विचार
अभिव्यक्ति स्वतन्त्रताको उपयोगका नाममा नकरात्मकता ओकल्ने र गाली बर्साउने प्रवृत्ति सतहमै
राजनीतिको एउटा महत्वपूर्ण पाटो भनेको नैतिकता हो । आजको सिङ्गो राजनीतिक क्षेत्रले जनविश्वास गुमाउनुको मुख्य कारण नै नैतिकताको अभाव हो । सामाजिक नैतिक हैसियत शून्य भएका, भ्रष्ट आचरणका कारण सामाजिक रूपमै बहिष्कृतहरू दलबल र पैसाको आडमा सत्ता र शक्तिका सदाबहार खेलाडी बन्न पुगेका छन् । व्यक्ति स्वयमभित्र नैतिकता नहुँदासम्म समाज र राजनीति स्वच्छ हुनै सक्दैन ।
समाजका केही युवामा नैतिकता र इमानदारिता समाप्त भएको देखिन्छ । नैतिकताले मानिसलाई अनुशासित, इमानदार र कर्तव्यपरायण पनि बनाउँछ भन्ने उनीहरुले न आफैँ सिके न कसैले उनीहरुलाई पिलाइदिए त्यसैले होला क्षुद्रपन बढेको पाइन्छ । युवा पुस्तामा नैतिकताको खडेरी परेकाले समाजमा कस्तो उत्तराधिकारी उत्पादन हुने त्यो सोचनीय विषय बनेको छ । सबै कुराको ज्ञान र सीप मात्रै भएर पनि हुँदैन । दक्ष नेतृत्वमा चाहिने आवश्यक सबै गुण नहुन सक्छ । असल नेतृत्व हुन व्यक्तिमा कुशल समन्वयकर्ता, निडर व्यक्तित्व, मृदुभाषी, चतुर, दूरदर्शिता, मूल्यांकन र निर्णय क्षमता, शालीनता, पारदर्शिता, धैर्य, इमानदारिता, सकारात्मक चिन्तन, सहअस्तित्वको भावना आवश्यक पर्दछ । चातुर्य देखाउने नेताको कमी त नहोला तर सँगै प्रकट हुने धूर्त प्रवृत्तिले नेताको व्यक्तित्व समाप्त पार्छ । कुशल नेतृत्वले समाजलाई आवश्यक परेको बेला सबैलाई मिलाएर सम्पूर्ण जनताको प्रतिनिधित्व गर्दै सक्षम नेतृत्व दिन सक्नुपर्छ । कुशल नेता वा नेतृत्वले त आफ्नो पार्टी, कार्यकर्ताप्रति मात्रै केन्द्रित नभई सम्पूर्ण विचार र जनताको हितमा विचार राख्न सक्नुपर्छ ।
अहिले देशमा तीन तहका सरकार बनेका छन् । यी सरकारका मन्त्री, सांसद र स्थानीय सरकारका जनप्रतिनिधि जनताको विश्वासको मतलाई शिरोधार्य गरेर लागे पनि कतै न कतै नराम्रोसँग चिप्लिइरहेका छन् । अहिले सामाजिक सञ्जालमा कतै चर्चा र कतै विरोधका स्वरहरु गुञ्जन थालेका छन् । जनप्रतिनिधिमा राजनीतिको भूत चढेको छ । कुनै मान्छेको नाम कुनै ठाउँमा आइहाल्यो भने सबभन्दा पहिला कुन पार्टीको हो भनेर सोधिन्छ । अनि एउटा धारणा तत्काल बनाइन्छ । त्यही धारणाअनुसार व्यक्तिको मूल्याङ्कन गरिन्छ । राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो देखिन्छ । हाम्रा भन्दैमा राम्रा देख्न हुँदैन । त्यो संस्कारको अन्त हुनुपर्छ । अनि बल्ल सुध्रन्छ देश। हामी पनि सुध्रन्छौं । राजनीति नसुधारिए हामी सुध्रन्नौँ । हामी नसुध्रे राजनीति सुधारिन्नँ । त्यसैले यो विषयलाई गहन रूपमा लिएर मनन गर्नुपर्ने देखिन्छ ।
युवाहरु सामाजिक सञ्जाल प्रयोगमा अगाडि रहेका छन् । नेतृत्वमा कतै केही कमजोरी देखा पर्याे भने गाली र तालीको वर्षा शुरु भइहाल्छ । यो नै युवाको प्रमुख कमजोरी हो । सहीलाई सही भन्न नसक्ने युवाले आगामी दिनमा कस्तो नेतृत्व अंगाल्छ ? कोरोना भाइरस महामारीको रुपमा फैलिरहेको अवस्थामा सरकारले लकडाउन गरेको मौकालाई सदुपयोग गर्नुको साटो युवाहरु सामाजिक सञ्जालमा आलोचना र टीकाटिप्पणीमा मात्र सीमित रहन पुग्नु दुखद अवस्था हो ।
अहिले नेपाली समाजमा अभिव्यक्ति स्वतन्त्रताको उपयोग भन्दै नकरात्मकता ओकल्ने र गाली बर्साउने प्रवृत्ति सतहमै पुगेको छ । सार्वजनिक रूपमा अश्लील गाली, धम्की र एकअर्काविरुद्ध घृणा फैलाउने तहसम्मै किन पुग्दैछन् देशको नेतृत्व लिने वर्ग । कसैप्रतिको कुण्ठालाई पोख्न नकारात्मक टिप्पणी र गालीमा उत्रिने बानी बढ्दै जाँदा मन आत्तिने, उदासी बढ्ने र डिप्रेसनमा गएर व्यक्तिको नकरात्मक सोच पैदा हुने अवस्थामा यो समाज दौडिरहेको छ । अरूलाई पीडा दिन, होच्याउन र नराम्रो भन्न पाए सन्तोष मान्ने मनोवृत्ति यसैभित्र पर्छ । यसकारणले असामाजिक व्यक्तित्व विकास हुँदै जाँदा बच्चामा समेत यसले असर पर्ने देखिन्छ ।
मानिस स्वस्थ आलोचना गर्नतर्फ किन चुकिरहेको छ ? यसको मुख्य कारण भनेको राजनीति नै हो । आस्थाका आधारमा तर्कहरू प्रस्तुत हुने भएकाले नेतृत्वले सहजै पचाउने गरेको पाइन्छ । नेतृत्वले गल्ती महसुस भएपछि पनि नस्वीकार्ने, पश्चात्ताप नगर्ने, चाहिनेभन्दा धेरै इख लिने गर्नाले पनि अस्वाभाविक रुपमा हाबी भएको कतैकतै प्रष्ट देखिएको छ । यसले भने स्वयम् आफँैलाई अधोगतितर्फ धकेलिरहेको छ । त्यसैले यो बुझ्न जरुरी छ ।
आस्थाकै आधारमा नेतृत्वको गल्तीलाई ढाकछोप गर्न समर्थन गर्ने प्रवृत्ति नजानिँदो ढंगले मौलाइरहेको हँुदा त्यो समाजका लागि ठूलो घातक हुन सक्ने छ । देख्दा सामान्य लाग्ने यस्ता कुराले अनावश्यक प्रतिस्पर्धाको आधार बनाउने र नकारात्मक भावना पैदा भई व्यक्ति सधैं हाबी हुने प्रवृत्ति बढ्ने छ । अहिलेका गालीमा समाजका केही कारण छन् । पहिलो, फुर्सदिलो युवा पंक्ति हो । बेरोजगारी र फुर्सदिलो जीवनशैली, त्यसमाथि लकडाउनका कारण घरभित्रै बस्नुपरेको पीडा छ ।
बेरोजगारहरू पहिले आफ्ना असन्तुष्टि टोल–छिमेक, चिया, पान पसल, अल्पज्ञानीहरूको झुण्ड भेलामा र जुवाका खालमा पोख्थे तर अहिले सबै भेट बन्द भएको अवस्था छ । त्यसले दिमागमा नकरात्मक सोच उत्पन्न भई आफूमा भएको पीडा र असन्तुष्टिलाई सामाजिक सञ्जालको पहुँचका कारण गाली गर्न झनै सहज भएको छ । नागरिक सरकारप्रति विश्वस्त हुन सकिरहेका छैनन् । फलस्वरूप अविश्वास, शंका र निराशामा कुनै कमी आएको देखिँदैन । राजनीतिज्ञदेखि अगुवा व्यक्ति र पत्रकारसम्म पनि आ–आफ्ना बुझाइअनुसार टिप्पणी गरी कसैको देवत्वकरण र कसैको दैत्यत्वकरण गर्न अग्रसर देखिइरहेका छन् ।
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login