Connect with us
Advertisement

प्रचण्डसँगै सडकमा पूर्वउपराष्ट्रपति पुन, अघिपछि पूर्वछापामार

Published

on

 

३ वैशाख, गैंडाकोट । लाइनमा उभिएका छन्, माओवादीका पूर्व लडाकुहरू । कसको जिम्मेवारी के, कहाँनेर कसले नेतृत्व गर्ने ? निर्देशन दिइरहेका छन्, पूर्वब्रिगेड कमाण्डर टुकबहादुर थापा (अर्जुन) ।

‘सुप्रिमो र लालसेना प्रमुख आउँदा सुरक्षामा कुनै पनि कमी नहोस्,’ अर्जुनले निर्देशन र व्यवस्थापनको जिम्मेवारी सम्झाइरहेका थिए । नयाँ वर्षको दिन नवलपुरको गैंडाकोट–५ ओम शान्ति चोकमा देखिएको दृश्य हो यो ।

पार्टीको जागरण अभियानका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा पार्टी पदाधिकारी आउँदै थिए । अभियानमा पूर्वउपराष्ट्रपतिबाट पार्टी उपाध्यक्ष बनेर राजनीतिमा फर्किएका तत्कालीन जनमुक्ति सेना प्रमुख नन्दबहादुर पुन (पासाङ) पनि औपचारिक रूपमा जोडिएका थिए ।

देशकै दोस्रो वरियताको सम्मानित पद उपराष्ट्रपतिको कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा आउन चाहेका पासाङ पार्टीको जिम्मेवारी पाएपछि पुनः ‘जनतासँग जोडिन’ सडकमा आउँदै थिए । पूर्वउपराष्ट्रपति पासाङपछि पूर्वराष्ट्रपति विद्या भण्डारी पनि राजनीतिमा फर्किने संकेत गरिरहेकी छन् । यसलाई कतिपयले आलोचना गरे पनि पासाङ भने गलत रूपमा व्याख्या गरिएको बताउँछन् ।

उनीहरूको सुरक्षाका निम्ति पूर्वजनमुक्ति सेना यसरी तयार हुँदै थिए, मानौं सशस्त्र संघर्षमा कुनै युद्धको तयारी हुँदैछ । तर, त्यो तयारी जनतासँग जोडिनका निम्ति माओवादीले गरिरहेको हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानको थियो ।

शान्ति प्रक्रियापछि लगातार सत्तामा रहेको माओवादी अहिले कांग्रेस–एमाले मिलेपछि प्रतिपक्षमा पुगेको छ र जनतासँग सम्बन्ध सुधार्ने प्रयासमा पूर्वदेखि पश्चिमसम्मको यात्रामा निस्किएको छ । लगातार सत्तामा माओवादी जनताको घरदैलोमा फर्किंदा देशको दोस्रो सर्वोच्च पदमा पुगेका पासाङ पनि सक्रिय हुँदै सडक निस्किदा रोचक दृश्य देखिएका छन् ।

गत चैत ८ गते चितवनमा रोकिएको अभियान नयाँ वर्षकै दिन गैंडाकोटबाट सुरु हुँदा ‘पूर्व जनमुक्ति सेना’को पोशाक लगाएरै अध्यक्ष प्रचण्ड र तत्कालीन माओवादी सेना प्रमुख पासाङको स्वागत तथा सुरक्षामा ‘लालसेना’ तैनाथ थिए ।

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डर अर्जुनको नेतृत्वमा नवलपुरमा संगठित पूर्वजनमुक्ति सेनाले व्यवस्थापन सम्हालेको थियो । सुरक्षामा पनि सघाएको थियो ।

प्रचण्ड, पासाङ, पूर्व सभामुखसमेत रहेका अर्का उपाध्यक्ष अग्नि सापकोटा, पूर्व डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल (बलदेव), महेश्वर गहतराज सहितका नेतालाई सुरक्षा घेराभित्र राख्ने, पार्टी निर्देशनअनुसार भेट्ने दिने/नदिने, उनीहरूको खाने/बस्नेलगायतको काम पूर्वजनमुक्ति सेनाका सदस्यहरूले सम्हालेको छन् । आफ्नो पूर्वकमाण्डर पासाङ सडकमा आउँदा पूर्व लडाकु सेना पनि उत्साही देखिन्थे ।

सडकमा उत्रिएका पूर्वजनमुक्ति सेनालाई अघिपछि लगाएर ‘सुप्रिमो’सँग काँध जोडेर पूर्वउपराष्ट्रपति पासाङले गैंडाकोडबाट राजनीतिक अवतार प्रस्तुत गरे । गैंडाकोटबाटै उनले सन्देश दिएका छन्, ‘लोकतान्त्रिक गणतन्त्रमात्र नेपाली जनताको चाहना होइन, यसलाई समाजवादी गणतन्त्रमा रुपान्तरित गर्नुछ । अहिले गणतन्त्रकै रक्षाका लागि सडकमा आउनुपर्‍यो ।’

उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै सक्रिय राजनीतिको चाह राखेका पासाङले चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकबाट मात्र उपाध्यक्षको जिम्मेवारी पाएका थिए । उनलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्जको जिम्मेवारी पनि दिइएको छ ।

जिम्मेवारी पाएपछि नयाँ वर्षसँगै पश्चिम ताकेर प्रचण्डसँगै जागरण अभियानमा निस्किएका छन् पासाङ, जहाँ उनले युद्धकालमा थुप्रै आक्रमण र युद्ध जितेका थिए । अहिले तिनै पूर्व लडाकुलाई अगाडि–पछाडि लगाएर पासाङ राजनीतिक नेताका रूपमा सडकमा उत्रिएका छन् ।

