विचार
शालिकबाट बाँच्ने बचाउने कि विकल्प रोज्ने
शालिक किन र के का लागि ? के शालिकहरूबाट निरन्तर बाँचिरहन सम्भव छ ? के शालिकहरूका विकल्प छैनन् ? जस्ता केही प्रश्नहरू छन् । शालिक बनाएर मृत्युपछिको जीवनको निरन्तरता खोजिने सिधा परम्परा हो । यो परम्परा कति ठीक, कति बेठीक छ भन्ने बहस हुन आवश्यक देखिन्छ । नेपालकै परिवेशमा हेर्दा वरिष्ठ नेतागण आफन्त र प्रियजनका शालिक बनाउन तल्लीन देखिएका छन् । एकजना पूर्व प्रमले आफ्नो छोराको शालिक सार्वजनिक स्थलमा बनाउँदै उद्घाटन गरेको र साथीको शालिक बनाउने काठमाडांैका मेयरका उद्घोषसम्म देखिए । उनीहरूले केवल परम्परालाई नै पिछा गरेको मान्नसम्म सकिन्छ अन्यथा लिन सकिन्नँ । किनभने अन्तरराष्ट्रिय रूपमा पनि यस्ता अभ्यास चलेकै छन् । त्यसैले यो परम्परामाथि प्रश्न गर्नुसम्म पनि मूर्खकै अभ्यास नहोला भन्न सकिन्नँ ।
मूलतः शासकहरूले शालिकबाट नै बाँच्ने उपाय गर्ने गरेका छन् । यो परम्परा नै बनेको छ । शासक बाहेककका कतिपय मानिसहरू मरेर पनि आफैँ बाच्न सक्ने भएर युगौँसम्म मरेकै छैनन् । जस्तै राष्ट्रिय विभूतिहरू, लेखकहरू मरेपछि पनि आफैँ बाँचिसकेका छन् र उनीहरूको सम्झनामा पनि शालिक बनाइएका छन् । शालिक नबनाए पनि उनीहरू बाँच्न सक्ने थिए तर पनि उनीहरूका शालिक बनाइए र मानिसले खासै अवरोध गरेको पनि पाइँदैन । अतः यी पहिलो प्रकारका मानिसका शालिक शासकीय शक्तिका आधारमा बनाइएका होइनन् । दोस्रो प्रकारका मानिसका पनि शालिक छन् जुन शक्तिका आधारमा जबरजस्त बनेका छन् र अझै यो क्रमभङ्ग भएन । उत्तर आधुनिकतावादी जस्तो लाग्ने स्वतन्त्र सम्मका नेताले पनि यो बाटो समातेको पाइयो । त्यसैले शालिकहरूलाई वर्गीकरण गरेर हेर्नुपर्ने रहेछ भन्ने देखियो ।
स्वभाविक रूपमा मानिस आफू मरेपछि पनि बाँचिरहन अनेक प्रयास गर्छ । मरेका आफन्तलाई पनि शालिक बनाउने र बचाउने कोशिश गर्छन् । अर्थात् हामी सबै एक वा अनेक तरिकाले (चन्दा र दान दातव्यबाट समेत गरीकन) बाँच्ने प्रयास गरिरहेकै हौँला । अनेक शक्तिशाली सपनाका बीच मानिस आफ्नै जीवनकालमा पनि आफ्नो शरीरको शालिक बनाउन चाहन्छन् ।
कसैले आफ्नो शालिक वा आफ्ना मानिसको शालिक सार्वजनिक ठाउँमा ठड्याउने काम गर्दछन भने त्यो गलत हुन्छ । त्यसैगरी, आफन्तले आफन्तकै शालिक बनाउनु र सार्वजनिक स्थानमा राख्नु त झनै गलत हुन पुग्छ । ती यस्ता शालिक हुन जुन केवल शक्तिका भरमा ठडिएका ‘शालिकभरका शालिक’ हुन् । ती शालिकहरूको दीर्घजीवन देखिँदैन तर शक्तिमा भएका शासकले अन्य विकल्प नदेखेर शालिक बनाउनमा नै शक्ति लगाउँछन् । शक्ति छ, पहुँच छ, धन छ, बल छ भनेर केवल शालिकबाट बाँच्न र बचाउन चाहन्छन् । अझै भन्नुपर्दा शासकहरू मृत्युपछि पनि शासन नै गर्न चाहना राख्ने रहेछन् । त्यसैले त तरवार वा हतियार वा झण्डा लिएर उभिएको शालिक बनाउन चाहन्छन् । यसले भविष्यसम्मको उनीहरूको शासकीय रवाफ र निरङ्कुशताको झल्को पाइन्छ ।
शक्तिको बलमा जबरजस्त ठडिने यस्ता दोस्रो प्रकार र दोस्रो दर्जाका शालिकबाट कताकता अति सम्मानित भएर शालिकहरूमा रहेका राष्ट्रिय विभूतिहरूको अपमान गर्दै पहिलोलाई नै गिज्याइरहेको पो हो कि भन्ने देखिन्छ । यसरी पहिलो प्रकारका शालिकलाई दोस्रो प्रकारका शालिकले दिग्भ्रमित गरिरहेको जस्तो लाग्छ । कतै ति विभूति पनि यस्तै जबरजस्त शालिकभर अर्थात् मात्र शालिकबाट बाँच्न प्रयासरत शक्तिका आफन्त नै हुन् कि भन्ने भान समेत हुन पुग्छ । यसले विभूतिका सवल पाटाहरूलाई छायाँमा पारिन्छ र दर्शक अलमलिन पुग्छन् ।
सेक्सपियरले लेखेको Not the Marble Nor the Gilded Monument भन्ने Sonnet (कविता) मा दिइएको सन्देश छ कि शालिक बनाएर मानिसलाई चीरकालसम्म जीवन्त बन्न र बनाउन सकिँदैन । उनले विकल्प पनि दिएका छन् । त्यसै गरी शक्तिशालीहरू समयान्तरमा शासकका शालिक खुम्चिँदै र घेरामा पर्दै जान्छन् । शालिक कसरी कमजोर हुन्छन र शालिक कहाँ पुग्छन् ? भन्ने कुरा कुनै समयक रोमका शक्तिशाली सम्राट जुलियस सिजरको शालिक अर्धकदको आकारमा दराजको खोपीमा छन् । उता पश्चिमा उपल्लो तहका पादरीहरुको रूचि शालिक बनाउनमा भन्दा सुनको जलप र बाशाल्ट जस्ता अमूल्य धातुबाट आफ्नो चिहान बनाउनमा रूची राख्छन भन्ने कथा र कविताहरूमा पाइन्छ । आध्यात्मिक जगतमा लागेका मानिसमा पनि मरेपछि आफ्नो चिहान कति मूल्यवान हुने भन्ने प्रतिस्पर्धा हुँदो रहेछ । यो पनि बाँच्ने नै प्रयास हो । यी शालिक र चिहान तुलना गर्दा मेरो विचारमा त शालिक भन्दा त चिहान दिगो हुने लाग्छ ।
शालिककै कुरा गरौँ । शक्तिको आडमा बनाइने दोस्रो प्रकारका शालिकहरू उद्घाटनकै समयमा मानिसका कटाक्षले नै आधा खुइलिन्छन् । तर पनि शक्तिशालीले कटाक्षको गहिराइमा खासै ध्यान दिँदैनन् । शक्ति कमजोर हुनासाथ र सत्ता उलटपुलट हुँदा शालिकहरू क्रेन र डोजर लगाएर भत्काइन्छन् र भत्किएका छन् । यस्ता शालिकलाई सानातिना आन्दोलनमा सहभागी आन्दोलनकारीले पनि पछार्ने गरेका छन् । शालिकप्रति प्रकृति पनि सकारात्मक पाइँदैन । शालिक स्थापना भएको केही समयपछि शालिक भएको स्थान र आसपासमा सफा गर्ने मानिस पनि पाइँदैनन्, रूखहरूले घेरिन्छन्, झोडीले पुरिन्छन् । प्रकृतिको घेरामा पर्दै जान्छन् शालिकहरू । निरन्तरको घामपानीले पनि शालिक केही वर्ष नपुग्दै हेर्न नसकिने गरी कुरूप हुन्छन् । निरन्तर चल्ने बतासले पनि शालिकलाई घृणा गर्दै बिस्तारै खुइल्याउँछन् । आँधी हुरीले अझै तीव्र गतिमा शालिक नष्ट गर्छन् । असली अनुहार बदलिन्छन् र शालिकको रूप बदलिएर कुरूप हुन्छन् । सकल स्वरूप कुरूप बनेर रहनु भन्दा त शालिक नै नरहनु उत्तम हुदैन र ? समय आफैँ पनि क्रुर हुन्छ । शालिक जतिसुकै महङ्गो मार्वल र सुनबाट बनाए पनि खिया लाग्छन्, मकिन्छन्, भत्किन्छन् र बेसाहारा भई जमिन र सडकमा डङरङ्ग लड्छन् । त्यसपछि त शालिकका रूपमा रहेका मानिसका शरीर माथि मानिसमात्र होइन पशुहरूबाट समेत अनेक प्रकारका दुर्व्यवहार हुन पुग्छ । त्यो दृश्य बडो नरमाइलो हुन्छ । अन्ततः ढलेका र चिथोरिएका शालिकहरू पत्रकार र लेखकको निशानामा हुन्छन् र नराम्रा चित्रसहित पाठकसमक्ष पुग्छन् ।
शक्ति परिवर्तनका कारण राजा महाराजाका शालिक र मन्दिर समेत भत्किएका देखेका र सुनेका छौँ । शालिक आफैँले कुनै प्रसिद्धि पनि त दिँदैनन् । अर्कोतर्फ, जो प्रसिद्ध छन् उनीहरू शालिकबाट भन्दा भिन्न कारणबाट प्रसिद्ध छन् । मानिसले आफन्तहरू (हजुरबा र हजुरआमाको) को शालिक बनाएर आफ्नै घर आँगनमा पनि राखेका देखिएका छन तर उनीहरूले पनि शालिकमा देखिने ती मरेका आफन्तलाई पुस्तान्तरणका भिन्नताले होला खासै गतिलो गरी रेखदेख गर्न सकेका छैनन् ।
अब विकल्प हेरौँ । शालिकको विकल्प छैन ? शालिकको विकल्प छ । तर सजिलो छैन । कसैलाई मरेपछि पनि बचाएर राख्ने र बाँच्ने दृढ इच्छा र विचार छ भने नजिकका नातेदार (छोरा, छोरी, आमा, बा, दिदी, दाजु, भाइ, बहिनी, श्रीमती वा प्रेमी वा साथीभाइ वा चेलाहरू) ले मृतकको नाम र सम्झनामा राम्रो पुस्तक, कविता, नाटक, उपन्यास वा कथा लेखेर प्रकाशन गरिदिनु राम्रो हुन्छ । ऊ आफैँले त्यो काम गरे त झनै राम्रो । मार्मिक कहानी बोकेको पुस्तक भविष्यमा पनि अवश्य पढिनेछ र जति पटक पढिनेछ उति नै पटक लेखक र पात्रहरूको सम्झना हुनेछ तब लेखक र पात्र दुवै बाँच्नेछन् ।
थाहै छ मोटे कार्की कथाकै पात्र भए पनि बाँचेकै छ । अझ गतिलो उदाहरणका लागि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनलाई लिन सकिन्छ । जति पटक ‘मुना मदन’ पढिन्छ उति नै पटक लेखक ‘लक्ष्मीप्रसाद’ पढिन्छ र जतिपटक त्यो पुस्तक पाठकबाट पढिन्छ उति नै पटक पात्रहरू ‘मुना’ र ‘मदन’ पनि पढिन्छन् र उनीहरूको सम्झना हुन्छ । त्यसैगरी अनेकौँ लक्ष्मीप्रसाद, मुना, र मदनहरू पाठकहरूमाझ बाँचिरहेका हुन्छन् ।
अझ रोचक यथार्थ त के छ भने प्रकाशित कृतिहरू कुनै पनि बाढी, हुरी, पहिरो, भूकम्प र सत्ता पलटले समाप्त गर्न सक्दैनन् । पुस्तकालय नै जले पनि बाँचिरहन्छन् । अतः युगौँयुगसम्म पनि लेखक र पात्र दुवै जीवन्त रहन सक्छन् । जुन युगसम्म पुस्तकहरूको अस्तित्व रहन्छ अर्थात् जुन बेलासम्म मानिसले पुस्तक र कृतिहरू पढ्छन त्यो युगसम्म लेखक र पात्रहरू बाँच्न सक्छन् । अर्थात पुस्तकजस्ता कृतिको अस्तित्व पुरै ब्रह्माण्डकै महाप्रलय नहुँदासम्म रहनेछ तब कृति बाँच्दा लेखक र पात्र बाँचिरहेका हुन्छन् । त्यसैले शालिकको विकल्प खोजौँ । – दैनिक नेपाल डट कमबाट
Facebook Comment
Banner
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।
असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।
महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।
Banner
सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
शर्माले प्राप्त गरेको मतले कांग्रेसको १५औँ महाधिवेशनमा उनको राजनीतिक सक्रियता र नेतृत्वसम्बन्धी चासोलाई थप बलियो बनाएको छ। वडा अधिवेशनबाटै उनको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए।
यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा पछिल्लो समय पार्टीभित्र नेतृत्वको भूमिकामा पनि चर्चामा छन्।
शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन्। वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ।
१५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट प्राप्त ६५० मतले उनको राजनीतिक यात्राप्रति थप चासो बढाएको छ। नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने शर्मा आफूलाई जनतासँग निरन्तर जोडिने नेताका रूपमा स्थापित गर्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ।
Banner
होटल जलेर खरानी भए पनि समाजसेवा रोकिएन, दुलालले बनाए नमुना ज्येष्ठ नागरिक चौतारी
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले मौलिक नेपाली संस्कृति र धार्मिक महत्व झल्काउने ज्येष्ठ नागरिक चौतारी (फल्चा) निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।
दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण गरिएको उक्त चौतारी दुलालले आफ्नै निजी १२ धुर जग्गामा करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेका हुन्। उपत्यकाबाहिर विरलै देखिने मौलिक शैलीको चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ तथा निर्माण सामग्री ल्याइएको थियो।
इँटा र काठमा आकर्षक बुट्टा कुँदेर निर्माण गरिएको चौतारीले पुरानो नेपाली मौलिक संस्कृति र वास्तुकलाको झल्को दिन्छ। चौतारी निर्माणका क्रममा भक्तपुरमा पूजाआजा गरी देवीझोडाको माटो र मास प्रयोग गरेर इँटा जडान गरिएको दुलालले बताए।
दुलाल दम्पतीको परिकल्पनामा निर्माण भएको चौतारीको निर्माण कार्य प्रमिला दुलाल इन्द्रपुर लायन्स क्लबको अध्यक्ष रहेका बेला अघि बढाइएको थियो। निर्माण सम्पन्न भएपछि यसको मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी इन्द्रपुर लायन्स क्लबलाई दिने गरी समुदायलाई हस्तान्तरण गरिएको हो।

होटल जलेर खरानी भए पनि समाजसेवा निरन्तर
दुलालले सञ्चालन गर्दै आएको नेपालीरिका होटल गत वर्षको जेनजी आन्दोलनका क्रममा आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। होटल जलेर ठूलो क्षति व्यहोर्नुपरे पनि दुलाल परिवारले सामाजिक सेवाको अभियानलाई निरन्तरता दिएको हो।
आफ्नो व्यक्तिगत पीडाका बाबजुद दुलालले जग्गासहित करिब १ करोड रुपैयाँ बराबरको संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।
चौतारी हस्तान्तरण कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले दुलाल परिवारले देखाएको सामाजिक संस्कार र सेवाभावबाट सबैले सिक्नुपर्ने बताए।
उनले पछिल्लो समय समाजमा सामाजिक तथा नैतिक संस्कार कमजोर हुँदै गएको उल्लेख गर्दै मानवीय र नैतिक शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। दुलालले निर्माण गरेको चौतारीले नेपाली मौलिकपनलाई जीवन्त राख्नुका साथै ज्येष्ठ नागरिकबीच अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण थलोका रूपमा भूमिका खेल्ने उनको भनाइ थियो।
निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था
चौतारी परिसरमा शौचालय, खानेपानीको धारा र किचनसमेत निर्माण गरिएको छ। साथै, दुलालको आफ्नै उद्योग पीएलओ ल्युब आयल प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्समार्फत हरेक मंगलबार ज्येष्ठ नागरिकसहित समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको दुलालले जानकारी दिए।
चौतारीको संरक्षण, संवर्द्धन तथा रेखदेखको जिम्मेवारी सुन्दर नमुना टोल विकास संस्थाले लिने अध्यक्ष गोपाल दाहालले बताए। समुदायका सबै पक्षको सहकार्यमा संरचनाको संरक्षण गर्दै आगामी पुस्ताका लागि समेत उपयोगी बनाइने उनको भनाइ छ।
हस्तान्तरण कार्यक्रममा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य रूजा घिमिरे, इन्द्रपुर लायन्स क्लबका अध्यक्ष योजना शर्मा, इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेत तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीलगायतको उपस्थिति थियो।
दुलाल परिवारले विगत ३६ वर्षदेखि सुन्दरहरैँचा क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाइएको छ। व्यक्तिगत कठिनाइ र क्षतिका बीच पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहेको दुलाल परिवारको कार्यक्रममा उपस्थित अतिथिहरूले प्रशंसा गर्दै आगामी दिनमा समेत सेवाकार्यलाई निरन्तरता दिन शुभकामना दिएका थिए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login