विचार
कहाँ चुके प्रचण्ड ?
मानव सभ्यताको विकाससँगै मानिसले नौलो प्रयोग र जीवनयापनमा सरलता खोज्दै नयाँ ढंगबाट जीवन जिउने तरिका खोजी गरिरहेको हुन्छ । मानिसले आफ्नो स्वार्थ मिल्नेसम्मको समूह बनाई समाजको रुप दिएको हुन्छ । जबसम्म मानिसको स्वार्थ मिल्छ एकै समाज, एउटै संस्कृति एउटै धर्म अँगाल्ने हुन्छन् भने जब स्थान, समय र आवश्यकताअनुसार स्वार्थ फरक पर्दै जाने हुन्छ, समाज छुट्टिएर फरक स्वार्थ भएकाहरुको फरक वर्ग निर्माण हुँदै जान्छ ।
यसरी बनेका वर्गहरुबीच आफ्ना स्वार्थका विषयमा बहस, विवाद र द्वन्द्व हुन थाल्द, यसलाई वर्ग संघर्ष भनिन्छ । यो संघर्ष कहिलेकाहीँ निश्चित भूगोलमा त कहिले सर्वव्यापक रुपमा फैलिने गर्दछ । कर्ल माक्र्स, लेनिन, माओत्सेतुङहरुले शुरु गरेको वर्ग संघर्ष अलि व्यापक भयो भने चे ग्वेभारा, स्टालिनहरुदेखि केही नश्लवादीहरुले गरेको संघर्ष अलि फितलो रह्यो । समय र स्थानअनुसार अहिले पनि विभिन्न देशको भूगोलभित्र विभिन्न संघर्षहरु भइरहेका छन् ।
नेपालको सन्दर्भमा ऐतिहासिक कालखण्डदेखि विभिन्न प्रकारका शासन पद्धतिहरुको परीक्षण हुँदै आइरहेको छ । मुख्यतः राजतन्त्रात्मक शासन पद्धतिले नेपालमा लामो समयसम्म प्रभुत्व जमाएको पाइन्छ, कहिले शक्तिशाली भएर त कहिले सेरेमोनियल रहेर । जुन बेला राणाहरुको जहानियाँ शासन नेपालमा थियो, त्यो समयमा राजाहरु सेरेमोनियल मात्र थिए । राणाहरुको निरंकुश शासनबाट आजित बनेका नेपालीहरु बिस्तारै राणा शासकहरु विरुद्ध संघर्ष गर्न थाले र २००७ सालमा राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्थाको शुरुवात गरे ।
फेरि राजा र राजनीतिक दलबीचको शक्तिसंघर्ष शुरु भयो र २०१७ सालमा जननिर्वाचित सरकार अपदस्त गरी राजाले दलरहित शासन व्यवस्था लागू गरे । यसरी प्रतिबन्धित राजनीतिक पार्टीहरु सशस्त्र र वैचारिक संघर्ष गरी आफ्नो शक्ति पुनस्र्थापना गर्न संघर्ष गर्न थाले । २०४६ सालमा राजालाई संवैधानिक दायरामा ल्याएर केही राजनीतिक दलहरुले राजासँग शक्ति बाँडफाँड गरी संघर्ष टुङ्ग्याए भने केही दलहरु राजालाई पूर्ण रूपमा विस्थापन गर्नुपर्छ भनेर भूमिगत संघर्षमा लागे, जसमध्येका एक हुन् प्रचण्ड ।
माथिको पृष्ठभूमि यहाँ किन उल्लेख गरियो भने प्रचण्डको उदय र प्रचण्ड उदयको सार्थकता बारे बुझ्न यो पृष्ठभूमिको आवश्यकता हुन्छ । राणा शासनको युगमा नेपाली समाजमा भिन्न स्वार्थका धेरै वर्गहरु थिएनन् । सामान्यतः पुरातन कृषि प्रणालीमा आधारित समाजमा सबैका स्वार्थ समान थिए त्यसैले वर्ग संघर्ष गर्नुपर्ने कारण नै थिएन । संघर्ष थियो त मात्र शासकहरुको थिचोमिचो विरुद्ध त्यो पनि आफूहरु थिचोमिचोमा परेको बुझ्न सक्ने नवनिर्मित वर्गलाई । समयक्रमसँगै बिस्तारै स्वार्थ र आवश्यकता परिवर्तन हुँदै गयो र विभिन्न स्वार्थका विभिन्न वर्गहरु तयार भए र वर्ग संघर्ष पनि चर्किंदै गयो ।
शिक्षा र प्रविधिको विकाससँगै मानिसमा चेतना पनि विकास हुँदै गयो र मानिस हरेक स्तरमा हरेक स्थानमा आफ्नो अपनत्व खोजी गर्ने हैसियतमा पुग्यो । वर्ग संघर्ष चर्किंदै जाँदा राज्यको स्रोत र साधनमा कब्जा जमाएर बसेकाहरु अन्य वर्गलाई दमन र निस्तेज पार्न लागे भने दमित वर्ग सशस्त्र संघर्ष गर्न थाले । यो क्रम चलिरहँदा देशमा कयौं शासक परिवर्तन भए तर संघर्षको व्यवस्थापन हुन सकेन । संघर्षकै दौरान २०५२ सालमा तत्कालीन सरकारसँग ४० बुँदे माग राख्दै हिंसात्मक सशस्त्र युद्ध घोषणा गरी तत् समयसम्म सिर्जना भएका अधिकांश उपेक्षित वर्गको नेतृत्व गर्दै संघर्षमा होमिएका पात्र हुन् प्रचण्ड ।
भर्खरै विकास हुँदै गरेको जनचेतना, विभिन्न स्वार्थ समूहका वर्गबीच उपेक्षा, जातीय उत्पीडन, गरिबी र पश्चिमा धर्म विस्तार प्रचण्डका लागि आन्दोलन गर्ने उर्वरभूमि बन्यो । जनतामा शासकहरुप्रति वितृष्णा, दलाल र पूँजीपति वर्गको सामाजिक भेदभावले पिल्सिएका जनता प्रचण्डबाट प्रभावित हुँदै गए । जसरी एउटा चलचित्र हेर्दै गर्दा नायकलाई मनोवैज्ञानिक रुपमा भएभरको शक्ति लगाएर समर्थन गरिन्छ, नायकका मिथक बनाएर नायकलाई देवत्वकरण गरिन्छ त्यसै गरी प्रचण्डलाई प्रस्तुत गरिँदै गइयो र प्रचण्डले पनि कम्युनिष्ट पार्टीका केही किताब पढेर उपन्यास पढुन्जेल उपन्यासको नायक आफैँलाई ठानेजस्तो आफूलाई कम्युनिष्टको महानायक ठानिरहे ।
यसरी प्रचण्डको नेतृत्वमा तत्कालीन राज्यसत्तासँग युद्ध हुँदै गर्दा राजदरबार हत्याकाण्डदेखि राजाबाट राजनीतिक दलप्रतिको नकारात्मक दृष्टिकोण र कदमले त्यो बेलाका राजनीतिक दलहरु पनि राजतन्त्रको विकल्प सोच्न थालिसकेका थिए । यस्तो अवस्थामा प्रचण्ड नेतृत्वको माओवादी र तत्कालीन दलहरुको २०६२\६३ को आन्दोलनमार्फत् नेपालमा गणतन्त्रको शुरुवात भयो ।
त्यहाँसम्म प्रचण्डको नेतृत्व र कदम सही नै थियो । त्यसपछि प्रचण्डले आफू यहाँसम्म आउन कुन वर्गले कसरी साथ दिएका थिए भन्ने बिर्संदै जानु प्रचण्डको अधोगतिको कारण थियो । जब संविधान बनाउने जनमत लिएर चुनावमा आफ्नो दल सबभन्दा ठूलो दल बन्यो, प्रचण्डले हिजो गरेका वाचा, बाँडेका सपना सबै भुले । पहिले जनताबाट तिरस्कृत भइसकेका राजनीतिक दल र तिनीहरुकै मार्गमा प्रचण्ड लागे । उनलाई हरेक अवस्थामा साथ दिएका साथीहरुको साथ छुट्दै गयो भने पहिले वर्गशत्रु घोषणा गरेका दलाल पूँजीपति वर्गसँग प्रचण्डको साथ बाक्लिँदै गयो ।
चुनावमा आफ्नो दल सबभन्दा ठूलो राजनीतिक शक्ति बनेपछि प्रचण्डले हिजो युद्धमा साथ दिने जनतासँग कहिल्यै सल्लाह लिने आवश्यकता महसुस गरेनन् । यदि उनले आफ्नो दललाई सफलता दिएपछि युद्धको दौरानमा घरदैलोमा सपना बाँडेजस्तो जनताको घरदैलोमा पुग्नुपर्थ्यो । अब हामी सत्तामा पुगेका छौं अब कस्तो नीति कार्यक्रम बनाउने हो भनेर सल्लाह माग्न आएको भनेर जनताको राय लिने कोशिस गरेका भए शायद आज प्रचण्डको विकल्प कोही हुने नै थिएन । कम्तीमा बाबुरामले ‘जनतासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रममार्फत् जनतामा पुग्ने कोशिश गरे तर प्रचण्डले त्यसलाई पनि हटाइदिए ।
जब प्रचण्ड सत्ताको रसमा रमाउन थाले उनका वरिपरि तिनै पूँजीपति र दलालले अड्डा जमाउन थाले । यतिसम्म कि उनका सहयोद्धासमेत उनको पहुँचमा पुग्न नसक्ने भए र पार्टी विभाजन गर्न बाध्य भए । आफ्ना परिवारका प्रायः सबै सदस्यलाई राज्यकोषबाट सेवा सुविधा मिल्ने गरी सरकारी नियुक्ति दिलाउनेदेखि निर्वाचन क्षेत्रमा दोहोरो निर्वाचन गराएर भए पनि छोरीलाई महानगरको मेयर बनाउने महासामन्ती रुप धारण गरी कम्युनिष्टको ताण्डव नृत्य देखाए । आफ्नै सहकर्मीलाई प्रतिबन्धित गरी आफ्नो स्वार्थको लागि विगतमा आफूलाई र आफूले नेतृत्व गरेको पार्टी र विचारधाराको आलोचना गरेर नथाक्ने केही कम्युनिष्ट सिद्धान्तका किताबका पाठकसँग स्वार्थ एकता गरी जनतालाई आफँैले बाँडेका सपनाको धज्जी उडाइदिए ।
हजारौं नेपालीको ज्यानको मूल्यसँग साटिएको गणतान्त्रिक व्यवस्थामा जनताले प्रचण्डबाट अन्य नेताको तुलनामा अधिक अपेक्षा राख्नु स्वाभाविक हो । तर त्यत्रो संघर्षको नेतृत्व गरेका प्रचण्डले यथास्थितिवादी दलका नेताभन्दा पनि सामन्ती संस्कार अँगाल्नु, राजनीतिक दुरदर्शिता नहुनु, यो युगको सफल क्रान्तिलाई व्यवस्थापन गर्न नसक्नु र समान उद्देश्यका सहयोद्धा छोडेर विसंगत शक्तिसँग स्वार्थ मिलान गर्नु प्रचण्डको महाभूल हो । अब प्रचण्डले पार्टी वा सत्ता जे हाँके पनि सामन्ती गतिमै चल्ने छ ।
प्रचण्ड चुकेको ठाउँ भनेको प्रचण्ड कम्युनिष्ट सिद्धान्तका पाठक बने तर साधक कहिल्यै बनेनन् वा बन्न सकेनन् ।
Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login