Connect with us
Advertisement

चिकित्सक-सरकार सहमति, आन्दोलन स्थगित

Published

on

आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार साँझ भएको वार्तामा आन्दोलनरत नेपाल चिकित्सक संघका माग अध्ययन गरेर सुझाव दिन तीन सदस्यीय कार्यदल गठन गर्नेलगायत तीनबुँदे सहमति भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुख संयोजक रहने कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट सहसचिवस्तरका १/१ प्रतिनिधि रहनेछन् । कार्यदलले कानुनी एवम् नीतिगत व्यवस्थामा आवश्यक संशोधनलगायत विषयमा सात दिनभित्र सुझावसहितको प्रतिवेदन वार्ता टोलीसमक्ष पेस गर्नेछ ।

वार्ता टोलीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघलगायतका सरोकारवाला पक्ष छन् ।

‘कार्यदलबाट चिकित्सा क्षेत्रको प्राविधिक विषय र विभिन्न ऐन संशोधनका विषयमा ७ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस हुनेछ,’ चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले भने, ‘त्यसपछि हामी फेरि वार्तामा बस्छौं । हामीलाई चित्तबुझे ११ दिनभित्र मन्त्रिपरिषद्बाट सम्बन्धित मन्त्रालयले सैद्धान्तिक सहमति लिने र फास्ट ट्र्याकबाट कानुन संशोधनका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।’

डा. कार्कीका अनुसार कार्यदलले मुख्य गरी उपभोक्ता संरक्षण ऐन २०७५ लगायतका विद्यमान कानुनी तथा नीतिगत व्यवस्थामा आवश्यक संशोधनका लागि सुझाव दिनेछ । सहमतिपत्रमा चिकित्सक संघलगायतका सरोकारवाला संघसंस्थाले सबै किसिमका आन्दोलन स्थगन गरी नियमित सेवा सञ्चालन गर्नेसमेत उल्लेख छ ।

उपभोक्ता संरक्षण ऐनमा टेकेर गठन भएको अदालतले चिकित्सकलाई बिनाठोस आधार दण्डित गरेको उल्लेख गर्दै चिकित्सकहरूले उपभोक्ता संरक्षण ऐन संशोधन हुनुपर्ने र मेडिकल काउन्सिलले नै उपचारसम्बन्धी विवाद निरूपण गर्नुपर्ने माग राख्दै आएका छन् ।

Doctors-Government Agreement, Movement Suspended

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ भने बन्द हडतालबाट तयार भएको कागज आधिकारिक नहुने बताउँछन् । ‘जोसँग बल छ, नियम कानुन ऊसँग हुने भन्ने हुँदैन,’ उनले भने, ‘सरकारले मौलिक हकलाई असर पुग्ने कानुन बनाउनै सक्दैन । त्यस्तो भयो भने पनि अदालत छ ।’

उपभोक्ता अदालतले उपचारमा ‘चिकित्सकीय लापरबाही’ भएको ठहर गर्दै तीन फरक मुद्दामा अस्पताल र चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको थियो । त्यसपछि संघको आह्वानमा चरणबद्ध आन्दोलन भएको थियो । सोमबार र मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारिएको थियो ।

आन्दोलनले बिरामीलाई सास्ती

उपभोक्ता अदालतको फैसलाविरुद्ध भएको चिकित्सकको आन्दोलनका कारण मंगलबार दोस्रो दिन पनि बिरामीहरू मर्कामा परेका छन् । आकस्मिकबाहेकका सेवा बन्द भएपछि देशका विभिन्न स्थानबाट जँचाउन आएका बिरामी अलपत्र परेका छन् ।

जनकपुर घर भएकी रामकुमारी हातमा रातो झोलामा अस्पतालका एक्सरे, औषधि साथै पहिले जाँच गरेका कागजात बोकेर छटपटिँदै गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको गेटसामु यताउता गरिरहेकी थिइन् । श्रीमान् शिवशंकर पनि सँगै थिए । मुटुमा प्वाल परेका कारण केही वर्षअघि यही अस्पतालमा रामकुमारीको शल्यक्रिया भएको थियो । त्यसैको फलोअपका लागि श्रीमान्लाई साथमा लिएर उनी शनिबार काठमाडौं आइपुगेकी हुन् ।

‘आइतबार जाँच गरी सोमबार डाक्टरलाई रिपोर्ट देखाएर घर फर्कने सोचमा थिएँ । तर डाक्टरहरूकै बन्दका कारण आफू काठमाडौंमा अल्झिएँ,’ उनले भनिन्, ‘हामीलाई के थाहा यस्तो हुन्छ भन्ने, अस्पताल आएको बन्द छ भने, अब कहिले पो खुल्छ ? बल्लतल्ल समय मिलाएर आएको दुःख धेरै हुने भयो ।’

त्यस्तै नवलपुरबाट आएकी ४७ वर्षीया पार्वती देवीको पनि मंगलबार डाक्टरलाई देखाएर साँझै घर फर्कने योजना थियो । तर, ओपीडी बन्द हुँदा पार्वतीको काठमाडौं बसाइ लम्बिने भएको छ । ‘अस्पताल बन्द भन्ने थाहा भएन, नत्र हामी काठमाडौं आउने थिएनौं । जाँच गरेर फर्किहाल्ने सोचमा थियौं । पैसा पनि छैन, होटलमा बस्न, खान निकै गाह्रो भयो,’ उनी भन्छिन्, ‘हामीले बिहान डाक्टरलाई भेटेर समस्या बतायौं तर अहिलेसम्म केही हल निस्किएन, हामी दोधारमा छौं ।’

सास फेर्न गाह्रो भएपछि गमहीरा पासवान वीरगन्जको एक अस्पतालमा पुगे । डाक्टरले मुटुमा समस्या भएको भन्दै काठमाडौं जान सल्लाह दिएपछि उनी शनिबार काठमाडौं आइपुगेका हुन् । रगत, इकोलगायतका परीक्षण सकेका उनी पनि डाक्टरको प्रतीक्षामा छन् । पासवान भन्छन्, ‘डाक्टरलाई कुर्दा दुई दिन बिते । अझै एक दिन बन्द भए हामी बिजोगमा परिहाल्छौं । जुनै डाक्टरले भए पनि रिपोर्ट हेरिदिए त हामी घर गइहाल्थ्यौं, डाक्टरको प्रतीक्षामै समय बित्यो ।’

ललिता सुहेल पनि आफूलाई अचानक सास फेर्न गाह्रो र मुटु दुख्ने भएपछि हेटौंडाबाट श्रीमान् र सानो छोरासँग गंगालालमा जँचाउन आइन् । शनिबार हेटौंडाबाट आएकी उनी २ दिन होटल बसेको र अस्पतालको सेवा बन्द भएको थाहा पाएपछि पैसा नपुगेर आफन्तकहाँ पुगेको बताउँछिन् । ‘दुई दिनमा जाँच गरेर फर्कने सोच बनाएर आएका थियौं । अस्पताल बन्द भएर पैसा नपुग्ने भएपछि आफन्तकामा बस्न पुग्यौं,’ सुहेल भन्छिन्, ‘हातमा रिपोर्ट छ, रिपोर्ट हेरिदिने डाक्टर अस्पतालमा छैनन् ।’

शिक्षकहरूको हडतालले ओपीडी सेवा बन्द हुँदा राजधानीका अन्य अस्पतालमा उपचारका लागि पुगेका बिरामीले पनि सास्ती व्यहोर्नुपरेको छ । तनहुँका ८२ वर्षीय रामबहादुर सुनार पनि आफ्नो नियमित जाँचका लागि मंगलबार बिहानै महाराजगन्जस्थित शिक्षण अस्पताल पुगे । तर, जँचाउन पाएनन् । चिकित्सकहरूको हडतालका कारण ओपीडी बन्द हुँदा आफूजस्ता टाढाका बिरामीलाई ठूलो समस्या परेको उनी सुनाउँछन् । ‘टाढाको बाटो बल्लबल्ल आइयो तर अस्पताल बन्द छ,’ उनले भने, ‘यस्ता बन्दले हामी जस्ता सामान्य मान्छेलाई निकै गाह्रो हुन्छ ।’

मंगलबार बिहान शिक्षण अस्पताल परिसरमा भेटिएका रामेछापका खितबहादुर पाण्डेको अनुहार मलिन देखिन्थ्यो । उनी बैसाखीको सहारामा उभिएका थिए । पाण्डेको केही महिनाअघि दुर्घटनामा परेर खुट्टा भाँचिएको थियो । शिक्षण अस्पतालमै उनको खुट्टाको शल्यक्रिया गरिएको थियो । त्यसैको फलोअपका लागि उनी काठमाडौं आएका हुन् । प्लास्टर निकाल्ने र अन्य रिपोर्ट देखाउनका लागि उनी अस्पताल आएका थिए । सेवा नै बन्द हुँदा आफूलाई निकै गाह्रो भएको उनको गुनासो छ । उनी भन्छन्, ‘हिँड्न मिल्दैन । रिपोर्ट देखाउन पाए त आनन्द हुन्थ्यो । यस्तो खुट्टा लिएर ओहोरदोहोर गर्न गाह्रो छ ।’

त्यस्तै, कैलालीकी ४० वर्षीया विनितादेवी चौधरी ब्लड क्यान्सर भएर पाटन अस्पतालमा ५ वर्षदेखि जचाउँदै आएकी छन् । क्यान्सरका कारण उनलाई नियमित औषधि सेवन गर्नुपर्छ । नत्र खाना नरुच्ने, हातखुट्टा गल्ने, रिंगटा र वाकवाक लाग्ने समस्या हुन्छ । उनी अस्पतालमा प्रत्येक तीन महिनामा फलोअपमा आउने गरेकी छन् । चिकित्सकको आन्दोलनका कारण सोमबारदेखि अस्पतालका ओपीडी सेवा बन्द भएपछि उनी मंगलबार त्यसै फर्किनुपरेको हो ।

ब्लड क्यान्सर भएर उपचार गराउनकै लागि श्रीमान्–श्रीमती राजधानी बसाइँ सरेका चौधरी दम्पतीले चिकित्सकको आन्दोलनका कारण सोमबार र मंगलबार सास्ती भोग्नुपरेको छ । निराश भएर विनिता भन्छिन्, ‘औषधि सबै सकिइसकेको छ, निजी अस्पतालमा उपचार गराउन जान पनि निकै महँगो छ । हामीलाई त यो आन्दोलनले दुःख मात्रै भयो ।’

ललितपुर पाटन ढोकाकी सिर्जना राजोपाध्याय गर्भवती भएको ९ महिना पुग्यो । चिकित्सकले ‘डेलिभरी’ मिति साउन १२ लाई दिएका छन् । उनी मधुमेहकी पीडित हुन् । उच्च मधुमेहका कारण सोमबार जचाउन पाटन अस्पताल पुगेकी थिइन् । अस्पताल बन्द भएपछि मंगलबार पनि पुगिन्, तर जचाउनै नपाई फर्कन बाध्य भइन् । ‘भर्ना हुन फारम लिएँ, तर स्वास्थ्य बिमा गरेको नम्बर अस्पतालमा इन्ट्री गर्न ओपीडी खुल्नुपर्छ भनेपछि त्यसै फर्कें,’ उच्च मधुमेहका कारण गर्भको शिशुसमेत खतरामा पर्न सक्ने डरले भर्ना हुन आएकी सिर्जना निराश भएर घर फर्किइन् ।

भक्तपुर सानोथिमिकी ७० वर्षीया केशरीमाया अवाले मंगलबार दिसा जम्मा हुने थैली फेर्न पाटन अस्पताल पुगेकी थिइन् । चार महिनाअघि आन्द्राको शल्यक्रिया गराएकी उनको पेटमा प्वाल पारेर आन्द्रा बाहिर ल्याई थैलीमा दिसा जम्मा हुने बनाएको छ । उनको थैली नफेरेको चार साता भइसकेको छ । अहिले थैलीबाट दिसा चुहिने, थैली टाँसेको टेप उप्किने समस्या भएर मंगलबार उपचार गराउन अस्पताल पुगेकी थिइन् । बाथ रोगले पीडित उनी भन्छिन्, ‘शल्यक्रिया गर्ने डाक्टर आइतबार र मंगलबार मात्र भेट हुन्छन् । जसोतसो गरेर अस्पताल आउँदा बन्द छ, हामीलाई धेरै सास्ती भयो ।’

मुलुकभरका अस्पतालमा चिकित्सकले गरेको हडतालका कारण दुःख पाउने यी प्रतिनिधि बिरामीहरू हुन् । धनकुटाबाट छोरीलाई अमेरिकामा पढाउन पठाउनका लागि जन्मिँदा बीसीजी, डीपीटी र दादुराको खोप लगाएको रेकर्ड लिन पाटन अस्पताल आएका सूर्य थापा पनि मर्कामा परे ।

उनले समयमा कागजात अमेरिका पठाउन नसकेमा ढिला हुनेप्रति चिन्ता व्यक्त गरे । नसा च्यापिएपछि गत शुक्रबार गरेको भिडियो एक्सरेको रिपोर्ट लिन र फलोअपका लागि आएकी लुभुकी राममाया थापा, चित्लाङ टिस्टुङ पालुङबाट थाइराइडको चेकअप गराउन आएका ७२ वर्षीय रामलाल महर्जनलगायत बिरामीले अस्पताल बन्दका कारण मर्कामा परेको दुखेसो पोखे ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक