Banner
सुन्दरहरैंचा– १२ को सार्वजनिक सुनुवाइ सम्पन्न, डुबानको समस्या समाधानमा प्राथमिकता दिनुपर्नेमा वडावासीको जोड
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ मा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । वडाले गरेका कामको बारेमा सेवाग्राहीलाई जानकारी दिनुका साथै वडावासी र जनप्रतिनिधि तथा कर्मचारीबीच अन्तरक्रिया होस् भनेर आर्थिक वर्ष २०७७–०७८ को पहिलो सार्वजनिक सुनुवाइ गरिएको वडा कार्यालयले जनाएको छ ।
सार्वजनिक सुनुवाइमा सहभागीले उठाएका प्रश्नको वडाध्यक्ष रोशनप्रसाद ढकाल, वडा सचिव तीर्थकुमारी सुवेदी तथा नगरपालिकाका इञ्जिनियर वीरेन्द्र नेयोहाङ, इन्द्रपुर स्वास्थ्य चौकीका प्रमुख लीलामणि दाहाललगायतले जवाफ दिएका थिए ।
अधिकांश सहभागीले वडामा ढल निकासको समस्या रहेको बताएका थिए । यसैगरी स्वास्थ्य, शिक्षा, कृषि र विद्युत, व्यवसाय र सुरक्षा जस्ता विषयमा सहभागीले प्रश्न उठाएका थिए ।
टोल संयोजक केदारप्रसाद लुइँटेलले टोल विकास संस्थाबाट छानिएका योजनालाई वडाले पुन छनोट गर्दा प्राथमिकता पाउनुपर्नेमा त्यसो नभई त्यस्ता योजना पछि पर्ने गरेको गुनासो गरेका थिए ।
ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचा १२ का अध्यक्ष शिवप्रसाद दाहालले ज्येष्ठ नागरिक तथा स्वास्थ्य संस्थामा औषधीको अभाव रहने गरेको विषय उठाएका थिए ।

उद्योग वाणिज्य संघका सदस्य विप्लव बस्नेतले व्यवसायीका समस्या उठाएका थिए । व्यवसाय दर्ता गर्दा, नवीकरण गर्दा र बन्द गर्दा लाग्ने दस्तुर धेरै भएको बताउँदै यसलाई घटाउनुपर्ने उनको माग थियो । यसैगरी वडाका भित्री भागमा पनि सीसी क्यामेरा जडान गर्नुपर्ने कुरा उनले राखेका थिए ।
विष्णु सुनाम, रतन श्रेष्ठ, कमला पराजुली, श्यामनारायण दाहाललगायतले वडाका समस्या, गुनासा र सुझाव कार्यक्रममा राखेका थिए । भोल्टेजको समस्या समाधान नभएको, हाटबजार लाग्ने क्षेत्रमा सीसी क्यामराको व्यवस्था गर्न नसकेको विषयमा सहभागीले प्रश्न उठाएका थिए ।
सहभागीले उठाएका प्रश्नको जवाफ दिँदै वडाध्यक्ष ढकालले धेरै समस्यामा रहेको ढल निकासलाई समाधान गरिरहेको बताए । वडा नम्बर १२ का ढल निकासको समस्या रहेको बताउँदै उनले कालीखोलाको पैनीलाई व्यवस्थित गरेर सुकुना खोलामा पानीको निकास कटाउने गरी काम गर्न सकेमा डुबानको समस्या समाधान हुने बताए । नगर र वडाले यसलाई प्राथमिकतामा राखेर योजना बनाई काम गरिरहेको उनले जानकारी दिए ।
यसै आर्थिक वर्षमा स्वास्थ्य चौकीसम्म जाने सडक कालोपत्रे गर्न बजेट विनियोजन भइसकेको र आगामी आर्थिक वर्षमा बाँकी रहेको बाटो कालोपत्रे हुने उनले बताए ।
विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिको सहजीकरण तथा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ को आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानीय तहमा सेवाग्राहीका रुपमा आएका सर्वसाधारण नागरिकहरुप्रति सेवा प्रदायक निकायबाट प्रदान गरिएका सेवा, सुविधाहरु, उपभोक्ता समिति गठन प्रक्रिया, विकास निर्माण तथा हरहिसाब फरफारक लगायतका विषयमा सेवाग्राहीले राखेका जिज्ञासको जवाफ दिइएको थियो ।

जनगुनासोलाई सार्वजनिक स्थलमै दोहोरो संवादबाट स्पष्टता गर्ने, सेवाग्राहीहरुबाट प्राप्त सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै वडाबाट गरिने विकास निर्माणका कार्यहरुलाई अझ प्रभावकारी बनाई जिम्मेवार बनाउने प्रतिबद्धता गर्ने कार्यमा सार्वजनिक सुनुवाइले सहयोग गरेको वडा नम्बर १२ का अध्यक्ष ढकालले बताए ।
कार्यक्रममा वडा सदस्यहरु देवीकुमारी ढकाल, दिलिप दाहाल, गणेश फुयाल, प्रमिला अछामी, वडा सचिव तीर्थकुमारी सुवेदी इन्द्रपुर स्वास्थ्य चौकीका इञ्चार्ज लीलामणि दाहाल, इञ्जिनियर वीरेन्द्र नेयोहाङ, प्राविधिक रोष्नी कार्की अतिथि रहेका थिए ।
सुकुना टोल विकास संस्थाका अध्यक्ष ओम खतिवडा, सिद्धेश्वर टोल विकास संस्थाका अध्यक्ष डिल्लीरमण घिमिरे, संगम टोल विकास संस्थाका अध्यक्ष माधव दाहाल, शुक्रबारे टोल विकास संस्थाका अध्यक्ष टीका सुवेदी, खोर्साने टोल विकास संस्थाका अध्यक्ष केदार लुइँटेल लगायत कार्यक्रममा उपस्थित थिए ।
इलाका प्रहरी कार्यालयका प्रतिनिधि, वडावासी तथा सञ्चारकर्मी सहभागी भएको कार्यक्रममा उपस्थित सहभागीलाई मास्क पनि वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिका सचिव ज्ञाननाथ ढकालले गरेका थिए ।

Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login