विराटचोकः कोरोना संकटकै अवस्थामा सुन्दरहरैंचा उद्योग वाणिज्य संघको अधिवेशनको सरगर्मी बढ्न थालेको छ । महामारीको समयमा अधिवेशन कसरी सम्पन्न हुने हो भन्ने चिन्तासँगै व्यवसायीहरुले वर्तमान चुनौतीसँग कत्तिको जुध्न सक्ने नेतृत्व पाउने हो भन्ने चासो बढेको छ ।
असोज २३ गते हुने वाणिज्य संघको अधिवेशनको लागि माहोल तात्ने क्रम शुरु भएको छ । कोरोनाका संक्रमित बढ्ने क्रम जारी रहेकाले भीडभाड गर्ने तथा पक्ष र विपक्षमा भोट माग्ने क्रम खुम्चिएको छ । राजनीतिक आधारमा हुने यो निर्वाचन निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिष्पर्धा पनि हो ।
यस क्षेत्रलाई नेकपाको किल्ला मानिँदै आएको भए तापनि स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसको पोल्टामा मुख्य पद गएपछि नेकपाका लागि उद्योग वाणिज्य संघको नेतृत्व पाउन सहज भने देखिँदैन । राजनीतिक अंक गणितलाई मात्र हेर्ने अवस्था पनि छैन । व्यवसायीको हक, हित तथा अधिकारका बारेमा बोल्ने र समस्यासँग जुध्न सक्ने नेतृत्व र व्यक्तिले पनि विशेष महत्व राख्दछ । त्यसैले कस्तो व्यक्तिको उम्मेद्वारी आउला भन्ने पर्खाइमा व्यवसायीहरु रहेका छन् ।
२०५४ सालमा इन्द्रपुर व्यापार प्रबन्ध समिति स्थापना भएदेखि कोशीहरैंचा उद्योग वाणिज्य संघ हुँदै सुुन्दरहरैंचा उद्योग वाणिज्य संघ भनी नाम परिवर्तन हुँदै आएको यो संस्थामा युवा, दूरदर्शी सोच भएको र कुशल नेतृत्वको खाँचो रहेको व्यवसायी बताउँछन् । प्रमुख बजारका रुपमा विराटचोक, हरैंचा, सलकपुर, खोर्साने, शुक्रबारे, मृगौलिया, गोठगाउँसहति बलिया चोकसम्मका ३ हजार २५ जना व्यवसायी संघमा आबद्ध रहेको संघका सचिव नारायण कार्कीले बताए ।
पान नम्बर लिएका करीब १ हजार सदस्यले मात्र निर्वाचन प्रक्रियामा भाग लिन पाउने सचिव कार्कीले बताए । सर्वसम्मत नेतृत्व चयनका लागि संघका पूर्व अध्यक्ष भोलेश्वर दुलालले पहल गरिरहेको पनि बताइएको छ । हालको विधान संशोधन गरेर नेपाल उद्योग वाणिज्य संघको विधानलाई अनुशरण गर्र्दै जाने तयारी भएको पनि बताइएको छ ।
निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ । केशव अधिकारीको संयोजकत्वमा गठित निर्वाचन समितिको सदस्यमा रामप्रसाद गजुरेल र अर्जुन बस्नेत रहेका छन् ।
संघको अध्यक्ष पदका लागि कृष्णप्रसाद रिजाल र टीका कट्टेलको नाम अग्रस्थानमा रहेको छ । यस्तै, सन्तोष वान्तवाको पनि नाम चर्चामा रहेको छ । वाणिज्य संघले अधिवेशनलाई लक्षित गरी नगरका सबै वडामा राहत वितरण गरेको छ । नगरका अति विपन्न परिवारलाई राहत वितरण गरेको संघले जनाएको छ ।
Pingback: सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घको चुनावी कार्यतालिका सार्वजनिक - निष्पक्षखबर