Connect with us
Advertisement

धन्न ! मेरो लापरबाही मृत्यु बनेन

Published

on

यो लेख एक कोभिड संक्रमितको आत्मस्वीकृति हो ।

म तयार छु मेरा लापरबाहीहरुलाई स्वीकार गर्न । म संक्रमित भएँ । त्यही समयमा तपाईंसँग बनेका र भत्केका सम्बन्धहरु छन्, जसले कतै मल्हम लगाए, कतै भतभती पोले ।

संक्रमित भएको सातौँ दिन पहिलोचोटी म रोएँ । अस्पतालको गेटमा थ्याच्चै बसेर रोएँ । बेड खाली नभए पनि भुइँमै सुताएर अक्सिजन दिन अनुनय गर्दै रोएँ ।

त्यो दिन, २५ वैशाख साँझ । मेरो ‘अक्सिन लेभल’ अचानक कम भयो । म आत्तिएँ । अनि अस्पतालतिर दगुरेँ । नेपाल-कोरिया मैत्री अस्पताल, भक्तपुर । नजिक त्यही थियो ।

तर, मैले बेसहारा अनुभव गरेँ ।

संकटले चौतर्फी कक्रक्क पारेका बेला बाँच्छु कि भन्ने आशामा दुई प्रकारका व्यक्तिलाई सम्झिइँदो रहेछ, दलका नेता र हाकिम । नेता चिनेकै थिएनन् । जागिरबाट पनि केही दिनअघि मात्र राजीनामा दिएको थिएँ । अनि त अस्पतालको गेटमा बसेर रुन मात्र सकेँ । ममात्र रोइनँ, सँगै गएकी श्रीमतीलाई पनि रुवाएँ ।

एकजना आफन्तले धुलिखेल अस्पतालमा बेड खाली भएको जानकारी दिए । राति १० बजिसकेको थियो । न ट्याक्सी, न एम्बुलेन्स । हामी स्कुटरमा लाग्यौँ, धुलिखेलतिर । म बाँच्न चाहन्थेँ र श्रीमती बचाउन । यस्तो लाग्यो, यो गोल-भूगोलमा हाम्रा लागि हामी दुईमात्र थियौँ ।

मूलसडकमा निस्किनेबित्तिकै टिप्परहरुको अनियन्त्रित गतिले अत्यायो । तैपनि अगाडि बढिरह्यौँ । जब सूर्यविनायक कटेर दुई लेन सडकबाट बढ्न थाल्यौँ, हामीले टिप्परसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था भयो । श्रीमतीले सडकको छेउतिर स्कुटर रोकिन् । ‘निषेधाज्ञा’ मा पनि ‘टिप्पर आतंक’ लाई निषेध नगरेकोमा मैले बिरामी अवस्थामा पहिलोपटक सरकारलाई गाली दिएँ । त्यो गाली त्यतै हावामा बिलायो ।

हामी १० मिनेट सडक किनारमै बस्यौँ । म जाडोले काँप्न थालेँ । आँसु झरिरह्यो । अनि धुलिखेल अस्पताल पुग्ने चाहना त्यागेर घर फर्कियौँ ।

तपाईंलाई लाग्ला, मृत्युसँग जुध्न हिँडेको मानिस पनि अस्पताल नगई फर्किन्छ ? ‘कोरोनाबाट त भोलिसम्म बाचौँला, टिप्परले अहिले नै सकाउँछ’ मैले श्रीमतीलाई भनेको वाक्य यही थियो । जंगलको त्यो लम्बेतान बाटो । अनि लगलग काँपेको ज्यान । घरको ओछ्यान छाडेर ‘मृत्युमार्ग’मा अघि बढ्नै कहाँ सकियो र ? टिप्परले बाटोमै अचार बनाउँछन् कि भन्ने अत्याससामु बरु घरमै गएर पो बाँच्न सकिन्छ कि ! भन्ने लाग्यो ।

मलाई थाहा छ, अहिले यो सबै सम्झेर म यति भावुक हुन जरुरी छैन । पाठकलाई ‘मेरा आँसु महान्’ भन्न जरुरी छैन । तर, यी आँसुमात्र होइनन्, सम्बन्धहरु पनि हुन् ।

भनिसकेँ, यो लेख आत्मस्वीकृति हो । त्यसका लागि अलिकति भूमिका बाँध्न दिनुहोस् ।

म संक्रमित यसकारण भएको थिएँ कि मैले मान्नुपर्ने स्वास्थ्य मापदण्ड मानिनँ । सरकारले म र मजस्तै नागरिकको ज्यानको सुरक्षाका लागि मापदण्ड मान्न भनेको थियो । म उल्टै सरकारलाई उडाउँदै हिडेँ । महामारीको महासंकटमा म ‘घुमघाम’ गर्दै थिएँ । खप्तडसम्मै पुग्ने योजनामा म काठमाडौंबाट निस्किएको थिएँ ।

यो शहरमा त्यस्ता मजदुर पनि बस्छन्, जसलाई लकडाउनमा राख्न सकिँदैन । खानका लागि हरेक दिन पसिना बगाउनुपर्छ । ढाडमा पुलिसका लाठीका डाम सहेर पनि काममा जानुपर्छ । तर, मैले लकडाउनलाई मजाक बनाएको थिएँ ।

दाङ नकटेको मेरा लागि खप्तड ‘दूर’ थियो । कवि केवल बिनाबीले भनेको थियो, ‘भाइको बिहे छ । बझाङ जाउँ ।’

यो बेला जानु हुन्छ कि हुँदैन ? मैले ठ्याम्मै विचारै नगरेको त होइन । तर ‘मलाई केही हुँदैन’ भन्ने अतिआत्मविश्वास भयो । ‘जाउँ कि नजाउँ’ भन्ने मनको द्वन्द्वमा ‘जाउँ न त’ भन्ने पक्ष हावी भयो ।

म जाने भएँ ।

११ वैशाखमा काठमाडौँबाट धनगढी र धनगढीबाट चैनपुर जहाजबाट एकै दिन पुग्यौँ । सोचेँ–कोरोनासँग लसपस भएन ।

अझ, १२ वैशाखमा त्यहाँको प्रसिद्ध चैतली मेला भर्‍यौँ । मेलामा लाग्ने भीड रोक्न प्रहरीले नाका थुनेको थियो । विभिन्न ठाउँ र भारतबाट आउनेहरुलाई पस्न दिएको थिएन । हामी भने ‘मस्टो नाच्ने’ पाटनमा मजाले नाच्यौँ । यो लापरबाही थियो । तर, हामीलाई लापरबाही लागेको थिएन ।

No description available.

त्यसपछि पनि हामी संक्रमित भएका थिएनौँ ।

बझाङ फेरि कहिले पुगिन्छ वा पुग्दै पुगिँदैन, थाहा थिएन । सम्झनामा जयपृथ्वीबहादुर सिंह छँदै थिए । उनले भाइका लागि छाडेको ‘कोट’ घुम्यौँ । त्यहाँको इतिहास खोतल्नतिर लाग्यौँ । स्थानीयबासिन्दालाई भेट्यौँ, कुरा गर्यौँ । कथित उपल्लो जातिले बताउने र दलित समुदायले भन्ने इतिहास फरक थियो । शासकहरुले जात झारिदिएर गरेको अत्याचारका कथा मार्मिक थिए । त्यो इतिहास मैले अझै कतै पढेको छैन । यी घटना सुनेपछि मलाई बझाङ पुगेकोमा कुनै विस्मात भएन । बरु यसबारे केही लेख्ने योजना मनमनै बुन्दै थिएँ । लेखनका प्लटहरु मिलाउनतिर लागेको थिएँ ।

यता काठमाडौँ आतंकित हुन थालिसकेको थियो । १६ वैशाखबाट काठमाडौँमा ‘निषेधाज्ञा’ शुरु हुने भयो । आन्तरिक उडान रोकिएको थिएन । कवि बिनाबी मलाई खप्तड पुर्‍याउन अझै प्रतिबद्ध थियो । मलाई भने अत्यास लाग्न थालिसकेको थियो । गाडी बन्द भयो र प्लेन पनि चलेन भने कसरी घर फर्किने ? त्यसले आतेस बढाएको थियो ।

हामीले फर्किने निधो गर्यौँ ।

१७ वैशाख बिहानै काठमाडौँका लागि निस्कियौँ । तर, अन्तिम रात जुन कोठामा बितायौँ, हामी त संक्रमितसँग अंगालो मारेर सुत्न पुगेछौँ । हामी संक्रमित भइसकेछौँ ।

त्यही दिन चैनपुर-धनगढी र धनगढी-काठमाडौँ जहाजको टिकट थियो । तर, पहाडी जिल्लाको विवशता । यात्रु नपुगेको भनेर धनगढीबाट चैनपुर प्लेन उडेन । चैनपुरमा पनि ‘लकडाउन’ शुरु भयो । अब भने फसादमा फसियो ।

‘भोलासम्म रुकौँ, बाज्या पनि झान्या हुन्’, मूलसडकको होटलमा मूलढोका थुनेर हामीलाई खाजा खुवाइरहेको होटलवाला भाइले भन्यो । तर, भोलिपल्ट पनि जहाज चल्ने निश्चित थिएन ।

भर्खरै एउटा बसले धनगढीबाट विद्यार्थी ल्याएर चैनपुर छाडेको रहेछ । रातभरि यात्रा गरेको बस बास नबसी तुरुन्तै धनगढी फर्कँदै रहेछ । त्यही होटलको भाइले खबर दियो । हामीले बस भेट्न ‘पिक–अप’ भ्यानलाई दौडायौँ । झन्डै २० किलोमिटर आएपछि बस पक्रियौँ । रित्तै रहेछ ।

भोलिपल्ट धनगढीबाट जहाज चढेर काठमाडौँ झर्‍यौँ । युद्ध जितेको महसुस भइरहेको थियो । तर, हामीले हारिसकेका थिएछौँ ।

१९ गतेबाट जिउ बेस्सरी दुख्न थाल्यो । भोलिपल्टबाट ज्वरो पनि थपियो । पर्सिपल्ट गरेको पीसीआरले ‘पोजिटिभ’ देखायो ।

यहीबीचमा मैले अर्को लापरबाही गरिसकेको थिएँ ।

घर फर्किएपछि म ‘क्वारेन्टिन’मा त बसेँ, तर त्यो नाम मात्रको भयो । मैले छोरालाई माया गरेँ । श्रीमतीलाई अँगालो हालेँ । म अबुझ भएँ । भनौं हेलचक्र्याइँ गरेँ ।

जब लक्षण देखिन थाल्यो, बल्ल पो चेत खुल्यो । ढोका थुनेर बस्न थालेँ । योबीच मन भुलाउन कामलाई जारी राखेँ । कार्यालयमा र अरु कसैलाई पनि जानकारी गराइनँ । यसलाई जितिहाल्छु भन्ने थियो ।

No description available.

जब चौथो दिनदेखि म अडिन सक्न छाडेँ, बल्ल संक्रमित भएको जानकारी गराएँ । पाचौँ दिन सम्पादकबाट कामबारे सोधखोज भयो । मैले कामबारे होइन, संक्रमणबारे बताएँ ।

अब हरेक दिन बुवा र आमा ढोका खोल्दै मेरो हालखबर सोध्न थाल्नुभयो । ‘ढोका नखोल्नू’ भन्ने मेरो आग्रह मान्दै मान्नुभएन । अनि त परिवारै संक्रमणको चपेटामा परिहाल्यो । पहिला आमा, त्यसपछि बुवा ।

बुवालाई त्यति गाह्रो थिएन । हरेक दिन ढोकाबाट आशालाग्दा आँखाले मलाई हेर्नुहुन्थ्यो । म अँध्यारो अनुहारले उहाँलाई हेर्थेँ ।

पाचौँ दिन म निकै कमजोर भइसकेको थिएँ । त्यो दिन मैले अन्तिम लेखन गरिरहेको पुस्तक (गैरआख्यान) को याद आयो । ‘म मरिगएँ भने मेरो पुस्तक छापिएला ?’ यस्तो पनि सोच आयो । अनि केही साथीका चित्र मष्तिस्कमा घुमे । शरीर कमजोर भएको बेला भावुक बन्न ठूलो विषय चाहिँदोरहेनछ । पातमात्र हल्लिने हावाले पनि मनमा आँधी मच्चाउँदो रहेछ ।

छैटौँ दिन लगातारजस्तो ती मान्छेहरु याद आइरहे, जसलाई म खूब मान गर्थेँ । उनीहरुबारे कहिल्यै गलत सोचिनँ । आफ्नो आदर्श मानिरहेँ । तर, ती मान्छे मेरो संसारबाट बेपत्ता थिए । फेसबुकका कमेन्टमा, म्यासेन्जर बक्समा, मोबाइलको ‘इनकमिङ कल’मा र म्यासेज बक्समा उनीहरुको नाम खोजिरहें । कतै देखिएनन् । उनीहरुलाई सम्झिएर म पहिलोपटक भावुक भएँछु । सम्बन्धको भ्रम यसरी पनि च्यातिँदो रहेछ । अब फेरि उनीहरुलाई सम्झेर म कहिल्यै भावुक हुने छैन । यस्तो प्रण पनि गरेँ ।

सोचाइ अनेकौं आउँदा रहेछन् ।

योबीच हौसला दिइरहने केही सहकर्मी, सम्पादक र वरिष्ठ साहित्यकारहरु साह्रै आत्मीय लागे । जसले एकपटक मात्र भए पनि जिन्दगीको उज्यालो कामना गरे ।

सातौँ दिन हो, जुन दिन म पहिलोपटक अस्पतालको ढोकामा पुगेर फर्किएको । रुँदै फर्किएको । निराश भएर फर्किएको ।

आठौँ दिन फेरि अस्पताल पुगेँ, भक्तपुर अस्पताल । त्यहाँ भर्ना हुन मैले सीडीओको भनसुन गराउनुपरेको थियो । कस्तो बाध्यता ! कस्तो बिडम्बना !

म उच्च रक्तचापको औषधि खाइरहेको मान्छे । रक्तचाप स्वाट्टै घट्यो । दिनभरि अस्पतालमा थिएँ । नियन्त्रण भएको थिएन । साँझ अर्का बिरामी आइपुगे । मभन्दा गम्भीर अवस्थाका उनका लागि बेड थिएन । मेरो मानवताले उनलाई फर्काएर आफू बेडमा सुतिरहन दिएन । मैले बेड छाडिदिएँ । र घर फर्किएँ ।

तर, रोगले मेरो भावुकता बुझ्दैन थियो । नवौँ दिन घरैमा थिएँ । फेरि अक्सिजन लेभल घट्यो । म ट्याक्सीमा शहरका अस्पताल–अस्पताल घुमिरहेँ । बेड कतै पाइएन । र, भनसुन गरेपछि साँझ सामाखुसीको विनायक अस्पताल भर्ना भएँ । त्यतिबेला म बोल्न सक्ने अवस्थामा थिइनँ । दोस्रोपटक जिन्दगीको माया लागेर आयो । यसपटक रुन सकिनँ । मसँग त रुने शक्ति पनि थिएनछ ।

भोलिपल्ट अस्पतालमा अप्रत्यासित घटना भयो ।

एउटा कोठामा पाँच बेड थिए । पाँचै जनाको अवस्था समान थियो, अक्सिजन दिएर राखिएको । हामी सबैलाई पल्लाछेउको शौचालयसम्म पुगेर आउँदा श्वास बढ्थ्यो, हुरुक्कै हुने गरी । त्यो रात हाम्रो सोधखोज गर्न नर्सहरु आएनन् । उनीहरु पनि त्रासमै थिए ।

नजिकैको बेडमा बेल्जियमबाट बिदा मनाउन आएकी संक्रमित नेपाली महिला थिइन् । भोलिपल्ट बिहान उनलाई श्वास फेर्न निकै सकस भयो । उनी चिच्याउन थालिन् ।

कसैले नर्सलाई बोलाइदियो । तर, उनले एकाएक नर्सहरुलाई गाली गर्न थालिन् । एउटी नर्स आवेशमा आइन् । उनले बिरामीलाई चेतावनी दिइहालिन्, ‘तपाईं जान सक्नुहुन्छ ।’

अनि त भेला भएका सबै नर्सले बिरामीलाई अस्पतालबाट निस्कन दबाब दिन थाले । मलाई खपिनसक्नुभयो । म बिस्तारै उठेँ र बसेँ । एकछिन बोल्न सकिनँ । त्यसपछि भनें, ‘सार्वजनिक यातायातले त ठाउँमा नपुर्‍याई निस्की भन्न पाउँदैन भने राज्यसँग स्वीकृत लिएर खोलेको अस्पतालबाट तपाईं जागिर खानेहरुले निस्की भन्ने अधिकार कहाँबाट पाउनुभयो ? तपाईंहरुको जबरजस्ती रेकर्ड गरौँ ?’

उनीहरु अलि मत्थर भए । एउटीले भनिन्, ‘नर्ससँग गुनासो भए प्रशासनलाई भन्नुस् ।’

‘ठीक भन्नुभयो । तपाईंहरुले भन्ने त यसो पो हो त,’ मैले भनेँ । उनीहरु बाहिरिए । ती बिरामी भने निकैबेर बर्बराइरहिन् ।

उनको असन्तोष नाजायज थिएन । हामी बसेको अस्पताल गुणस्तरहीन लजजस्तो थियो । जहाँ शौचालय पुग्न ठूलै हिम्मत गर्नुपर्थ्यो । शौचालय प्रायः जाम भइरहन्थ्यो । फोहोर र दुर्गन्ध उस्तै । त्यतिका बिरामीको लागि एउटै शौचालय । पालो कुर्दाकुर्दै ढलिएलाझैँ हुने ।

बिरामी सुत्ने कोठामा ढोका त थियो तर, कब्जा थिएन । मेरो बेड ढोकाछेउमै थियो । हावाको अलि ठूलो झोँका चल्दा ढोका ढलेर बेडमै आइपुग्थ्यो । पाले आएर हतारहतार ठड्याउँथे । उफ्… ।

No description available.

अस्पतालमा ह्विलचेयर गुडाउने बाटो थिएन । लिफ्ट त के होस् ? कोभिडका श्वास फेर्न नसक्ने बिरामी हिँडेरै चार तलामाथि पुग्नुपर्ने । म आठ दिन बस्दा एकदिन पनि बेडको तन्ना फेरिएन । सफाइ कस्तो थियो ? भनिरहनु पर्ला र ?

अस्पताल अलि गतिलो हुँदा मात्र पनि बिरामीलाई निको हुने अलि ढाडस हुँदो हो ! तर यो सम्झने कुरामात्र थियो । यहि अस्पताल भेट्न पनि मैले कति सकस गरेको थिएँ त्यो त मलाई नै थाहा थियो । तर सत्य यो हो कि त्यही अस्पतालले ज्यान बचाइदियो । र, यो अरु सबैभन्दा ठूलो गुन थियो, तिरनसक्नुको… ।

अस्पताल बसाइका केही दिनपछि अलि सुविस्ता भएको महसुस भएपछि दिन कटाउन सामाजिक सञ्जाल चिहाउन थालें । तर तिनले मलाई सान्त्वना होइन, थप पीडा दिए ।

कसैको मृत्यु भएपछि आउने श्रद्धाञ्जलीका मालेताँती देखेर दिक्क लाग्थ्यो । सोचें, मर्ने मानिस मरि नै गयो । श्रद्धाञ्जली र समवेदना दिने भए उनका परिवारलाई फोन वा म्यासेज गरेर दिए भइगयो । यो सञ्जालमा केको रोइलो गरेको होला ? किन अत्याइरहेका होलान् संक्रमितहरुलाई ?

म अस्पतालमै हुँदा यता आमा अर्को अस्पतालमा भर्ना हुनुभयो । बुवालाई पनि बिस्तारै च्याप्दै लग्यो र निमोनिया भयो । घरमा बुबाचाहिँ आमा छोरोलाई कस्तो छ भनेर चिन्तित । म उहाँहरुलाई सम्झेर चिन्तित ।

छोरोलाई संक्रमणबाट बचाउन आफन्तको घर पुर्‍यायौँ । हामी पाँच जनाको परिवार चारतिर भयौँ । बाँकी ‘वान म्यान आर्मी’ श्रीमती थिइन् । उनको धपेडी सम्झेर पनि म भित्रभित्रै भावुक हुन्थें ।

अस्पताल बसेको एक हप्तापछि म घर फिरेँ । सुखद संयोग, त्यही दिन आमा पनि अर्को अस्पतालबाट डिस्चार्ज हुनुभयो । बुवा अझै निमोनिया र ज्वरोसँग जुधिरहनुभएको छ । १३ दिन भयो । ‘अस्पताल भर्ना गर्नु नपरोस्’ भन्ने कामनामा छौँ । छोरो आफन्तकै घरमा छ ।

हामी पुनर्मिलनको पर्खाइमा छौँ । – मकालु खबर डट कमबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक