नेपालमा कोरोना संक्रमण लकडाउन खुलेपछि मात्र बढेको होइन । लकडाउनकै बीचम पनि निरन्तर रुपमा बढिरहेकै थियो । नेपालको हकमा हेर्ने हो भने सरकारले लकडाउन त खोल्यो तर जोखिम नियन्त्रणको लागि पूर्वतयारी पर्याप्त रुपमा गर्न सकेन । लकडाउन हुँदै पनि र खुलेपछि पनि मानिसहरूले स्वास्थ्यका मापदण्ड पालना गरेको देखिँदैन । साथै सरकारले पनि के कारणले संक्रमण बढिरहेको छ भनेर गम्भीरताका साथ खोजी गरेको पाइएन ।
कोरोनाका लक्षण नदेखिएका मानिसमा कोरोना भाइरस परीक्षण नगर्ने भनिएको भए पनि अधिकांश संक्रमित अहिले पछिल्लो समयमा लक्षणविहीन भएर पनि संक्रमित भइरहेका छन् । संक्रमितमध्ये केही व्यक्तिमा मात्र केही लक्षण देखिएको छ उनीहरुमा खोकी लाग्ने, ज्वरो आउने र अन्य साधारण खालका लक्षण देखिएका छन् ।
आत्मसन्तोषको लागि तथा सामाजिक मर्यादा राख्नको लागि पनि अहिले धेरै मानिसले आफ्नै खर्चमा नै कोरोना परीक्षण गराउन थालेका कारण परीक्षण केन्द्रहरूमा परीक्षण गराउनेको भीड बढ्न थालेको छ । आफू सुरक्षित हुनको लागि परीक्षण गराउनु राम्रो कुरा हो तर सरकारले परीक्षणका लागि जस्तो नियम बनाएको छ त्यो र अस्पतालले गर्ने व्यवहारबीच तालमेल नहुँदा परीक्षण गराउनको निम्ति समस्या पैदा भएको सेवाग्राहीहरुले बताइरहेका छन् ।
न्यून आय भएका वर्गका व्यक्तिको निःशुल्क पीसीआर परीक्षण गर्न सर्वोच्च अदालतले नेपाल सरकारको नाममा असोज २० गते अन्तरिम आदेश दिएको छ । यो सँगै अहिले जुन तरिकाले कोरोना परीक्षणको लागि होडबाजी चलिरहेको छ त्यसको लागि निम्न आय भएका व्यक्तिलाई भने केही राहतको अनुभूति भएको छ ।
दिनप्रतिदिन कोरोनाका संक्रमित बढिरहेका छन् । परीक्षण जुन गतिमा हुनुपर्ने हो सो ढङ्गमा अझैसम्म पनि हुन सकेको छैन । पीसीआर मेसिन सीमित हुँदा प्रयोगशालाहरूमा स्वाब परीक्षण समयमै हुन नसकेको देखिन्छ । पीसीआरको लागि क्षमताभन्दा दोब्बर नमूना आउन थालेपछि प्रयोगशालाहरूमा नमूनाको चाङ लाग्न थालेको छ ।
लकडाउन गरेरमात्र संक्रमण नियन्त्रणमा नआएको कुरा हामीले भोगिसकेका छौँ । सरकारले पनि संक्रमण बढ्दा निषेधाज्ञा वा लकडाउन गर्दा भइहाल्छ भन्ने सोच परिवर्तन गरिसकेको छ ।
अहिले सम्मको डेटा हेर्ने हो भने कोरोना भाइरसबाट ज्यान गुमाउनेमध्ये अधिकांश दीर्घरोगी भएको पाइएको छ । साथै कतै यात्रा नगरेका तथा बाहिरी व्यक्तिसँग सम्पर्कमा नआएका व्यक्तिमा समेत संक्रमण देखिएपछि समुदायमा संक्रमण फैलिएको पुष्टि भएको छ । संक्रमण फैलिएको त छ नै कन्ट्याक ट्रेसिङले गर्दा अझ धेरै समस्या आम मानिसमा परेको देखिएको छ । ट्रेसिङमा परेपछि मनिस आफैँ सचेत हुन्छ तर अल्पशिक्षित हाम्रो समाजका जन्नेबुझ्ने भनाउँदाले नै सामाजिक सद्भाव बिगार्न तम्सिएको देखिन्छ ।
सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरूको भीडभाड त छँदै छ । भ्रामक हल्लाको पछि लागेर समाजका ठूलाठालु आफैँ अफवाह फैलाइरहेका छन् । कतिपय मिडियाहरूले पनि सत्यतथ्य नबुझी आफ्नो समचारको ट्रेण्डिङको होडबाजीको पछि लागेर झुटा समाचारहरू सम्प्रेषण गरिरहेका छन् । कोरोना नियन्त्रणका साथै सामाजिक सञ्जालको क्रियाकलापतिर पनि सरकारले निगरानी राख्नुपर्ने अवस्था आएको छ ।
नेपाल सरकारले कोभिड १९ संक्रमितको व्यक्तिगत जानकारी गोप्य राखेको छ, तर पनि पछिलो समयमा संक्रमित आफैँले आफू संक्रमित भएकाले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई सजग रहन सुझाव दिन थालेको देखिएको छ । यसले झनै मानिसमा भय फैलाएको छ ।
राजनीतिक दलहरूमा भने यो विपत्को समयमा पनि आफ्नो संगठनमा कसरी कार्यकर्ता प्रवेश गराउन सकिन्छ भन्ने होडबाजी देखिएको छ । यो समयलाई धेरै मानिसले आफ्नो दुनो सोझ्याउने एउटा अवसरको रुपमा लिएको देखिएको छ । अझै पनि समय छ, यो सङ्कटको बेलामा निजी क्षेत्र, राजनीतिक दल लगायत सम्पूर्ण क्षेत्रलाई पनि समेटेर न्यूनतम् सामाजिक उत्तरदायित्व वहन गराउनुपर्ने आवश्यकता देखिएको छ । सार्वजनिक स्थानमा तथा विभिन्न सभा समारोहमा गरिने मीठा भाषण र सम्बोधन अब व्यावहारिक रुपमा लागू गर्न जरुरी भएको छ ।
You must be logged in to post a comment Login