Connect with us
Advertisement

लेगुवा झरना हुँदै अरुणको तीरैतीरै

Published

on

सुरज कोइराला
पूर्वी नेपालका पहाड आफैंमा सुन्दर र रमणीय छन् । यहाँका पखेरा, कान्ला, कन्दरा प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेका छन् । जीवनको शुरुवातदेखि नै तराई बसेकाको लागि यहाँका दृश्य हरेक दिन अलौकिक हुन्छन् ।

जीवन जिउने कार्यमा पेशाको सिलसिलामा केही महिनादेखि तेह्रथुमको सदरमुकाम म्याङलुङमा बसोबास भइरहेको छ । करिब दुई वर्षको बसाइ यस जिल्लामा रहने निश्चित जस्तै नै रहेको छ । यही अवसरमा केही स्थानको यात्रा गर्ने निश्चयका साथ यात्रा प्रारम्भ गरियो ।

यात्राको सुनिश्चितता भएसँगै अघिल्लो दिनदेखि नै यात्राका लागि आवश्यक सरसामान तयार गरियो । भोलिपल्ट बिहान ७ बजे सबैजना आ—आफ्नो झोला बोकी गाडीमा तयार भएर यात्राका लागि प्रस्थान गरियो ।

तेह्रथुमको सदरमुकाम म्याङलुङ बजार प्रवेश गर्न तथा बाहिर निस्किन अरु जिल्ला जस्तो कहाँ सहज छ र ! यहाँका सडक असार साउनमा धान रोप्न ठिक्क पारे जस्तो हिलाम्मे छन् । म्याङलुङदेखि जिरीखिम्तीसम्मको करिब १० किमीको दूरी पार गर्न हम्मेहम्मे नै प¥यो । जिरीखिम्ती बजारदेखि बसन्तपुरसम्म चाहिँ सडक कालोपत्रे भएको रहेछ । यहाँको दृश्य अवलोकन गर्दै करिब ९ बजेको आसपासमा खाजा खान पर्यटकीय स्थल वसन्तपुरमा गाडी रोक्ने सल्लाह बमोजिम एकछिनलाई विश्राम लिइयो ।

यहाँ हिउँ पर्ने र गुराँस फुल्ने सिजनमा तथा गर्मी छल्न आन्तरिक पर्यटकहरूको घुइँचो थामिनसक्नु हुन्छ । एकछिनको चिया खाजापछि वसन्तपुरबाट लेगुवा झरनाको लागि बाटो लागियो ।

वसन्तपुर बजारभन्दा अलि अघि गएपछि उतरतर्फबाट उन्नति नामक आयोजनाले निर्माण गरेको सडकको ट्रयाकबाट लेगुवातर्फ लागियो । बाटोमा रहेका फाटफुट घर तथा बस्ती छिचोल्दै करिब डेढ घण्टाको कच्ची बाटोको यात्रा तय गरियो । स्थानीय तथा पथप्रदर्शक मित्रको घरमा गाडी रोकी त्यहाँबाट पैदल लेगुवा झरनातर्फ लागियो । यस स्थानको स्थानीय बासिन्दा भएको कारण उक्त झरनाको बारेमा जानकारी लिँंदै बाटोमा भएका हरियाली फाँटको सुन्दर दृश्यलाई मोबाइल तथा आँखामा कैद गर्दै झरनातर्फ अघि बढिरह्यौं ।

गुमनाम जस्तै रहेको यो झरनामा आजकल फाट्टफुट्ट व्यक्तिहरू अवलोकन गर्न आउने रहेछन् । हालसालै गएको पहिरोका कारण झरनाको वास्तविक सुन्दरतामा केही कमी आएको रहेछ । झरनाको बारेमा जानकारी लिँंदै करिब एक घण्टाको उकालीओरालीपछि झरना स्थल आइपुगियो ।

थकित मुद्रामा पुगेका सबै जनाको थकान झरनाको पानी देख्नेबित्तिकै स्वतः हराएर गएको अनुभूति भयो । अप्ठ्यारो ठाउँ भएकाले झरनाको मुनि नै पुग्न नसकिए पनि सिँचाइका लागि बनाइएको कुलोमा उभिएर भित्ता समाएर एकछिन प्रकृतिसँग दिल खोलेर रमाइयो ।

यात्राका गन्तव्य अरु स्थान पनि भएकाले झरनासँग त्यहीं बिदा मागी पुनः स्थानीय पथप्रदर्शक सँगै उहाँको घरमा बिहानको खाना खाएर उहाँको आतिथ्यताको हार्दिक आभार प्रकट गर्दै त्यहाँबाट बिदा भइयो । वसन्तपुरदेखि आएको बाटो जस्तै करिब अरु १ घण्टाको उस्तै यात्रा गरी लेगुवाघाट पुगियो । लेगुवा घाट जहाँबाट धनकुटा, भोजपुर र संखुवासभा तीन जिल्ला जाने बाटो छुट्टिन्छ । प्रदेशका प्रभावशाली व्यक्तिहरूको जिल्ला भएको कारणले पनि त्यहाँको बाटो कालोपत्रे भएको रहेछ । लेगुवा घाटको उत्तरतर्फको बाटो अलि पर पुगेपछि सभा खोला पार गरेपछि त्यहाँको खोलाको ताजा माछा खाने विचार गरियो । एउटा पसलमा गएर गाडी रोकियो ।

त्यहाँ साँच्चिकै स्थानीय माछा पाइने रहेछ । माछाको स्वादसँगै केही चिसो पिएर फेरि गन्तव्यतर्फ प्रस्थान गरियो ।

केही समयको अन्तरालपछि हामी संखुवासभाको प्रख्यात स्थल तुम्लिङटार पुग्यौं । हाम्रो यात्राको उद्देश्य अलिक पर रहेकाले तुम्लिङटार बजार नघुमी सीधै गन्तव्यतर्फ अघि बढियो । बजारबाट करिब ३ किमी जति पर पुगेपछि प्रसिद्ध धार्मिक स्थल मनकामना पुगियो । तर दिउँसो माछा मासु सेवन गरेका कारण भोलिपल्ट बिहान मात्र दर्शन गर्ने सल्लाह गरी अरुण नदीको किनारै किनार अघि बढियो ।

अरुण नदीले वारी संखुवासभा र पारी भोजपुर छुट्याएको रहेछ । हाम्रो गन्तव्यस्थल खोला पारी भोजपुर जिल्लामा अवस्थित रहेको र पारी जान झोलुङ्गे पुल मात्र भएकाले गाडीलाई वारी नै राखी नदीलाई नमन गर्दै पारी रहेको मकालु इको रिसोर्टतर्फ लागियो । यात्राको निर्णयसँगै अघिल्लो दिन नै कोठा बुक गरेकाले बास नपाइने हो कि भन्ने चिन्ताबाट मुक्त भइएको थियो ।

दिनभरि यात्राबाट भएको थकानसँगै झोला कोठामा बिसाएर रिसोर्टको वातावरण नियाल्न आतुर भइयो । कलकल बग्ने अरुणको बगरमा चारैतिरबाट हरिया पहाडले घेरिएको ठाउँ वास्तवमै अति सुन्दर थियो । प्राकृतिक सुन्दरताले भरिएको ठाउँमा शहरी सुविधायुक्त रिसोर्टको बसाइ अविश्वसनीय थियो ।

केही समय अरुण नदीसँगै किनारमा सुस्ताएर फेरि रिसोर्टभित्र नै रमाइलो गर्ने निर्णय भयो । दिउँसो सभा खोलाको माछाको तृप्ति नभए पनि पेटले खाजाको माग गरेसँगै स्वीमिङ पुलको मज्जा लिँदै खाजा खानेतर्फ लागियो ।

केहीबेर स्वीमिङ पुलमा रमाइयो । रातिको खाना खाएर आ–आफ्नो कोठामा गई आराम गरियो । पहाडको चिसो वातावरणबाट विश्राम लिई न्यानो तथा तराईको कोलाहलबाट शान्त र हरियालीको आनन्द लिन दुवै क्षेत्रका लागि उपयुक्त स्थान भएको ठम्याई साथ भोलिको यात्राका लागि आज थकाइ मार्न ओछ्यानमा पल्टियौं ।

बिहानीको समयमा तातो चियाको चुस्कीसँगै नयाँ यात्रा शुरुवात गरियो । हिजो गरेको वाचासँगै मनकामनाको दर्शन गरेर मात्र यात्रा अघि बढाउने भइयो । न्यानो सत्कार साथै प्रकृतिको सुन्दरतालाई नियाल्ने मौका दिएकोमा रिसोर्टलाई धन्यवाद दिँंदै पुनः आउने वाचा गरी अरुण नदीलाई फेरि पनि नमन गरी मनकामनातर्फ अघि बढियो ।

किंवदन्ती अनुसार सतीदेवीको अङ्ग पतन भएको स्थान मानिन्छ । उक्त स्थानलाई सतीघाट समेत भनिन्छ । यहाँ हरकोहीले मनले चिताएको कुरा पूरा हुने विश्वासले मनकामनाको नामले प्रख्यात रहेको छ । केही समयको धार्मिक दर्शनपछि पुनः यात्रा संखुवासभाको सदरमुकाम खाँदबारीतर्फ अघि बढाइयो ।

करिब १२ किलोमिटरको यात्रापछि बजार क्षेत्र प्रवेश गरियो । लसुन प्याज तथा छाते सक्खरको लागि खाँदबारी बजार प्रसिद्ध रहेछ । संयोगवश उक्त दिन हाट लाग्ने दिन परेकोले हाट हेर्ने अवसर समेत प्राप्त भयो । कोसेली स्वरूप छाते सख्खर खरिद गरी बिहानी खाना खाई यात्रालाई म्याङलुङतर्फ मोडियो ।

हामीसँग दुईवटा विकल्प थियो, पुनः त्यही बाटो फर्किने वा नयाँ रुट प्रयोग गर्ने । सबैको साझा सहमतिमा नयाँ बाटो भई फर्किने निर्णय बमोजिम अघि लागियो । नयाँ बाटो प्रयोग गर्दा यात्राको दूरी पनि केही कम रहेछ । दूरी कम हुनासाथ बाटोको उचाइ भने निकै उकालियो । धनकुटाको चानुवा हुँदै डाँडागाउँ करिब ९ किलोमिटर जति ठाडो उकालो लागेपछि बाटो केही समथर भयो । कालोपत्रे चाहिँ समाप्त भई बिग्रिएको ट्रयाकमा फेला परियो ।

लगभग पौने घण्टाको सवारी पछि पुनः संखुवासभा जिल्लाकै मुडे बजार पुगियो र त्यहाँ रहेको यलम्बर पार्क घुम्न गाडी रोकियो । बजार क्षेत्रबाट नै देखिने पार्क यहाँका बासिन्दाको इतिहासको धरोहरको रूपमा रहेको बुझियो । एकछिन यलम्बर पार्कको अवलोकन गरेपछि फेरि गन्तव्यतर्फ लागियो ।

अघिल्लो दिनको यात्राको शुरुवातदेखिको दृश्यलाई मनमा सजाउँदै त्यो चिसो झरनाको पानी, अरुणको कलकल आवाज, त्यो प्राकृतिक सुन्दरता, धार्मिक भावनाको आनन्द लिंँदै बाटोका कठिनाइलाई भुलेर म्याङलुङमा आई पुनः अर्को यस्तै यात्रा तय गर्ने अठोटसहित विश्राम गरियो ।

(लेखक जलस्रोत तथा सिंचाइ विकास डिभिजन तेह्रथुममा अधिकृत स्तर छैटौं तहमा कार्यरत छन्।) – अनलाइन खबरबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक