीय प्रतिनिधि बनेकी थिइन् भने प्रदेश सभा निर्वाचन क्षेत्र ३(ख)को सचिव पदका लागि प्रत्याशीसमेत बनेको उनले जनाएको विवरणमा उल्लेख छ।

ढकालले कांग्रेसलाई नेपाली समाज, युवा पुस्ता र वर्तमान समयको आवश्यकता अनुरूप अघि बढाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएकी छन्।

“नेपाली कांग्रेस पार्टीलाई नेपाल र नेपाली माटो सुहाउँदो युवा मैत्री पहिलो पार्टी बनाउनका निमित्त मैले उम्मेदवारी दिँदैछु,” ढकालको भनाइ छ।

उनले कांग्रेसको राजनीतिक दस्तावेजलाई अझ प्रगतिशील र समयसापेक्ष बनाउँदै नेपालको समुन्नतिका लागि काम गर्ने आफ्नो उद्देश्य रहेको बताएकी छन्।

युवा पुस्ताको सहभागिता, विद्यार्थी राजनीतिबाट पार्टीको मूल नेतृत्वसम्मको यात्रा र संगठनभित्र प्राप्त जिम्मेवारीलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गर्दै ढकालले कांग्रेसको भावी राजनीतिक दिशामा युवाको भूमिका थप बलियो बनाउनुपर्ने धारणा अघि सारेकी छन्।

Continue Reading

Banner

सलकपुरमा चारदिने कला उत्सव हुने

Published

on

मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा सलकपुर कला उत्सव २०८३ आयोजना हुने भएको छ। शिल्पी नाट्य केन्द्र, सलकपुरको आयोजनामा हुने उत्सव चार दिनसम्म सञ्चालन हुनेछ।
उत्सवमा नाटक, कविता, गजललगायतका साहित्यिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै, गायिका झुमा लिम्बु र रैथाने ब्यान्डको विशेष साङ्गीतिक प्रस्तुति समेत रहनेछ।
कला, साहित्य, सङ्गीत र संस्कृतिप्रति रुचि राख्ने दर्शकलाई लक्षित गर्दै आयोजना गरिएको उत्सवमा परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमको आनन्द लिन आयोजकले आग्रह गरेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक