Connect with us
Advertisement

गुरुङको थर नै गोत्र

Published

on

केही वर्षअघि घरमा एउटा विवाहको निमन्त्रणा आयो । वर बधू दुवै छिमेकी र चिनजानकै थिए तर उनीहरूबीच बिहेबारी पनि चल्छ भन्ने थाहा थिएन । कारण दुवैको थर एउटै थियो कार्की । गुरुङ जातिमा एउटै थरभित्र विवाह हुँदैन । निम्तो मान्न त गइयो तर मनमा एउटा कौतुहलताले डेरा जमाइराख्यो । एउटै थरमा पनि कसरी बिहे हुने भयो भनेर । वास्तवमा मलाई त्यो समय थर गोत्रको केही जानकारी थिएन । गुरुङ जस्तै एउटै थरभित्र कसैको विवाह हुन्न होला सोच्थेँ ।

निम्तारुमध्येकै एकजना परिचित आमालाई सोधेँ । कार्कीकार्कीबीच पनि कसरी विवाह भयो ? उनले भनिन्, ‘थर एउटै भए पनि गोत्र अलग भएपछि विवाह हुन्छ नानी । वर बधूको थर एउटै भए पनि उपथर अलग रहेछ मुडुला कार्की र सुतार कार्की र गोत्र पनि मौदगौल्य र घृतकौशिक ।

गोत्र भनेको के हो ? विभिन्न जातको जस्तै गुरुङ जातिको गोत्र हुन्छ कि हुँदैन ? यो गोत्र व्यवस्था कसरी कहाँ र कहिले बाट शुरु भयो ? जस्ता विषयमा नेपाली समाजमा धेरै अन्योल छन् । गुरुङ जातिमा पनि यस बारे व्यापक अन्योल र भ्रम छ । यस गोत्रसम्बन्धी विषयमा गुरुङहरूबीच आवश्यक र तथ्यपरक बौद्धिक बहसहरू भएको पाइँदैन । वास्तवमा यो एउटा सोचनीय र खोजयुक्त विषय हो ।

तर आर्यहरूमा थर एउटै हुँदा पनि गोत्र फरक हुँदोरहेछ । वास्तवमा खस आर्यहरूमा थर भने काम र गाम (गाउँ) विशेषले पाएका रहेछन् । जस्तैः

काम विशेषले पाएका थरहरूमाः
अधिकारी– दराको हाकिम, कार्की– राजस्व अधिकृत, भट्ट– राजपुरोहित वा धर्माधिकारी,
भण्डारी– राजकीय कोषको प्रमुख, लेखक– लेखक, महत– ग्रामप्रमुख, रोकाया– महतको सहयोगी, थापा, खड्का, राना, बुढा, बस्नेत आदि थर सैनिकलाई दिइने दर्जाबाट रहन गएको पाइन्छ ।

त्यस्तै गाम (गाउँ)को नामबाट रहन गएका थरहरू छन् । जुम्ला, मुगु, बझाङ, दैलेख आदि जिल्लामा पर्ने बिभिन्न गाउँठाउँको नामबाट रहन गएको थरहरू यसप्रकार छन्ः जुम्लाको धिताबाट धिताल, पाण्डुसेराबाट पाण्डे, सिञ्जाबाट सिंजापति, प्याकुरीबाट प्याकुरेल, सिम्खाडाबाट सिम्खडा । अछामको तिमिल्सैनबाट तिमिल्सिना, तिम्सिना ।

त्यस्तै, बझाङको रेगमबाट रेग्मी, खारबाट खरेल, बयानाबाट बानियाँ । बैतडीको गाजरीबाट गजुरेल र निरौलीबाट निरौला । मुगु जिल्लाको खनायाबाट खनाल, खतिवाडबाट खतिवडा थर रहेको पाइन्छ ।

दैलेखको बाँस्तोलीबाट बास्तोला, लामाछान्नीबाट लामिछाने, सातलाबाट सत्याल, लुयाटीबाट लुईँटेल, चापागाउँबाट चापागाईं, पोखरबाट पोखरेल, लम्सुबाट लम्साल, लम्जीबाट लम्जेल, दहबाट दाहाल, भूर्तिबाट भुर्तेल, पराजुलबाट पराजुली, कोइरालीबाट कोइराला, दवाडाबाट दवाडी, कट्टीलबाट कट्टेल, भुषाकोटबाट भुषाल आदि थर रहन गएको पाइन्छ ।

गुरुङहरूलाई चार र सोह्र भनेर वर्गीकरण गरेको छ तर गुरुङको एउटै थरभित्र विवाह हुँदैन । गुरुङहरूको थर कसरी रहन गयो त भन्ने विषयमा आफ्नै लामो इतिहास र किंवदन्ती छ ।

एउटै थर भएको केटाकेटीबीच दाजुबहिनी वा दिदीभाइको नाता हुन्छ । उनीहरूबीच रगतको नाता भएको मानिन्छ । उदाहरणको लागि लामा– लामा, घोण्डे– घोण्डे वा ल्हेगे ल्हेगे र पज्यु– पज्यु थरको केटाकेटीबीच चेलीमाइतीको नाता पर्छ भन्ने मान्यता छ ।

आफ्नै मौलिक उत्पत्तिको इतिहास लिएर मौलिक संस्कार र संस्कृतिको वैभवका साथ शान्त नदीसमान आफ्नै गतिमा बग्दै गरेको गुरुङ जातिबीच समयको केही कालखण्डमा आएर तत्कालीन शासक वर्गले एउटा वर्ग वा स्तरको निर्माण गरिदियो । चार जाते र सोह्र जाते भनेर गरिएको यो वर्ग र विभाजन हिजोको स्वार्थसहितको अहङ्कारवादले ग्रस्त राज्यसत्ताको नीतिले गुरुङ जातिमाथि गरेको भीषण षड्यन्त्र हो । यो षड्यन्त्र गोर्खा राज्य विस्तारसँगै फैलियो ।

त्यस समयका शासकका सन्तान दरसन्तानले शासन चलाउन थालेपछि उनीहरूको विभिन्न सोच र सनकले निर्माण गरेको स्तरको विकराल चक्रव्युहमा गुरुङहरूको जात विभाजन गराइयो । यस्तो तथ्य इतिहासको विभिन्न घटनाहरूको मिहिन र तार्किक अध्ययन गर्यौं भने प्रष्ट हुन्छ । तर हिजोदेखि नै अनेकौँ त्यस्ता ऐतिहासिक तथ्यहरू बङ्ग्याएर नामेट पारिएको छ भने कतिपय खोज अनुसन्धानको अभावमा त्यसै लोप भइरहेको छ ।

यो स्तर वा तह विभाजन भने त्यो समयका शासकहरूले केवल गुरुङहरूमाथि मात्र गरिएको थिएन । काठमाडौं उपत्यकाभित्र तथा बाहिरका नेवारहरूमा पनि ‘जनैदेखि सहनाई’सम्मको व्यापक तह र स्तर वर्गीकरण गरी विखण्डन गरिएको थियो जुन आजसम्म कायम नै छ । नेवारहरूमाथि गोत्र पनि सोही तवरले लादिएको छ भारद्वज, कश्यप, कौटिल्य, अत्रि आदि ।

अब यहाँ प्रश्न उठ्छ सक्छ गोत्र गुरुङ वा तमूहरूको होइन भने यसको प्रभाव उनीहरूमा कसरी पर्न गयो त ? यो अत्यन्तै गहन र सोचनीय विषय छ । हिजोका शासक वर्गले गुरुङमाथि गरेको वर्ग र स्तर विभाजनको खेल ठूलो षड्यन्त्र हो भन्ने कुरा गहिरिएर खोज अध्ययन र अनुसन्धान गरे स्वतः पुष्टि हुन्छ ।

गुरुङहरूको साङ्गठनिकतामा विखण्डन ल्याउनु तत्कालीन शासकको सत्ताको स्वार्थ निहितता हो तर सोझा र इमान्दार गुरुङहरूलाई अन्धो बनाइएको छ । नक्कली र बनावटी पहिचान गराइएको छ । इतिहासका खण्डखण्डलाई बङ्ग्याइएर वास्तविकताको विलोपको स्थिति सिर्जना गराइएको छ । तमाम गुरुङ समुदायले यस विषयमा बुझ्नु र सचेत हुनु अत्यन्त जरुरी छ । सत्य–तथ्यको खोज अध्ययन र अनुसन्धान गर्नु जरुरी छ ।

गोत्र गुरुङहरूमाथि लादिएको एउटा सत्ता सदाशयता नै हो भन्ने कुराको एउटा प्रमाण शाहवंशीय राजा पृथ्वीनारायण शाहले आफ्नो गोत्र परिवर्तन गर्नुलाई लिन सकिन्छ । उनले आफ्नो वंशको गोत्र भारद्वाजबाट कश्यपमा परिवर्तन गरेका थिए । कुल र वंश भन्ने कुरा परिवर्तन गरिरहने विषय होइन । यो उनीहरूको राज्य सत्ताको स्थायित्वको लागि गरिएको दूरदर्शी दीर्घकालीन नीति हो ।

यसैको एउटा परिणाम गुरुङ जातिमा पनि गोत्र लादिएको थियो र मान्ने गरेको पनि छ । पूजापाठ, विवाह शुद्याइँदेखि अरु कर्मकाण्डमा गोत्र सोधखोज गरिन्छ तर पनि एउटै थरमा अलगअलग गोत्र त्यति भेटिएको छैन । यसले पनि एउटा कुरा के पुष्टि गर्छ भने गुरुङ जातिमा गोत्रको काम थरले नै गर्छ ।

गोत्र भनेको के हो त ?
प्राचीन पुरुषको निरन्तर वा अविरल वंश परम्परालाई गोत्र भनिन्छ । जो क्रमश जिजु, बाजे, बाबु, छोरा नाति हुँदै निरन्तर माथिबाट तलतिर बग्दै जान्छ । अथवा एक मूल ऋषिबाट आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति हुँदै अघि बढ्ने ऋषिवंश नै गोत्र हो । अर्काे शब्दमा भन्नुपर्दा गोत्र भन्नाले वैदिक कालमा ऋषिमुनिहरूले आफ्ना सन्ततिको पहिचानका लागि आफ्नो नामलाई सङ्केत शब्दको रूपमा प्रयोग गर्ने प्रणालीलाई नै गोत्र भन्ने गरेको पाइन्छ ।

प्रसिद्ध समाजशास्त्री लुइस मोर्गनले आफ्नो ‘आदिम समाज’ नामक पुस्तकमा कबिला युगमा सामुहिक परिवारमा बस्ने निश्चित एउटै हजुरआमाका सन्तानलाई एउटा गोत्रभित्रका मानिसहरूका रूपमा उल्लेख गरेका छन् । (मोर्गन सन् १९६४)

यो वंश परम्परा मोर्गनपछिका समाजशास्त्रीहरूले पनि स्वीकारेका छन् । यसबारे विभिन्न नेपाली ग्रन्थहरूले विभिन्न परिभाषा गरेको पाइन्छ । त्यसमध्ये म यहाँ केही उल्लेख गर्न चाहन्छु ।

१. वंशविस्तार गर्ने महर्षिहरू गौतम, विश्वामित्र, जमदग्नि, भारद्वाज, अत्रि, वशिष्ठ र कश्यप यी सप्तर्षिका साथै अगस्त्य ऋषिका जति सन्तान छन् तिनलाई गोत्र भनिन्छ । –संस्कृत नेपाली शब्दकोष
२. वंश प्रवर्तक ऋषिमुनिका नामबाट चलिआएको पुख्र्याैली चिनाउने उपनाम गोत्र हो ।
⁃ बृहत नेपाली शब्दकोश
३. आफ्ना नामबाट सन्तान वा खलकैको उपनाम बनेको गोत्र प्रवर्तक मूल पुरुष गोत्र हो । –नेपाली शब्दसागर
४. गोत्र प्रवर्तक ऋषिमुनि आदिको नामबाट चलिआएको पुख्र्याैली वंश गोत्र हो । 
–प्रयोगात्मक नेपाली शब्दकोष

माथि उल्लिखित परिभाषाहरूबाट के अनुमान गर्न सकिन्छ भने गोत्र हिन्दू धर्म परम्परामा मात्र रहेको देखिन्छ । तर यथार्थमा गरुङहरूमा पनि गोत्र मान्ने गरेको पाइन्छ । तर आम बुझाइअनुसार गुरुङ समाजमा गोत्रको विषयमा अन्योल र भ्रमहरू भने प्रशस्त छन् । गुरुङमा मात्र नभएर आर्य बाहेक आम नेपाली समाजमा नै अन्योलता छ । यसको मूल कारण भने अध्ययन अनुसन्धानको कमी र अन्धपरम्पराको सिको गर्नु र त्यसैमा विश्वास गर्नु हो ।

वास्तवमा नेपाली समाज फरकफरक वंश, कुल, पिता, पुर्खा, परम्परा र सभ्यताबाट विभिन्न चरणहरू पार गरी क्रमश विस्तार र विकास भएको समाज हो । अथवा हिमाल, पहाड र तराईजस्तो प्राकृतिक सुन्दरताले सुशोभित नेपालको समग्र भूभाग ३ प्रदेशीय वैभवयुक्त ५ सभ्यताहरूको महासङ्गम हो ।

आजभन्दा ५ हजार वर्ष पहिलेदेखि चरणबद्ध रूपमा विकसित हुँदै आएको मुख्यतः ५ ओटा सभ्यताहरूको महासङ्गमले निर्माण गरेको भव्य सम्मिश्रणको बहुरङ्गी इन्द्रेणी हो नेपालको भूमि । पहिलो सभ्यतामा उत्तरबाट उत्पत्ति भई ह्वाङ हो र याङ्सी नदीले निर्माण गरेको मैदानमा विकसित हुँदै अन्नपूर्ण हिमाल फेदी हुँदै नेपाल प्रवेश गरेको मङ्गोल महासभ्यता पर्छ । दोस्रोमा युरोपबाट मध्य एशियाको भूभाग ढाक्दै ककेसियाको बाटो गरी पश्चिम नेपालबाट छिरेको खस सभ्यता हो ।

त्यस्तै, सिन्धुघाँटीमा उर्वर भई गंगा मैदानमा फस्टाउँदै वेद वेदान्तहरूको रचना गरी नेपाल प्रवेश गर्ने वैदिक आर्य सभ्यतालाई तेस्रो महासभ्यता मानिएको छ । पटकपटक आर्यहरूको हमलाबाट पराजित हुँदै नेपाल प्रवेश गर्न सफल हडप्पा र मोहेनजोदाडोजस्तो भव्य सभ्यता निर्माण गरिसकेका आष्ट्रिक र द्रबिड जातिको सभ्यतालाई चौथो महासभ्यता मानिन्छ ।

पाँचौँ सभ्यता भने आजभन्दा करीब १ हजार ४ सय वर्ष अघि मक्का मदिनाबाट उत्पत्ति भई समग्र अरब हुँदै भारतको भूमिबाट नेपाल प्रवेश गरेको इस्लाम सभ्यता पर्दछ ।

यी फरकफरक सभ्यताले फरकफरक जात र समुदायका पुर्खा (Ancester) नेपाल भित्र्याएको छ । यसबाट के थाहा हुन्छ भने नेपालमा बस्ने विभिन्न समुदायको पुर्खा, वंश वा पितृ, फरकफरक छ ।

विभिन्न समाजशास्त्रीहरूका अनुसार मानव समाज काबिला युगदेखि नै सामुहिक परिवारमा बस्ने गर्दथ्यो । त्यसबेला मातृप्रधान समाज थियो । शायद त्यसबेला पुरुष पहिचानको आवश्यकता महसुस गरिएको थिएन । त्यसरी एउटै सामुहिक परिवारमा बसे पनि निश्चित हजुरआमा वा आमाको सन्तानलाई एउटा वंशमा समेट्ने गर्दथे । मातृसत्ताबाटै वंश प्रणालीको शुरुवात भएको लुइस मोर्गन पछिका अधिकांश समाजशास्त्रीहरूले पनि स्वीकारेको पाइन्छ ।

गुरुङ जातिमा करीब विलोप अवस्थामा पुगेको सात कन्या अथवा सात आमालाई सम्झेर गरिने पूजा पनि मानव समाजको उत्पत्ति र विकासलगायत मातृसत्ताकै मौलिक अवशेष को रूपमा मान्न सकिन्छ । तर मातृप्रधानताको समाज ढलेर पितृसत्ताको शुरुवात भएको पनि आज करीब ७ हजार वर्ष पूरा भइसकेको छ त्यसले गर्दा पितृप्रधान समाजको वर्चस्वमा सात आमाका सत्यताहरू छायामा पारिएको छ ।

यसैले पुरातन कालबाटै सबै गोत्रहरू पुरुष ऋषिमुनिहरूकै नामबाट नामकरण गरिएको छ । जस्तै, भारद्वाज, कश्यप, कौटिल्य, आत्रेय, गर्ग, वशिष्ठ, कौशिक, वत्स, धनञ्जय, आदि सबै पुरुष ऋषिहरू हुन् । यसैले गोत्र भनेको केवल आर्यहरूको पुर्खा वा कुल हुन् ।

कुल के हो त ?
कुललाई अङ्ग्रेजीमा Clan भनिन्छ । कुल जान्नको लागि समाजमा Kinship systemअथवा नातेदारी व्यवस्था जान्नु जरुरी छ ।

नातेदारी व्यवस्थाका बारेमा जीपी मर्डकले भनेका छन्, ‘नातेदार प्रणाली एउटा सम्बन्धहरूको एउटा संरचनागत प्रणाली हो जहाँ नातेदारहरू एकअर्कामा जटिल अन्तरसम्बन्धले बाँधिन्छन् । नातेदार प्रणाली व्यक्तिहरूलाई सामाजिक समूहहरू, भूमिकाहरू र वंशावलीमा सङ्गठित गर्ने आधारभूत सिद्धान्तहरू मध्येको एक हो ।

नातेदारी व्यवस्था (Kinship System) के हो त ?

Kinship भन्नाले समाजमा मानिसहरू बीचमा हुने नातासम्बन्ध भनेर बुझिन्छ । जुन ३ प्रकारको हुन्छ ।

१. Affinal kinship (बिहेबाट हुने नाता र सम्बन्ध)
२. Consanguineal kinship (रगतबाट हुने नाता र सम्बन्ध)
३. Fictive kinship (न बिहे, न रगतको सम्बन्ध, जस्तै मितेरी साइनो)

वास्तवमा गोत्रको काम यही नाता पहिचान गरी कुल वंश वा पुर्खा छुट्याउने काम हो जोसँग रगतको नाता Consanguineal kinship छ कि छैन त भनेर थाहा पाउन सकिन्छ । गोत्रको काम रगतको नाता छुट्याउने प्रणाली हो । यो विभिन्न समाज र समुदायमा आआफ्नो किसिमको छ । जस्तो राईलिम्बूमा पनि गोत्र हुन्छ । तर उनीहरूको गोत्रको आफ्नै मौलिक नाम छ जस्तै चाम्लिङ राईका गोत्रहरू चाम्लिङ होमिहछा, साक्सानामछा, दिबुछा, हलैछा आदि ।

लिम्बूमा पनि एउटै थरमा पनि विभिन्न उपथरहरू हुन्छन् जसभित्र उनीहरूको बिहेबारी पनि चल्छ । तर विभिन्न थरको एउटै गोत्र हँुदैन । आर्य वा हिन्दूहरूलाई किन गोत्रको आवश्यक पर्छ भने उनीहरूबीच एउटै थरमा पनि फरकफरक गोत्र हुन्छ र फरकफरक थरमा पनि एउटै गोत्र हुन्छ । फरक थर भए पनि एउटै गोत्र भए पुर्खा वा कुल एउटै हुन्छ भन्ने विश्वास छ र उनीहरूबीच रगतको नाता हुन्छ भन्ने मान्यता छ । जस्तो खड्का, दुलाल अर्याल, थापा आदिको आत्रेय गोत्र हुन्छ भने फेरि खड्का, थापा आदिको कौडिण्य गोत्र पनि हुन्छ र दुलालको उपमन्यु गोत्र पनि हुन्छ ।

यसकारणले गर्दा हिन्दू आर्यहरूलाई गोत्रको आवश्यक पर्छ र गोत्र हिन्दू धर्म परम्पराबाटै शुरु भएको हो । बुझ्नुपर्ने कुरा, हिन्दूहरूमा एउटै थरबीच पनि fictive kinship हुन सक्छ । तर तमूहरूमा एउटै थरबीच जहिले पनि consanguineal kinship हुन्छ fictive kinship हुन सक्दैन ।

