Connect with us
Advertisement

पहिलो दिन नै आरक्षित शेयरको बाढी, दुई दिन पनि होल्ड नगर्नेलाई किन दिने आइपिओमा कोटा 

Published

on

सुवास निरौला

बुधबार दोस्रो बजारमा दोर्दी खोला जलविद्युत कम्पनीको शेयर सूचीकृत भयो । बिहीबारको पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १०२ रुपैयाँ ३९ पैसादेखि ३०७ रुपैयाँ १७ पैसासम्मको रेन्ज तोक्यो ।

नेप्सेले तोकेको माथिल्लो रेन्ज भन्दा सात पैसा कममा बिहीबार कम्पनीको पहिलो कारोबार भयो । प्रति कित्ता मूल्य ३०७ रुपैयाँ १० पैसामा १० कित्ताबाट कारोबार शुरु भएको हो । पहिलो कारोबार मूल्यमा नै १०÷१० कित्ताको दरले तीन सय ४० कित्ता शेयर कारोबारमा आए । त्यसपछि कम्पनीको शेयर मूल्य बढ्न शुरु ग¥यो । सात सय २० कित्ताको शेयर कारोबारमै कम्पनीको मूल्यमा बढ्दो सर्किट लाग्यो । १० प्रतिशत बढेर सर्किट लाग्दा कम्पनीको मूल्य तीन सय ३७ रुपैयाँ ८० पैसामा उक्लियो ।

कम्पनीको मूल्यमा पहिलो दिन नै सर्किट लाग्दै गर्दा शेयर सप्लाईमा बाढी आयो । म्युचुअल फण्डले अत्यधिक शेयर सप्लाइ दिन थालेपछि यस्तो अवस्था देखियो । सप्लाइमा आएको बाढीले गर्दा नै कम्पनीको शेयरमा लागेको बढ्दो सर्किट धेरैबेर टिकाउ हुन सकेन । केही समयमै कम्पनीको शेयर मूल्य रातो हुन पुग्यो । यद्यपि अन्तिममा थोरै बढेरै शेयर कारोबार बन्द भयो ।

कारोबारमा आएकै दिन बिहीबार कम्पनीका १ लाख २७ हजार ५ सय ८२ कित्ता शेयर कारोबार भए । जसमा धेरै जसो म्युचुअल फण्डले पाएको आरक्षित शेयर बिक्री गर्न भ्याए । पहिलो कारोबार दिन १० कित्ताभन्दा बढी शेयर बेच्ने हैसियतमा म्युचुअल फण्ड मात्रै हुन्छन् । किनकि उनीहरूसँग बाहेक सर्वसाधारणसँग १० कित्ता भन्दा बढी शेयर छैन । कम्पनीले धेरैजसो लगानीकर्तालाई १० कित्ताको दरले शेयर बाँडफाँड गरेको थियो । त्यस अर्थमा पहिलो कारोबार दिनमै १० कित्ता भन्दा बढी शेयर सप्लाई दिने म्युचुअल फण्ड नै हुन् । सबै म्युचुअल फण्डसँग कुल एक लाख ९ हजार ७ सय ७५ कित्ता शेयर छ । किनकि कम्पनीले ५ प्रतिशत शेयर म्युचुअल फण्डहरुलाई बाँडफाँड गरेको थियो । सोही शेयर पहिलो दिन नै म्युचअल फण्डले सप्लाइ दिएका हुन् । धेरैजसो म्युचुअल फण्डले बिहीबार नै सबै आरक्षित शेयर बिक्री गरेका छन् । शेयर पाएको महिना दिन नबित्दै तीन गुणा मूल्यमा सबैजसो म्युचुअल फण्डले दोर्दीको शेयर सल्टाएका छन् ।

म्युचुअल फण्डहरुले धेरैजसो प्राथमिक शेयरलाई एक महिना पनि होल्ड गर्ने गरेका छैनन् । दोर्दीमा त एक दिन पनि होल्ड गरेनन् । यसअघि रिभर फल्समा पनि उनीहरूले कारोबारमा आएकै दिन सबैजसो शेयर सल्टाएका थिए ।

प्राथमिक शेयर दुई दिन पनि होल्ड नगर्ने म्युचुअल फण्डको रणनीतिले दोस्रो बजारमा नकारात्मक सन्देश जान थालेको छ । जाने बुझेका संस्थागत लगानीकर्ताले नै दुई दिन पनि शेयर होल्ड नगर्ने गरेको देखासिकी सर्वसाधारणले समेत गर्न थालेका छन् । सर्वसाधारण लगानीकर्ताले समेत प्राथमिक शेयर होल्ड गर्न छाडेका छन् । जसले शेयर बजारमा दीर्घकालीन लगानी गर्ने भन्दा पनि सर्ट टर्म लगानी गर्नु पर्ने सन्देश तीव्र रुपमा फैलिन थालेको छ ।

सट्टा बजारको अर्काे रूप
यो प्रवृत्तिले शेयर बजारलाई वास्तविक रूपमै सट्टा बजार बनाउँदै छ । जाने बुझेकै संस्थागत लगानीकर्ताले नै नेपाली शेयर बजारलाई सट्टा बजार बनाउने रणनीतिमा अगुवाको भूमिका निर्वाह गरिरहेका छन् । जसले समग्र शेयर बजारलाई अस्थिर बनाउँदै लान थालेको छ ।

सर्वसाधारणदेखि संस्थागत लगानीकर्ताले सर्टटर्म कारोबार गर्दै बजारलाई तीव्र उतारचढावउन्मुख बनाउन थालेपछि बैंक, वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई कम्तीमा पनि एक वर्ष शेयर राख्नु पर्ने निर्देशन जारी गरेको छ । जबकि बैंक वित्तीय संस्थाले आरक्षित शेयर पाउने गरेका छैनन् । दोस्रो बजारमा कारोबार गर्दा समेत उनीहरूलाई कम्तीमा पनि एक वर्ष होल्ड गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । केन्द्रीय बैंकले दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्न उक्त निर्देशन दिएको बताउँदै आएको छ ।

उता, सरकारले पनि शेयर बजारमा दीर्घकालीन लगानी गर्न प्रोत्साहित गरिरहेको छ । सरकारले दीर्घकालीन लगानीकर्तालाई प्रोत्साहन गर्न भन्दै करमा छुट दिँदै आएको छ । उसले एक वर्ष भन्दा कम अवधिको शेयर कारोबारमा साढे सात प्रतिशत पूँजीगत लाभकर लिने गर्छ भने सर्ट टर्म कारोबारीलाई निरुत्साहित गर्न उसले साढे ७ प्रतिशत कर लिन थालेको हो । तर एक वर्ष भन्दा बढी अवधिको लाभमा भने सरकारले पाँच प्रतिशत मात्रै लाभकर लिने गर्छ । दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्न नै सरकाले करमा छुट दिएको हो ।

उता, प्रभावित क्षेत्रका लगानीकर्तालाई आरक्षित गरिएको शेयर पनि लकिङ पिरियड तोक्ने गरिएको छ । प्रभावितलाई आरक्षित गरिएको शेयर कम्तीमा पनि तीन वर्ष राख्नुपर्ने कानुनी व्यवस्था छ । उनीहरूले दीर्घकालसम्म शेयर राखून् भन्ने उद्देश्यले नै उक्त समय तोकिएको हो ।

आरक्षणको व्यापक दुरूपयोग
दीर्घकालीन लगानी गर्न नजान्ने र शेयर बजारको उतारचढाव नबुझ्ने लगानीकर्तालाई पनि शेयर बजारको लाभ प्राप्त होस् भन्दै सामूहिक लगानी कोष स्थापना भएका हुन् । उनीहरूलाई सहज गर्न सरकारले लाभकरमा समेत छुट दिँदै आएको छ । उनीहरूले गर्ने कारोबारमा पूँजीगत लाभकर तिर्नु पर्दैन । खासगरी सरकारले साना लगानीकर्ताले शेयर बजारबाट हुने दीर्घकालीन लगानीमा राम्रो प्रतिफल प्राप्त गर्नु सकून् भन्ने उद्देश्यले उक्त छुट दिएको हो । अझै प्राथमिक शेयरमा समेत उनीहरूलाई पाँच प्रतिशतको आरक्षण दिइएको छ ।

तर जुन उद्देश्यको साथ उक्त आरक्षण दिइएको छ । म्युचुअल फण्डहरुले त्यसको व्यापक दुरुपयोग गर्दै आएका छन् । आरक्षणमा पाएको शेयर दुई दिन पनि होल्ड नगरी सबै शेयर निमिट्यान्न पार्ने गरी एकै पटक बिक्री गर्दा बजारलाई समेत प्रेसर पारिरहेको छ ।

यता, एकैपटक अत्यधिक सप्लाइ दिएकै कारण दीर्घकालसम्म शेयर राख्छु भन्ने लगानीकर्ताले समेत उचित मूल्य पाउन सकिरहेका छैनन् । किनकि सूचीकृत भएकै दिन म्युचुअल फण्डले दिएको अत्यधिक सप्लाइपछि कम्पनीको मूल्य घट्दो अवस्थामा जाने गर्छ । पछिल्लो कारोबार ट्रेन्डले त्यही देखाउँछ ।

यति बेला म्युचुअल फण्डको धेरैजसो नाफा आरक्षित शेयरको बिक्रीबाट मात्रै हुने गर्छ । उनीहरूलाई आरक्षित शेयर मात्रै बन्द गरिदिने हो भने उनीहरूले आफ्नो ल्याकतमा कमै नाफा गरेको देखिन्छ । प्राथमिक शेयरको बिक्रीबाट हुने नाफा र दोस्रो बजारमा गरेको किनबेचबाट भएको नाफा मात्रै छुट्टाएर हेर्ने हो भने आरक्षित शेयरबाट हुने नाफा उल्लेखनीय देखिन्छ । जसका लागि धितोपत्र बोर्डले आफैँले पनि अध्ययन गर्न सक्छ । आरक्षित प्राथमिक शेयर बिक्रीबाटै नाफा गर्न पल्किएका म्युचुअल फण्डहरुले रणनीतिक लगानी योजनाबाट खासै नाफा आर्जन गर्न नसकिरहेको देखाउने छ । जसले म्युचुअल फण्डको ल्याकत प्रस्ट्याउने छ ।

बोर्डको दायित्व
संस्थागत लगानीकर्ताहरू रणनीतिक लगानी योजनामा परिपक्व नभएसम्म बजार परिपक्व हुन सक्दैन । संस्थागत लगानीकर्तालाई नीतिगत रूपमै बाँधेर भए पनि धितोपत्र बोर्डले शेयर बजारलाई सट्टा बजार हुन बाट जोगाउनु पर्छ । बसीबसी दुई दिनमै तीन गुणा नाफा हुने अवस्थाको अन्त्य नगरे सम्म म्युचुअल फण्डले उच्च व्यावसायिक छवि बनाउने छैनन् ।

म्युचुअल फण्डहरुलाई थप बलियो रणनीतिक योजना बनाउन प्रोत्साहित गर्न पनि उनीहरूलाई दिएको आरक्षणको शेयर कम्तीमा पनि एक वर्ष राख्नुपर्ने बाध्यात्मक व्यवस्था गर्नै पर्ने अवस्था आइसकेको छ । उनीहरूलाई आरक्षित शेयरकै भरमा मात्रै नाफा आर्जन गर्ने अवस्थालाई नै निरन्तरता दिँदै जाने हो भने त्यसले दोस्रो बजारलाई सट्टे बजार बनाउनबाट कसैले रोक्न सक्ने छैन । – मेरो लगानीबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

Published

on

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार) सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे सुरु हुनेछ ।

एनपीएलका अघिल्ला दुई संस्करणमा पोखराले सुदूरपश्चिमसँग दुवै खेल गुमाएको थियो । आजको खेलमा पोखरा इतिहास बदल्ने लक्ष्यमा रहँदा सुदूरपश्चिम भने पोखरालाई हराएर आफ्नो यात्रा अघि बढाउने योजनामा छ ।

सुदूरपश्चिमको नेतृत्व दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । अन्य खेलाडीहरुमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहोरा, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, मिलन बोहरा, दिपक बोहरा, टेकबहादुर रावत, हिक्मत महरा, अनिल खरेल, आयुव चन्द, सचिन भट्ट र टेकराज थलाल रहेका छन् ।

यस्तै विदेशी खेलाडीहरुमाशेरफन रदरफोर्ड, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र फेबियन एलेन छन् ।

यसैगरी, पोखरा एभेन्जर्सको नेतृत्व कुशल भुर्तेलले सम्काल्ने छन् । अन्य खेलाडीहरुमा दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन घर्ती, सुदिप अर्याल, विवेक राना मगर, सन्नी विक, प्रतिक पोखरेल, विपिन आचार्य छन् ।

यस्तै, शाकिब अल हसन, महेदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने र धनन्जय लक्षण रहेका छन् ।

आठ टोली सहभागि प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड ५० लाख प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Continue Reading

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक