Connect with us
Advertisement

यो तीजमा आमालाई छोरीको पत्र

आदरणीय ममतामयी आमा,

तपाईँकी छोरीको तर्फबाट धेरै धेरै सम्झना तथा नमस्कार छ ।

यहाँ हामी आजका मितिसम्म तपाईँहरूका आशीर्वादले स–परिवार सञ्चै छौँ । त्यहाँ हजुरहरू पनि सबै जना सन्चै हुनुहुन्छ भन्ने पूर्ण विश्वासमा छु । सधैँ झै यसपटक पनि बाली लगाइसकिएको छ र अब चाडपर्वको समय सुरु हुनै लागेको छ । अरु चेलीका जस्तै मेरा आँखा पनि अब माइतीतिर नै टोलाउन थालिसकेका छन् । तर देश काल र परिस्थिति राम्रो नभएको बेला यसपालीको तीज कस्तो होला भन्ने अनुमान गर्दैछु । पोहोरको सम्झना ताजै छ । बा आमासँग सँगै बसेर यसपटकको तीज मनाउन आउन सकिन्न कि जस्तो छ । निर्णय गर्न सकिनँ । त्यसैले हजुरको सुझाव अमूल्य हुने ठानी यो चिठी पठाउँदै छु ।

आमा ! तपाईँलाई थाहै छ, अहिले संसार कोरोना सङक्रमणको चपेटामा छ र नेपाल आमा पनि यसैको पीडामा छटपटाइरहेकी छिन् । यो ठाउँ त्यो ठाउँको कुरै रहेन । सारा संसार पीडामा छटपटिइरहेको छ । सुन्दैछु माइती गाउँमा पनि कोराना संक्रमितको संख्या बढिरहेको छ अरे । म आउने घरका आँगनमा पनि अहिले म पनि आउँदिनँ तपाईँ पनि नआउनु भनेर घेराबारा लगाएर बसेका छन् अरे भन्ने पनि पल्ला घरे माल्दाइको फेसबुकको खबरबाट थाहा पाएकी छु । अनि तपाईँ भने पिँढीमा बसेर छोरीहरू आउँछन् भनेर टहलिँदै हुनुहुन्छ होला । म आएँ भने पनि तपाईँसँग भेट नगरी फर्किनु पर्ने पो हो कि ? भन्ने डरमा छु ।

देशका अरु धेरै ठाउँमा पनि बन्दाबन्दीको अवस्था छ । समाचारमा पनि सङ्क्रमितको सङ्ख्या र मृतकको सङ्ख्या बढिरहेको सुनिरहेकी छु । म, मेरा छोराछोरी र तपाईकै ज्वाईँ बसेका ठाउँमा पनि सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । एकै छिनमा के हो कसो हो भन्न सकिने अवस्था छैन । कसलाई सङ्क्रमण छ त्यो पनि थाहा छैन । यो महामारी अहिले भुसमा आगो सल्किएजस्तो सल्कँदै छ । त्रास बढिरहेको छ । सरकारले घरबाट बाहिर ननिस्कन भनेर सूचना गरेको गरेकै छ । नजिकैका सरकारले त झन बेरा नै लगाएका छन् । मैले मेरा सरकारहरुको आदेश नमानेर घेरा मिचेर घर छोड्न सक्छु कि सक्दिनँ मलाई नै थाहा छैन ।

‘यो महामारीबाट जोगिन घरमा नै बस्नू है’ भनेर तपाईँले भनेको पनि मैले सम्झिइरहेकी छु । त्यसलाई नै सावधानको अचुक औषधी मानेकी छु । त्यसैले म यसपालि धेरै दोधारमा छु । कतै म र मजस्ता चेलीबेटीका माइत जाने असावधानी रहरले अरु मानिसको जीवन जोखिममा पर्ने पो हो कि ? त्यसैले यसपालिको तीज म यहीँ बसेर मनाउने निर्णय गरौँ कि भन्दैछु । यो दोधारले केही पनि निर्णय गर्न सकेकी छैन । जाँतेकी माहिली र कर्जुनाकी कान्छी बहिनीले पनि निर्णय गर्न सकेका छैनन् । उनीहरुलाई मैले आमाबाको चित्त नदुखाउने उपाय गरौँला भनेकी छु । थोरबहुत दिदी बहिनीका कुराकानीमा यसपाली तीज आ–आफ्नै घरमा मनाउने सल्लाह भइरहेको छ ।

मेरी छोरीले पनि यसपालि मावल नजान सल्लाह दिँदैछन् । आमा ! मैले यता हाम्रा चेलीबेटीलाई निम्ता गरे पनि यसपाली माइत आउन नसकिने जानकारी दिँदै दुःख नमान्नु भन्नुभएको छ र मैले पनि उहाँहरूलाई आउन कर गर्न सकिनँ । अनि तीजको रमाइलो र मिठोमसिनो पनि स्थगित छ । कोरोना गएपछि भेला भएर रमाइलो गर्ने सल्लाह मिलाएका छौँ ।

आमा ! अनि मेरा दाजुलाई पनि हतारमा बैनी लिन नपठाउनुहोला । अहिले त फोन पनि छ । तै आउँछे कि भनेर धेरै पटक फोन गर्न नभन्नुहोला किनकि तपाईका टेलिफोनका तारन्तारका खबरले र मलाई माइत आउने तीव्र इच्छाले मेरा पाइला नरोकिन सक्छन् किनकि मलाई पनि त कतिबेला आमाबुबालाई भेटौँ भन्ने कति हो कति मन छ । तर जोखिममा परिने र पारिने हो कि के हुन्छ थाहा छैन । मलाई थाहा छ तपाईँको मन सजिलै मान्दैन अनि मेरो मन पनि । हाम्रो अनुपस्थितिमा तपाईलाई तीज धेरै नै खल्लो हुन्छ भन्ने मैले बुझेकी छु । साँच्चै नै सन्तान भनेको मुटुको टुक्रा हो भन्ने कुराको महसुस अब त मलाई पनि भइसकेकै छ ।

मेरी प्यारी आमा ! तपाईले रातो सारी लागाएर बाहिरभित्र गरेको, हातभरी लगाएका चुराको आवाज, के खान्छौ भनी पटकपटक सोध्नुभएको, भाउजूले बनाएको दहीकाँक्रो कत्ति मिठो थियो । साँच्चै त्यस्तो मिठो त मैले बनाउँदा कहिल्यै भएन । व्रत बसेको, मन्दिरमा गएर नाचेको, नाच हेरेको मेरो मनमा झलझली याद आइरहेको छ । बुबाले हामी सबै भेला भएर नाच्दा मानेको रमाइलो, बजाउनुभएको ताली पनि झलझली नै यादमा छ ।

बुबाले हामीलाई थाहा नदिइकन राति नै उठेर पकाएको ढकने निद्रामा नै भए पनि सबै उठेर खाँदा कत्ति रमाइलो र मिठो भएको थियो कति । यी सबै कुरा सम्झँदा अहिले पनि मलाई हजुरहरू सँगै भएजस्तो लाग्छ । पोहोरको रमाइलो व्यक्त गर्ने कुनै शब्द नै छैन । मैलै यी सबै रमाइला क्षणहरूलाई जस्ताको तस्तै मनमा सम्हालेर राखेकी छु । पोहोर सालको त्यो क्षण सम्झँदा घरीघरी त मेरा आँखा आफैँ रसाउँछन् । तपाईँसँगै बसेर धेरै दुःखसुखका गफ गर्न मन छ , तपाईँका धेरैधेरै अर्तीका कुरा सुन्न बाँकी नै छ । माइत आउने मन त कति छ कति तर के गर्नु आफ्नो मनलाई आफैँले सम्झाउँदै छु तर पनि यो मन मानेकै छैन ।

गाउँघरमा यसपालि अघिल्लो सालको जस्तो चोकचोकमा गएर धुमधामसँग नाचगान पनि नगरौँ भन्ने सल्लाह गरेका छौँ । यो साल तीज मनाउने तरिका बदलौँ भन्दै छौँ । मैले देखिरहेकी छु कति बहिनी, दाजु र भाइहरु अनलाइनमार्फत पनि रमाइलो गरिरहेका छन् भने कति चेलीबेटीका दाजुभाइको महामारी, बाढी र पहिरोले जीवन गुमेको छ । कतिको रोजगारी गुमेको छ, कति आमाहरू सन्तानको पीडामा हुनुहुन्छ, छरछिमेक र आफन्तहरू कति क्वारेन्टिनमा र आइसोलेसनमा हुनुहुन्छ ।

महामारीकै सन्त्रासमा कति विदेशमा त कति स्वदेशमा नै छटपटाइरहनु भएको छ । यस्तो अवस्थामा हामीले कसरी यो चाडलाई धुमधामका साथ मनाउन सक्छौँ ? तपाई आफँै भन्नु त ? तपाई त संसारकै ज्ञानी र महान आमा, हामी सबैकी आमा । यो अवस्थामा तपाई हामीलाई के सल्लाह दिनुहुन्छ ? धेरै चेलीहरूको अवस्था यस्तै छ । यसपटकको तीज हजुरहरूले जिम्मा लगाएकै घरमा मनाएँ भने के भन्नुहुन्छ ? तपाईको उचित सल्लाहको प्रतीक्षामा रहने छु । हामी सबैकी संसारकै महान् र प्यारी आमा यो पत्र पाएपछि सकेसम्म मलाई लिन माइती नपठाउँदा म दुःखी हुने छैन । म तपाईँकै काखमा हुनेछु र तपाईँकी यो छोरीको मायामा कुनै कमी हुने छैन ।

अन्त्यमा, यो पत्र पाउनासाथ बुबा, दाजु–भाउजू, भाइबहिनीहरूलाई सुनाइदिनु होला । अनि मलाई सम्झने छरछिमेकका दिदी बहिनीलाई पनिा मेरो सम्झना र सन्देश अनि मिठो माया पनि सुनाइदिनु होला भन्दै अहिलेलाई बिदा चाहन्छु ।

उही तपाईंकी प्यारी छोरी

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

Published

on

नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।

उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।

कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।

Continue Reading

Banner

सुन्दरहरैँचामा क्विज प्रतिस्पर्धा, लभ्ली एन्जल्स प्रथम,सुबिजिमुर दोस्रो, सगरमाथा हिमाल तेस्रो

Published

on

एउटै मञ्चमा २६ विद्यालयका विद्यार्थी। प्रश्नमाथि प्रश्न, उत्तरका लागि तीव्र प्रतिस्पर्धा र सही जवाफसँगै बढ्दो उत्साह। सुन्दरहरैँचामा आयोजित अन्तरविद्यालयस्तरीय क्विज प्रतियोगिताले विद्यार्थीको ज्ञान, तर्कशक्ति र आत्मविश्वासलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर दिएको छ।
सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा सम्पन्न ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ मा सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी भएका थिए।
प्रतियोगिताका विभिन्न चरणमा विद्यार्थीले सामान्य ज्ञानसँगै सिर्जनात्मक क्षमता, तार्किक सोच र तत्काल निर्णय गर्ने क्षमताको प्रदर्शन गरेका थिए। अन्ततः १२० अङ्क प्राप्त गर्दै लभ्ली एन्जल्स इङ्लिस स्कुलले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बनेको छ।
प्रतियोगितामा १०५ अङ्कसहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र ९५ अङ्कसहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तेस्रो भए। ८० अङ्क प्राप्त गरेको शिशिर एकेडेमीले सान्त्वना स्थान हासिल गरेको छ।
विजेता लभ्ली एन्जल्स इङ्लिस स्कुलले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ६ हजार र ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। सान्त्वना हुने विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीको उत्साहले कार्यक्रमलाई केवल प्रश्नोत्तरमा सीमित राखेन। एउटै मञ्चमा विभिन्न विद्यालयका विद्यार्थीबीच भएको प्रतिस्पर्धाले उनीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै आफ्ना ज्ञान र क्षमता प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्‍यो।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्रीले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। पाठ्यपुस्तकको ज्ञानसँगै सामान्य ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न विद्यालयस्तरीय क्विज उपयोगी हुने उनको भनाइ थियो।
विद्यार्थीलाई पढाइमा मात्र सीमित नराखी उनीहरूको प्रतिभा प्रस्फुटन हुने वातावरण निर्माण गर्न विद्यालय, शिक्षक र अभिभावकको सहकार्य आवश्यक रहेको क्षेत्रीले बताए। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरित गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्छ।
प्याब्सन सुन्दरहरैँचाका सचिव सूर्य दंगालले विद्यालयस्तरबाटै विद्यार्थीको ज्ञान र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिनु सकारात्मक भएको बताए। विद्यार्थीको क्षमता परीक्षाको अङ्कमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले अतिरिक्त क्रियाकलापमार्फत व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्नुपर्नेमा जोड दिए।
विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा सहभागी गराएर प्रतिस्पर्धा गराउँदा विद्यालयहरूबीचको सम्बन्धसमेत थप मजबुत हुने दंगालले बताए।
सफल सिद्धार्थ एकेडेमीका फाउन्डर सदस्य गोविन्द कार्कीले विद्यार्थीको प्रतिभा र क्षमता उजागर गर्ने कार्यक्रमले शिक्षालाई थप व्यवहारिक र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
विद्यालयका प्रिन्सिपल राजन लम्सालले सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगिताले विद्यार्थीलाई आफ्नो ज्ञान र प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर दिएको बताए। विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी सर्वाङ्गीण विकासमा विद्यालयले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि क्षमता विकास, नेतृत्व सीप, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए।
२६ विद्यालयका विद्यार्थीको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको आयोजकको भनाइ छ। विद्यार्थीमा ‘जान्ने, सिक्ने र अघि बढ्ने’ संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता पुरस्कार वितरणसँगै सम्पन्न भएको हो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न विद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो।

Continue Reading

Banner

नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह

Published

on

शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक