Banner
सडकमा युवाको आक्रोशभित्र लुकेको मनोविज्ञान
एक जना सामाजिक अभियानमा रुचि राख्ने युवाले अहिलेको परिस्थितिप्रति निराश हुँदै सोसियल मेडियामा लेखेछन्, ‘सरकारलाई दबाब दिनुपर्यो । सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गर्न सकेन । सडकमा जानुपर्छ कोको तयार हुनुहुन्छ ?’
लामो लकडाउनबाट निराश, छट्पटीमा परेका र घरभित्रै बस्न बाध्य किशोरकिशोरी तथा युवायुवतीलाई घरबाट बाहिर निस्कने, आफ्नो नैराश्यता र असन्तुष्टि पोख्ने, युवा स्वभावअनुसार क्रान्तिकारीपन देखाउने, सामाजिक कार्य गरेको पनि देखिने र रमाइलो पनि हुने जस्ता कुराले उत्प्रेरित गर्यो । कोरोनाको संक्रमणलाई समेत भुलेर धेरै युवा सडकमा आउन राजी भए । सोसियल मेडियाको पहुँचमा भएका युवामाझ यो सन्देश फैलिन समय लागेन ।
पहिलो पटक उनीहरुले बालुवाटार अगाडि सरकारका सामु आफ्नो असन्तुष्टि पोखे । त्यस कार्यक्रमले चर्चा पायो । निराश जनताले उनीहरुको कार्यको समर्थन गरे । सरकारको विरोध र टीकाटिप्पणी बढेर गयो । यसले उनीहरुलाई थप हौसला मिल्यो । यसैको सिको गर्दै देशका अन्य भागमा पनि विरोध भए ।
अर्को पटकको विरोधमा त सामाजिक दूरीको पनि ख्याल नगरी ठूलो भीड सडकमा आयो । कोरोनाको संक्रमण फैलिएला कि भन्ने भय पनि बढ्यो ।
संसारभरि नै सरकार र जनताबीच हक र अधिकारका विषयलाइ लिएर सधैँजसो टसल परिरहेको हुन्छ । राज्यले सामान्य अवस्थामा त जनतालाई सन्तुष्ट बनाउन सकेको हुँदैन । विपत्तिको अवस्थामा त झन् कठिनै हुन्छ ।
अहिले धेरैलाई बेरोजगार हुने चिन्ताले सताएको छ । मानिसले आफूलाई असुरक्षित महसुस गरिरहेका छन् । यस्तो अवस्थामा मानिसमा चिडचिडाहट, रिस, उत्तेजना, आक्रोश, राज्य र सरकारप्रति असन्तुष्टि, विरोधी भावना बढेर जान्छ । व्यक्तिले कहिलेकाहीँ उद्दण्ड व्यवहार देखाउने, हल्ला फैलाउने, अरुको बहकावमा लाग्ने, अरूलाई दोष दिने, एकअर्कालाई आरोपप्रत्यारोप गर्ने जस्ता व्यवहार पनि देखाउन सक्छ ।
यस्ता व्यवहार देखाएर आफ्नो डर, त्रास, नैराश्यता छोप्ने प्रयासमा लाग्छ । यस्तो विषम परिस्थितिमा मान्छेको निर्णय लिने क्षमता पनि कमजोर भएको हुन्छ । के गर्ने के नगर्ने सोच्नै सकिरहेको हुँदैन ।
विपत् र दुःखको अवस्थामा नै मान्छेले अरुबेला भन्दा बढी माया र सहानुभूति खोज्ने गर्दछ । जनताले राज्यबाट पनि अझ बढी साथ सहयोगको आशा गर्दछ । अप्ठ्यारो अवस्था र अभावमा जनता चाँडो भड्किन्छन् । उनीहरुलाई भड्काउन सजिलो हुन्छ । उनीहरुको भावनामाथि खेल्नेहरुका लागि त ठूलो अवसर नै हुन्छ ।
संकटको बेलाको मानिसको मनोविज्ञानलाई बुझेर राज्य पनि संयमित हुनु जरुरी हुन्छ । आफ्नो तर्फबाट सक्दो जनताको मागलाई सम्बोधन गर्ने पहल गर्नुपर्छ । जनतालाई आश्वस्त गराउन सक्नुपर्छ । भविष्यप्रति ढुक्क र आशावादी बनाउने काम राज्यले गर्नुपर्छ ।
अहिले विश्व नै कोरोनाको संक्रमणले ठूलो मारमा परेको छ । कतिपय विषयमा हाम्रो समस्यहरु अझै ठूलो हुन सक्छ । सरकारले गरेका थुप्रै काममा हाम्रो विमति होला । हामी असन्तुष्ट हुन सक्छाँै । सरकारका पनि आफ्नै खालका कमीकमजोरी र बाध्यता होलान् । यी सबैका बाबजुद पनि अहिलेको परिस्थितिलाई राजनीतिकरण गरिनु हुँदैन । सरकारका कमजोरीहरुलाई केलाएर मात्र बस्नु हुँदैन । साथ र सहयोग पनि गर्नुपर्छ । विपत्तिसँग सबै मिलेर सामाना गर्ने हो भने मात्र सफल भइन्छ ।

कतिपय अवस्थामा विरोधले मात्र समस्याको समाधान नहुन सक्छ । विरोधको शैली र समय पनि अनुकूल हुनुपर्छ । अहिलेको अवस्थामा सडकमा राखिएका मागहरुलाई सबैले स्वीकारेका छन् । भोको मान्छेको आगामी मीठो व्यञ्जनको कुरा गर्दा कसको मुख नरसाउला र ? तर कोरोनाको संक्रमण तीव्र रुपमा बढिरहेका बेला गरिएको विरोध प्रदर्शनको तरिका र समयलाई भने उपयुक्त मान्न सकिँदैन ।
स्वतस्फूर्त भएका भनिएका यस्ता आन्दोलनहरू सही दिशानिर्देश नपाउँदा खतरनाक पनि हुन सक्छन् । नैतिक जिम्मेवारी कसले लिने भन्ने द्विविधा हुन्छ । नेतृत्वबिनाको जमात हुनाले चाँडै भड्किन सक्ने खतरा पनि त्यत्ति नै हुन्छ । यसमा जोसुकैले सजिलोसँग घुसपैठ गर्न सक्ने ठाउँ पाउँछन् । युवाहरुको अस्तिको आन्दोलनमा पनि घुसपैठ भएको उनीहरुले बताएका छन् । घुसपैठले नै पछिल्लो पटकको विरोध अमर्यादित भएको देखिन्छ ।
भीडको मनोविज्ञान फरक हुन्छ । भीडको आँखा हुँदैन । भीडले विवेक गुमाउन सक्छ । भनिन्छ नि ‘भीडभाडमा जीउ जोगाउनू, अनिकालमा बीउ जोगाउनू ।’ भीडले ज्यान दिन पनि सक्छ । ज्यान लिन पनि सक्छ । पश्चिम रुकुमको दुःखद घटनामा ६ जना किशोरहरुको ज्यान गयो । यो सबै भीडकै मनोविज्ञानको परिणाम हो । अहिले विभिन्न ठाउँहरुमा स्वतस्फूर्त रुपमा गरिएको भनिएका विरोधका कार्यक्रमले पछि गएर कस्तो रुप लिन्छ कसैलाई थाहा छैन । यस्ता अपरिपक्व र योजनाविहीन विरोध कार्यक्रमले पछि गएर दुःखद मोड नलेला भन्न सकिँदैन । यसमा सबै सचेत हुन जरुरी देखिन्छ ।
रुकुम घटनामा पनि कतिपय केटाहरु साथीको साथीमार्फत् बेहुली लिन सघाउने भन्दै एकआपसमा चिनजान समेत नभइकन लहैलहैमा लागेर गएको पाइयो । अहिलेको विरोध प्रदर्शनलाई हेर्दा पनि किशोर किशोरीमा उत्ताउलोपन छ भन्ने उनीहरुले लेखेको नारामा देखिन्छ । धेरै जना लहैलहैमा लागेर आएको हुन सक्छ । उनीहरुले बोकेको प्लेकार्डमा पनि लेखिएछ, ‘म त राम्री केटी हेर्न आ’को ।’
भीडले के बुझ्छ, के गर्छ थाहा हुँदैन। रुकुमको घटनामा पनि त्यति धेरै गाउँले छोटो समयमा कसरी आए ? पूर्व योजना पो थियो कि भन्ने आशंका पनि गरिँदै आएको देखिन्छ । तर भीड जम्मा हुन समय नलाग्न सक्छ । अस्तिको विरोध प्रदर्शनमा पनि यति धेरै जम्मा होला भन्ने कुरा स्वयम् प्रदर्शनको आह्वान गर्नेहरुले पनि अनुमान गरेका थिएनन् । यसलाई देखेर उनीहरु आफैँ चकित परिरहेका छन् ।
तर, अप्रत्यक्ष रुपमा केही पार्टीले सघाइरहेको स्पष्ट देखिन्छ । जुन कुराको ज्ञान उनीहरुलाई नहुन पनि सक्छ । विरोधमा उत्रिएका प्रदर्शनकारीहरुमा राजनीतिको ज्ञान कमै देखिन्छ । नेता र राजनीतिक दलहरुलाई भीडको लोभ लाग्छ । प्रदर्शनमा ठूलो मास देखेपछि जनताको आवाज भन्दै केही दलहरुले विज्ञप्ती निकालेर नै समर्थन गरे । प्रदर्शनको नेतृत्व गरेका कतिपय युवाहरुलाई आफ्नो पार्टीमा आउनका लागि निम्ता पनि पठाउन भ्याइसके । जुन कुरा स्वयम् युवाहरुले बताइसकेका छन् । पार्टीहरु यस आन्दोलनलाई आफ्नो बनाउन खोजिरहेका पनि छन् । तर अहिले समय उचित नदेखेर चुप लाग्न बाध्य भएका छन् ।
कोरोना महामारीको बेला खुलेरै पार्टीको झण्डा बोकेर सडकमा आउँदा नैतिक रुपमा पनि अप्ठ्यारो पर्ने, जनतामा पनि नकारात्मक सन्देश जाने भएकाले उनीहरु चुप लाग्न बाध्य भएका हुन् । अन्यथा यसले पार्टीगत रुप लिइसकेको हुने थियो । तर पनि यस परिस्थिति विपरीतको विरोधलाई देखाएर सरकारको आलोचना गर्न छोडेका छैनन् ।
अहिलेको अप्ठ्यारो अवस्थामा सबैले आफूलाई सम्हाल्नु, संयमित हुनु, मिलेर समस्याको समाधान खोज्नु उपयुक्त हुन्छ । अरुलाई भड्काउने, अर्काको भावनामाथि खेलबाड गर्ने कार्यले कसैको हित हुँदैन ।
(लेखक मनोविद् हुन् । मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् ।)
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: सुशान्तले आत्महत्या गर्नुको कारण बलिउडको नातावाद नै हो त - निष्पक्षखबर