समाचार
बालेनलाई मानवअधिकारकर्मीहरूको खुला पत्र: लोकतान्त्रिक नेताको रुपमा स्थापित हुनुस्
काठमाडौं महानगरका मेयर बालेन शाहलाई मानवअधिकारकर्मीहरूले खुला पत्र लेखेका छन्।
मानवअधिकारकर्मीहरूले मेयर शाहलाई खुला पत्र लेख्दै लोकतान्त्रिक नेताको रुपमा स्थापित हुन आग्रह गरेका हुन्।
यस्ताे छ पत्र:
काठमाडौंका मेयर बालेन्द्र शाहलाई खुला पत्र
आदरणीय नगर प्रमुख बालेन्द्र शाहज्यू,
स्वरोजागार गरेर जीविकोपार्जन गर्दै आएका सडकव्यापारी नागरिकहरूविरुद्ध तपाईं नेतृत्वको महानगरपालिकाका अधिकारीहरूबाट श्रृंखलाबद्ध रूपमा हुँदै आएका ज्यादतीका बारेमा हामी तपसिलका मानवअधिकारकर्मीहरूको धारणा संप्रेषण गर्न यो खुलापत्र लेखेका छौं।
संघीय राजधानी शहर प्रमुख तपाईं सबै भन्दा बढी उदार लोकतान्त्रिक हुनुपर्ने हो तर सरोकारवालाहरूसँग परामर्शका सबै ढोका बन्द गर्दै आएको र आफ्नो कार्यशैली र व्यवहारबाट अलोकतान्त्रिक छवि स्थापित गर्दै लगेको सन्दर्भमा तपाईंसम्म हाम्रो सन्देश पुर्याउन यो खुलापत्रको साहारा लिएका छौँ।
गरिबीमा बाँचेका जनताको टेको बन्ने र सबैको सहअस्तित्व स्वीकार गरी समावेशी सहर बनाउने सपना बाँडेर तपाईं चुनावमा होमिएको तथ्य कसैका सामु छिपेको छैन। निर्वाचित भएपछि भने तपाईं नेतृत्वको पालिका सरकार काठमाडौंवासी विपन्न नागरिकहरूप्रति निर्दयी बन्दै आएको छ। खासगरी सडक व्यापारमार्फत गरिबीसँग जुध्दै गरेका जनताको जीवनयापनलाई पीडादायी बनाउने गरी सङ्गठित ढङ्गले लागि परेको छ। राज्यको विशेष संरक्षणको हकदार ती विपन्न जनता (खासगरी महिला, अपांगता भएका व्यक्ति, बालबालिका र सीमान्तकृत समुदायका व्यक्तिहरू) प्रति निरन्तर क्रूर बन्दै गरेको देखिएको छ। यस्तो अनपेक्षित र अकल्पित स्थितिको साक्षी हुनु पर्दा हामीलाई अत्यन्त दु:ख लागेको छ। त्यसो त सडक व्यापारलाई मर्यादित बनाउने सन्दर्भमा देखिएको सङ्घीय सरकारको चरम उदासिनताले पनि हामीलाई पिरोलेको छ।
यही फाल्गुन १६ गते साँझपखको समयमा पछिल्लो पटक नगर प्रहरीको एक समूह काठमाडौंको सुन्धारा क्षेत्रका सडक व्यापारीमाथि एक्कासी जाइलाग्यो र उसले सडक व्यापारीको सामान तहसनहस मात्र पारेन अन्धाधुन्द लाठी प्रहारद्वारा निर्घात कुटपिट गरी केही सडकव्यारीलाई गम्भीर घाइते बनायो। घाइते भएकालाई आफ्नो नियन्त्रणमा लिएर गाडिमा राखिसकेपछि समेत मानसिक यातनाजन्य दुर्व्यवहार र क्रूर, अमानवीय तथा अपमानजन्य व्यवहार गरियो। नगर प्रहरीले ठाडै आफ्नो अधिकारक्षेत्र मिचरे हिंसा मच्चायो। उक्त तथ्य स्पष्ट देखिने गरी श्रव्यदृश्य सामग्री समेत सार्वजनिक भएको तपाईंलाई अवगतै हुनुपर्छ। उक्त आपराधिक तथा हिंसात्मक घटनाको हामी घोर निन्दा गर्दछौँ। जानाजान बलको अत्यधिक दुरुपयोग गरी गरिएको उक्त कार्यको कानुनी तथा नैतिक वैधताको कुनै गुन्जायस छैन।
महानगर प्रहरी बलका अधिकारीबाट भएको उक्त ज्यादतीपूर्ण घटनाको श्रव्यदृश्य सामाग्री भाइरल भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा फिँजिसक्दा र सरोकारवालाबाट व्यापक खेद र आलोचनाको विषय बनिसक्दा समेत त्यस घटनाप्रति कुनै पश्चातापको भाव तपाईंले दर्शाएको हामीले देख्न पाएका छैनौं। त्यस्तो आपराधिक कार्यको छानबिन गर्ने र जिम्मेवार अधिकारीको पहिचान गरी जवाफदेही बनाउने दिशामा तपाईंले कुनै कदम चालेको हाम्रो जानकारीमा आएको छैन। त्यो घटनाका पीडितप्रति सहानुभूति राख्ने र सार्वजनिक क्षमायाचना गर्ने सदासयतासम्म पनि तपाईंले देखाएको हामीले अनुभूत गर्न पाएका छैनौं। बरु तपाईं र तपाई मातहतका अधिकारीहरूबाटै घटनाबारेको सत्यतथ्यलाई तोड्मोड् गरी दुष्प्रचार गर्ने र आपराधिक कार्यमा संलग्नलाई चोखो देखाउने दुस्प्रयास गरेको देखिएको छ। जननिर्वाचित नयाँ पुस्ताका प्रतिनिधिको यस्तो विप्ल्याटो व्यवहार र प्रवृत्ति हाम्रा लागि आश्चर्यको विषय बनेको छ।
साथै यी परिस्थितिजन्य तथ्यहरूको आधारमा उक्त उल्लंघनको घटना तपाईंको प्रत्यक्ष वा परोक्ष आदेश वा सहमतिमा भएको थियो र त्यो आदेशको अन्तिम जिम्मेवारी तपाईंले वहन गर्नु पर्नेतर्फ ईङ्गित गरिरहेको आङ्कलन गर्न सकिन्छ। राज्य अधिकारीबाटै सडक व्यापारीमाथि लाठीको प्रयोग गरी टाउको लगायत शरिरको संवेदनशील भागमा निर्घात प्रहार र नियन्त्रणमा लिइसकेपछि जानाजान गरिएको अमानवीय व्यवहारबाट पीडितहरूमाथि नेपालको संविधान (धारा १६ र २२), मुलुकी अपराध संहिता, २०७४ (दफा १६७, १६८, १८३ र १९१), नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अभिसन्धि, १९६६ (धारा ६ र ७), यातनाविरुद्धको महासन्धि, १९८४ (धारा १, २, ४, ६) समेतअन्तर्गत वर्जित मानवअधिकारको गम्भिर उल्लङ्घन (यातना तथा क्रूर, अमानवीय वा अपमानजन्य व्यवहार) भएको स्पष्ट देखिन्छ। यातनाजन्य कार्य युद्ध वा शान्ति जुन सुकै अवस्थामा सर्वथा निषेधित छ र यो क्षमादान अयोग्य एवं विश्वव्यापी क्षेत्राधिकारसमेत आकर्षित हुने गम्भीर अपराध हो भन्ने यहाँलाई अवगतै हुनु पर्छ भन्ने हाम्रो बुझाइ रहेको छ।
अत: महानगर प्रमुखको हैसियतले उक्त आपराधिक कार्य तथा मानवअधिकार उल्लङ्घनको घटनाप्रति जिम्मेवार हुन, त्यस्तो घटना पुन:नदोहोरिने सुनिश्चित गर्न तथा छानबिन एवं अनुसन्धान गरी सो घटनामा जिम्मेवार देखिएकालाई जवाफदेही बनाउने कार्यलाई सहजीकरण गर्न हामी यहाँसमक्ष आह्वान गर्दछौँ। साथै महानगरले पीडितप्रति माफि मागी उनीहरूलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आफ्नो दायित्व पूरा गरोस् भन्ने हाम्रो विशेष माग छ। विपन्न जनताप्रतिको विभेदकारी ९मष्कअचष्mष्लबतयचथ० तथा बहिष्करणकारी ९भहअगिकष्यलबचथ० नीति परित्याग गर्न, सडकव्यापारी लगायतका विपन्न नागरिकको आत्मसमान, मर्यादा तथा जीविकोपार्जनको अधिकारको सम्मान र संरक्षण गर्न पनि हामी गम्भीर आव्हान गर्दछौँ।
समाजवाद र सामाजिक न्याय, सम्मानजनक रूपमा बाँच्न पाउने, व्यापार व्यवसाय गरेर जीविकोपार्जन गर्ने, रोजगारी, श्रम, सामाजिक सुरक्षा लगायतका संवैधानिक प्रत्याभूतिबाट निश्रृत तहगत सरकारका दायित्वहरूको सापेक्षतामा रचनात्मक संवाद र सहकार्यको आधारमा सडक व्यापारको नियमन र व्यवस्थापनको उचित विकल्प खोज्न महानगरलाई हाम्रो सुझाव छ। देशभरीका बाँकी पालिकाहरूका लागि मात्रै होइन संसारका लागि काठमाडौं महानगर उदाहरण बनोस् भन्ने हामी चाहान्छौँ। यस सन्दर्भमा तपाईंको साथमा रहेर संघीय सरकारको दायित्व समेत बहन गराउने गरी दबाब सिर्जना गर्न हामी लागि पर्नेछौँ।
सडक व्यापारीमाथिको श्रृंखलाबद्ध ज्यादती दर्शाउने श्रव्यदृश्य सामाग्री विश्वव्यापी रूपमा निरन्तर साझा भैरहँदा हस्पिटेबल सिटी मानिएको काठमाडौंको अन्तराष्ट्रिय छविमा कालो पोतिने र पर्यटन व्यवसायमा समेत उल्लेख्य नकारात्मक असर पर्ने तर्फ पनि सचेत हुन त्यतिकै जरुरी छ। त्यसतर्फ पनि तपाईं लगायतका महानगर अधिकारीले उचित हेक्का राख्नका लागि हामी आग्रह गर्दछौं।
सर्वसाधारण जनताप्रति मानवअधिकार मैत्री व्यवहार, समग्र जनसमुदाय र जनहितकारी प्रवृत्ति, सभ्यताका न्यूनतम मापदण्डको पालना समेतका विषयमा नगरप्रहरीलाई विशेष तालिमको खाँचो टड्कारो देखिएको छ। त्यसतर्फ पनि तपाईं लागायत अन्य पालिका प्रमुखहरूको ध्यान जाओस् भन्ने हाम्रो अनुरोध छ। साथै नेपाल प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरीको कार्यक्षेत्रको सीमा, अधिकारको दायरा र अन्तर्सम्बन्ध स्पष्ट पार्न सङ्घीय कानुन संशोधनका लागि पनि हाम्रो पहल रहने नै छ।
अन्तमा, यहाँले आफ्नो सोच र कार्यशैलीलाई आवश्यक परिमार्जन र समायोजन गरेर तानाशाही, निरङ्कुश र मानवअधिकार उल्लंघनकर्ताको खराब छवि निर्माणतर्फको बाटो परित्याग गरी कानुनको शासनको मातहतमा चल्ने लोकतान्त्रिक नेताको रूपमा स्थापित हुने बाटोमा अग्रसर हुनतर्फ आफ्नो ध्यान केन्द्रित गर्नुहुनेछ भन्ने कामना गर्दछौँ। धन्यवाद,
अनिता न्यौपाने थपलिया, इला शर्मा, कनकमणी दीक्षित, कमल बिक, कृष्ण गौतम, कुन्दन अर्याल, चरण प्रसाईं, जेबि विश्वकर्मा, दिनेश त्रिपाठी, धन बहादुर मिजार, नितु पोख्रेल, निराजन थपलिया, बिदुर सुवेदी, प्रकाश महर्जन, प्रकाशमणी शर्मा, प्रेम सापकोटा, विकास बस्नेत, भक्त विश्वकर्मा, भगवति अधिकारी, भावना भट्ट, मनोग्य शर्मा, मारिसा टेलर, रमेश प्रसाद तिमिल्सिना, राजु प्रसाद चापागाईं, रेनु अधिकारी, लक्ष्मण बस्नेत, शर्मिला श्रेष्ठ, सरोज फुयाल, सुरेन्द्र सिं, सुशिल प्याकुरेल, सोम निरौला, हरी शर्मा
Source : Nagariknews
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान फेरि सरेको छ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा नभएपछि दिउँसो १ बजेका लागि तय गरिएको मतदानको समय पुनः सारिएको हो। अब दिउँसो २ बजेबाट मतदान सुरु गर्ने सहमति भएको हो। यसअघि बिहान १० बजेबाट मतदान सुरु गर्ने निर्वाचन समितिको तयारी थियो। तर आवश्यक तयारी पूरा नभएपछि मतदानको समय दिउँसो १ बजेसम्म सारिएको थियो।
Banner
मेस्सीको अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य
बेनिनलाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य गरेका छन् ।
करिअरको अन्तिम खेलमा मेस्सीले अर्जेन्टिनाका तीनवटै गोलमा योगदान गरे । उनले एक गोल र दुई असिस्ट गर्दै टोलीलाई जित दिलाएका हुन् ।
३९ वर्षीय मेस्सीको अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा यो अन्तिम तथा २०८औँ खेल थियो ।
खेलको ४८औँ मिनेटमा निकोलास ओटामेन्डीले मेस्सीको कर्नरमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि ५९औँ मिनेटमा मैदान प्रवेश गरेका निको पाजले ६१औँ मिनेटमा मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० बनाए ।
त्यसको १० मिनेटपछि अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सीले गोल गरे । उक्त गोल उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल बन्यो । खेलअघि र खेलपछि मेस्सी निकै भावुक देखिएका थिए ।
आठपटकका बालोन डी’ओर विजेता मेस्सीको सम्मानमा अर्जेन्टिनाले बेनिनविरुद्ध यो खेल आयोजना गरेको हो । २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा उनले २०८ खेल खेल्दै १२६ गोल गरेका छन् ।
अर्जेन्टिनाले सन् २००५ मा फिफा विश्व युवा च्याम्पियनसिप जित्दा मेस्सी टोलीका सदस्य थिए । त्यसको तीन वर्षपछि उनले ओलम्पिक स्वर्ण पदक जिते । सिनियर टोलीबाट उनले सन् २०२१ र २०२४ मा कोपा अमेरिका, २०२२ मा फाइनलिसिमा तथा कप्तानका रूपमा २०२२ मा विश्वकपको उपाधि जितेका छन् ।
मेस्सीले सन् २०१४ र २०२६ मा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login