Banner
बढेको बढ्यै फलामे छडको मूल्य, पाँचौँ पटक भाउ बढाउने तयारी
सिमेन्टको मूल्य बढेपछि हौसिएका फलामे छड उद्योगीले पाँचौँ पटक मूल्य बढाउने तयारी गरेका छन् । निर्माण व्यवसायीका अनुसार उद्योगीले छडको मूल्य यसै सातामा मात्र तीन पटक बढाइसकेका छन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले उद्योगीले कार्टेलिङ गरेर छडको मूल्य वृद्धि गरी प्रतिकिलो ९० रुपैयाँ पुर्याएको गुनासो गरे । साथै एक साताभित्र तीन पटक मूल्य बढाइएको उनको भनाइ छ ।
- एक साताभित्र तीन पटक बढ्यो मूल्य
‘यो सातामात्रै तीन पटक मूल्य बढिसकेको छ । प्रत्येक दिन तीन रुपैयाँले बढाएर अहिले प्रतिकिलो ९० रुपैयाँ पुगेको छ,’ उनले भने, ‘अब १०५ रुपैयाँ पुर्याउने तयारी भइरहेको जानकारी आएको छ ।’अध्यक्ष सिंहका अनुसार मंसिरयता चार पटक मूल्य वृद्धि भइसकेको छ । गत मंसिर तेस्रो सातासम्म डन्डीको मूल्य ७६/७७ रुपैयाँ रहेको थियो । सोहीवेला उद्योगीहरूले डन्डीमा प्रतिकिलो ५ रुपैयाँले बढाएका थिए । त्यसपछि एक साताभित्र तीन पटक मूल्य बढाएर प्रतिकिलो ९० रुपैयाँ पुगेको छ । पाँचौँ पटक मूल्य बढाउने तयारी भइरहेको उनले बताए ।
‘जतिपटक मूल्य बढे पनि सरकार मूकदर्शक बनेर हेरिरहेको छ । लाग्छ– उद्योग मन्त्री र उद्योगी व्यवसायीको सहमतिमा नै मूल्य बढाएजस्तो,’ अध्यक्ष सिंहले भने, ‘उद्योगीसँगको मिलेमतोमा नै निर्माण सामग्रीको मूल्य बढाइएको छ ।’
यसैगरी एक महिनादेखि उद्योगीले ग्याबिन तारको मूल्य पनि प्रतिकिलो १२ रुपैयाँ बढाउका छन् । एक महिनाअघि ग्याबिन तारको मूल्य १०९ देखि ११० रुपैयाँ थियो । तर अहिले प्रतिकिलो १२२ रुपैयाँ पर्न थालेको छ ।
निर्माणको सिजनमा निर्माण सामग्रीको मूल्य बढिरहँदा सरकार मौन रहेको अध्यक्ष सिंहको भनाइ छ ।
- पटक–पटक समितिमा छलफल
मंगलबार मात्रै उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा निर्माण उद्योग मन्त्री दामोदर भण्डारी, वाण्ज्यि सचिव गोविन्द बहादुर कार्की, व्यवसायी र सिमेन्ट उद्योगका पदाधिकारीबिच छलफल थियो । छलफलका क्रममा सिमेन्टको मूल्य वृद्धिबारे छलफल भएको थियो । जहाँ निर्माण व्यवसायी र सिमेन्ट उद्योगीबिच चर्काचर्की नै परेको थियो । साथै सिमेन्टको भाउ घट्नुको साटो अझै बढाउनुपर्ने उद्योगीले दाबी गरेका थिए ।
उक्त समितिमा भएको छलफल समितिमा सभापति अब्दुल खाँले सिमेन्ट उत्पादन लागतको सम्बन्धमा गठित समितिको प्रतिवेदन मन्त्रालयसमक्ष माग गर्ने र प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्ने निर्णयसहित बैठक स्थगित गरेको थियो ।
यसअघि सोही विषयमा माघ ७ गते निर्माण व्यवसायीसँग छलफल भएको थियो । उक्त छलफलबाट सिमेन्टको मूल्य वृद्धि नियन्त्रण गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको थियो ।
गत माघ ९ गते सार्वजनिक लेखा समितिमा सिमेन्टको मूल्य वृद्धिबारे उद्योग मन्त्री, सिमेन्ट उद्योगी र निर्माण व्यवसायीसहित प्रतिनिधिसहित सांसदहरूसँग छलफल भएको थियो । छलफलमा उद्योगीले १२ घण्टा लोडसेडिङ भएको लगायतका विविध कारण देखाई मूल्य बढाएको तर्क गरेका थिए ।
तर सांसदहरूले १२ घण्टा नभएर ६ घण्टा लोडसेडिङ भएको दाबी गरे । साथै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तत्कालीन महानिर्देशक राजन पौडेलले सिमेन्टमा भएको मूल्यवृद्धिबारे उद्योग वाणिज्य आपूर्ति मन्त्रालयमा पटक–पटक छलफल गराएर सहमति भएको बताए ।
पौडेलले माघ ६ गते भएको अन्तिम छलफलमा निर्माण व्यवसायी र उद्योगीबिच मूल्य समायोजन गर्न सहमति भइसकेको बताएपछि निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले आफूहरूको उपस्थितिविना सहमति भएको र राज्यको मिलेमतोमा सिमेन्टको मूल्यवृद्धि भएको आरोप लगाए ।
यसपछि सांसद हरि ढकालले सिमेन्टको मूल्य समायोजन गर्ने विषयमा महासंघको सहभागिताविना सहमति भएकोबारे ध्यानाकर्षण गराए । उद्योग मन्त्रीको सेटिङ भएको हुन सक्ने उनले आशङ्का व्यक्त गरे । ‘निर्माण व्यवसायी महासंघको सहभागिताविना कसरी मन्त्रालयमा सहमति भयो ?’ यसलाई भन्छन् सेटिङ,’ उनले सोधे, ‘कहीँ मन्त्रीज्यूको सेटिङ त छैन?’ सरकारी हेटौँडा र उदयपुर सिमेन्ट उत्पादन नभएकाले सेटिङ नै भएको छ कि ?’
उक्त छलफलमा उद्योगमन्त्री भण्डारीले सरकारी सिमेन्ट बन्द हुनुका कारण घाटामा गएको तर्क गर्दै उद्योगीको पक्ष लिए । अघोषित लोडसेडिङका कारण उत्पादनमा ह्रास आएकाले केही मूल्य वृद्धि भएको हुनसक्ने उनले बताएका थिए । साथै निर्माण व्यवसायीले भनेअनुसार मूल्य नबढेको र सिमेन्ट उत्पादक र निर्माण व्यवसायीसँग समन्वय गरेर यससम्बन्धी समस्या समाधान गर्ने उनले प्रतिबद्धता जनाएका थिए ।
- लेखा समितिको निर्देशन मानेनन् मन्त्रीले
उद्योग मन्त्रीले सार्वजनिक लेखा समितिको निर्देशन पालना नगरेको पाइएको छ । माघ ९ गते भएको सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको थियो ।
साथै अस्वाभाविक रूपमा सिमेन्टमा मूल्यवृद्धि भएको देखिएको भन्दै विस्तृत अध्ययन गरी तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
कुनै पनि वस्तु वा सेवाको मूल्य निर्धारण गर्न तथा नियमित रूपमा परीक्षण गर्न मूल्य निर्धारणसम्बन्धी प्रविधि विकास गर्दै प्रयोगमा ल्याउन उद्योग मन्त्रालय र सम्बन्धित निकायलाई समितिले निर्देशन दिएको थियो ।
तर त्यो निर्देशन पालना भएन । अहिलेसम्म सिमेन्टको भाउ स्थिर रहेको निर्माण व्यवसायीको दाबी छ ।
- पाँच महिनादेखि निर्माण सामग्रीको मूल्य वृद्धिले मार
निर्माण व्यवसायीले करिब पाँच महिनादेखि निर्माण सामग्रीमा मूल्यवृद्धिको मार खेपेको गुनासो गरेका छन् । गत मंसिरमा सिमेन्ट उद्योगीले मूल्य बढाएका थिए । सोहीवेला सरकारी सिमेन्ट उद्योग हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको थियो ।
त्यतिवेला उद्योगीले सिमेन्टको मूल्य दोब्बरले बढाएका थिए । २०८१ कात्तिकमा प्रतिबोरा सामान्यता ४०० रुपैयाँ पर्ने सिमेन्टको मूल्य मंसिरमा प्रतिबोरा ६०० देखि ७६० रुपैयाँ पुगेको थियो । हाल पनि सोही मूल्य कायम छ । यसैगरी कात्तिकमा प्रतिबोरा ३०० पर्ने सिमेन्टको मूल्य ५५० देखि ६०० रुपैयाँसम्म बिक्री हुँदै आएको छ ।
सिमेन्टको मूल्य बढेपछि निर्माण व्यवसायीले आन्दोलनमा उत्रिने तयारी थालेका थिए । यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले उद्योगी र निर्माण व्यवसायीबिच मन्त्रालयमा छलफल गराएर सिमेन्टको मूल्य घटाउने सहमति गराएका थिए ।
गत मंसिर २६ गते भएको उक्त छलफलमा ओपीसी सिमेन्ट प्रतिबोरा ५६० रुपैयाँ र पीपीसी सिमेन्टको मूल्य ४६० रुपैयाँ राख्ने सहमति भएको थियो । तर उद्योगीले भने पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६५० रुपैयाँ र ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ७५० रुपैयाँ कायम राखेका थिए । यसपछि माघ ६ गते फेरि निर्माण व्यवसायीले सार्वजनिक लेखा समितिमा उजुरी दिए ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले माघ ६ गते सिमेन्ट र फलामे छडको मूल्यवृद्धिबारे समितिमा उजुरी दिएका थिए । सोही उजुरीअनुसार माघ ९ गते समितिमा सिमेन्टको मूल्यवृद्धिको विषयमा छलफल भयो । समितिले मूल्यवृद्धि नियन्त्रणका लागि उद्योग मन्त्रालयलाई निर्देशन दिएको थियो ।
यसपछि पनि मूल्य नघटेपछि निर्माण व्यवसायी आन्दोलनमा उत्रिने तयारीमा थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायीका समस्या समाधान गरिदिने आश्वासन दिएपछि उनीहरूले आन्दोलन स्थगित गरेका थिए । तर हालसम्म त्यो माग पूरा हुन नसकेको अध्यक्ष सिंहको गुनासो छ । साथै पछिल्लो समय सिमेन्टपछि फलामे छड र ग्याबिन जालीको मूल्य वृद्धिले व्यवसायीले मारमा परेको गुनासो गरेका छन् । तर मूल्य बढिरहँदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने मौन छ ।
- विभागले उद्योगीसँग छलफल गर्ने
वाणिज्य विभागका महानिर्देशक कुमार प्रसाद दहालले सिमेन्ट उद्योगीसँग आज ११ बजे छलफल गरेका छन् । छलफलमा सिमेन्ट उद्योगीलाई सिमेन्टको मूल्यवृद्धि हुनको कारण प्रस्ट्याउन आग्रह गरेको बताए ।
‘उद्योगीहरूलाई मूल्य बढ्नुको कारण प्रस्ट पार्नु भनेको छु,’ उनले भने, ‘यस्तै उत्पादनमा लागेको लागत, बिक्री बिलबिजकसमेत ल्याउन आग्रह गरेको छु ।’ तर फलामे छड तथा स्टील उद्योगीसँग छलफल हुन नसकेको उनले बताए ।
‘आज काम विशेषले फलामे छड,स्टील उद्योगीसँग छलफल गर्न सकिएन,’ उनले भने, ‘उद्योगीहरू आएर फर्किएछन् । अब भोलि छलफल गर्छु ।’
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login