कोशी प्रदेश
खाद्य मेलाका सहभागी भन्छन्, ‘विराटचोकमा सोचेभन्दा राम्रो व्यापार भयो’
विराटचोकः शुक्रबारदेखि मोरङको सुन्दरहरैंचामा शुरु भएको खाद्य मेलामा ताप्लेजुङदेखि जुम्लासम्मका उद्यमी खाद्यवस्तु लिएर बिक्री तथा प्रदर्शनीको लागि आएका छन् । उनीहरूका अनुसार सानो बजार भए पनि विराटचोकमा सोचेभन्दा राम्रो व्यापार भयो । यसले आगामी दिनमा यस्ता मेला लागेमा यस क्षेत्रमा स्टल राख्न आफूहरूलाई हौसला मिलेको उनीहरूको भनाइ छ ।
शनिबार दिउँसो १ बजे अधिकांश स्टलमा गएर जिज्ञासा राख्दा विराटचोकमा सोचेभन्दा राम्रो व्यापार भएको भनी उद्यमीहरूले बताएका हुन् ।

ललितपुरबाट मेलामा सहभागी हुन आएका अलस एग्रिकल्चर प्रालिका मार्केटिङ विभागमा कार्यरत राजु श्रेष्ठका अनुसार उत्पादित वस्तुको बारेमा जानकारी लिने र सामान किन्नेको उपस्थिति राम्रो छ । ‘९÷१० दिनसम्म चल्ने मेलामा राम्रो व्यापार हुन्छ’ उनले भने, ‘२÷३ दिन चल्ने मेलामा भने अवलोकनकर्ताले थाहा पाउँदानपाउँदै मेला सकिने हुनाले धेरै राम्रो व्यापार भने हुन पाउँदैन ।
आफूहरूले थाहा पाएसम्मका मेलामा सहभागी हुने गरेको उनले बताए । मेला अवलोकन गर्न आउनेलाई उनी सो उद्योगका उत्पादन सहभागीलाई निःशुल्क चखाउन व्यस्त थिए । राँगा, कुखुरा, झिँगे माछा, सिद्रा आदिको अचार उनी आगन्तुकलाई खुवाउन व्यस्त थिए । त्यस्तै, शाकाहारीलाई भने मुला, कागती, गुन्द्रुक, सिलाम आदिको अचार चखाइरहेका थिए ।
उनको स्टलमा भेटिएकी विराट मल्टिपल कलेजकी प्रिजम सुवेदीका अनुसार फुड टेक्नोलोजीका विद्यार्थीका लागि उपयोगी हुने धेरै किसिमका उत्पादन मेलामा उपलब्ध छन् ।

नमूना कलेक्सन अचार उद्योग इलामकी प्रोप्राइटर कमला बास्कोटा रिजाल पनि आफ्नो स्टलमा आउनेलाई इलामका उत्पादन चखाइरहेकी थिइन् । आगन्तुकलाई अमलाको क्यान्डी, किबी र अदुवाको तितौरा आदि चखाउने उनले मेलामा राम्रो व्यापार भएको बताइन् । पहिलो दिन २२ हजार रुपैयाँको व्यापार भएको उनले बताइन् ।
अकबरे खुर्सानी र टिमुरको अचार, कागतीको अमिलो तथा चौँरीको चीज पनि उनले बिक्री तथा प्रदर्शनीको लागि राखेकी छिन् । उद्यम गर्न चाहनेलाई तालीम पनि दिने गरेको बताउने उनले भ्रमण वर्षको बारेमा पनि अवलोकनकर्तालाई जानकारी दिइरहेको बताइन् ।
खाद्य मेलामा पहिलो पटक स्टल राख्नेहरू के भन्छन् ?
खाद्य मेलामा पहिलो पटक स्टल राख्नेहरू पनि धेरै भेटिए । तीमध्ये अधिकांशले मेलाले व्यवसायीलाई हौसला थप्ने गरेको प्रतिक्रिया दिए ।
पहिलो पटक यस्तो मेलामा सहभागी भएको बताउने हिमालय अर्गानिक सिस्नो प्याकेजिङ भोटखोला सङ्खुवासभाका सञ्चालक वाङ छेदार लामाले सिस्नोको परिकारको बारेमा जानकारी लिनेको सङ्ख्या धेरै भएको बताए । पहिलो दिन १७ जनाले सिस्नोको धुलो किनेको र सामान किन्ने सबैको नाम, ठेगाना र फोन नम्बर राखिएको उनले बताए । १ महिनापछि कम्पनीले सामान खरीद गर्नेलाई फोन गरी आफ्नो उत्पादनको बारेमा प्रतिक्रिया लिने उनले बताए ।
खाद्य मेलामा पहिलो पटक सहभागी भएकी श्री वसन्त कृषि तथा पशुपालन केन्द्र खोटाङकी मुनाकला श्रेष्ठले खाद्य मेलाको अनुभव नभएकाले आफूले थोरै सामान लिएर सहभागी भएको बताइन् । कोदो र फापरको पिठो तथा रायोको गुन्द्रुक आफ्नो स्टलमा राखेकी उनले यो मेलाबाट अनुभव लिएर आगामी मेलामा कसरी सहभागी हुने भन्ने बारेमा निर्णय लिन सहयोग पुग्ने बताइन् ।
त्यस्तै, धोती पोगोडी कृषक समूहले पनि पहिलो पटक खाद्य मेलामा स्टल राखेको छ । समूहका सचिव कीर्तनलाल विश्वासका अनुसार समूहको स्टलमा जातीय परिकारका खाना पाइन्छ । समूहको स्टलमा हाँस र परेवाको मासु, घुँगी तथा भक्काको बिक्री बढी भएको विश्वासले बताए । सो स्टलमा गुलगुलिया र चिचौरी पनि पाइने उनले जानकारी दिए ।
ताप्लेजुङको मेलामा बढी सामान बिक्री
कञ्चनजङ्घा हिमालिका एग्रिकल्चर उद्योग फुङलिङ ताप्लेजुङकी प्रोप्राइटर लीलादेवी दाहाल भने ताप्लेजुङमा लाग्ने मेलामा नै बढी सामान बिक्री हुने गरेको अनुभव रहेको बताउँछिन् । ३ वर्ष अघि उद्योग स्थापना गरेकी उनले भनिन्, ‘ताप्लेजुङ महोत्सवमा धेरै सामान बिक्री हुने गरेको रेकर्ड उद्योगसँग छ ।’
ताप्लेजुङमा लाग्ने मेलामा मेलाका स्थानीय अवलोकनकर्ताका साथै आन्तरिक तथा बाह्य पर्यटकको भीड हुने भएकाले बढी सामान बिक्री भएको हो । अलैँची ग्रेडिङ पनि गर्ने गरेको सो उद्योगले अलैँचीका विभिन्न प्रकारका मसला उत्पादन गर्ने गरेको छ । त्यस्तै, अमला, लप्सी र मेललगायतका फलको क्यान्डी पनि उनको उद्योगले उत्पादन गर्ने गरेको छ ।

Facebook Comment
Banner
होटल जलेर खरानी भए पनि समाजसेवा रोकिएन, दुलालले बनाए नमुना ज्येष्ठ नागरिक चौतारी
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले मौलिक नेपाली संस्कृति र धार्मिक महत्व झल्काउने ज्येष्ठ नागरिक चौतारी (फल्चा) निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।
दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण गरिएको उक्त चौतारी दुलालले आफ्नै निजी १२ धुर जग्गामा करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेका हुन्। उपत्यकाबाहिर विरलै देखिने मौलिक शैलीको चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ तथा निर्माण सामग्री ल्याइएको थियो।
इँटा र काठमा आकर्षक बुट्टा कुँदेर निर्माण गरिएको चौतारीले पुरानो नेपाली मौलिक संस्कृति र वास्तुकलाको झल्को दिन्छ। चौतारी निर्माणका क्रममा भक्तपुरमा पूजाआजा गरी देवीझोडाको माटो र मास प्रयोग गरेर इँटा जडान गरिएको दुलालले बताए।
दुलाल दम्पतीको परिकल्पनामा निर्माण भएको चौतारीको निर्माण कार्य प्रमिला दुलाल इन्द्रपुर लायन्स क्लबको अध्यक्ष रहेका बेला अघि बढाइएको थियो। निर्माण सम्पन्न भएपछि यसको मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी इन्द्रपुर लायन्स क्लबलाई दिने गरी समुदायलाई हस्तान्तरण गरिएको हो।

होटल जलेर खरानी भए पनि समाजसेवा निरन्तर
दुलालले सञ्चालन गर्दै आएको नेपालीरिका होटल गत वर्षको जेनजी आन्दोलनका क्रममा आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। होटल जलेर ठूलो क्षति व्यहोर्नुपरे पनि दुलाल परिवारले सामाजिक सेवाको अभियानलाई निरन्तरता दिएको हो।
आफ्नो व्यक्तिगत पीडाका बाबजुद दुलालले जग्गासहित करिब १ करोड रुपैयाँ बराबरको संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।
चौतारी हस्तान्तरण कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले दुलाल परिवारले देखाएको सामाजिक संस्कार र सेवाभावबाट सबैले सिक्नुपर्ने बताए।
उनले पछिल्लो समय समाजमा सामाजिक तथा नैतिक संस्कार कमजोर हुँदै गएको उल्लेख गर्दै मानवीय र नैतिक शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। दुलालले निर्माण गरेको चौतारीले नेपाली मौलिकपनलाई जीवन्त राख्नुका साथै ज्येष्ठ नागरिकबीच अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण थलोका रूपमा भूमिका खेल्ने उनको भनाइ थियो।
निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था
चौतारी परिसरमा शौचालय, खानेपानीको धारा र किचनसमेत निर्माण गरिएको छ। साथै, दुलालको आफ्नै उद्योग पीएलओ ल्युब आयल प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्समार्फत हरेक मंगलबार ज्येष्ठ नागरिकसहित समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको दुलालले जानकारी दिए।
चौतारीको संरक्षण, संवर्द्धन तथा रेखदेखको जिम्मेवारी सुन्दर नमुना टोल विकास संस्थाले लिने अध्यक्ष गोपाल दाहालले बताए। समुदायका सबै पक्षको सहकार्यमा संरचनाको संरक्षण गर्दै आगामी पुस्ताका लागि समेत उपयोगी बनाइने उनको भनाइ छ।
हस्तान्तरण कार्यक्रममा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य रूजा घिमिरे, इन्द्रपुर लायन्स क्लबका अध्यक्ष योजना शर्मा, इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेत तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीलगायतको उपस्थिति थियो।
दुलाल परिवारले विगत ३६ वर्षदेखि सुन्दरहरैँचा क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाइएको छ। व्यक्तिगत कठिनाइ र क्षतिका बीच पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहेको दुलाल परिवारको कार्यक्रममा उपस्थित अतिथिहरूले प्रशंसा गर्दै आगामी दिनमा समेत सेवाकार्यलाई निरन्तरता दिन शुभकामना दिएका थिए।
Banner
प्रमिला ढकाल ‘एरिका’ कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि युवा नेतृ प्रमिला ढकाल ‘एरिकाले उम्मेदवारी दिने तयारी गरेकी छन्। कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता असोज १९ गते हुने निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेको छ।
ढकालले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघको इकाइ सदस्यबाट सुरु गरेकी हुन्। उनका अनुसार उनी २०७२ सालमा सुकुना बहुमुखी क्याम्पसको नेविसंघ इकाइ सदस्य, २०७५ सालमा नेविसंघ सुन्दरहरैँचा नगर उपसभापति हुँदै संगठनमा सक्रिय रहिन्।
त्यसपछि २०८० सालमा नेविसंघको केन्द्रीय सदस्य बनेकी ढकालले २०८१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय शिक्षा विभाग प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्। २०८० सालमा एरिका ढकाललाई नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य रहेकी थिइन् उनको राजनीतिक सक्रियता विद्यार्थी संगठनमा मात्र सीमित छैन। २०८१ सालमा उनी नेपाली कांग्रेसकी क्षेत्रीय प्रतिनिधि बनेकी थिइन् भने प्रदेश सभा निर्वाचन क्षेत्र ३(ख)को सचिव पदका लागि प्रत्याशीसमेत बनेको उनले जनाएको विवरणमा उल्लेख छ।
ढकालले कांग्रेसलाई नेपाली समाज, युवा पुस्ता र वर्तमान समयको आवश्यकता अनुरूप अघि बढाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएकी छन्।
“नेपाली कांग्रेस पार्टीलाई नेपाल र नेपाली माटो सुहाउँदो युवा मैत्री पहिलो पार्टी बनाउनका निमित्त मैले उम्मेदवारी दिँदैछु,” ढकालको भनाइ छ।
उनले कांग्रेसको राजनीतिक दस्तावेजलाई अझ प्रगतिशील र समयसापेक्ष बनाउँदै नेपालको समुन्नतिका लागि काम गर्ने आफ्नो उद्देश्य रहेको बताएकी छन्।
युवा पुस्ताको सहभागिता, विद्यार्थी राजनीतिबाट पार्टीको मूल नेतृत्वसम्मको यात्रा र संगठनभित्र प्राप्त जिम्मेवारीलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गर्दै ढकालले कांग्रेसको भावी राजनीतिक दिशामा युवाको भूमिका थप बलियो बनाउनुपर्ने धारणा अघि सारेकी छन्।
Banner
सलकपुरमा चारदिने कला उत्सव हुने
मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा सलकपुर कला उत्सव २०८३ आयोजना हुने भएको छ। शिल्पी नाट्य केन्द्र, सलकपुरको आयोजनामा हुने उत्सव चार दिनसम्म सञ्चालन हुनेछ।
उत्सवमा नाटक, कविता, गजललगायतका साहित्यिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै, गायिका झुमा लिम्बु र रैथाने ब्यान्डको विशेष साङ्गीतिक प्रस्तुति समेत रहनेछ।
कला, साहित्य, सङ्गीत र संस्कृतिप्रति रुचि राख्ने दर्शकलाई लक्षित गर्दै आयोजना गरिएको उत्सवमा परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमको आनन्द लिन आयोजकले आग्रह गरेको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login