Connect with us
Advertisement

धन्न ! मेरो लापरबाही मृत्यु बनेन

Published

on

यो लेख एक कोभिड संक्रमितको आत्मस्वीकृति हो ।

म तयार छु मेरा लापरबाहीहरुलाई स्वीकार गर्न । म संक्रमित भएँ । त्यही समयमा तपाईंसँग बनेका र भत्केका सम्बन्धहरु छन्, जसले कतै मल्हम लगाए, कतै भतभती पोले ।

संक्रमित भएको सातौँ दिन पहिलोचोटी म रोएँ । अस्पतालको गेटमा थ्याच्चै बसेर रोएँ । बेड खाली नभए पनि भुइँमै सुताएर अक्सिजन दिन अनुनय गर्दै रोएँ ।

त्यो दिन, २५ वैशाख साँझ । मेरो ‘अक्सिन लेभल’ अचानक कम भयो । म आत्तिएँ । अनि अस्पतालतिर दगुरेँ । नेपाल-कोरिया मैत्री अस्पताल, भक्तपुर । नजिक त्यही थियो ।

तर, मैले बेसहारा अनुभव गरेँ ।

संकटले चौतर्फी कक्रक्क पारेका बेला बाँच्छु कि भन्ने आशामा दुई प्रकारका व्यक्तिलाई सम्झिइँदो रहेछ, दलका नेता र हाकिम । नेता चिनेकै थिएनन् । जागिरबाट पनि केही दिनअघि मात्र राजीनामा दिएको थिएँ । अनि त अस्पतालको गेटमा बसेर रुन मात्र सकेँ । ममात्र रोइनँ, सँगै गएकी श्रीमतीलाई पनि रुवाएँ ।

एकजना आफन्तले धुलिखेल अस्पतालमा बेड खाली भएको जानकारी दिए । राति १० बजिसकेको थियो । न ट्याक्सी, न एम्बुलेन्स । हामी स्कुटरमा लाग्यौँ, धुलिखेलतिर । म बाँच्न चाहन्थेँ र श्रीमती बचाउन । यस्तो लाग्यो, यो गोल-भूगोलमा हाम्रा लागि हामी दुईमात्र थियौँ ।

मूलसडकमा निस्किनेबित्तिकै टिप्परहरुको अनियन्त्रित गतिले अत्यायो । तैपनि अगाडि बढिरह्यौँ । जब सूर्यविनायक कटेर दुई लेन सडकबाट बढ्न थाल्यौँ, हामीले टिप्परसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था भयो । श्रीमतीले सडकको छेउतिर स्कुटर रोकिन् । ‘निषेधाज्ञा’ मा पनि ‘टिप्पर आतंक’ लाई निषेध नगरेकोमा मैले बिरामी अवस्थामा पहिलोपटक सरकारलाई गाली दिएँ । त्यो गाली त्यतै हावामा बिलायो ।

हामी १० मिनेट सडक किनारमै बस्यौँ । म जाडोले काँप्न थालेँ । आँसु झरिरह्यो । अनि धुलिखेल अस्पताल पुग्ने चाहना त्यागेर घर फर्कियौँ ।

तपाईंलाई लाग्ला, मृत्युसँग जुध्न हिँडेको मानिस पनि अस्पताल नगई फर्किन्छ ? ‘कोरोनाबाट त भोलिसम्म बाचौँला, टिप्परले अहिले नै सकाउँछ’ मैले श्रीमतीलाई भनेको वाक्य यही थियो । जंगलको त्यो लम्बेतान बाटो । अनि लगलग काँपेको ज्यान । घरको ओछ्यान छाडेर ‘मृत्युमार्ग’मा अघि बढ्नै कहाँ सकियो र ? टिप्परले बाटोमै अचार बनाउँछन् कि भन्ने अत्याससामु बरु घरमै गएर पो बाँच्न सकिन्छ कि ! भन्ने लाग्यो ।

मलाई थाहा छ, अहिले यो सबै सम्झेर म यति भावुक हुन जरुरी छैन । पाठकलाई ‘मेरा आँसु महान्’ भन्न जरुरी छैन । तर, यी आँसुमात्र होइनन्, सम्बन्धहरु पनि हुन् ।

भनिसकेँ, यो लेख आत्मस्वीकृति हो । त्यसका लागि अलिकति भूमिका बाँध्न दिनुहोस् ।

म संक्रमित यसकारण भएको थिएँ कि मैले मान्नुपर्ने स्वास्थ्य मापदण्ड मानिनँ । सरकारले म र मजस्तै नागरिकको ज्यानको सुरक्षाका लागि मापदण्ड मान्न भनेको थियो । म उल्टै सरकारलाई उडाउँदै हिडेँ । महामारीको महासंकटमा म ‘घुमघाम’ गर्दै थिएँ । खप्तडसम्मै पुग्ने योजनामा म काठमाडौंबाट निस्किएको थिएँ ।

यो शहरमा त्यस्ता मजदुर पनि बस्छन्, जसलाई लकडाउनमा राख्न सकिँदैन । खानका लागि हरेक दिन पसिना बगाउनुपर्छ । ढाडमा पुलिसका लाठीका डाम सहेर पनि काममा जानुपर्छ । तर, मैले लकडाउनलाई मजाक बनाएको थिएँ ।

दाङ नकटेको मेरा लागि खप्तड ‘दूर’ थियो । कवि केवल बिनाबीले भनेको थियो, ‘भाइको बिहे छ । बझाङ जाउँ ।’

यो बेला जानु हुन्छ कि हुँदैन ? मैले ठ्याम्मै विचारै नगरेको त होइन । तर ‘मलाई केही हुँदैन’ भन्ने अतिआत्मविश्वास भयो । ‘जाउँ कि नजाउँ’ भन्ने मनको द्वन्द्वमा ‘जाउँ न त’ भन्ने पक्ष हावी भयो ।

म जाने भएँ ।

११ वैशाखमा काठमाडौँबाट धनगढी र धनगढीबाट चैनपुर जहाजबाट एकै दिन पुग्यौँ । सोचेँ–कोरोनासँग लसपस भएन ।

अझ, १२ वैशाखमा त्यहाँको प्रसिद्ध चैतली मेला भर्‍यौँ । मेलामा लाग्ने भीड रोक्न प्रहरीले नाका थुनेको थियो । विभिन्न ठाउँ र भारतबाट आउनेहरुलाई पस्न दिएको थिएन । हामी भने ‘मस्टो नाच्ने’ पाटनमा मजाले नाच्यौँ । यो लापरबाही थियो । तर, हामीलाई लापरबाही लागेको थिएन ।

No description available.

त्यसपछि पनि हामी संक्रमित भएका थिएनौँ ।

बझाङ फेरि कहिले पुगिन्छ वा पुग्दै पुगिँदैन, थाहा थिएन । सम्झनामा जयपृथ्वीबहादुर सिंह छँदै थिए । उनले भाइका लागि छाडेको ‘कोट’ घुम्यौँ । त्यहाँको इतिहास खोतल्नतिर लाग्यौँ । स्थानीयबासिन्दालाई भेट्यौँ, कुरा गर्यौँ । कथित उपल्लो जातिले बताउने र दलित समुदायले भन्ने इतिहास फरक थियो । शासकहरुले जात झारिदिएर गरेको अत्याचारका कथा मार्मिक थिए । त्यो इतिहास मैले अझै कतै पढेको छैन । यी घटना सुनेपछि मलाई बझाङ पुगेकोमा कुनै विस्मात भएन । बरु यसबारे केही लेख्ने योजना मनमनै बुन्दै थिएँ । लेखनका प्लटहरु मिलाउनतिर लागेको थिएँ ।

यता काठमाडौँ आतंकित हुन थालिसकेको थियो । १६ वैशाखबाट काठमाडौँमा ‘निषेधाज्ञा’ शुरु हुने भयो । आन्तरिक उडान रोकिएको थिएन । कवि बिनाबी मलाई खप्तड पुर्‍याउन अझै प्रतिबद्ध थियो । मलाई भने अत्यास लाग्न थालिसकेको थियो । गाडी बन्द भयो र प्लेन पनि चलेन भने कसरी घर फर्किने ? त्यसले आतेस बढाएको थियो ।

हामीले फर्किने निधो गर्यौँ ।

१७ वैशाख बिहानै काठमाडौँका लागि निस्कियौँ । तर, अन्तिम रात जुन कोठामा बितायौँ, हामी त संक्रमितसँग अंगालो मारेर सुत्न पुगेछौँ । हामी संक्रमित भइसकेछौँ ।

त्यही दिन चैनपुर-धनगढी र धनगढी-काठमाडौँ जहाजको टिकट थियो । तर, पहाडी जिल्लाको विवशता । यात्रु नपुगेको भनेर धनगढीबाट चैनपुर प्लेन उडेन । चैनपुरमा पनि ‘लकडाउन’ शुरु भयो । अब भने फसादमा फसियो ।

‘भोलासम्म रुकौँ, बाज्या पनि झान्या हुन्’, मूलसडकको होटलमा मूलढोका थुनेर हामीलाई खाजा खुवाइरहेको होटलवाला भाइले भन्यो । तर, भोलिपल्ट पनि जहाज चल्ने निश्चित थिएन ।

भर्खरै एउटा बसले धनगढीबाट विद्यार्थी ल्याएर चैनपुर छाडेको रहेछ । रातभरि यात्रा गरेको बस बास नबसी तुरुन्तै धनगढी फर्कँदै रहेछ । त्यही होटलको भाइले खबर दियो । हामीले बस भेट्न ‘पिक–अप’ भ्यानलाई दौडायौँ । झन्डै २० किलोमिटर आएपछि बस पक्रियौँ । रित्तै रहेछ ।

भोलिपल्ट धनगढीबाट जहाज चढेर काठमाडौँ झर्‍यौँ । युद्ध जितेको महसुस भइरहेको थियो । तर, हामीले हारिसकेका थिएछौँ ।

१९ गतेबाट जिउ बेस्सरी दुख्न थाल्यो । भोलिपल्टबाट ज्वरो पनि थपियो । पर्सिपल्ट गरेको पीसीआरले ‘पोजिटिभ’ देखायो ।

यहीबीचमा मैले अर्को लापरबाही गरिसकेको थिएँ ।

घर फर्किएपछि म ‘क्वारेन्टिन’मा त बसेँ, तर त्यो नाम मात्रको भयो । मैले छोरालाई माया गरेँ । श्रीमतीलाई अँगालो हालेँ । म अबुझ भएँ । भनौं हेलचक्र्याइँ गरेँ ।

जब लक्षण देखिन थाल्यो, बल्ल पो चेत खुल्यो । ढोका थुनेर बस्न थालेँ । योबीच मन भुलाउन कामलाई जारी राखेँ । कार्यालयमा र अरु कसैलाई पनि जानकारी गराइनँ । यसलाई जितिहाल्छु भन्ने थियो ।

No description available.

जब चौथो दिनदेखि म अडिन सक्न छाडेँ, बल्ल संक्रमित भएको जानकारी गराएँ । पाचौँ दिन सम्पादकबाट कामबारे सोधखोज भयो । मैले कामबारे होइन, संक्रमणबारे बताएँ ।

अब हरेक दिन बुवा र आमा ढोका खोल्दै मेरो हालखबर सोध्न थाल्नुभयो । ‘ढोका नखोल्नू’ भन्ने मेरो आग्रह मान्दै मान्नुभएन । अनि त परिवारै संक्रमणको चपेटामा परिहाल्यो । पहिला आमा, त्यसपछि बुवा ।

बुवालाई त्यति गाह्रो थिएन । हरेक दिन ढोकाबाट आशालाग्दा आँखाले मलाई हेर्नुहुन्थ्यो । म अँध्यारो अनुहारले उहाँलाई हेर्थेँ ।

पाचौँ दिन म निकै कमजोर भइसकेको थिएँ । त्यो दिन मैले अन्तिम लेखन गरिरहेको पुस्तक (गैरआख्यान) को याद आयो । ‘म मरिगएँ भने मेरो पुस्तक छापिएला ?’ यस्तो पनि सोच आयो । अनि केही साथीका चित्र मष्तिस्कमा घुमे । शरीर कमजोर भएको बेला भावुक बन्न ठूलो विषय चाहिँदोरहेनछ । पातमात्र हल्लिने हावाले पनि मनमा आँधी मच्चाउँदो रहेछ ।

छैटौँ दिन लगातारजस्तो ती मान्छेहरु याद आइरहे, जसलाई म खूब मान गर्थेँ । उनीहरुबारे कहिल्यै गलत सोचिनँ । आफ्नो आदर्श मानिरहेँ । तर, ती मान्छे मेरो संसारबाट बेपत्ता थिए । फेसबुकका कमेन्टमा, म्यासेन्जर बक्समा, मोबाइलको ‘इनकमिङ कल’मा र म्यासेज बक्समा उनीहरुको नाम खोजिरहें । कतै देखिएनन् । उनीहरुलाई सम्झिएर म पहिलोपटक भावुक भएँछु । सम्बन्धको भ्रम यसरी पनि च्यातिँदो रहेछ । अब फेरि उनीहरुलाई सम्झेर म कहिल्यै भावुक हुने छैन । यस्तो प्रण पनि गरेँ ।

सोचाइ अनेकौं आउँदा रहेछन् ।

योबीच हौसला दिइरहने केही सहकर्मी, सम्पादक र वरिष्ठ साहित्यकारहरु साह्रै आत्मीय लागे । जसले एकपटक मात्र भए पनि जिन्दगीको उज्यालो कामना गरे ।

सातौँ दिन हो, जुन दिन म पहिलोपटक अस्पतालको ढोकामा पुगेर फर्किएको । रुँदै फर्किएको । निराश भएर फर्किएको ।

आठौँ दिन फेरि अस्पताल पुगेँ, भक्तपुर अस्पताल । त्यहाँ भर्ना हुन मैले सीडीओको भनसुन गराउनुपरेको थियो । कस्तो बाध्यता ! कस्तो बिडम्बना !

म उच्च रक्तचापको औषधि खाइरहेको मान्छे । रक्तचाप स्वाट्टै घट्यो । दिनभरि अस्पतालमा थिएँ । नियन्त्रण भएको थिएन । साँझ अर्का बिरामी आइपुगे । मभन्दा गम्भीर अवस्थाका उनका लागि बेड थिएन । मेरो मानवताले उनलाई फर्काएर आफू बेडमा सुतिरहन दिएन । मैले बेड छाडिदिएँ । र घर फर्किएँ ।

तर, रोगले मेरो भावुकता बुझ्दैन थियो । नवौँ दिन घरैमा थिएँ । फेरि अक्सिजन लेभल घट्यो । म ट्याक्सीमा शहरका अस्पताल–अस्पताल घुमिरहेँ । बेड कतै पाइएन । र, भनसुन गरेपछि साँझ सामाखुसीको विनायक अस्पताल भर्ना भएँ । त्यतिबेला म बोल्न सक्ने अवस्थामा थिइनँ । दोस्रोपटक जिन्दगीको माया लागेर आयो । यसपटक रुन सकिनँ । मसँग त रुने शक्ति पनि थिएनछ ।

भोलिपल्ट अस्पतालमा अप्रत्यासित घटना भयो ।

एउटा कोठामा पाँच बेड थिए । पाँचै जनाको अवस्था समान थियो, अक्सिजन दिएर राखिएको । हामी सबैलाई पल्लाछेउको शौचालयसम्म पुगेर आउँदा श्वास बढ्थ्यो, हुरुक्कै हुने गरी । त्यो रात हाम्रो सोधखोज गर्न नर्सहरु आएनन् । उनीहरु पनि त्रासमै थिए ।

नजिकैको बेडमा बेल्जियमबाट बिदा मनाउन आएकी संक्रमित नेपाली महिला थिइन् । भोलिपल्ट बिहान उनलाई श्वास फेर्न निकै सकस भयो । उनी चिच्याउन थालिन् ।

कसैले नर्सलाई बोलाइदियो । तर, उनले एकाएक नर्सहरुलाई गाली गर्न थालिन् । एउटी नर्स आवेशमा आइन् । उनले बिरामीलाई चेतावनी दिइहालिन्, ‘तपाईं जान सक्नुहुन्छ ।’

अनि त भेला भएका सबै नर्सले बिरामीलाई अस्पतालबाट निस्कन दबाब दिन थाले । मलाई खपिनसक्नुभयो । म बिस्तारै उठेँ र बसेँ । एकछिन बोल्न सकिनँ । त्यसपछि भनें, ‘सार्वजनिक यातायातले त ठाउँमा नपुर्‍याई निस्की भन्न पाउँदैन भने राज्यसँग स्वीकृत लिएर खोलेको अस्पतालबाट तपाईं जागिर खानेहरुले निस्की भन्ने अधिकार कहाँबाट पाउनुभयो ? तपाईंहरुको जबरजस्ती रेकर्ड गरौँ ?’

उनीहरु अलि मत्थर भए । एउटीले भनिन्, ‘नर्ससँग गुनासो भए प्रशासनलाई भन्नुस् ।’

‘ठीक भन्नुभयो । तपाईंहरुले भन्ने त यसो पो हो त,’ मैले भनेँ । उनीहरु बाहिरिए । ती बिरामी भने निकैबेर बर्बराइरहिन् ।

उनको असन्तोष नाजायज थिएन । हामी बसेको अस्पताल गुणस्तरहीन लजजस्तो थियो । जहाँ शौचालय पुग्न ठूलै हिम्मत गर्नुपर्थ्यो । शौचालय प्रायः जाम भइरहन्थ्यो । फोहोर र दुर्गन्ध उस्तै । त्यतिका बिरामीको लागि एउटै शौचालय । पालो कुर्दाकुर्दै ढलिएलाझैँ हुने ।

बिरामी सुत्ने कोठामा ढोका त थियो तर, कब्जा थिएन । मेरो बेड ढोकाछेउमै थियो । हावाको अलि ठूलो झोँका चल्दा ढोका ढलेर बेडमै आइपुग्थ्यो । पाले आएर हतारहतार ठड्याउँथे । उफ्… ।

No description available.

अस्पतालमा ह्विलचेयर गुडाउने बाटो थिएन । लिफ्ट त के होस् ? कोभिडका श्वास फेर्न नसक्ने बिरामी हिँडेरै चार तलामाथि पुग्नुपर्ने । म आठ दिन बस्दा एकदिन पनि बेडको तन्ना फेरिएन । सफाइ कस्तो थियो ? भनिरहनु पर्ला र ?

अस्पताल अलि गतिलो हुँदा मात्र पनि बिरामीलाई निको हुने अलि ढाडस हुँदो हो ! तर यो सम्झने कुरामात्र थियो । यहि अस्पताल भेट्न पनि मैले कति सकस गरेको थिएँ त्यो त मलाई नै थाहा थियो । तर सत्य यो हो कि त्यही अस्पतालले ज्यान बचाइदियो । र, यो अरु सबैभन्दा ठूलो गुन थियो, तिरनसक्नुको… ।

अस्पताल बसाइका केही दिनपछि अलि सुविस्ता भएको महसुस भएपछि दिन कटाउन सामाजिक सञ्जाल चिहाउन थालें । तर तिनले मलाई सान्त्वना होइन, थप पीडा दिए ।

कसैको मृत्यु भएपछि आउने श्रद्धाञ्जलीका मालेताँती देखेर दिक्क लाग्थ्यो । सोचें, मर्ने मानिस मरि नै गयो । श्रद्धाञ्जली र समवेदना दिने भए उनका परिवारलाई फोन वा म्यासेज गरेर दिए भइगयो । यो सञ्जालमा केको रोइलो गरेको होला ? किन अत्याइरहेका होलान् संक्रमितहरुलाई ?

म अस्पतालमै हुँदा यता आमा अर्को अस्पतालमा भर्ना हुनुभयो । बुवालाई पनि बिस्तारै च्याप्दै लग्यो र निमोनिया भयो । घरमा बुबाचाहिँ आमा छोरोलाई कस्तो छ भनेर चिन्तित । म उहाँहरुलाई सम्झेर चिन्तित ।

छोरोलाई संक्रमणबाट बचाउन आफन्तको घर पुर्‍यायौँ । हामी पाँच जनाको परिवार चारतिर भयौँ । बाँकी ‘वान म्यान आर्मी’ श्रीमती थिइन् । उनको धपेडी सम्झेर पनि म भित्रभित्रै भावुक हुन्थें ।

अस्पताल बसेको एक हप्तापछि म घर फिरेँ । सुखद संयोग, त्यही दिन आमा पनि अर्को अस्पतालबाट डिस्चार्ज हुनुभयो । बुवा अझै निमोनिया र ज्वरोसँग जुधिरहनुभएको छ । १३ दिन भयो । ‘अस्पताल भर्ना गर्नु नपरोस्’ भन्ने कामनामा छौँ । छोरो आफन्तकै घरमा छ ।

हामी पुनर्मिलनको पर्खाइमा छौँ । – मकालु खबर डट कमबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कुकुरले सुँघेर पत्ता लगाएपछि धरानमा लागूऔषधसहित समातिए युवा

Published

on

धरान-१७ मा एक युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
बसका सवार रहेका यात्रुकलाई कुकुरले सुघने क्रममा नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१० का २५ वर्षीय सञ्जय राना मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तरगत चाड पर्वलक्षित सुरक्षा योजनाअनुसार परिचालन भएको प्रहरी कुकुरसहितको चेकिङ टोलीले यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गरी चेकजाँचको क्रममा उनी पक्राउ परेका हुन् ।
धरानबाट उदयपुर जाँदै गरेको को१ख ५४४० नम्बरको बसमा सवार रहेका राना मगरलाई नियन्त्रित औषधी ट्रामानिल ६०० क्याप्सुल र स्पारेष्ट ६०० चक्कीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले चाडपर्वमा लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिविधि नियन्त्रणको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोलीद्वारा संकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाइका साथ चेकजाँच गर्दै आएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो विराटनगरको टोलीले चेकजाँचको क्रममा इटहरी–६ का ३६ वर्षीय कृष्णप्रसाद प्रसाई र ३३ वर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगरसहित, भोक्राहा नरसिंह–४ का २२ वर्षीय रोस्तम अन्सारी र २२ वर्षीय इम्रान अन्सारीलाई १५० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी–१६ का २० वर्षीय अमन चौधरी र इटहरी–१७ का २० वर्षीय रञ्जित चमारलाई २ ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित र इनरुवा नगरपालिका–५ का २५ प्रेम कुमार खंग र इनरुवा–३ का २८ बर्षीय शंकरकुमार देवलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

(koshikhabar.com)

Continue Reading

Banner

आज – १२ कार्तिक २०८१ सोमवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बोलीको प्रभाव बढ्ने र नयाँ कमको थालनी पनि हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार समेत पाउनेछन् ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सफल यात्राको योग छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले पनि राम्रै फाइदा दिनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई अघि बढाउँदा राम्रो हुन्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । नयाँ कमको अवसर फेला पर्ने छन् । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम पनि सम्पन्न हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्नसक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित बनाएर काम बनाउन सकिनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्य सम्पादनमा समस्या आउला । आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला । अध्ययन अध्यापन सफल नै रहेको छ । -ज्योतिषाचार्य / वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल

Continue Reading

Banner

पहिलो ‘मिसेस पुर्बेली आइकन’ बनिन् इटहरीकि रेनुका श्रेष्ठ

Published

on

पहिलो ‘मिसेस पुर्बेली आइकन’ बनिन् इटहरीकि रेनुका श्रेष्ठ

मिसेस पुर्बेली आइकन’को बिजेता रेनुका, फर्स्ट रनरअप मुना बन्दा दिपिका बनिन् सेकेण्ड रनरअप

इटहरीकि रेनुका श्रेष्ठ बनिन् पहिलो ‘मिसेस पुर्बेली आईकन’

इटहरी/ पहिलो ‘मिसेस पुर्बेली आईकन २०२४’ को ताज इटहरीकी रेनुका श्रेष्ठले हात पारेकी छन् । इटहरीको लायन्स क्लबमा असोज १२ गते शनिबार सम्पन्न ग्राण्ड फिनालेबाट उनले बिजेताको उपाधिसँगै ट्रफी, क्राउन र नगद ५० हजार रुपैयाँका साथै अन्य पुरस्कारहरू प्राप्त गरिन् । ग्राण्ड फिनालेको प्रमुख अतिथीको रुपमा कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठ उपस्थित थिइन् ।

प्रमुख अतिथी मिना श्रेष्ठले बिजेता श्रेष्ठलाई ताज लगाइदिएकी थिइन् । साथै उनले पब्लिक च्वाईस अवार्ड समेत हात पारिन् । यस्तै झापाकी मुना बजगाई फर्स्ट रनरअप बन्न सफल भइन् । उनले मिसेस इन्टेलेक्च्युअलको सबटाईटल समेत जितिन् भने धनकुटाकी दिपिका भट्टराई सेकेन्ड रनरअप बन्न सफल भईन् । उनले मिसेस पर्सनालिटीको सबटाईटल हात पारिन् ।

यस्तै सुनसरी सदरमुकाम इनरुवाकी रुबिना श्रेष्ठले अर्गनाईजर च्वाइस अवार्ड जित्न सफल भईन् । उनले ट्रफी, क्राउनसहित इटहरीको फुडसालाबाट १० हजार रुपैयाँको फुड भौचर जितिन् भने उनले ब्युटी विथ अ पर्पस र मिसेस फ्रेन्डसिपको सबटाईटल समेत हात पारिन् । यसैगरी सुस्मा बिस्टले मिसेस फोटोजेनिकको सबटाईटल जितिन् भने सुनिता पुरीले मिसेस ट्यालेन्ट र बेस्ट वाल्कको उपाधि प्राप्त गरिन् ।

ग्राण्ड फिनालेबाट जिकिसा सापकोटाले मिसेस कन्फिडेन्ट र रेस्मा लिम्बुले मिसेस ग्लामरको सबटाईटल जितिन् । प्रतियोगिताको निर्णायक मण्डलमा जय राज रोय, मेरिना लिम्बू, कन्चन झा र नभनित राज प्रधान थिए । ग्राण्ड फिनाले कार्यक्रमको संचालन सजिना श्रेष्ठले गरेकी थिइन् भने प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठ, कोरियोग्राफर शुभेक्षा कार्की, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ, फोटो तथा भिडियोग्राफर रिकेश ब्रजाचार्य र मेकअपमा उर्बि श्रेष्ठ रहेकी थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक