Banner
कनकलक्ष्मी सहकारीको ३१ लाख रुपैयाँ हिनामिना, घटनामा संलग्न कर्मचारी २ महिनामा रकम तिर्न सहमत
विराटचोकः २ वर्ष अघि ८ वटा सहकारी मर्ज भएर बनेको मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको बचत रकम हिनामिना भएको छ । झण्डै ३१ लाख रुपैयाँ हिनामिना भएको पाइएको संस्थाले जनाएको छ ।
संस्थाको सेवा केन्द्र गोठगाउँमा कार्यरत कर्मचारी विवेक खवासले संस्थालाई थाहा नदिई सदस्यको कीर्ते हस्ताक्षर गरी बचत रकम झिक्ने गरेका थिए । त्यस क्रममा उनले संस्थामा नियमित रुपमा कारोबार गर्न नआउने व्यक्तिको खाताको प्रयोग गर्ने गरेका थिए । चिनजानका व्यक्तिले रेमिट्यान्सबाट पठाएको पैसा निकालेर खातामा राख्न अह्राउँदा उनले सो पैसा आफैँ लग्ने गरेको पाइएको संस्थाले जनाएको छ । संस्थाको सफ्टवेयरबाट रसिद काटिए पनि सो रसिद सफ्टवेयरबाट हटाउने (रिजेक्ट गर्ने) जस्ता कार्य गर्दै आएकोे पाइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शेखर भट्टराईले बताए । शुक्रबार पैसा गणना गर्दा पूरा रकम नभएपछि सम्बन्धित कर्मचारीलाई सोधपुछ गर्दा हिनामिना भएको पाइएको संस्थाले जनाएको छ ।
रकम हिनामिना भएको पाइएपछि प्रहरी चौकी गछियामा लगेर १ दिन राखी सोधपुछ गर्दा तथा हिसाब हेर्दा करीब ३१ लाख बराबरको रकम हिनामिना गरेको पाइएको सञ्चालक समिति अध्यक्ष अर्जुनराज अधिकारीले बताए ।
त्यसपछि वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आले मगर र वडा नम्बर ३ का वडाध्यक्ष विदुर ढुंगानासहित संस्थाका प्रतिनिधि बसेर कर्मचारीले हिनामिना गरेको रकम असुल उपर गर्ने गरी लिखित कागज भएको अध्यक्ष अधिकारीले बताए ।
अधिकारीका अनुसार ती कर्मचारीले ९ लाख ९५ हजार रुपैयाँको चेक संस्थालाई दिएका छन् । बाँकी २१ लाख रुपैयाँ भदौ १० गतेसम्ममा तिर्ने शर्तमा उनलाई छाडिएको छ ।
अधिकारीका अनुसार हिनामिना गर्ने व्यक्ति आर्थिक अवस्था कमजोर भएका व्यक्ति भएका हुनाले उनले सो रकम कतै लगानीमा लगाएको होला भन्ने केही शेयर सदस्यले बताएपछि २ महिनाको समय दिइएको हो । संस्थाका सदस्यलाई मार पर्ने गरी गरिएको यो बदमासीमाथि थप छानबिन गरी कारवाही हुने संस्थाका अध्यक्ष अधिकारी बताउँछन् । अध्यक्ष अधिकारीले संस्थाले नगरपालिका तथा प्रदेश रजिष्टार कार्यालयलाई घटनाको विषयमा जानकारी गराइसकेको बताए ।
रकम हिनामिना गर्ने कर्मचारी गोठगाउँमा रहेको सेवा केन्द्रको काउन्टरमा बस्ने गरेका थिए । केन्द्रका प्रमुख बिदामा बस्दा सेवालाई सहज होस् भनेर उनलाई एड्मिन आइडी दिइने गरेको थियो । सोही क्रममा उनले सो आइडीको दुरुपयोग गरी हिसाब हिनामिना गर्ने गरेको पाइएको संस्थाले जनाएको छ ।
सो संस्थाका ६ वटा सेवा केन्द्रहरु रहेका छन् । ती सेवा केन्द्रमार्फत् झण्डै ८ हजार शेयर सदस्य र बचतकर्ताको रकम सङ्कलन हुने गरेको छ ।
संस्थाका शेयर सदस्यले रकम हिनामिना गर्ने कर्मचारीलाई कानुनी कार्वाही गर्नुपर्ने बताउँदै आएका छन् । प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई किन छाडियो भन्ने विषय गम्भीर रहेको र कतै सञ्चालकको पनि मिलेमतो त छैन भन्ने शंका उब्जिएको शेयर सदस्य रामकृष्ण खड्का बताउँछन् । तर, अध्यक्ष अधिकारीका अनुसार २४ घण्टाभन्दा बढी प्रहरी हिरासतमा राख्न नमिल्ने भएकाले उनलाई छाडिएको बताउँछन् । ती कर्मचारीलाई सेवाबाट निलम्बन गरिएको र यस सम्बन्धमा संस्थाले सार्वजनिक रुपमा जानकारी गराउने अधिकारीले जानकारी दिए ।
सुन्दरहरैंचामा कार्यक्षेत्र भएका ८ वटा सहकारी संस्था २ वर्ष अघि २०७७ साल असार २९ गते गोठगाउँमा एक कार्यक्रम गरी मर्ज भएका थिए । मर्जपछि कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको नाममा कारोबार भएको थियो । सुन्दरपुर बचत तथा ऋण सहकारी संस्था, गछिया बचत तथा ऋण सहकारी संस्था, गुराँस बचत तथा ऋण सहकारी संस्था, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था, न्यू नमुना बचत तथा ऋण सहकारी संस्था, पिण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था, घरआँगन बचत तथा ऋण सहकारी संस्था र प्रारम्भ बचत तथा ऋण सहकारी संस्था एकापसमा गाभिएर कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था बनेको थियो ।

Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login