Banner
‘ओभरलोड’ ले भाँचिँदै छन् पुल, प्रयोगविहीन धर्मकाँटा
भन्सार नाकामा बिलमा उल्लेख तौलमा विश्वास गरेरसमेत सवारीसाधन छाड्ने तथा तौल पुल भए पनि प्रयोग नगरिने चलन बढी छ, न त मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका- २०७४ नै कार्यान्वयनमा छ
उक्त पुल पुरानो भए पनि ओभरलोडले गर्दा नयाँ पुल पनि भाँचिने समस्या बढेको छ । यस सडक भएर दैनिक १२ हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । आवागमन अवरुद्ध भएपछि खोलामा डाइभर्सन बनाएर सवारीसाधन सञ्चालनमा ल्याइयो । ९ पटकभन्दा बढी त बाढीले डाइभर्सन नै बगाइदियो, यात्रु र सवारीसाधनले खेप्नुसम्मको सास्ती खेप्नुपर्यो । करिब ६ महिनापछि गत बिहीबार बल्ल भाँचिएको पुल नजिकै निर्माणाधीन पुल सञ्चालनमा आएपछि समस्या टर्यो । अहिले चालक र यात्रुले यात्रामा राहत महसुस गरेका छन् ।
उक्त सडक खण्डमा नै पर्ने नवलपरासीको चोरमारामा रहेको गिरुबारी खोलाको पुल पनि ओभरलोडले गर्दा गत वैशाख २९ मा भाँचियो । पुल भाँचिएपछि उक्त खोलामा अस्थायी डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिएको छ । छेउमै निर्माण थालिएको पुलको काम अझै सकिएको छैन । पुलको बिम राख्ने काम सकिसकेको र बिमभन्दा माथिको काम गर्न बाँकी रहेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले बताए ।
२०७२ साउनमा ट्रिपर र ट्रक एकसाथ पुल पार गर्न खोज्दा नवलपरासीकै जयश्री पुल भाँचिएको थियो । क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन पार गर्न खोज्दा पुल भाँचिएको थियो । लामो समयसम्म चालक र यात्रुले सास्ती खेप्नुपर्यो । पछि अस्थायी बेलिब्रिज बनाएर सवारीसाधन सञ्चालनमा ल्याइयो । हाल यस खण्डमा नयाँ पुल निर्माण भई सञ्चालनमा आएको छ । क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन चलाउँदा पुल भाँचिने समस्या पछिल्लो समय बढ्दै गएको छ ।
भन्सार नाकाबाट क्षमताभन्दा दोब्बर बढी भार बोकेर आउने सवारीसाधनका कारण यस्तो दुर्घटना हुने गरेको हो । नाकाबाट फलामजन्य सामान बोकेर ल्याउने सवारीसाधनका कारण पुल मात्र होइन, राजमार्गसमेत दबिने, कालोपत्र भत्कने समस्या बढेको छ । पहिला यही समस्या नागढुंगा–मुग्लिन सडक खण्डमा बढी थियो, कारण त्यही सडक भएर मालवाहक सवारीसाधन राजधानी भित्रिन्छन् ।
भारतबाट सामान लिएर आउने सवारीसाधनले नाकामा पल्टी गरेर (सामान झारेर) फर्कने गर्छन् । त्यो सामान अर्को सवारीसाधनले बोकेर नेपालतर्फ ल्याइन्छ । ‘फलामजन्य सामग्री बोकेर आएका ठूला सवारीसाधन सिधै उद्योग नै पुग्छन्, त्यस्तो सवारीसाधनको सामान पल्टी गर्न मिल्दैन,’ लामिछानेले भने । यस्ता सवारीसाधन भन्सार नाकाबाट बढीमा सिमरासम्म मात्र पुग्छन् । यसरी आउने सवारीसाधनको तौल नापेर मात्र पठाउने गरिएको दाबी उनको छ । ‘आईसीपी (एकीकृत जाँच चौकी) भित्रै धर्मकाँटा छ, त्यसैले तौल नापेर मात्र गाडी पठाउँछौं,’ उनले थपे, ‘फलामजन्य सामान बोक्ने सवारीसाधन धेरै हुँदैनन्, दिनको पाँच/सात वटा मात्र हुन्छन् ।’
ग्रेनाइट, हाइड्रो पावर र ट्रान्सपोर्टका सवारीसाधनको भारवहन क्षमता बढी हुन्छ । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयमा तौल पुल भए पनि सुठौलीमा छैन । भन्सार कार्यालयका अनुसार उक्त स्थानमा अहिले तौल पुलको निर्माण भइरहेको छ । कतिपय भन्सार नाकाबाट लोड बोकेका सवारीसाधनको तौल जाँच नगरी छाड्दा त्यसको असर पुल र सडकमा पर्ने गरेको सडक विभागका एक प्राविधिक कर्मचारीले बताए । ‘भन्सारबाट आउने सवारीसाधनको लोड धेरै हुन्छ, कतिपय सवारीसाधनले नाकामा राखिएका तौल पुललाई छल्न खोज्छन्,’ ती कर्मचारीले भने, ‘भन्सार नाकाबाट आउने मालवाहक सवारीसाधनका कारण समस्या आएको छ, फेरि सबै भन्सारमा तौल पुल पनि छैन ।’
भन्सार नाकामा बिलमा उल्लेख तौलमा विश्वास गरेरसमेत सवारीसाधन छाड्ने गरिएको दाबी सडक विभाग स्रोतको छ । तौल पुल भए पनि त्यसबाट सवारीसाधन चलाउने गरिएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७४ चैत १६ मा मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ जारी गरेको भए पनि कार्यान्वयनमा छैन । मालवाहक सवारीसाधनको अगाडिको एक्सलको अधिकतम एक्सल लोड ६ टन मानिने मापदण्डमा उल्लेख छ । मापदण्डअनुसार दुई एक्सल (६ पाङ्ग्रा) ले १६.२ टन, तीन एक्सल ट्रकले २५ टन, चार एक्सल ट्रक (१२ पाङ्ग्रा) ले ३१ टन, चार एक्सल (१४ पाङ्ग्रा) ३० टन र पाँच एक्सल (१८ पाङ्ग्रा) ले ४०.२ टन बोक्न पाउने मापदण्डमा उल्लेख छ ।
अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण गत पुस २६ मा भाँचिएको विनयी खोलाको पुल । तस्बिर : नवीन पौडेल/कान्तिपुर
ढुंगा, गिट्टी बोक्ने ट्रिपर, फलामजन्य सामान बोक्ने गाडीहरूको लोड बढी हुन्छ । तौल पुलले कति क्षमतासम्म लोड बोक्न मिल्ने हो भन्ने जाँच गरेपछि मात्र थाहा हुने भएकाले यसमा कडाइ गर्नुपर्ने सडक विभागका एक इन्जिनियरले बताए । ‘क्षमताभन्दा बढी लोड बोकेको पाइए त्यसलाई नियन्त्रण गर्नुपर्छ, भन्सारले कडाइ गर्नुपर्ने हो, त्यो भएको छैन । राजस्वको मात्र हिसाब गर्दा करोडौं खर्चिएर बनाइएका पुल र सडकमा बर्सेनि क्षति पुगिरहेको छ,’ ती इन्जिनियरले भने । एउटा एक्सलले १०.२ टनभन्दा बढी बोक्न हुँदैन भनेर सडकको डिजाइन गरिने ती इन्जिनियरले सुनाए ।
‘१० टनको सट्टा १५ टन आए सडक बिग्रिन्छ,’ उनले भने, ‘एकै चोटि लोड लग्दैमा त्यस्तो नहोला, तर धेरै चोटि ल्याउँदा सडक बिग्रिन्छ ।’ उनका अनुसार राजमार्ग २० वर्षका लागि डिजाइन गरेर बनाइएको हुन्छ । त्यस्तै स्थानीय सडक १० वर्षसम्मका लागि डिजाइन गरेर बनाइएको हुन्छ । ‘२० वर्ष टिक्छ भनेर डिजाइन गरी बनाएको सडक लोड गाडीका कारण पाँच वर्ष नपुग्दै बिग्रने गरेका छन्,’ ती इन्जिनियरले भने, ‘त्यस्तो सडकमा फेरि कालोपत्र मात्र गरेर भएन, बेस, सबबेस नै राखेर काम गर्नुपर्ने हुन्छ ।’
बढी सामान बोकेका मालवाहक सवारीसाधन जहाँ–जहाँ गुड्छन्, त्यहाँ खाल्डो पर्दै जान्छ । राजमार्गहरू साँघुरा छन् । जसले गर्दा वर्षैपिच्छे सडक मर्मत गर्नुपर्ने बाध्यता छ । ‘तोकिएको क्षमताभन्दा बढी टनका गाडीले पुल वारपार गर्दा पुलको आयु घटाउँछ,’ ती इन्जिनियरले भने, ‘पुलको मुखमा कति भारवहनका गाडी गुडाउन मिल्छ भनेर लेखिएकै हुन्छ । तर त्यो कार्यान्वयन भएको छैन ।’ यातायात व्यवस्था विभागले यसमा कडाइ गर्नुपर्ने हो, त्यो हुन सकेको छैन ।
पछिल्लो समय राजमार्गका पुलहरूमा उच्च भारवहन क्षमताका सवारीसाधनका कारण क्षति बढ्दै गएको सडक विभागका महानिर्देशक विजय जैसी सुनाउँछन् । ‘नारायणगढ–बुटवल सडकमा पर्ने विनयी र गिरुबारी खोला पुल बढी भारवहन क्षमताका कारण भाँचिएका हुन्,’ उनले थपे, ‘जसले गर्दा यातायात व्यवस्थापन गर्न केही समय हम्मेहम्मे पर्यो ।’ भन्सार नाकाहरूमा सवारीसाधनको तौल जाँच गरेर मात्र पठाउन सकिए यस्तो समस्या नआउने उनको भनाइ छ ।
चल्दैनन् सरकारी धर्मकाँटा
चितवनको आँपटारीमा २०७७ माघ १८ देखि धर्मकाँटा सञ्चालनमा आए पनि दुई महिनादेखि बिग्रेर बन्द छ । तौल पुलका कर्मचारी प्रदिप आचार्यले तौलका लागि आएको गाडी वैशाख ९ मा लडेर बिम भाँचिएपछि यो तौल पुल बन्द भएको बताए । यही समयमा महोत्तरीको बर्दिबासमा तौल पुल निर्माण गरियो । यो पुल पनि दुई महिनादेखि बिग्रिएको अवस्थामा छ । यहाँ तौल जाँच गरेबापत मालवाहक सवारीले शुल्क तिर्न पर्दैन । उचित निगरानी र कडाइ गर्न नसक्दा यस्ता तौल पुलहरू प्रभावहीन बन्दै आएका छन् । बढी लोड बोकेका सवारीसाधनले तौल पुल छले पनि कारबाही गर्ने निकाय भने मौन छ ।
यतायात व्यवस्था विभागअन्तर्गत सवारी परीक्षण, अन्तरदेशीय यातायात व्यवस्थापन, यातायात र सवारी मापदण्ड निर्धारण शाखाका प्रमुख श्रीकान्त यादवले भने बिग्रिएका धर्मकाँटाको मर्मत थालिएको बताए । ‘धर्मकाँटामा तौल जाँच भएको छ/छैन भनेर अनुगमन विभागले गर्ने हो, हामीसँग जनशक्ति अभावमा त्यो काम गर्न सकिएको छैन,’ उनले भने, ‘यो काम ट्राफिक प्रहरीले गर्दै आएको छ ।’ सम्बन्धित यातायात कार्यालयहरूले पनि बेला–बेलामा मालवाहक सवारीसाधनले तौल पुल प्रयोग गरे/नगरेको बारे अनुगमन गर्ने गरेको उनको भनाइ छ ।
‘सवारी दर्ता किताबमा तोकिएको भन्दा बढी भार बोक्न भएन,’ यादवले भने, ‘कुन सवारीसाधनले कति लोड बोक्न पाउँछ, मापदण्डमा तोकिएको छ । त्यहीअनुसार कति लोड बोकेको छ भन्नेबारे तौल पुलमा राखेपछि थाहा हुन्छ ।’ उनका अनुसार निजी क्षेत्रबाट बनाइएको तौल पुल भने सञ्चालनमा छन् । निजी क्षेत्रबाट इटहरी, सर्लाहीको हरिवन, सिन्धुलीको चियाबारी, धादिङको धार्के, पोखराको विजयपुर, नवलरपरासीको तिलकपुर (यसमा सडक बनिरहेको भएर समस्या भएको छ), बुटवलको रामनगर, नवलपरासीको भुमही, लुम्बिनी (बुद्धचोक नजिक), कपिलवस्तुको चन्द्रौटा जितपुर, दाङको लमही, नेपालगन्जको राँझा, कैलालीको लम्की, धनगढीको अत्तरिया रोडमा तौल पुल सञ्चालनमा छन् ।
हेटौंडाको राप्ती र सिमरामा तौल पुल भए पनि सञ्चालनमा छैनन् । ‘ठूला उद्योगमा पनि तौल पुल छन्, मापदण्डअनुसार गाडीहरूले लोड बोकेका छन्/छैनन्, कति सामान बोकेका छन्, यसको चेकजाँच उद्योगले पनि गर्नुपर्छ, तर यो प्रभावकारी छैन,’ उनले भने, ‘बढी लोडका सवारीसाधनले पुल, सडक भत्कियो भन्ने कुरा आउँछ, तर हाम्रो दुई वटा तौल पुल बिग्रँदैमा तौल नै नहुने अवस्था छैन ।’
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login