Banner
एमालेको ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा, भोलि उद्घाटन हुने
शनिबार उद्घाटन हुने नेकपा (एमाले) को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उद्घाटन सत्र सल्लाघारीमा हुने भएको हो ।
देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले उद्घाटन स्थल अवलोकन, तथा पार्टी कार्यालयमा भेटघाट, भिडियो कैद, सामाजिक सञ्जालका सामग्री निर्माणजस्ता गतिविधिमा सक्रिय छन् । महाधिवेशन प्रतिनिधिहरू आजसम्म करिब सबै आइसक्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उद्घाटन स्थल विश्व सम्पदा सूचीमा परेको चाँगुनारायण मन्दिरको स्थापत्य झल्किने गरी निर्माण हुँदै छ । भक्तपुरसहित उपत्यकाका ऐतिहासिक–सांस्कृतिक सम्पदाको पहिचानलाई मञ्चमा समेटिने गरी मल्लकालीन शैलीमा मञ्च निर्माण भइरहेको छ । मञ्चको दायाँ–बायाँ हिमालको आकृति बनाइँदै गर्दा स्थलमा कार्यकर्ता र स्थानीय नागरिकको भिड लाग्ने गरेको छ ।
मञ्च निर्माणमा खटिएकी नेकपा (एमाले) भक्तपुर जिल्ला उपाध्यक्ष तथा बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले रातदिन मञ्च निर्माण, अस्थायी संरचना स्थापनासहितका काम जारी रहने बताए। उनका अनुसार मञ्चको मुख्य संरचना लगभग तयार भइसकेको छ । करिब ३० वटा अस्थायी शौचालय, प्रवेशद्वार तथा आवश्यक अन्य संरचनाहरू बनाउने काम अन्तिम चरणमा पुगेको छ ।
चाँगुनारायण मन्दिरको आभास दिने गरी निर्माण भइरहेको मुख्य मञ्च बाहिरबाट हेर्दा नै आकर्षक देखिने र मञ्चबाट उभिएर मन्तव्य दिँदा मन्दिरको सिँढीमै उभिएको अनुभूति हुने गरी विशेष डिजाइन गरिएको उनले बताए । मञ्चमा नेवारी कला–संस्कृति झल्कने दृश्य, प्रतीक तथा सजावटका संरचनाहरू राखिनेछन् । मञ्चको उत्तरतर्फ करिब ३० वटा अस्थायी शौचालय निर्माण भइरहेको छ । त्यस्तै उद्घाटनका दिन झाँकी प्रदर्शन गर्ने गेट, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूका लागि छुट्टै प्रवेशद्वार र सर्वसाधारणका लागि पृथक् गेट निर्माण हुँदै छ ।
उद्घाटन समारोह स्थलमा तीन लाख जनासम्म अट्ने गरी तयारी भइरहेको छ । प्रमुख दर्शक स्थलतर्फ २५ हजार कुर्सी राखिने र एमालेसहित विभिन्न दलका शीर्ष नेता, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी हुने व्यवस्था मिलाइने उपाध्यक्ष थापाले बताए ।
मञ्च निर्माण स्थलमा अनुगमन गर्न पुगेका एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले कार्यक्रम भव्य र अनुशासित बनाउन १० हजार नेशनल भोलेन्टियर्स तथा अन्य जनसंगठनका स्वयंसेवक परिचालन गरिने जानकारी दिए । उनका अनुसार पोसाकसहितका ५ सय ५० स्वयंसेवक विशेष रूपमा व्यवस्था गरिनेछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर २७ गते मध्यान्ह उद्घाटन गर्ने कार्यक्रम रहेकाले पूर्वतर्फबाट जगाती र पश्चिमतर्फबाट गठ्ठाघर हुँदै विशाल र्यालीसहित सहभागीहरू सभा स्थलतर्फ जाने व्यवस्थासमेत मिलाइएको उनले बताए ।
यसअघि पार्टी अध्यक्ष ओलीको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर भक्तपुरको चारै नगरपालिका क्षेत्रमा घरदैलो अभियान सकिएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए। उनका अनुसार वडा अनुसार कार्यकर्ताहरूले घर-घरमा पुगेर करिब २२ हजार निमन्त्रणा पत्र वितरण गरिसकेका छन् । आजै विभिन्न स्थानमा ब्यानर, पार्टी झण्डा राखी प्रचार–प्रसार गरिएको र भोलिदेखि माइकिङ सुरु गरिने जानकारी उनले दिए ।
उद्घाटनका दिन भक्तपुरका सबै वडाबाट सांस्कृतिक झाँकीसहितको र्याली प्रदर्शन गरी कार्यक्रम स्थल प्रवेश गर्ने तयारीसमेत समापन भइरहेको देउजाले बताए । भक्तपुरबाट मात्र करिब २५ हजार कार्यकर्ता सहभागी गराउने लक्ष्य राखिएको उनले जानकारी दिए ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login