Banner
एमालेबाट निकालिएपछि के गर्दैछन् भीम रावल ?
धनगढी — सुदूरपश्चिम एमालेको राजनीतिमा २०५० सालयताको करिब अढाई दशकसम्म ‘एमाले भनेकै भीम रावल र भीम रावल भनेकै एमाले’ भन्ने जस्तो अवस्था थियो। रावलको त्यही राजनीतिक रापतापलाई पछ्याउने समर्थकको ताँती पनि बाक्लै थियो। तर जीवनको उत्तरार्धतिर आएर उनको त्यो राजनीतिक माहोलले कोल्टे फेेरेको छ।
पार्टीभित्रका गलत कार्यको आलोचना र अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएकै कारण राष्ट्रिय राजनीतिमा समेत राम्रो प्रभाव बनाइरहेका रावल एमालेबाट मिल्काइएका छन्। जीवनको करिब ५० वर्ष पार्टी निर्माणमा लगाएका रावललाई एमालेले अपमानपूर्ण ढंगबाट निष्काशित गरेको छ।
एमालेबाट निकालिएपछि रावलसँग विकल्पहरु सीमित भए। अछाम निर्वाचन क्षेत्र-१ बाट पाँच पटक निर्वाचन लड्दा तीनपटक जित र दुई पटक हार ब्यहोरेका रावललाई नेकपा एमालेले ०८१ पुस १० गते पार्टीबाट निष्काशित गर्यो । पार्टीबाट निकालिएपछि उनले वैकल्पिक राजनीतिक संगठन निर्माणको उद्घोष गरे ।
०८१ पुस १७ गते काठमाडौं पत्रकार सम्मेलन गरी ‘मातृभूमि जागरण अभियान’ घोषणा गरेका थिए । तर रावलले सुरुमा जुन रापताप देखाएका थिए, पछिल्लो समय त्यो सेलाउँदै गएको प्रतिक्रिया आइरहेका छन् ।
मातृभूमि जागरण अभियान घोषणा गरेलगत्तै उनी माघ पहिलो साता गृह जिल्ला अछाम पुगे । अछाममा आएर करिब एक महिना उनले विभिन्न ठाउँमा भेलाहरु आयोजना गरे, भेटघाट गरे र आफ्ना समर्थकहरुलाई संगठित गरे । त्यस क्रममा सुदूरपश्चिमका अन्य पहाडी जिल्लाहरुमा पनि उनले दौडधुप गरे । अछाममा त एमाले त्यागेर रावलको अभियानमा आवद्ध हुने लहर नै चल्यो ।
एमालेमा रहेका सात हजार संगठित सदस्यमध्ये करिब तीन हजारले एमाले त्यागेर रावलले सञ्चालन गरिरहेको मातृभूमि जागरण अभियानमा आवद्ध भएको रावल निकट कार्यकर्ताहरुको दाबी छ । माघ अन्तिम साता धनगढीमा पनि भेला आयोजना गरेका थिए ।
सुदूरपश्चिमबाट फर्केपछि अभियान विस्तारका लागि उनी सुदूरपश्चिमेलीको ठूलो संख्या रहेको भारत प्रवास हानिए । भारतका मुम्बई, पुना, बैसुर लगायतका ठाउँमा आयोजित भेलाहरुलाई उनले सम्बोधन गरे, भेटघाट गरे ।
भारतबाट फर्केपछि सार्वजनिक गतिविधिमा नदेखिएका उनी चैत १८ गते कमल कोइरालालाई श्रद्धाञ्जली दिनका लागि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा देखिए । त्यसबाहेक सार्वजनिक कार्यक्रममा देखिएनन् । चैत यताका करिब दुई महिना उनले कुनै सार्वजनिक गतिविधि गरेनन् ।
राष्ट्रिय राजनीतिमा उत्पन्न भएको आन्दोलनहरुको अवस्थाले मातृभूमि जागरण अभियानका गतिविधिहरुलाई केही समय रोकेको रावल बताउँछन् । ‘यसबीचमा शिक्षक आन्दोलन, राजासंस्थावादीको आन्दोलन, समाजवादी मोर्चाको प्रदर्शन लगायतका कारणले राष्ट्रिय राजनीतिलाई केही तरंगित गर्यो,’ रावलले भने, ‘यस बीचमा नवलपरासी, रुपन्देहीको देवदह, लमही, बाँके, कैलाली, टोली लगायत विभिन्न ठाउँमा भेटघाट गरेको छु । विभिन्न क्षेत्रका व्यक्तिहरुसँग आन्तरिक रुपमा घनिभुत ढंगले छलफल भेटघाट निरन्तर छ ।’
यही साता उनी कैलाली हुँदै पुनः अछाम पुगेका छन् । यस क्रममा रावलले कैलालीको घोडाघोडीमा भेला आयोजना गरे । त्यसबाहेक कैलालीको चौमाला, अत्तरिया र धनगढीमा पनि भेटघाट छलफल गरेको रावलले बताए । ‘रोपाइँको सिजन सुरु भएको र वर्षाको मौसम सुरु हुन लागेकाले भेला जमघट लगायत गतिविधिहरु केही समय रोकिन्छन् होला,’ रावलले भने ।
रावल आफू पार्टी घोषणाको आधार निर्माणको तीव्र तयारी गरिरहेको रहेको र त्यसमा स्पष्ट रहेको बताउँछन् । दुई साताअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियान अन्तर्गत अछामको सभालाई सम्बोधन गर्दै भीम रावललाई सहकार्यको प्रस्ताव गरेका थिए ।
सभामा प्रचण्डले भनेका थिए ‘यहाँ आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, उहाँसँग हिजो मात्र फोनमा कुरा भएको थियो । मैले तपाईं किन अरु ठाउँ भौतारिरहनु भएको छ । आउनुस् समय खेर नफाल्नुस् हामी बसेर कुरा गरौं, सहकार्य गरौं भने ।’ रावलले प्रचण्डको उक्त भनाइलाई अछाम पुगेका बेला व्यक्त गरिएको राजनीतिक शिष्टाचारका रुपमा टिप्पणी गरे ।
रावल विरोधमा हुँदा एमालेलाई कति फरक पर्ला ?
रावललाई एमालेले केही महिनाअघि मात्रै पार्टीबाट निष्काशित गरेको भए पनि पार्टीको चितवन महाधिवेशनपछि उनी लगभग पार्टी गतिविधिमा संलग्न थिएनन्, संलग्न गराइएको थिएन ।
०७९ को निर्वाचनका बेला अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएर पनि पार्टी केन्द्रले उनलाई टिकट नदिएपछि पार्टी नेतृत्वसँगको दूरी झन् धेरै तन्किएको थियो ।
त्यही बेलादेखि सुदूरपश्चिममा रावलका कारणले एमालेलाई धक्का लाग्ने अड्कलबाजी गरिएका थिए । भीम रावल असन्तुष्ट भएका कारणले कति हो, त्यो अध्ययनको विषय हो तर त्यो निर्वाचनमा एमालेले सुदूरपश्चिममा नराम्ररी धक्का खायो ।
संघका १६ मध्ये दुई र प्रदेशका ३२ मध्ये तीनवटा निर्वाचन क्षेत्रमा मात्र एमालेले प्रत्यक्ष निर्वाचन जित्न सक्यो । त्यसको प्रत्यक्ष वा परोक्ष कारक भीम रावललाई लगाइएको पाखाको असरका रुपमा अर्थ्याउनेहरु तमाम थिए । एमाले कार्यकर्ताहरु स्वमं पनि भीम रावलको निष्कृयता वा असहयोगका कारण असर खेप्नु परेको स्वीकार्छन् ।
यतिबेला एमालेबाट अलग्याइएपछि औपचारिक रुपमै अलग अभियान र पार्टी निर्माणको राजनीतिक यात्रामा जुटेपछि एमालेलाई थप धक्का लाग्ने कुरा लगभग निश्चित छ । त्यसैमा सुदूरपश्चिम एमाले चिरैचिरा र गुटैगुटमा विभक्त अवस्थामा छ । एक नेताले अर्को नेतालाई स्वीकार गरिरहेको अवस्था छैन ।
सुदूरपश्चिममा अहिलेका शीर्ष नेताहरु केन्द्रीय सचिव रहेका लेखराज भट्ट, दामोदर भण्डारी र कर्णबहादुर थापाबीच चरम बेमेल र शक्ति संघर्ष छ । अबको अध्यक्षमा विद्या भण्डारी हुनुपर्ने लविइङमा खुलेका कर्ण थापा अहिले पनि भीम रावललाई पार्टीमा अटाउनुपर्ने टिप्पणी गरिरहेका छन् । तर भट्ट र भण्डारीलाई भने रावल नहुँदा हाइसञ्चो झैँ भएको छ । एमाले कार्यकर्ताहरुका अनुसार आन्तरिक रुपमा न भण्डारीले भट्टलाई मान्छन् न भट्ट भण्डारीप्रति नै आश्वस्त छन् ।
नेता रावल एमालेभित्र आगामी दिनमा गुट, उपगुटको अन्तरविरोध थप चर्किने आकलन गर्छन् । ‘एमालेभित्र इमान्दार कार्यकर्ताहरुलाई चरम उकुसमुकुस छ । कुनै न कुनै रुपमा चाँडै विष्फोटको अवस्थामा पुग्ने देख्छु,’ रावल भन्छन्, ‘एमालेभित्रका देशभक्तहरु एक ठाउँमा उभिने छन् ।’
रावलको अभियानमा उत्रिएका अछामका पूर्व एमाले नेता प्रकाश शाह अहिलेकै अवस्था कायम रहे एमालेले आगामी निर्वाचनमा थप धक्का ब्यहोर्नुपर्ने दाबी गर्छन् । ‘अहिले एमालेको उपल्लो तहको नेता मातृभूमि जागरण अभियानमा नखुलेका भए पनि भित्रभित्र धेरै कोणमा छलफल र तयारी भइरहेको छ,’ शाहले भने ‘धेरैलाई पार्टी घोषणाको दिनको प्रतिक्षा छ । रावलको अभियान वा पार्टीमा लाग्नेहरुको ठूलो हिस्सा एमालेकै नेता कार्यकर्ताको हुने भएकाले एमालेलाई धक्का लाग्ने कुरा त प्रष्ट नै छ ।’ एकीकृत समाजवादीको ठूलो पंक्ति पनि रावलको समर्थनमा आउने कुरा भइरहेको उनले बताए ।
तर कतिपय एमाले नेताहरु भने भीम रावलले अबको दिनमा एमालेलाई खासै क्षति गर्न नसक्ने दाबी गर्छन् । एमाले अछामका उपाध्यक्ष तिलक कुँवर भन्छन्, ‘भीम रावल एमालेमै हुनुपर्थ्यो, त्यो बेग्लै कुरा भयो । तर अब पार्टीलाई कुनै असर पर्दैन, जति कमजोर गराउनुथियो गराइसके, जति असर पर्यो परिसक्यो,’ उपाध्यक्ष कुँवरले भने ‘०७९ को निर्वाचनमा रावलको सम्पूर्ण शक्ति एमालेविरुद्ध परिचालन भएर केही असर परेको हो । अब त उनको माहोल दिनप्रति दिन ओरालो लागेको अवस्थामा छ । पार्टीबाट बाहिरिँदा उनीप्रति जुन समर्थन देखिएको थियो, अहिले त्यो अवस्था छैन ।’
एकीकृत समाजवादीका केन्द्रीय सदस्य कुलबहादुर कुँवरका बुझाइमा अछामको १ नम्बर निर्वाचन क्षेत्रमा बढ्ता प्रभाव पर्नेछ र प्रदेशभर एमालेलाई केही न केही असर त परिहाल्छ । पार्टी नै गठन गरेर अघि बढेपछि प्रभाव विस्तार पनि हुन सक्ने उनको आकलन छ । ‘तर गैर कम्युनिष्ट पार्टी गठन गर्ने भन्ने कुराले सहानुभूति घट्ने देख्छु,’ कुँवर भन्छन् ‘पार्टी गठन गर्यो भने कस्ता कस्ता र कुन तहमा नेता कार्यकर्ता उनको समर्थनमा खुल्छन् भन्ने कुराले अर्थ राख्नेछ ।’
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login