Banner
कोरोनाले मृत्यु संस्कार अस्तव्यस्तः सक्नेले गरिरहेका छन् किरिया, नसक्नेले राखेका छन् थाँती
दाङः तुलसीपुर उपमहानगरपालिका– १० बन्गैका २६ वर्षीय रोशन खड्कालाई जेठ १ गते कोरोना संक्रमण भयो । तैपनि उनी आमाको १३ दिने मृत्यु संस्कारमा बसिरहेका छन् ।
५० वर्षीया आमा प्रेमकुमारी खड्काको वैशाख ३१ गते बिहानै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएपछि रोशन किरिया कर्ममा बसे ।
आमाको रेखदेखको लागि भनेर रोशन र उनकी दिदी सृजना खड्का डाँगी घोराही पुगेका थिए । दुवैलाई कोरोना पोजेटिभ भएको छ । दिदी सृजना तुलसीपुरस्थित घरमा आएर आइसोलेसनमा बसेकी छिन् ।
प्रेमकुमारीको मृत्युपछि घर–परिवारले यसअघि आउने पुरेतलाई मृत्यु–संस्कारमा बोलाउन खोजे । तर, उनले आफ्नो व्यस्तता देखाए । अन्यत्रै काम गरिरहेको भन्दै पन्छिए ।
त्यसपछि अन्य केही चिनजानका पुरेतलाई आग्रह गरे । उनीहरूले पनि त्यस्तै जवाफ दिए ।
महामारीको यो अवस्थामा दिनहुँ मानिसहरूको मृत्यु भइरहेको छ । त्यसैले, पुरेत पनि बेफुर्सदिला छन् ।
अर्कोतर्फ कोरोनाको ‘त्रास’ले गर्दा पनि उनीहरूले त्यसो भनेको हुनुपर्छ । कसैलाई करकाप वा दबाब दिन मिलेन महामारीमा ।
मुस्किलले घर नजिकैका एक पुरेत खड्काकी आमाको मृत्यु–संस्कार गर्न तयार भए ।
घोराहीमा शव व्यवस्थापन गरेर घर फर्किंदा बेलुका भइसकेको थियो । टाढैबाट पुरेतले आफ्नो काम गरे ।
दोस्रो दिन रोशन र उनकी दिदीलाई कोरोना पुष्टि भएको कुरा परिवारले सार्वजनिक गरे ।
अनि वृद्ध पुरेतले काममा छोरालाई पठाए । पुरेत बिहान वा बेलुका ५–१० मिनेट बसेर विधि सिकाएर फर्किन्छन् ।
जसोतसो मृत्यु–संस्कार चलिरहेको छ । तर, उनीहरूले घरमा कसैलाई पनि मानो मिसाउनका लागि नआउन आग्रह गरेका छन् । घर परिवारका सदस्यबाहेक अरू कोही घरमा आएका छैनन् ।
रोशनकै १३ दिने ठूलीआमा ६३ वर्षीया नन्दकली खड्काको कोरोना विशेष अस्पताल बेलझुण्डीमा जेठ ३ गते दिउँसो मृत्यु भयो । जुठो थपियो ।
घरमा अग्रजहरूले कुरा गर्न थाले– मृतकमध्ये जेठो जो हुन्छ, त्यसैको मृत्युको दिनबाट शुद्धाइँ सुरू हुन्छ । यसो गर्दा रोशनहरूले थप चार दिन नुन बार्नुपर्ने भयो ।
हिन्दू संस्कारले भन्छ– जुठोमा माछा, मासु, अण्डाजस्ता कुरा खानु हुँदैन । अर्कोतर्फ विज्ञानले भन्छ – कोरोना भाइरससँग लड्न पोसिलो, झोलिलो खानेकुरा खान जरूरी छ ।
यस्तो अवस्थामा नन्दकलीका घर परिवारले १३ दिनका कुनै पनि कार्यहरू नगर्ने निर्णय गरे । सोही निर्णयअनुसार जेठ ४ गते नन्दकलीका श्रीमान् दिलबहादुर खड्का पीसीआर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् ।
दिलबहादुरका जेठा दाजु दानबहादुरका अनुसार यो बीचमा घर परिवारले नुन पनि खाने सल्लाह भएको छ । ‘माछा, मासुबाहेक हाल सबैकुरा खाने र पछि कारोना महामारीको अवस्था सामान्य भएमात्रै काजकिरिया गर्ने निर्णय गरेका छौं,’ दानबहादुरले भने, ‘पाप–पुण्यको कुरा हैन, यतिखेर ज्यान जोगाउन आवश्यक छ ।’
तुलसीपुर–६ का ४५ वर्षीय धनीराम चौधरीको मंगलबार बिहान भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भयो ।
महामारीका कारण धनीरामको अन्त्येष्टीको काम जेठ ३ गते तुलसीपुरको शीतलपुरस्थित बबई घाटमा गरियो । आफन्त तथा घर परिवारका सदस्य आ–आफ्नो घर लागे । अघिपछि जस्तो मृतकको घरमा कोही गएनन् । काजकिरियाको काम पनि गरेनन् ।
कोरोना महामारीका कारण सबै काम हाल थाँती राखिएको छ । परिवारका अनुसार अवस्था सामान्य भएपछि मात्रै कुशको पुतला बनाई त्यसैलाई मृतआत्मा मानेर काजकिरियाको काम गरिने छ ।
चौधरी समुदायमा आफन्त बितेपछि नुनको साटो तेल, बेसार नखाने प्रचलन छ । उनीहरूमा क्षेत्री, बाहुन समुदायमा जस्तो घरका सबै परिवारले १३ दिन नै नुन छोड्ने चलन छैन ।
‘परिवारका एक जना सदस्यमात्रै किरिया बसे पुग्छ । तेल, बेसार, माछा, मासु किरिया बस्ने मानिसले मात्रै नखाए हुन्छ,’ मटहवा महासंघका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले भने, ‘घरका अरू सबैले तेल–बेसार खाए पनि हुन्छ ।’
चौधरीका अनुसार थारू समुदायमा दिन र बार मिले दुईदेखि चार दिनमै काज किरियाको काम पूरा गर्न मिल्छ । थारू समुदायमा मृत्यु संस्कार सोमबार र बिहीबारका दिन शुद्धी–शान्तिको काम गर्ने चलन छ ।
तुलसीपुर–११ जसपुरमा मेडिकल पसल सञ्चालन गर्दै आएका ६३ वर्षीय प्रेमकुमार खड्काको काठमाडौंस्थित नर्भिक अस्पतालमा बैशाख २८ गते कोरोनाबाट मृत्यु भयो । सिनियर अहेब खड्काले रिटायर्ड जीवनपछि गाउँमै मेडिकल पसल सञ्चालन गर्दै आएका थिए ।
उनको मृत्युपछि छोराहरू कोही किरिया बसेनन् । जेठा छोरा–बुहारी शेखर (रमन) खड्का र उनकी श्रीमतीलाई कोरोना पोजेटिभ देखियो । त्यसैले, गौशालास्थित एक होटलको आइसोलेसनमा बसेको जानकारी उनीहरूले दिए । उनका भाइबुहारीले जेठ ३ गते मृत्युको सातौं दिनदेखि मात्र काम सुरू गरेका छन् ।
‘हामी पोजेटिभ भएको हुँदा आइसोलेसनमा आएका छौं,’ शेखरले भने, ‘तर, भाइ–बुहारीलाई केही नभएको हुँदा सातौं दिनदेखि उनीहरूले काजकिरिया सुरू गरेका छन् ।’
महामारीले गर्दा अहिले समयमा पुरेत पाउन पनि कठिन रहेको तथा ज्यान जोगाउनका लागि भए पनि काजकिरियाको कार्यक्रम छोट्याउने निर्णय लिएको शेखरले बताए ।
यी केही उदाहरण हुन् । कोरोना महामारीले धर्मभन्दा पनि ज्यान जोगाउनु ठूलो कुरा हो भन्ने सन्देश दिइरहेकाले मृत्यु संस्कार पनि छोटिइरहेको छ ।
तुलसीपुर–११ का घनश्याम गौतमको पुर्ख्यौली पेशा पुरेत्याइँ हो । यतिखेर उनी वडा सदस्य पनि छन् । महामारीको समयमा गौतमलाई भ्याइनभ्याइ छ ।
जेठ ३ गते मात्रै दंगिशरणको गोलटाकुरीमा एक जनाको शुद्धशान्तिको कार्यक्रम सकेका गौतम जेठ ४ गते तुलसीपुर–११ सुकौरामा काजकिरियाको कार्यक्रममै व्यस्त थिए ।
गौतमले टाढैबाट भए पनि डराइडराई आफूले काम गर्ने गरेको बताए ।
भौतिक रूपमा उपस्थित नभएर पनि मोबाइल फोनमार्फत् भए पनि काजक्रियाको कार्यक्रम गरिरहेको गौतमले बताए ।
‘मैले तुलसीपुर बजारको एउटा घरमा मोबाइलबाटै मन्त्र वाचन गरेरै भए पनि काजकिरियाको काम शुरू गरेको छु,’ गौतमले भने, ‘मृतकको घरमा आफैं उपस्थित भएर काम गराउन डर लाग्छ, नजाऔं जजमानहरूले मान्दै मान्दैनन्, त्यही भएर मोबाइलबाटै भए पनि काजकिरियाको कार्यक्रम गर्नुपरेको छ ।’
जेठ ३ गते कोरोना विशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएकी सावित्रा भण्डारीका परिवारले नमानेको हुँदा मोबाइलबाटै भए पनि मन्त्र वाचन गरेर काम गर्नु परेको गौतमले बताए ।
अहिले आफूहरू जस्ता पुरेतलाई निकै गाह्रो अवस्था आइलागेको गौतमले बताए ।
‘नजाम् भने चलेको संस्कार पनि ब्राह्मणले पूरा गरिदिएनन् भन्ने आरोप लाग्छ,’ गौतमले भने, ‘जाम् घर परिवारबाट पनि निकै दबाब छ, छोराछोरी र श्रीमतीले बरू पुरेत्याइँ पेशा नै छोड्दे भन्छन् ।’
मानिसहरूको आग्रहमा पनि संस्कार पनि गरिदिनु नै पर्ने र आफू पनि डराउनुपर्ने अवस्थाले ठूलो समस्या खडा भएको उनले बताए ।
उनले निर्णय सिन्धु पुस्तिकामा मृत्युको एक वर्षभित्र जहिले पनि काजकिरिया गरे हुने उल्लेख रहेको हुँदा सहज अवस्था आएपछि एक वर्षभित्र जहिले संस्कार गरे हुने बताए ।
‘परम्परा र धर्मभन्दा अहिलेको अवस्थामा ज्यान ठूलो हो,’ गौतमले भने, ‘अहिले सबैले भौतिक दूरी कामय गरी आफ्नो ज्यान जोगाउन आवश्यक हो भन्ने म ठान्छु ।’
कारोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव तथा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले अहिलेको समयमा धर्मभन्दा पनि सबै ज्यान जोगाउन लाग्न जरूरी रहेको बताए ।
‘धर्म ठूलो कि विज्ञान ठूलो अहिले त्यो बहसमा कोही नफसौं,’ उनले भने, ‘अहिले ज्यान जोगाउन लागौं, परम्परा र धर्म त भोलि पनि गर्न सकिन्छ ।’
विज्ञान र धर्म दुवैको अस्तित्व मान्ने मानिसहरू संसारमा रहे पनि अहिलेको कठिन अवस्थामा कसरी ज्यान जोगिन्छ त्यसैमा सबै लाग्नु बुद्धिमानी हुने उनले बताए ।
कोरोना संक्रमितहरूका लागि झोलिलो र पोसिलो खाना अति नै आवश्यक रहेको भन्दै उनले मृतकका परिवार र किरियापुत्रीले समयअनुसार चल्न आवश्यक रहेको बताए । – सेतो पाटी डट कमबाट
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login