आफ्नो विश्वासपात्र पासाङलाई उत्तराधिकारीको सूचीमा थपेर प्रचण्ड पनि उत्साहका साथ जागरण अभियानमा निस्किएका छन् । पासाङलाई राजनीतिमा फर्काएर प्रचण्डले रोल्पा, रुकुमजस्ता सशस्त्र संघर्षका थातथलोलाई जोगाइराख्ने रणनीतिमा छन् ।

माओवादी उर्बर भूमि मानिने त्यस क्षेत्रमा पासाङको सक्रियताले पकड अझ बलियो बनाउने विश्वास प्रचण्डको छ भने पार्टी नेतृत्वमा पनि अब स्वाभाविक हिसाबले अर्को दाबेदारको नाम प्रचण्डले थपेका छन् ।

पासाङ पूर्व शिक्षक हुन् । माओवादीले सशस्त्र संघर्ष थालेपछि उनी पूर्णकालीन भएका थिए । अत्याधुनिक हतियार बनाउने प्राविधिक ज्ञान र कौशल पासाङसँग रहेको र त्योबेला अरुलाई तुरुन्तै प्रभावित पार्न सक्ने क्षमता पनि उनमा रहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

मर्निङवाकमा अघिअघि पासाङ, पछिपछि प्रचण्डसहितको टोली ।

राजनीतिमा फर्किंदा छिन्नभिन्न बनेको पूर्वमाओवादी घटकसँगै विभाजित पूर्वलडाकुहरूलाई पनि सक्रिय राजनीतिमा ल्याउन सकिने विश्वास स्वयं पासाङकै पनि छ । ‘हिजो माओवादी आन्दोलन र संघर्षप्रति जुन खालको विश्वास र समर्पण थियो, गणतन्त्र रक्षाका निम्ति फेरि एकपटक जाग्ने छ,’ पासाङ भन्छन् ।

अभियानकै क्रममा सोमबार र मंगलबार प्रचण्ड, पासाङसहितका नेताहरूले पूर्वलडाकुहरूसँग पनि भेट गरेका छन् । मंगलबार कावासोतीमा भएको भेटघाटका क्रममा पासाङले अब फेरि एक पटक समाजवादी गणतन्त्रका निम्ति उठ्नुपर्ने बेला आएको बताएका थिए ।

पूर्वमाओवादी घटकलाई पनि एक ठाउँमा ल्याउने र त्यसको तयारी समाजवादी मोर्चा हुँदै संगठित हुनेगरी भइरहेको प्रचण्डको भनाइ थियो । उनले पूर्वजनमुक्ति सेनाकै कारण यो व्यवस्था आएको बताउँदै त्यसको रक्षाका निम्ति एक भएर लाग्न आह्वान गरे ।

नवलपुर यस्तो जिल्ला हो, जहाँ अहिले पनि ३ सयभन्दा बढी पूर्वजनमुक्ति सेना छन् । त्यहीँ अरुणखोलामा पूर्वलडाकुलाई क्याम्पमा राखिएको थियो ।

झ्याल्टुङ डाँडामा ४ नम्बर डिभिजन कार्यालय र हात्तिखोरमा बिग्रेड कार्यालय थियो । त्यहीँका बिग्रेड कमाण्डर रहेका अर्जुन आफ्ना पूर्व कमाण्डर पासाङ राजनीतिमा फर्किंदा पूर्वजनमुक्ति सेनामा उत्साह बढेको बताउँछन् ।

‘गणतन्त्र ल्याएको जनमुक्ति सेनाको इतिहास कसैले मेटेर मेटिँदैन । हामीलाई गर्व छ, ती दिन सम्झिएर,’ पूर्व जनमुक्ति सेना नेपाल ४ नम्बर डिभिजनको नेतृत्व सम्हालिरहेका थापा भन्छन्, ‘सुप्रिमो र सेनाप्रमुखको सुरक्षा गर्नु हाम्रो पनि दायित्व हो । सुप्रिमो कमाण्डर आउँदा हामीले नेतृत्व गर्नुपर्छ, अहिले गणतन्त्रमाथि प्रहार भएका बेला झनै हाम्रो दायित्व छ भनेर निस्किएका हौं ।’

पूर्व जनमुक्ति सेना नेपाल ४ नम्बर डिभिजनको नेतृत्व सम्हालिरहेका पूर्वबिग्रेड कमाण्डर टुकबहादुर थापा (अर्जुन)

जागरण अभियानका क्रममा गैंडाकोटमा ‘मर्निङ वाक’ गरेका पासाङको रफ्तार प्रचण्डको भन्दा तीव्र थियो । यस्तो देखिन्थ्यो, उपराष्ट्रपति हुँदा हिँड्न नपाएको मौका उनले अब पूरा गर्दैछन् । पूर्वजनमुक्ति सेना र नेताहरूसँग उनी जिस्किँदै, हाँस्दै हिँडिरहेका थिए ।

दुई दिनसम्म नवलपुरमा भएका कार्यक्रममा औपचारिक रूपमा मञ्चमा उभिएर नबोले पनि पासाङको सक्रियताले भने धेरै कुरा बोलिरहेको थियो ।

मर्निङवाककै क्रममा अनलाइनखबरसँग कुराकानी गर्दै पासाङले भने, ‘लोकतान्त्रिक गणतन्त्र हाम्रो अन्तिम लक्ष्य होइन, यसमा जे जति सरकारी मूल्य, मान्यता पद–प्रतिष्ठा हुन्छ, त्यो आफ्नो ठाउँमा छ तर मुख्य कुरा समाजवादी अभिभारा पूरा गर्नु हो । अनावश्यक तर्क, टीकाटिप्पणी गर्न जरुरी नै छैन । सबै समाजवादी यात्रामा लम्किने हो ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक