Banner
मेयर हमालको अस्वस्थताले धनगढीमा घट्यो चहलपहल
धनगढी — काठमाडौँमा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङजस्तै स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले। कांग्रेसको गढ मानिने धनगढीमा ठुला पार्टीसमेतको मोर्चाबन्दीलाई पराजित गर्दै जित हात पार्नु चानचुने कुरा थिएन।
पदमा पुगेको छोटो अवधिमै धनगढीमा सुधारका कामहरूको थालनी गर्दै चर्चाको उकालो चढ्न थालेका मेयर हमालले भन्ने गरेको ‘धनगढीको विकास आफ्नो एक मात्र ध्येय’ र उनले सुरु गरेका र कतिपयमा प्राप्त नतिजाहरूले अधिकांश धनगढीवासीलाई विश्वास गर्न करै लाग्ने अवस्था सिर्जना गराएका थिए। धनगढीमा विकासमा अनेक नवीन कामहरूको थालनी गरेर आशा जगाउँदै थिए उनी ।
तर ०८१ मंसिर २१ गते अकस्मात् गम्भीर बिरामी परे । टाउको दुखेर धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएका उनलाई चिकित्सकहरूले ‘दिमागको पक्षघात’ भएको जानकारी गराउँदै सुविधा सम्पन्न अस्पतालमा रेफर गरेका थिए । त्यसपछि उनलाई भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा उपचार गरिएको थियो । दिल्लीमा १६ दिनको सघन उपचारपछि उनी डिस्चार्ज भएर घर फर्किएका थिए ।
आफ्नो अधिकांश समय नगरकै विकास गतिविधिमा खर्चिँदै आएका नगरप्रमुख हमाल गम्भीर बिरामी परेपछि भने उनको विगतको गतिमा ब्रेक लाग्यो । उनी दैनिक कार्यालयमा उपस्थित हुन सक्ने पनि अवस्थामा पनि छैनन्।
‘डाक्टरहरूले आराम गर्न भनेका छन् । त्यसैले उहाँले खटनपटन हुन खोज्दा स्वास्थ्यमा असर देखिने गर्छ,’ समन्वयकर्ता भट्टले भने, ‘अहिले उहाँले नगरी नहुने र अत्यावश्यक कामहरू घरबाटै गर्ने गर्नु भएको छ ।’ नगरका क्रियाकलापहरू, सूचना, जानकारी, अपिल, गुनासा लगायतका कार्यहरू उनले सामाजिक सञ्जालबाटै प्रवाह गर्ने गरेका छन् ।
उनी स्वस्थ भएका बेला दैनिक कार्यालयमा खटिन्थे । दैनिक र साप्ताहिक रूपमा हरेक शाखाहरूका कामकाजको समीक्षा हुने गरेको थियो । अहिले त्यो क्रम क्रमशः घट्दै गएको स्वयम् कर्मचारीहरू सुनाउँछन् । धनगढी उपमहानगर अन्तर्गत २९ वटा शाखा र करिब पाँच सय जना कर्मचारी छन् ।
‘अहिले त्यो ठप्प छ । आफ्नै आन्तरिक स्रोतले नधान्ने भएकाले विभिन्न कार्यक्रमका लागि विभिन्न निकायबाट आर्थिक स्रोतका लागि लबिङ गर्दै विकासका नवीन कार्यक्रमहरू सञ्चालन हुन्थे । अहिले त्यो अवस्था रोकिएको छ,’ सचिवालयका समन्वयकर्ता भट्टले भने । उपमहानगरका सूचना अधिकारी सुरेन्द्र कार्कीले भने यी सन्दर्भहरूमा आफूले कुनै टिप्पणी नगर्ने बताए ।
आगामी आर्थिक वर्षको योजना निर्माण तथा बजेट बनाउने बेला भइसकेको छ । तर अहिलेसम्म उक्त प्रक्रियाले गति लिन सकेको छैन । ‘मेयर स्वस्थ भएको भए आगामी वर्षका लागि पनि नवीनतम् कार्यक्रमहरूको योजना बन्न सक्थ्यो होला,’ नगरपालिकाका एक कर्मचारीले भने ।
धनगढीमा नगरप्रमुख हमालले आफ्नो प्रत्यक्ष निगरानीमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका थिए । ०७९ साउन महिनादेखि महिनाको एक दिन हरेक वडामा निःशुल्क सञ्चालन गर्दै आएको विशेषज्ञ वडा क्लिनिक विपन्न परिवारका स्थानीय बासिन्दाहरूका लागि वरदान भएको छ ।
उपमहानगरले गाउँमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराएपछि ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई धनगढीसम्म धाउनुपर्ने र ऋणकर्ज गरेर महँगो उपचार सेवा लिन बाध्य हुनुपर्ने बाध्यतामा सहजता गराएको छ ।
उपमहानगरका स्वास्थ्य शाखाका अनुसार १९ वटै वडामा महिनाको एक दिन वडा क्लिनिक सञ्चालन गर्ने गरिएको छ । जहाँ फिजिसियन, स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी, आँखा र दन्त रोग विशेषज्ञले सेवा दिने गरेको स्थानीय बासिन्दाहरू बताउँछन् ।
नगरप्रमुख हमालले विपन्न परिवारका लागि दाहसंस्कार खर्चबापत पाँच हजार नगर उपलब्ध गराउने परम्परा बसाए । मृतकको घर परिवारबाट खबर प्राप्त हुनासाथ दुई जना नगर प्रहरी मृतक परिवारको घरमै पुगेर रकम हस्तान्तरण गर्ने कार्यले उपमहानगरप्रति विपन्न समुदायका परिवारहरूको आस्था बढ्यो । साथै नगर क्षेत्रभित्रका हरेक मृतकका परिवारलाई समवेदना प्रकट गर्न नगरप्रमुख हमाल घरघर पुग्थे अहिले उनको अस्वस्थताका कारण त्यो अवस्था छैन । नगर सचिवालयका अनुसार अहिले त उनी धनगढी हुँदा घरमा पनि भेटघाटको घुइँचो लाग्ने भएकाले धनगढी बाहिर गएर आराम गर्ने गरेका छन् । साथै फोन पनि अधिकांश समय अफ गरेर बस्ने गरेका छन् ।
धनगढीले गरेको अर्को अभ्यास सर्पदंश रोकथामको प्रयास पनि नमुना हो । गर्मीयाममा यहाँका बस्तीहरूमा सर्पदंशबाट ज्यान गुमाइरहेका हुन्छन् । उपमहानगरले नगर प्रहरीलाई तालिम दिएर सर्प समातेर उद्धार गर्ने अभियान चलाइरहेको छ । बिहीबारसम्म एक हजार ७५५ वटा सर्पको उद्धार गरिएको उपमहानगरले जनाएको छ ।
नगर प्रमुख हमालले प्राथमिकताका साथ सञ्चालन गरेको अर्को अभियान हो ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ । जुन अभियानमा धनगढीवासीले उनलाई खुलेर सहयोग गरे । पछिल्लो समय धनगढीमा आगन्तुकहरूको आकर्षणमा परेको विकास भनेको यहाँको ६ लेन सडकको श्रृगारपटार पनि हो, हरित धनगढी हो । उपमहानगरले आफ्नो क्षेत्रभित्र पर्ने गेटादेखि त्रिनगर भन्सारसम्मको क्षेत्रमा फुलका बिरुवा हुर्काएर हरियाली एवं रंगीचंगी बनाएको छ ।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login