वास्तवमा गोत्र परम्परा गुरुङहरूको होइन भन्ने विषयमा केही तर्क दिन सकिन्छ ।

१. गुरुङहरू जहाँको भए पनि एउटै थर भएपछि रगतको नाता (Consanguineal kinship) हुन्छ उनीहरूबीच कुनै हालतमा बिहेबारी चल्दैन र उनीहरूमा चेली माइतीको सम्बन्ध (Relation) हुन्छ । जानअञ्जानमा लुकीचोरी त्यस्तो बिहे गरे छितकी पातकी ठहरिन्छ । त्यस्तो बिहेबारी गर्नेलाई पहिले गाउँनिकाला वा देशनिकाला गरिन्थ्यो र अहिले पनि यस्तो बिहे कुनै हालतमा स्वीकार्य छैन । तर आर्यहरूमा एउटै थरमा पनि बिहे हुन्छ र उनीहरूलाई गोत्रले रगतको नाता छुट्याउँछ थरले छुट्याउँदैन ।

२. कतिपय आर्य र गुरुङको एउटै गोत्र हुन्छ जस्तै निरौला आर्य र कोरङ्गी गुरुङको एउटै गोत्र हुन्छ भारद्वाज भन्ने । त्यस्तै गरेर कुनै गुरुङले कौशिक गोत्र हो भन्छन् त कसैले आत्रेय गोत्र कसैले चनु गोत्र कसैले भारद्वाज गोत्र । के यस्तो एउटै गोत्र भएको गुरुङ र आर्यहरूको पुर्खा कुल वा वंश एउटै हो त ? यो हुनै नसक्ने कुरा हो । एउटै गोत्र हुनु भनेको एउटै कुल वा वंश वा पुर्खाका सन्तान भन्ने कुरा त माथिका परिभाषामा प्रष्ट भइसकेको छ ।

३. तेस्रो तर्क म यहाँ राख्छु । यदि गुरुङहरूको गोत्र हुन्थ्यो भने आफ्नै मौलिक भाषामा किन भएन ? जब कि गुरुङ जातिको उत्पत्तिको मिथक अनुसार ३ पुर्खाहरू र ७ आमाहरूको आफ्नै मौलिक नाम छ, जस्तो महाज्ञानी ३ पिताहरूको नाम पहिलो करगली क्हयाला, दोस्रो आपाकर्हाबुकल्हे र तेस्रो स्यामा क्होंलु पच्यु । ७ माताहरूको नाम पनि यस प्रकार छ क्रोंरोक्रों– होंगु नायेया, सिरोंसी– होखु नायेमा, लरों ल– होंग्रु नायेमा, सरों स–होग्रु नायेमा, मुरोमु– होंग्रु नायेमा, ङिहरो ङ्हिर– होंग्रु नायेमा तथा सरों स– होंग्रु नायेमा । यिनै तीन महापुरुषहरू र सात आमाहरूको शाखा सन्तानबाट गुरुङ (तमू)हरूको सृष्टि भएको कुरा वेद (तमू) मा उल्लेख भएको पाइन्छ ।

गुरुङ जातिको आफ्नै मौलिक संस्कार र संस्कृति छ, भाषा वेशभूषा र परम्परा छ मूल्य र मान्यता छ अनि उत्पत्तिको इतिहास छ भने गोत्र चाहिँ कसरी आर्य सभ्यताअन्तर्गतको वैदिककालको ऋषिहरूको नामबाट रहन गयो त ?

भलै केही गुरुङहरू विभिन्न समय अन्तरालमा राज्यबिस्तारको क्रम वा आफ्नो जीवनयापनको क्रममा उद्गम भूमि छोडेर दुरदराजमा जान बाध्य भए र भाषा, धर्म संस्कार र संस्कृति बिर्सिए । उनीहरूमाथि जबरजस्ती लादिएको पुरातन धर्म, संस्कार संस्कृतिको परिणति हो गुरुङमा गोत्रको परम्परा । वास्तवमा गुरुङको थर नै गोत्र हो ।

यस्ता विभिन्न तर्क र कारणहरूले गर्दा र समाजशास्त्रको मेरो स्वअध्ययनले गुरुङ जातिमा गोत्रको औचित्यबारे मेरो आफ्नो धारणा मात्र हो । वास्तवमै यस विषयमा व्यापक बहस बौद्धिक छलफल र गहन अध्ययनको जरुरी छ ।

नत्र हिजोदेखि आजसम्म राज्य र शासनसत्ताले प्रारम्भिक कालबाट मौलिकताको अतिक्रमण झेल्दै इतिहासका अनेक कालखण्डमा सीमान्तकृत पारिएका सांस्कृतिकता र जनजातीयताको राग अलाप्ने हामी गुरुङ जातिलगायत आर्यहरूको गोत्र मान्ने अन्य जनजाति सुदूर भविष्यमा मौलिक अस्तित्वविहीन र पहिचानरहित नहोलान् भन्न सकिन्न ।

Continue Reading

Facebook Comment

29 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन

Published

on

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरूभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए ।

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।

Continue Reading

Banner

सुन्दरहरैँचामा बैशाख १ देखि अन्तर्राष्ट्रिय धार्मिक महोत्सव

Published

on

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित श्रीकृष्ण प्रणामी मन्दिर सलकपुर सेवा आश्रममा नयाँ वर्षसँगै बैशाख १ गतेदेखि ७ गतेसम्म अन्तर्राष्ट्रिय धार्मिक महोत्सव आयोजना हुने भएको छ।

आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार मन्दिर स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा “स्वर्ण महोत्सव”का रूपमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिनेछ।

श्रीकृष्ण प्रणामी संरक्षण सेवा समितिको आयोजनामा हुने श्रीमद्भागवत पाठ पारायण तथा श्रीकृष्णकथा साप्ताहिक ज्ञान महायज्ञका निर्देशक समितिका संयोजक रामप्रसाद गजुरेलका अनुसार महोत्सवमा देश–विदेशबाट हजारौँ भक्तजन, सन्त–महात्मा, धर्माचार्य तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

महोत्सवमा १०८ श्रीमत तारतम सागर पाठ पारायण, वाणी चर्चा, श्रीमद्भागवत कृष्णकथा ज्ञान महायज्ञ, सन्त सम्मेलन लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछन्।

महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम रहेको छ। महोत्सव अवधिभर दैनिक पूजापाठ, योग, ध्यान, चिन्तन, भजन–कीर्तन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्।

पत्रकार सम्मेलनमा मन्दिर संरक्षण सेवा समितिका अध्यक्ष कृष्णप्रसाद वास्तोला, कार्यक्रम निर्देशक रामप्रसाद गजुरेल, सुन्दरहरैँचा नगरपालिकाका पूर्व नगर प्रमुख शिवप्रसाद ढकाल, सन्त महाराज मोहनानन्द शास्त्रीलगायतले महोत्सवले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

महोत्सव सञ्चालनका लागि करिब २ करोड १३ लाख रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको छ। साथै, महोत्सवमार्फत संस्कृत शिक्षा सञ्चालन गर्न गुरुकुल निर्माण गर्ने दीर्घकालीन लक्ष्यसमेत राखिएको प्रचारप्रसार संयोजक शरण भट्टराईले जानकारी दिए।

पत्रकार सम्मेलनको सञ्चालन मूल समारोह समितिका महासचिव युवराज पौडेलले गरेका थिए।

महायज्ञमा भागवत कथावाचन नौतनपुर धामका विख्यात कथाकार स्वामी लक्ष्मणदेवजी महाराजले गर्नेछन्। साथै, नौतनपुरी धामका जगतगुरु कृष्णमणिजी महाराज, महामंगलापुरी धाम सुरताका गादिपति सूर्यनारायण दासजी महाराज, पद्मावातिपुरी धामका परमहंस सदानन्दजी महाराजलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्त, विद्वान तथा धर्माचार्यहरूको उपस्थिति रहने जनाइएको छ।

Continue Reading

Banner

सलकपुरमा अन्तरराष्ट्रिय धार्मिक महोत्सवको तयारी, बैशाखमा आयोजना

Published

on

आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म मोरङको सुन्दरहरैंचामा रहेको कृष्ण प्रणामी मन्दिर सलकपुरमा अन्तराष्ट्रिय धार्मिक महोत्सव हुने भएको छ ।

कृष्ण प्रणामी मन्दिर सेवा आश्रमको स्वर्ण जयन्तीका अवसरमा अन्तराष्ट्रिय धार्मिक महोत्सव हुने प्रचारप्रसार उपसमितिका संयोजक शिवलाल भट्टराई (शरण)ले जानकारी दिनुभयो ।

अन्तरराष्ट्रिय धार्मिक महोत्सवमा १०८ श्रीमत तारतम सागर पाठपारायण, वाणी चर्चा, श्रीमद्भागवत कृष्णकथा ज्ञानमहायज्ञ, सन्त सम्मेलन तथा विविध धार्मिक, सांस्कृतिक कार्यक्रम आयोजना हुने बताइएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक