Banner
एमाले बैठकमा विद्या भण्डारीको चर्चा, मुख नखोल्दा अन्योल
नेकपा एमालेको ५३ औँ केन्द्रीय सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने वा नफर्कने भन्नेबारे चर्चा भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा सदस्यहरूले पछिल्ला दिनमा पूर्वराष्ट्रपति भण्डारीले गरेका विभिन्न जिल्ला भ्रमण, भेटघाट, संवाद र अभिव्यक्ति एमालेको आन्तरिक राजनीतिमा जोडिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीको मुड बुझ्ने प्रयास गरेका थिए ।
‘उहाँ (विद्यादेवी भण्डारी)बारे सञ्चारमाध्यमहरूमा भइरहेका चर्चा परिचर्चा मैले पनि सुनिराखेको छु । चर्चा परिचर्चा आ–आफ्नै ढंगले भइरहेका छन् । ती आ–आफ्नै स्वार्थ अनुकूल पनि देखिन्छन्,’ बैठकमा ओलीले राखेको धारणा उद्धृत गर्दै स्रोतले भन्यो ।
‘उहाँले म फलानो पदमा आउँछु भनेर अहिलेसम्म भनेको अवस्था छैन । न व्यक्तिगत रूपमा भन्नुभएको छ, न सार्वजनिक रूपमै भन्नुभएको छ, तर अनुमानका भरमा अनावश्यक चर्चा हुँदै आएका छन्’, ओलीले बैठकमा ब्रिफिङ गर्दै भनेका थिए ।
बैठकमा भण्डारीका बारेमा भएको चर्चा र अध्यक्ष ओलीले गरेको विश्लेषण सुनाउँदै ती सदस्यले रातोपाटीसँग भने, ‘विद्या भण्डारीका बारेमा बुधबारको बैठकमा कुरा उठ्यो । चर्चा भयो । उहाँले अहिलेसम्म म फलानो पदमा उठछु भनेर कतै भन्नुभएको छैन । फलानो पदमा म उठ्न चाहन्छु भनेर पनि सार्वजनिक वा व्यक्तिगत रूपमा भन्नुभएको छैन । पार्टीमा आवश्यक प¥यो भने तयार छु मात्र भन्नुभएको हो । त्यो आवश्यकता महसुस पार्टीले गर्ने हो ।’
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे बाहिर भइरहेका चर्चाबारे निष्कर्षका रूपमा सुनाउँदै थप भनेका थिए, ‘…त्यसैले हामी कसैले पनि तपाईं आउनुस् र नआउनुस् भन्न पनि मिल्दैन ।’
भण्डारी ७ वर्षसम्म राष्ट्रपति पदमा रहेर २०७९ साल फागुनमा शीतल निवासबाट बाहिरिएकी थिइन् । त्यस यता उनी बुढानीलकण्ठस्थित निजी निवास भँगालमा बस्दै आएकी छन् । उनी पछिल्लो समय विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुने र विभिन्न जिल्ला पुगेर एमाले नेता–कार्यकर्तासँग भेटघाटमा पनि सक्रिय भएकी छन् । त्यसबाहेक उनले छिमेकी मुलुक चीनको भ्रमणसमेत गरेकी छन् ।
उनको जिल्ला भ्रमण, एमाले नेता–कार्यकर्ताहरूसँगको संवाद र छलफल अनि उत्तरी छिमेकी मुलुक चीन भ्रमणलाई कतिपयले एमालेको सक्रिय राजनीतिमा फर्कने ‘वामअर्प’का रूपमा अर्थ्याउने गरेका छन् । एमालेकै कतिपय नेता–कार्यकर्ता पनि त्यसलाई स्वीकार गरिरहेका छन् । यस्तो अवस्थामा अध्यक्ष ओलीले विश्राम लिनुपर्ने र भण्डारीले पार्टीको नेतृत्व लिनुपर्ने ती नेता–कार्यकर्ताको मत रहँदै आएको छ ।
तर एमाले अध्यक्ष ओली अहिले नै भण्डारीलाई नेतृत्व सुम्पन तयार देखिँदैनन् । ओलीका पछिल्ला अभिव्यक्तिमा पनि आफू अझै स्वस्थ, सक्रिय र क्रियाशील रहेकाले केही वर्ष आफ्नै नेतृत्वमा पार्टी चलाउने चाहना रहेको बुझ्न कठिन छैन ।
उता भण्डारीले विभिन्न सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै पार्टीमा आफ्नो आवश्यकता महसुस भए आफू सक्रिय राजनीतिमा फर्कने चाहना व्यक्त गर्दै आएकी छन् । भण्डारीले भन्ने गरेकी छन्, ‘म एमालेको सक्रिय राजनीतिमा फर्कंदा पार्टी अझ क्रियाशील हुन्छ र फाइदा हुन्छ भने र पार्टीले आवश्यकताबोध गर्छ भने ठिकै छ, तर मैले व्यक्तिगत रूपमा अब केही लिनुदिनु छैन ।’

हुन पनि दुईपटक राष्ट्रपति, पटक पटक सांसद र मन्त्री भइसकेकाले भण्डारीले व्यक्तिगत रूपमा पाउनु केही छैन । यद्यपि समकालीन नेताहरू सक्रिय राजनीतिमा रहेका कारण पनि उनी आवश्यकताका आधारमा पार्टी नेतृत्वको भूमिकामा फर्कन चाहन्छिन् । सकभर ओलीकै सहमतिमा र सर्वस्वीकार्य नेतृत्व गर्ने अवस्था आएमात्र पार्टी राजनीतिमा सक्रिय हुने भण्डारीको योजना छ ।
भण्डारीको सक्रियता, एमाले नेतृत्वमा उमेरहद र दुई कार्यकालको विषयबारे एमालेभित्र र बाहिर समेत व्याख्या र विश्लेषण भइरहेका छन् ।
यदि एमालेमा ७० वर्षे उमेरहद कायम रहे त्यसपछि पार्टीको नेतृत्व स्वतः भण्डारीले लिने कतिपयको बुझाइ छ । २०७८ सालमा ७० वर्षे उमेर हद लगाएको एमालेले गत वर्षमात्रै उक्त व्यवस्था केही समयलाई निलम्बन गरेको थियो । आगामी भदौमा हुने दोस्रो विधान महाधिवेशनले उक्त व्यवस्था कायम गर्ने वा हटाउने भन्ने निर्णय समेत गर्नेछ ।
एमाले सचिवालय बैठकमा उमेर हद र दुई कार्यकालबारे खासै छलफल नभएको र विधान महाधिवेशनबाट यो विषय टुङ्गो लाग्ने नेताहरू बताउँछन् । यद्यपि यो विषय प्राविधिकमात्र भएकाले धेरै छलफल गर्न जरुरी नरहेको उनीहरूको भनाइ छ ।
नेताहरूले यस्तो तर्क गरे पनि दोस्रो विधान महाधिवेशन र ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा एमालेमा उमेरहदको विषय पेचिलो बन्दै गएको प्रस्टै देखिन्छ ।
अध्यक्ष ओली र उनी पक्षका नेताहरू कार्यकारी पद र उमेर हदको समय तोक्न नहुने पक्षमा देखिन्छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका केही पदाधिकारी उमेर हद तोकेरै जानुपर्ने पक्षमा बोल्न थालिसकेका छन् ।
भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन पेस गर्नेछन् । पौडेलले पेस गर्ने प्रस्तावमा यो विषय समेटिने नेताहरू बताउँछन् ।
विधान महाधिवेशनअघि तयारीका लागि एमालेले साउन २ गते पोलिटब्यूरो बैठक र साउन ५ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । ती बैठकमार्फत विधान संशोधन प्रस्ताव तयार गरेर तल्ला कमिटीमा सुझावका लागि पठाउने र विधान महाधिवेशनबाट उमेरहद र दुई कार्यकालको छिनोफानो गर्नुअघि एमालेमा यिनै दुई विषय बहसको केन्द्रमा रहने देखिएको छ ।
‘एमालेमा उमेरहद र दुई कार्यकालको विषय बहसमा आइसकेको छ । यो बहसमा पूर्वराष्ट्रपति विद्या भण्डारी र उनको राजनीति गर्ने चाहना पनि कतै न कतै जोडिन्छ’, एमालेका एक पदाधिकारी भन्छन् । ओलीजी अझै आफैँ पार्टी अध्यक्ष बन्न खोजिरहेको र ‘भँगाल’को सक्रियता पनि त्यतिकै रहेको उनको भनाइ छ । ‘यसलाई एमाले नेता–कार्यकर्ताले समायोजन गर्न सके भलो नै होला नत्र एमालेमा भँगालो अझ फाट्न पनि सक्छ,’ उनले भने ।
- सरकार सफल तर सोचेअनुसार भएन
एमाले सचिवालय बैठकमा विद्या भण्डारीबाहेक अध्यक्ष ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धनको एक वर्षे कार्यकालको समेत समीक्षा भएको थियो । बैठकले समग्रमा सरकारको एक वर्षे कार्यकाल सफल भएको निष्कर्ष निकालेको थियो ।
‘सरकार असफल छैन, सफल नै छ तर सोचेको र चाहेको जति काम हुन सकेको छैन’, उपाध्यक्ष युवराज ज्ञवालीले बैठकमा भएको समीक्षा सुनाउँदै भने, ‘तर सरकारका काम कारबाही अझ प्रभावकारी बनाउन समग्रमा मन्त्रीहरूले सक्रियता देखाउनुपर्छ । मन्त्रीहरूले मेहनत गर्नुपर्छ । ब्युरोक्रेसीका काममा अनुगमन र ताकेतामा ध्यान दिनुपर्ने देखिन्छ ।’
ज्ञवालीले सहमतिको सरकार भएकाले सरकारले चाहँदा चाहँदै पनि कतिपय काम गर्न नसकेको बताए । ‘दुई–तीन दल मिलेर बनेको सरकारले सबै चाहेको काम पनि गर्न सक्दैन, तर जनआकांक्षा अनुसारका काममा अझै ध्यान दिनुपर्छ भन्ने बैठकको निष्कर्ष छ’, उनले भने ।
उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा अध्यक्ष ओलीले मुलुकको बदलिँदो परिस्थिति, पार्टीको रणनीतिक कार्यदिशा, सरकारको कार्यसम्पादन र बजेट सम्बन्धी संक्षिप्त जानकारी गराएको बताए ।
‘बैठकले सरकारको एक वर्षे कार्यकाललाई सन्तोषजनक र प्रभावकारी ठहर गर्दै आर्थिक पुनःस्थापनादेखि जनविश्वास अभिवृद्धिसम्मका क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त भएको निष्कर्ष निकालेको छ’, उनले भने ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login