Banner
भोक, भोग र सम्भोगको कथा समेटिएको ‘समभोक’
मोरङको सुन्दरहरैंचामा जन्मिएका र दुई दशक अमेरिकामा बसेपछि पछिल्लो समय नेपाल र अमेरिकामा ओहोरदोहोर गरिरहने शिव प्रकाशको हालै विमोचित उपन्यास ‘समभोक’को चर्चा अहिले नेपाली साहित्यमा बढ्दै गइरहेको छ । डा. गोविन्द केसी र राजनीतिज्ञ गगन थापाले विमोचन गरेको कृतिमा क्लिष्ट शब्दको प्रयोग त्यत्ति पाइँदैन । पाठकको मन छुने विषय समेटिएको कृति मुख्य तीन खण्डमा विभक्त छ भोक, भोग र सम्भोग ।
तीन खण्डमध्ये भोक खण्डको कथानक बढी छ । समग्र कृतिको ६० प्रतिशतभन्दा बढी भाग ओगटेको भोक शीर्षकभित्रै भोग र सम्भोग पनि अटाएको आभास हुन्छ कृति पढ्दै जाँदा । कृतिमा भोग र सम्भोगका भोका सबै देखिन्छन् । पहिलो खण्ड अर्थात् ‘भोक’ भित्र खान र लाउनको भोक मात्र समेटिएको छ । उपन्यासको मुख्य पात्र ईशुको सम्भोगको भोक भए पनि नारी पात्र सुबि (सुन्देवी) को पेट भर्ने र आङ ढाक्ने भोकको कथानककै वरीपरी घुमिरहेका छन् सबै चरित्रहरु ।
विशेष गरी अमेरिकामा रहेका आप्रवासी नेपालीको कथा हो समभोक । जीवनसाथी नेपालमा वा अमेरिकामै भए पनि लुकिछिपी वा देखादेखी हुने दम्पत्तिइतरको सम्बन्धको कथा समेटिएको उपन्यासका सबै पात्र भोका देखिन्छन् । नेपालमा श्रीमती सिन्धुकालाई छाडेर अमेरिकामा काम गरिरहेको मुख्य पात्र ईशु सुबीसँग बरालिएको छ । सुबीको लोग्ने सुन्दास त पत्नीकै अगाडि रेशमीसँग रात बिताउँछ, सुबी कोठामा एक्लै रात काट्छे । सुन्दास र रेशमी सडकमा रहेको आफ्नो कारलाई नै शयनकक्ष बनाउँछन् । उता, मुग्धा भने मुख्य पात्र ईशूतिर आकर्षित छे ।
ईशुको साथी फूलकुमार किस्नमायातिर सल्किएको छ । त्यतिले नभएपछि मेक्सिकन युवती मामासितातिर लहसिएको छ । मामासितासित रासलीला मच्चाउनेमा ईशुका साथी अँणबहादुर र ञबहादुर पनि छन् । उनीहरु केवल हास्य पात्रको रुपमा उपस्थित भएका छन् । मुग्धाको पति गोपालको चरित्रको बारेमा कृति मौन छ । आफू काम गर्ने पसलकी भारतीय मूलकी साहुनी पनि ईशुसँग रात बिताउन चाहन्छे । पति कामको सिलसिलामा बाहिर जानासाथ ऊ ईशुलाई विभिन्न बहानाले बस्ने गरी आउन बोलाउँछे । तर ईशु साहुनीप्रति आशक्त छैन, उसलाई विभिन्न बहाना बनाएरै टारिदिन्छ ।
अन्य नाम उल्लेख नभएका पात्रहरु पनि उपन्यासमा छन् । उनीहरुलाई कुरौटेको रुपमा बढी उभ्याइएको छ । साहुको भूमिका पनि कृतिमा गौण छ ।
‘सेक्स फ्री’ अमेरिकाको बोस्टन शहरको सेरोफेरोमा रहेर काम गर्ने नेपालीको कथा समेटिएको उपन्यासमा शारीरिक सुखभोगको चाहनालाई सर्जकले केन्द्रमा राखेका छन् । मुख्य पात्र ईशु शारीरिक भोक मेट्न पाँच वर्षसम्म सुबिलाई पछ्याउँछ । उसलाई नेपाल फर्कने टिकटसम्म काटिदिन्छ । तर सुबि जहिल्यै ईशुलाई शुरुमा यौनसुख अहिल्यै दिउँला झैँ गरी बोलाउँछे र अन्त्यमा आफ्नो पेटको भोक र किनमेलको भोक ईशुबाट मेटाएर फर्काउँछे । यस्तो भोक मेट्ने उपक्रम सुबि एक्लैले गरे पनि उपन्यास पढ्दै जाँदा उसको लोग्ने सुन्दासको पनि त्यसमा सहमति रहेको भान हुन्छ । सुबिको दृष्टिमा जीवन भोक हो, मान्छे शरीर मात्र हो ।
ईशु यौनको भोको छ, ऊ अघाउन चाहन्छ । त्यसैले ऊ भन्छ, ‘भोक मार्नु अपराध हो तर भोक मेट्नु अपराध होइन ।’
‘जीवन भोक र भोग हो, अर्थात् मान्छे शरीर र आत्मा हो’ भन्ने विचार लिएर बसेकी छ मुग्धा । एक्ली नारीलाई मात्र होइन, एक्लो पुरुषलाई पनि सुरक्षा चाहिन्छ भन्ने मुग्धा नेपालबाट ईशुकी श्रीमती सिन्धुका आउनासाथ ईशुसँगको सम्बन्ध त्यागेको सार्वजनिक गर्छे ।
ईशुकी पत्नी सिन्धुका भोक र भोगभन्दा माथि सम्भोग हो भन्छे । मान्छे शरीर मात्र होइन, आत्मा पनि हो र परमात्मा पनि हो भन्छे सिन्धुका । १० वर्षपछि पतिसँग भेट भएपछि सिन्धुका भन्छे, ‘ईशू, तिमीले सम्भोगको अर्थ बुझेनौ ।’ उसले आफ्नो पतिले सुबिसँग राख्ने चाहेको सम्बन्ध दैहिक मात्रै भएको ठान्छे । मुग्धासँगको सहवास शरीर र आत्माको भेट भएको ठान्छे भने आफूसँगको सामीप्यता शरीर र आत्माका साथै परमात्मासँगको भेट हो भन्ने विचार राख्छे ।
अमेरिकामा बस्ने आप्रवासीको दैनिकीलाई समेटेको उपन्यासमा सशक्त संवाद छ । भाषामा लालित्य छ, आह्लादित बनाउने कथानक भएकाले उपन्यास बीचैमा छाड्न मन लाग्दैन । विषयवस्तुको उठान, पात्रहरूको चयन, कथाको संयोजन धेरैजसो सरल रेखामा नै देखिन्छ ।
लेखकको कथा भन्ने तरिका सुुन्दर छ । उपन्यासमा भएका कतिपय लालित्यपूर्ण भाषाले पाठकलाई तानेको तान्यै गर्छ । त्यस्ता केही वाक्य हुन्ः
निर्लज्जता सबैभन्दा ठूलो कला हो ।
काम कहिल्यै दुःख होइन, बेकाम सधैँ दुःख हो ।
काम गरेर खाएको सुखभन्दा अर्काे सुख के हुन्छ र ?
मान्छेले मान्छेका आँखामा हेर्न नसक्नु पनि मृत्यु हो ।
बिर्सिएपछि पो सम्झिने हो । बिर्सिँदै नबिर्सिएपछि सम्झनै पर्दैन ।
जीवनले सधैँ मृत्यु बोकेजस्तै शुरुवातले सधैँ अन्त्य बोकेको हुन्छ ।
नाइँ भन्न नसक्नु पनि फसादमा पर्नु हो । सजिलो हुनु भनेको अप्ठ्यारोमा पर्नु हो ।
समुद्रगमन शुरु हुन्छ । सर्पजस्तो बाँधिन्छन् । बेरिन्छन् । बटारिन्छन् । डल्फिनजस्तो उल्टिन्छन् । पल्टिन्छन् । माछाजस्तो पौडिन्छन् । डुबुल्की मार्छन् । पाहाजस्तो उत्तानो पर्छन् । गोहीजस्तो घोप्टो पर्छन् ।
जिउँदो मान्छेलाई न कहिल्यै चिन्न सकिन्छ, न कहिल्यै विश्वास गर्न सकिन्छ ।
मान्छे सधैँ त्यहाँ जानुपर्छ, जहाँ मन खुशी हुन्छ ।
पेल्न छोडी भने स्वास्नी हुनुको अर्थ पनि हुँदैन ।
त्यस्तै, भोकैभोकको र भौकैभोकाको कथा रहेका कृतिमा भोकसम्बन्धी उद्धरण औधी पाइन्छन् । जुन उद्धरणले पाठकलाई आख्यानभित्रै बाँधिरहन्छ । जस्तै,
भित्रभित्रै अनेक पीडा सहेर पनि मान्छेभित्र भोक सधैँ बाँचेको छ । भोकको सीमा छैन । भोकको आयु हुँदैन । जहाँ सीमा र आयु हुँदैन, त्यो अनन्त हुन्छ । त्यो अमर हुन्छ । भोक अनन्त छ । भोक अमर छ । भोक ‘ओम्निप्रेजेन्ट’ छ । भोकमा ‘अलमाइटी’ पावर छ ।
भोकले उसलाई भोलि गर्ने काम आजै र आज गर्ने काम अहिल्यै गर्नुजस्तो बनाएको छ ।
भोकले साइनो बदल्छ । भोकले सम्बन्ध बदल्छ । भोकले नाम बदल्छ । भोकले काम बदल्छ । भोकले मान्छे बदल्छ । भोकले संसार बदल्छ ।
मान्छेले भोक जन्माएको छ । तर मान्छेभन्दा बढी भोकले मान्छे जन्माएको छ । मान्छे त्यही भोक खाएर, त्यही भोक पिएर, त्यही भोकमा डुबेर भोकभोकै बाँचिरहेको छ । भोकभोकै मरिरहेको छ ।
अनुप्रासयुक्त भाषाशैलीले पाठकलाई आख्यानबाट बाहिर जान दिँदैन । कृतिमा अनुप्रासयुक्त कथन धेरै छन् । जस्तैः
टर्राे लयमा झर्राे नेपाली बोल्थ्यो । खाँडो जगाएजस्तो भाषाको भाँडो बजाउँथ्यो ।
भोकले वरिष्ठ र कनिष्ठलाई खुबै घनिष्ठ बनाएको थियो ।
भित्रभित्रै ढुक्क मात्रै भइन मुग्धा हुरुक्क पनि भई ।
कसैलाई कुर्नु भनेको कसैका बारेमा मनमा अनेक कुरा फुर्नु हो ।
यो पनि नारी । त्यो पनि नारी । एउटी उदार, अर्की खुङ्खार ।
फुल्न नसकेको फूलजस्तो भएको छ फूलकुमार ।
सिन्धुका आउँदा ईशुलाई वसन्त आएजस्तो लागेको छ । तर, आँधीबेरीभित्र रुमल्लिएको वसन्त ।
विमुखमा बोल्ने अरु धेरै मुख पनि सन्मुख भएका थिए, पहिलो पटक ।
उपन्यासले अमेरिकाको जनजीवनलाई ऐनामा झैँ छर्लङ्ग देखाएको छ ।
बिदेसिएको मान्छेको दुःखको पाटो पनि छ । तर मान्छे न देखाउँछन्, न पल्टाएर हेर्नै खोज्छन् । विदेशमा धेरैजसोले ठूला महल अगाडि उभिएका, समुद्र किनारमा डुलेका, पार्कमा घुमेका, राम्रा लुगा लगाएका, गहना भिरेका, कतौ बसेका र महङ्गा गाडी चढेका कुरा मात्र देखाउँछन् । त्यसका लागि आफू जाँतो भएको कहिल्यै देखाउँदैनन् । दिनरात नभनी पसिना बगाएको, ट्वाइलेट किचेन सफा गरेको, जुठा प्लेट उठाएको, भाँडा माझेको, अरुका छोराछोरीको दिसापिसाब सफा गरेको, बुढाबुढीको ¥याल सिँगान पुछेको पनि कहिल्यै कतै देखाउँदैनन् ।
मान्छे काम देखाउन सबै लजाउँछन् । शान देखाउन सबै लाज पचाउँछन् ।
अमेरिकामा नाम छैन, काम छ । नेपालमा काम छैन, नाम छ । काम नहुनेको झन् बढी नाम छ । काम गर्दागर्दै आफ्नै नाम बिर्सने ठाउँ हो, अमेरिका ।
उपन्यासमा प्रयुक्त दृष्टान्तले कृतिलाई ओजपूर्ण बनाएको छ । अधिकांश पृष्ठमा यस्तो दृष्टान्तयुक्त वाक्य पाइन्छन् । जस्तै,
‘समर’ मा युवतीले शरीरमा टाँसेका लुगाका टालाटुलीजस्तै ‘विन्टर’ मा रुखले हिउँका टालाटुली टाँसेका छन् ।
अक्करमा अड्केको फर्सीजस्तो हुन्छ टाउको ।
सुबीको ईर्ष्या सिरक सल्काएर आगो तापेजस्तो भएको छ ।
उनले अमेरिकाका मान्छेको नग्नतालाई प्रकृतिसँग दाँजेर सुन्दर तरिकाले भनेका छन् । उनी भन्छन्, ‘अमेरिकाको बोस्टन पनि वर्षमा दुईपटक नाङ्गिन्छ । ६ महिना प्रकृति, ६ महिना मान्छे । प्रकृतिलाई हिउँ र स्याँठले नङ्ग्याउँछ । मान्छेलाई मौसम र फेसनले नङ्ग्याउँछ । प्रकृति भोकाए रुख नाङ्गिन्छन् । मान्छे भोकाए आफैँ नाङ्गिन्छन् । नग्नता पनि भोक हो ।’
अमेरिकामा प्रकृति र पात्रबीच नाङ्गिने प्रतिष्पर्धा चल्छ ।
अमेरिकामा फेसनको नाममा मान्छे नाङ्गिने प्रवृत्तिजस्तै प्रकृति पनि नाङ्गिने गरेको प्रसङ्ग जोड्दै उनी भन्छन्ः मान्छेजस्तै नग्नताको सौन्दर्य देखाउने भोक पालेर बसेको छ प्रकृति पनि । शिशिर याममा देखिने प्रकृतिको नग्नतामा हिमपात हुँदाको दृश्य वर्णन गर्ने क्रममा लेखकले नग्नतलाई पनि सुन्दरतासँग जोडेका छन् ।
उपन्यासको कथा अमेरिकाको बोस्टन शहरको सेरोफेरोमा भए पनि स्थानीयता पनि झल्कन्छ । सुन्दरहरैंचाका सर्जक शिव प्रकाशले स्मृतिमा भए पनि नेपालको स्थानीय परिवेशलाई पनि समेटेका छन् । जस्तै,
कालीखोला, कालीथान, हात्तीसार र हाटखोलाका रङ्गीन क्षणहरु सम्झन्छ । गाउँका जमुना, चम्पा, चन्दा, इन्द्रा, कान्ता, नयनकान्ता, देवकी सबै सम्झन्छ ।
समग्रमा यो औपन्यासिक कृति अमेरिकामा रहेका आप्रवासी नेपालीको दम्पत्तिइतरको सम्बन्ध देखाउन सक्षम भएको देखिन्छ ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login