Connect with us
Advertisement

६ वर्षदेखि अलपत्र सडक निर्माण थालियो

Published

on

लामो समय अलपत्र पश्चिम नवलपरासीस्थित हुलाकी मार्गअन्तर्गत बर्दघाट नगरपालिकाको नारायणचोकदेखि त्रिवेणीसम्मको १६ किलोमिटर खण्ड पुनः निर्माण सुरु भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । निर्माण कम्पनीले काम नगरेपछि ६ वर्षसम्म अलपत्र अवस्थामा रहेको उक्त खण्डमा निर्माण कार्य थालिएपछि स्थानीयले धुलो–धुवाँबाट मुक्त हुने अपेक्षा गरेका छन् ।

ठेक्का सम्झौताअनुसार २०७९ मंसिरमा निर्माण सकिनुपर्ने सडक ठेकेदार कम्पनीको ढिलासुस्तीले अलपत्र परेको थियो । पटक–पटक म्याद थप्दा पनि काम नभएपछि स्थानीय आक्रोशित बनेका थिए । निर्माण कार्यलाई पूर्णता दिन माग गर्दै स्थानीय बासिन्दासँगै जिल्लाका जनप्रतिनिधिसमेत आन्दोलित बनेका थिए । उक्त क्षेत्रबाट प्रतिनिधिसभा सांसद विनोद चौधरी, प्रदेशसभा सदस्य देवकरणप्रसाद कलवार र स्थानीय पालिकाका जनप्रतिनिधिले लिखितसहित आमरण र रिले अनशन बसेर दबाब दिएका थिए। जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल त्रिवेणी आउजाउ गर्ने मुख्य सडक अलपत्र परेपछि यात्रुले सास्ती सहनुपरेको छ ।

सडकखण्डअन्तर्गत पर्ने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले समयमै निर्माण पूरा गराउन आफूले पटक–पटक पहल गरेको जनाए । ‘मेरो नेतृत्वमा अनशन नै बस्यौं, प्रदेश र संघ सरकारलाई विभिन्न माध्यमबाट दबाब दियौं,’ उनले भने, ‘अहिले निर्माणको काम सुरु भएको छ । यसलाई निरन्तरता दिन सकियो भने एक वर्षभित्र निर्माण सकिन्छ कि भन्ने आशा पलाएको छ।’ ठेकेदारले ढिलाइ गरेपछि गाउँपालिकाको क्षेत्रमा पर्ने ६ किलोमिटर सडक पालिकामार्फत निर्माण गर्न देऊ भन्दै माग गरेको उनले बताए । उक्त १६ किलोमिटर सडकखण्ड बर्दघाट नगरपालिका, प्रतापपुर र सुस्ता गाउँपालिकाको मुख्य मार्ग हो । निर्माण पूरा भएपछि एक लाख स्थानीयसाथै त्रिवेणी ओहोरदोहोर गर्ने सयौँ धार्मिक पर्यटक लाभान्वित हुने उनले बताए ।

सडक निर्माणका लागि २०७६ मंसिरमा बज्रगुरु महालक्ष्मी जेभी कम्पनीले ठेक्का सम्झौता गरेर काम थालेको थियो । उक्त कम्पनीले सडक भत्काएर छाडेपछि स्थानीयले हिउँदमा धुलो र वर्षामा हिलो सहनु परेको थियो । सडकमा ठूला–ठूला खाल्डो बनेकाले दुर्घटनासमेत वृद्धि भएको स्थानीय बासिन्दाले बताए । पछिल्लो पटक निर्माण कम्पनीको सहमतिअनुसार भैरहवास्थित निर्माण व्यवसायी चन्द्रमणि अधिकारीले आठ महिनाभित्र निर्माण पूरा गर्नेगरी काम सुरु गरेका हुन् । हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर पवित्रमणि आचार्यले बज्रगुरु कम्पनीसित आन्तरिक सहमति गरी ठेकेदार अधिकारीले काम सुरु गरेको जानकारी दिए । ‘ठेक्का तोडेर अर्कै प्रक्रियाबाट काम गर्दा झन ढिलाइ हुने भएकाले ठेकेदार–ठेकेदारबीच आन्तरिक सहमति गराएर पुरानै निर्माण कम्पनीको फर्मबाट भुक्तानी पाउने गरी निर्माण सुरु गरिएको हो,’ उनले भने, ‘पहिलो चरणमा डेढ किमी कालोपत्रे भइसकेको छ।’

आयोजनाका अनुसार गोपीगन्ज बजार क्षेत्रको १ हजार ५ सय मिटर सडक अधिकारीले कालोपत्रे गरिसकेका छन् । आयोजनाका अनुसार सुरुमा कोरोना महामारीलगत्तै आर्थिक मन्दी सुरु भएको कारण देखाउँदै ठेकेदारले काममा ढिलाइ गरिरहेको थियो । यससँगै ठेकेदार कम्पनी बैंकिङ कालोसूचीमा परेपछि निर्माणको काम ठप्प भएको थियो । ठेकेदार अधिकारीले प्रतिनिधिसभा सदस्य चौधरीले बैंकिङ समस्या समाधानमा सहजीकरण गरेपछि आफूले ठेकेदार कम्पनीसित आन्तरिक सहमति गरेर बज्रगुरु कम्पनीबाटै भुक्तानी लिने गरी सडक निर्माण थालेको बताए । ‘सबैभन्दा समस्या बैंकको थियो, मैले काम गर्ने भुक्तानी बज्रगुरुको खातामा जाने तर बैंकले सबै रकम काटिदिने थियो,’ उनले भने, ‘हामीलाई आन्तरिक सहमति गराउन र बैंकको समस्या समाधानमा सांसद चौधरीले ठूलो सहयोग गर्नुभयो । त्यसपछि काम भइरहेको छ ।’ स्थानीय पालिका र प्रदेश सांसदबाट पनि सहयोग प्राप्त भइरहेको उनले बताए ।

बर्दघाट नगरपालिका–१४, बुद्धबस्तीकी गीता पाठकले ६ वर्षसम्म सडक नबन्दा धुलो–धुवाँले वाक्क तुल्याइएको बताइन्। ‘ज–जसले पहल गरेर यो काम सुरु भयो, उहाँहरू धन्यवादको पात्र हुनुहुन्छ,’ उनले भनिन्, ‘धुलो–धुवाँ कति खाइयो भनिसाध्य छैन, अहिले पक्की सडक देखेपछि पीडा भुलिने रहेछ ।’ अब कुनै हालतमा सडक निर्माण रोक्न नहुने उनले बताइन् । वर्षौँसम्म सडक अलपत्र हुँदा दुर्घटना बढेको, व्यापार चौपट भएको र स्थानीयको स्वास्थ्यमा असर परेको बताइन् । स्थानीय नन्दलाल चापागाईंले तीन वर्षमा निर्माण सक्ने भनिएको सडक ६ वर्षसम्म अलपत्र पर्नु लज्जाको विषय भएको सुनाए । ‘जनप्रतिनिधिले नै रोइकराइ गर्दापनि लामो समयसम्म काम अघि बढेन’, उनले भने, ‘ठेकेदार कालोसूचीमा परेको सुनेको थिएँ। अहिले पुनः काम सुरु भएको छ। अब, निरन्तर काम गरेर एक वर्षभित्र सक्नुपर्छ भन्ने हाम्रो माग छ।’

झन्डै ५८ करोड लागतमा निर्माण भइरहेको उक्त हुलाकी खण्डको चौथोपटक म्याद थप भइसकेको छ । पछिल्लो पटक २०८२ चैत मसान्तसम्म समयसीमा तोकिएको छ । आयोजनाका सूचना अधिकारी आचार्यका अनुसार मुख्य ठेकेदार बज्रगुरुको बैंकिङ लगायतका समस्या समाधान भएको खण्डमा अहिलेको जस्तै आन्तरिक सहमति अनुसार काम गरिरहेका ठेकेदार अधिकारीले नै थप गरिएको अवधिमा निर्माण सक्ने बताएका छन् । सडकखण्डको हालसम्म भौतिक प्रगति ४० प्रतिशत छ भने वित्तीय प्रगति ३८ प्रतिशत छ । बजार क्षेत्रमा नालीसहित ११ मिटर र अन्य ठाउँमा नालीबिनै ८ मिटर फराकिलो गरी यो सडकखण्ड निर्माण भइरहेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक