Connect with us
Advertisement

शालिकबाट बाँच्ने बचाउने कि विकल्प रोज्ने

Published

on

शालिक किन र के का लागि ? के शालिकहरूबाट निरन्तर बाँचिरहन सम्भव छ ? के शालिकहरूका विकल्प छैनन् ? जस्ता केही प्रश्नहरू छन् । शालिक बनाएर मृत्युपछिको जीवनको निरन्तरता खोजिने सिधा परम्परा हो । यो परम्परा कति ठीक, कति बेठीक छ भन्ने बहस हुन आवश्यक देखिन्छ । नेपालकै परिवेशमा हेर्दा वरिष्ठ नेतागण आफन्त र प्रियजनका शालिक बनाउन तल्लीन देखिएका छन् । एकजना पूर्व प्रमले आफ्नो छोराको शालिक सार्वजनिक स्थलमा बनाउँदै उद्घाटन गरेको र साथीको शालिक बनाउने काठमाडांैका मेयरका उद्घोषसम्म देखिए । उनीहरूले केवल परम्परालाई नै पिछा गरेको मान्नसम्म सकिन्छ अन्यथा लिन सकिन्नँ । किनभने अन्तरराष्ट्रिय रूपमा पनि यस्ता अभ्यास चलेकै छन् । त्यसैले यो परम्परामाथि प्रश्न गर्नुसम्म पनि मूर्खकै अभ्यास नहोला भन्न सकिन्नँ ।

मूलतः शासकहरूले शालिकबाट नै बाँच्ने उपाय गर्ने गरेका छन् । यो परम्परा नै बनेको छ । शासक बाहेककका कतिपय मानिसहरू मरेर पनि आफैँ बाच्न सक्ने भएर युगौँसम्म मरेकै छैनन् । जस्तै राष्ट्रिय विभूतिहरू, लेखकहरू मरेपछि पनि आफैँ बाँचिसकेका छन् र उनीहरूको सम्झनामा पनि शालिक बनाइएका छन् । शालिक नबनाए पनि उनीहरू बाँच्न सक्ने थिए तर पनि उनीहरूका शालिक बनाइए र मानिसले खासै अवरोध गरेको पनि पाइँदैन । अतः यी पहिलो प्रकारका मानिसका शालिक शासकीय शक्तिका आधारमा बनाइएका होइनन् । दोस्रो प्रकारका मानिसका पनि शालिक छन् जुन शक्तिका आधारमा जबरजस्त बनेका छन् र अझै यो क्रमभङ्ग भएन । उत्तर आधुनिकतावादी जस्तो लाग्ने स्वतन्त्र सम्मका नेताले पनि यो बाटो समातेको पाइयो । त्यसैले शालिकहरूलाई वर्गीकरण गरेर हेर्नुपर्ने रहेछ भन्ने देखियो ।

स्वभाविक रूपमा मानिस आफू मरेपछि पनि बाँचिरहन अनेक प्रयास गर्छ । मरेका आफन्तलाई पनि शालिक बनाउने र बचाउने कोशिश गर्छन् । अर्थात् हामी सबै एक वा अनेक तरिकाले (चन्दा र दान दातव्यबाट समेत गरीकन) बाँच्ने प्रयास गरिरहेकै हौँला । अनेक शक्तिशाली सपनाका बीच मानिस आफ्नै जीवनकालमा पनि आफ्नो शरीरको शालिक बनाउन चाहन्छन् ।

कसैले आफ्नो शालिक वा आफ्ना मानिसको शालिक सार्वजनिक ठाउँमा ठड्याउने काम गर्दछन भने त्यो गलत हुन्छ । त्यसैगरी, आफन्तले आफन्तकै शालिक बनाउनु र सार्वजनिक स्थानमा राख्नु त झनै गलत हुन पुग्छ । ती यस्ता शालिक हुन जुन केवल शक्तिका भरमा ठडिएका ‘शालिकभरका शालिक’ हुन् । ती शालिकहरूको दीर्घजीवन देखिँदैन तर शक्तिमा भएका शासकले अन्य विकल्प नदेखेर शालिक बनाउनमा नै शक्ति लगाउँछन् । शक्ति छ, पहुँच छ, धन छ, बल छ भनेर केवल शालिकबाट बाँच्न र बचाउन चाहन्छन् । अझै भन्नुपर्दा शासकहरू मृत्युपछि पनि शासन नै गर्न चाहना राख्ने रहेछन् । त्यसैले त तरवार वा हतियार वा झण्डा लिएर उभिएको शालिक बनाउन चाहन्छन् । यसले भविष्यसम्मको उनीहरूको शासकीय रवाफ र निरङ्कुशताको झल्को पाइन्छ ।

शक्तिको बलमा जबरजस्त ठडिने यस्ता दोस्रो प्रकार र दोस्रो दर्जाका शालिकबाट कताकता अति सम्मानित भएर शालिकहरूमा रहेका राष्ट्रिय विभूतिहरूको अपमान गर्दै पहिलोलाई नै गिज्याइरहेको पो हो कि भन्ने देखिन्छ । यसरी पहिलो प्रकारका शालिकलाई दोस्रो प्रकारका शालिकले दिग्भ्रमित गरिरहेको जस्तो लाग्छ । कतै ति विभूति पनि यस्तै जबरजस्त शालिकभर अर्थात् मात्र शालिकबाट बाँच्न प्रयासरत शक्तिका आफन्त नै हुन् कि भन्ने भान समेत हुन पुग्छ । यसले विभूतिका सवल पाटाहरूलाई छायाँमा पारिन्छ र दर्शक अलमलिन पुग्छन् ।

सेक्सपियरले लेखेको Not the Marble Nor the Gilded Monument भन्ने Sonnet (कविता) मा दिइएको सन्देश छ कि शालिक बनाएर मानिसलाई चीरकालसम्म जीवन्त बन्न र बनाउन सकिँदैन । उनले विकल्प पनि दिएका छन् । त्यसै गरी शक्तिशालीहरू समयान्तरमा शासकका शालिक खुम्चिँदै र घेरामा पर्दै जान्छन् । शालिक कसरी कमजोर हुन्छन र शालिक कहाँ पुग्छन् ? भन्ने कुरा कुनै समयक रोमका शक्तिशाली सम्राट जुलियस सिजरको शालिक अर्धकदको आकारमा दराजको खोपीमा छन् । उता पश्चिमा उपल्लो तहका पादरीहरुको रूचि शालिक बनाउनमा भन्दा सुनको जलप र बाशाल्ट जस्ता अमूल्य धातुबाट आफ्नो चिहान बनाउनमा रूची राख्छन भन्ने कथा र कविताहरूमा पाइन्छ । आध्यात्मिक जगतमा लागेका मानिसमा पनि मरेपछि आफ्नो चिहान कति मूल्यवान हुने भन्ने प्रतिस्पर्धा हुँदो रहेछ । यो पनि बाँच्ने नै प्रयास हो । यी शालिक र चिहान तुलना गर्दा मेरो विचारमा त शालिक भन्दा त चिहान दिगो हुने लाग्छ ।

शालिककै कुरा गरौँ । शक्तिको आडमा बनाइने दोस्रो प्रकारका शालिकहरू उद्घाटनकै समयमा मानिसका कटाक्षले नै आधा खुइलिन्छन् । तर पनि शक्तिशालीले कटाक्षको गहिराइमा खासै ध्यान दिँदैनन् । शक्ति कमजोर हुनासाथ र सत्ता उलटपुलट हुँदा शालिकहरू क्रेन र डोजर लगाएर भत्काइन्छन् र भत्किएका छन् । यस्ता शालिकलाई सानातिना आन्दोलनमा सहभागी आन्दोलनकारीले पनि पछार्ने गरेका छन् । शालिकप्रति प्रकृति पनि सकारात्मक पाइँदैन । शालिक स्थापना भएको केही समयपछि शालिक भएको स्थान र आसपासमा सफा गर्ने मानिस पनि पाइँदैनन्, रूखहरूले घेरिन्छन्, झोडीले पुरिन्छन् । प्रकृतिको घेरामा पर्दै जान्छन् शालिकहरू । निरन्तरको घामपानीले पनि शालिक केही वर्ष नपुग्दै हेर्न नसकिने गरी कुरूप हुन्छन् । निरन्तर चल्ने बतासले पनि शालिकलाई घृणा गर्दै बिस्तारै खुइल्याउँछन् । आँधी हुरीले अझै तीव्र गतिमा शालिक नष्ट गर्छन् । असली अनुहार बदलिन्छन् र शालिकको रूप बदलिएर कुरूप हुन्छन् । सकल स्वरूप कुरूप बनेर रहनु भन्दा त शालिक नै नरहनु उत्तम हुदैन र ? समय आफैँ पनि क्रुर हुन्छ । शालिक जतिसुकै महङ्गो मार्वल र सुनबाट बनाए पनि खिया लाग्छन्, मकिन्छन्, भत्किन्छन् र बेसाहारा भई जमिन र सडकमा डङरङ्ग लड्छन् । त्यसपछि त शालिकका रूपमा रहेका मानिसका शरीर माथि मानिसमात्र होइन पशुहरूबाट समेत अनेक प्रकारका दुर्व्यवहार हुन पुग्छ । त्यो दृश्य बडो नरमाइलो हुन्छ । अन्ततः ढलेका र चिथोरिएका शालिकहरू पत्रकार र लेखकको निशानामा हुन्छन् र नराम्रा चित्रसहित पाठकसमक्ष पुग्छन् ।

शक्ति परिवर्तनका कारण राजा महाराजाका शालिक र मन्दिर समेत भत्किएका देखेका र सुनेका छौँ । शालिक आफैँले कुनै प्रसिद्धि पनि त दिँदैनन् । अर्कोतर्फ, जो प्रसिद्ध छन् उनीहरू शालिकबाट भन्दा भिन्न कारणबाट प्रसिद्ध छन् । मानिसले आफन्तहरू (हजुरबा र हजुरआमाको) को शालिक बनाएर आफ्नै घर आँगनमा पनि राखेका देखिएका छन तर उनीहरूले पनि शालिकमा देखिने ती मरेका आफन्तलाई पुस्तान्तरणका भिन्नताले होला खासै गतिलो गरी रेखदेख गर्न सकेका छैनन् ।

अब विकल्प हेरौँ । शालिकको विकल्प छैन ? शालिकको विकल्प छ । तर सजिलो छैन । कसैलाई मरेपछि पनि बचाएर राख्ने र बाँच्ने दृढ इच्छा र विचार छ भने नजिकका नातेदार (छोरा, छोरी, आमा, बा, दिदी, दाजु, भाइ, बहिनी, श्रीमती वा प्रेमी वा साथीभाइ वा चेलाहरू) ले मृतकको नाम र सम्झनामा राम्रो पुस्तक, कविता, नाटक, उपन्यास वा कथा लेखेर प्रकाशन गरिदिनु राम्रो हुन्छ । ऊ आफैँले त्यो काम गरे त झनै राम्रो । मार्मिक कहानी बोकेको पुस्तक भविष्यमा पनि अवश्य पढिनेछ र जति पटक पढिनेछ उति नै पटक लेखक र पात्रहरूको सम्झना हुनेछ तब लेखक र पात्र दुवै बाँच्नेछन् ।

थाहै छ मोटे कार्की कथाकै पात्र भए पनि बाँचेकै छ । अझ गतिलो उदाहरणका लागि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनलाई लिन सकिन्छ । जति पटक ‘मुना मदन’ पढिन्छ उति नै पटक लेखक ‘लक्ष्मीप्रसाद’ पढिन्छ र जतिपटक त्यो पुस्तक पाठकबाट पढिन्छ उति नै पटक पात्रहरू ‘मुना’ र ‘मदन’ पनि पढिन्छन् र उनीहरूको सम्झना हुन्छ । त्यसैगरी अनेकौँ लक्ष्मीप्रसाद, मुना, र मदनहरू पाठकहरूमाझ बाँचिरहेका हुन्छन् ।

अझ रोचक यथार्थ त के छ भने प्रकाशित कृतिहरू कुनै पनि बाढी, हुरी, पहिरो, भूकम्प र सत्ता पलटले समाप्त गर्न सक्दैनन् । पुस्तकालय नै जले पनि बाँचिरहन्छन् । अतः युगौँयुगसम्म पनि लेखक र पात्र दुवै जीवन्त रहन सक्छन् । जुन युगसम्म पुस्तकहरूको अस्तित्व रहन्छ अर्थात् जुन बेलासम्म मानिसले पुस्तक र कृतिहरू पढ्छन त्यो युगसम्म लेखक र पात्रहरू बाँच्न सक्छन् । अर्थात पुस्तकजस्ता कृतिको अस्तित्व पुरै ब्रह्माण्डकै महाप्रलय नहुँदासम्म रहनेछ तब कृति बाँच्दा लेखक र पात्र बाँचिरहेका हुन्छन् । त्यसैले शालिकको विकल्प खोजौँ । – दैनिक नेपाल डट कमबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक