Connect with us
Advertisement

पार तार्ने मावली

Published

on

केही समय अघि मेरो एक जना साथी राजधानीबाट आफ्नो गाउँ गएका थिए ।

गाउँ पुगेर आफन्तहरू भेट्ने क्रममा उनी धेरै सालपछि आफ्नो मावल पुगे । प्रायःगरी बाल्यकालमा मावल अथवा मामाघर सबैको लागि प्रिय ठाउँ हुन्छ । आफूलाई प्यारो लाग्ने मावल गएको कुरा उनले आफ्नी काकीलाई सुनाए । अनि काकीले भनिन्, ‘जानु त पर्छ आफ्नो मावल । सिम छ र पो समुद्र छ ।’

वास्तवमा निरन्तर बगिरहने अटुट जलाशयहरूको मूल वा मुहान सिमसार नै हो । जलको अविरल मुहान सिमसार छ र त नदीनाला छन् । नदीनाला छन् र पो समुद्र छ । मावली थियो र पो आमाको सृष्टि भयो । आमा भइन् र पो हामी छौं र संसार सृष्टिमय छ ।

सबैलाई थाहा होला मावली भनेको हामीलाई जन्म दिने आमाको माइतघर हो । आमाको उद्भवस्थल हो अथवा आमा उम्रेको मुहान हो । यसलाई हामीले कहिल्यै अवमूल्यन र अवहेलना गर्नु हँुदैन । यसको महत्व बुझेर सम्मान गर्नुपर्छ मान मर्यादा राख्नुपर्दछ । हाम्रो सृष्टिको मुहान मावली नै हो ।

गुरुङ समुदायमा एउटा प्रगाढ विश्वास यो छ कि उनीहरूलाई मृत्युपछि मोक्ष मावलीले नै दिलाउँछ । शास्त्रले पनि यसलाई स्वीकारेको छ । गुरुङ संस्कार र संस्कृतिमा मामा मात्र होइन मामालगायत हरेक नाता सम्बन्ध र साइनोको आ–आफ्नो भूमिका महत्व र आवश्यकता छ । साँच्चै ती प्रत्येक सम्बन्ध र नाताहरू मानवीय जीवनको सामाजिक पाटो चल्ने इन्द्रिय समान हुन्छन् ।

हुन त विश्वको जुनसुकै समाजमा नाता सम्बन्धहरूको आ– आफ्नो महत्व र भूमिका हुन्छ । त्यसमा पनि विशेषगरी गुरुङ समाजमा जन्मदेखि मृत्युसम्म माइती, मावली, दाजुभाइ, चेलीबेटी, ज्वाइँचेला, भान्जाभान्जी, फुपूफुपाजु आदिजस्ता हरेक सम्बन्धको आ–आफ्नै विशिष्ट भूमिकाको साथै महिमा र आवश्यकता छ । यिनै सम्बन्धहरूको परिचालनसँगै अनेकौं संस्कार र संस्कृतिहरू डोरिँदै आएको छ । यसै मार्फत संस्कार संस्कृतिहरू जीवित छन् र समाजमा जीवनहरू परिचालित छन् । त्यसमा पनि गुरुङ जातिको मृत्यु संस्कारमा मावली अत्यावश्यक छ । मावलीले दिने आस्योँ पियुरी (मृत्युपछि मृतकको छातीमा राख्ने एक माना चामल र १ मिटर कपडा ) बिना लास उठ्दैन । मावलीले दिने आस्योँ पिउरी बिना स्वर्ग पुग्न सक्दैन । आधा बाटोमै भट्किएर बस्न बाध्य हुन्छ भन्ने गहिरो जनविश्वास छ । विभिन्न कथा मिथकहरूले यस आस्थालाई जीवित राखेको छ ।

मृत्यु के हो त ?
प्राकृतिक विज्ञानको दृष्टिकोणबाट सर्सर्ती हेर्दा प्राणी शरीर एक प्राकृत संयोजन हो भने मृत्यु विघटन हो । अर्थात् मृत्यु साक्षात्कार जीवनको परम् सत्य हो । पञ्चतत्वले बनेको मानव शरीर परन्तुमा गएर त्यसैमा विलीन हुनु नै मृत्यु हो । सबैलाई थाहा छ कि मान्छे मर्नकै लागि जन्मिन्छ । तर एक दिन मृत्यु हुन्छ नै भन्ने जानेर पनि मान्छे निस्पृह भने रहन सक्दैन । किनकि मान्छे यो पृथ्वीको सर्वश्रेष्ठ प्राणी हो साथै एक चेतनशील विचारवादी र आशावादी प्राणी पनि मान्छे नै हो । जसले मृत्युतक हजारौं चेतना, विचार, धारणा र आशाहरू लिएर बाँचेको हुन्छ । यसैकारण ओशोले भनेका छन्, ‘मानव चोला जन्म र मृत्युबीचको एक पारमित कालखण्ड हो ।’

हामीलाई थाहा छ कि मर्नु त प्राणी जगतको अकाट्य नियति नै हो । कसैले चाहेर पनि कोही अजम्मरी रहन सक्तैन । यदि कुनै पनि जीव जन्तु अजम्मरी हुन्छ भने सृष्टि सन्तुलनमा रहन सक्दैन । जन्म र मृत्युको क्रम सदियौंदेखि अविरल छ र नै सारा सिस्टम सन्तुलनमा रही पृथ्वी सतत चलिरहेको छ । यदि मृत्यु रोकिएर जन्म मात्र भइरहनु हो भने अथवा जन्म रोकिएर मृत्युको क्रम मात्र चलिराख्नु हो भने यो जगतको नक्सा अर्कै हुने थियो । मृत्युसँगै जन्मको क्रम यदि नचल्नु हो भने एक दिन सृष्टि समाप्त हुनेछ । शास्वत सत्य यो हो कि जगतमा जीवन रहेसम्म मृत्यु परम्परा चलि नै रहनेछ । अर्थात् यो भन्न सकिन्छ जन्म र मृत्यु निरन्तर चल्ने एउटा गोल चक्र हो ।

जीवन दर्शनलाई विश्लेषणको मूल पाटो बनाउँदै आएका दार्शनिकहरू जन्मलाई नै मृत्युको कारण मान्दछन् भने मृत्युलाई परम पीडा ठान्दछन् । हुन पनि हो । मृत्युभन्दा गहिरो अर्को पीडा हुँदैन । यदि जन्म हुन्थेन भने कसैले मृत्युको झन्झट नै बेहोर्नुपर्ने थिएन । हुन त यो ब्रह्माण्डमा मान्छे नामको जीवको उत्पत्ति भयो र नै जन्म र मृत्युको विषयमा हुने सघन विचार विमर्श र चर्चा परिचर्चाहरूले स्थान पायो । जन्म र मृत्युका विषयमा अनेक धारणाहरू उत्पादन भए । अनेक अवधारणाको जन्म भयो ।

जसरी जन्मले सृष्टिमा स्थान पायो उसै गरी विनाशमा मृत्युले आफ्नो स्थान बनायो । यसकारण सृष्टि हुनु भनेको नै विनाशको जन्म हुनु हो । यद्यपि संसार चल्न जन्म र मृत्यु दुवै शर्त जरुरी छ । आजसम्म जन्मले जति महत्व र विशेषता पायो त्योभन्दा अधिक मृत्युले पायो । अर्थात् जन्मलाई भन्दा मृत्युलाई विशेष मानिँदै आएको छ । संसारको सबै समाज अथवा जातजाति र धर्ममा जन्मसंस्कार भन्दा मृत्युसंस्कारका धेरै विधि विधानहरू छन् । मानव समाज विकासको विभिन्न युगमध्ये प्रारम्भिक चरण अथवा पूरा पाषाण युगदेखि नै मृत्युलाई विशेष महत्वका साथ लिइएको तथ्य विभिन्न उत्खनन् तथा अनुसन्धानहरूबाट पुष्टि भएको छ ।

उसो त यो जगतबाट हजारौं प्राणी र वनस्पतिहरू सदाको लागि लोप भएर जाने क्रम त चलिरहेकै छ । प्रकृति, प्राणी र पर्यावरणको अध्ययन गर्ने अध्येताहरूले हालको पृथ्वीमा पर्यावरणको अवस्थाको विषयमा विभिन्न तथ्याङ्कहरू निकालेका छन् । उनीहरूको अध्ययनअनुसार धेरै प्रजातिका जीवजन्तु यो धर्तीबाट लोप हुँदै जाने क्रम जारी छ ।उ दाहरणको लागि डाइनोसर नामक जीव र डोडो नामक चरा लगायतका केही प्रजातिका जीव अब प्राणी जगतको केवल इतिहासमा मात्र सीमित छन् । यस्तो हुनुको मूल कारण मानव जातिले गरिरहेको आधुनिक सभ्यताको विकास र त्यसले प्राकृतिक दुनियाँमा पारेको प्रभाव नै हो ।

यसरी प्राणीहरू लोप हुने क्रम जारी रहनुमा समय, परिस्थिति र वातावरणअनुसार आफूलाई घुलमिल गराउन नसक्नु र जलवायु परिवर्तनका कारण पनि हो । साथै अर्को मूल कारण मानव जातिले गरेको आर्थिक वृद्धिको मूर्खतापूर्ण खोजी हो । जसले गर्दा अहिले धेरै प्रजातिका लाखौं जीव जन्तुहरूको अस्तित्व खतरामा छ । इकोसिस्टम बारे विशद अध्ययन र अनुसन्धान गर्ने अमेरिका, रूस र चीनलगायत १३० देशका अधिकारी सम्मिलित इन्टर गभर्नमेन्टल साइन्स पोलिसी प्ल्याटर्फम अन बायोडाइभर्सिटी एन्ड इकोसिस्टम सर्भिसेज नामक संस्थाले मे २०२१ मा तयार पारेको प्रतिवेदन अनुसार विश्वका ८० लाख प्रजातिका बोट विरुवा, चरा, कीरा फट्याङ्ग्रा र जीवजनावर मध्ये १० लाख प्रजाति छिट्टै लोप भएर जाने खतरामा छन् भने केही प्रजाति त एक दशक भित्रै लोप हुने क्रममा छन् ।

अर्को विशेष मनन् गर्नुपर्ने कुरा जलवायु परिवर्तन हो । जसको मूल कारण प्रकृतिमाथि मानवीय दबावको बढोत्तरी हो । र अर्को पक्ष ओैद्योगिक तथा भौतिक विकासका नाममा हुने विभिन्न रासायनिक वस्तुहरूको उत्पादनबाट हुने प्रतिकूल प्रभाव र तीव्र प्रदूषणले मानव अस्तित्व नै संकटमा रहेको कुरा जलवायु अभियन्ता होडा बाराक लयायत उनको टिमले दर्शाएको छ । यस्ता विविध कारणले मानव जातिको अस्तित्व अवश्य सङ्कटमा छ भनेर सबैले बुझ्नु जरुरी छ । यदि यो पृथ्वीमा मानव सभ्यताको आयु वृद्धि गराउनु छ भने यस विषयमा सबै पक्ष र निकायले समयमा विचार पुर्याउनुको विकल्प छैन ।

हामी मृत्यु विषयक छलफलमा छौं । बुद्धले भनेका छन्, ‘भौतिक जीवनबाट मुक्ति पाउनु भनेको मोक्ष पाउनु हो ।’ संसारका सबै धर्मशास्त्रले मृत्युलाई मोक्षको रुपमा स्वीकार गरेको छ । तर विभिन्न धर्मशास्त्रहरू अनुसार मृत्युले मोक्षको रुपमा कायम हुन विभिन्न चरणहरू पार गर्नु पर्दछ । अर्थात् मृत्युपछि मान्छे स्वर्ग (एक काल्पनिक लोक) पुग्न विभिन्न अवरोधहरूको सामना गर्नुपर्छ । उसलाई पार तार्न फरकफरक धर्म समुदायमा फरकफरक मृत्यु संस्कारहरू गर्ने गरिन्छ । मानव विकासको पहिलो चरण पूरा पाषाणकाल अर्थात् शिकारी सङ्कलक समाजदेखि नै मान्छेले मृत्यु संस्कार गर्ने गरेको तथ्य पत्ता लागेको छ । लिखित रुपमा प्राप्त भएका वा विभिन्न स्थानमा फेला परेका अवशेषहरूको विश्लेषण बाट पाषाण कालबाटै मृत्युलाई सघन रुपमा स्वीकार गरेको भेटियो । यसर्थ मान्छे आदिम युगदेखि नै मृत्युबारे संवेदनशील थिए र त्यसबाट मुक्ति पाउन विभिन्न मोक्षमार्गको खोजी गर्दथे भन्न सकिन्छ । यस्तै प्रयासहरूबाट विभिन्न आस्था विश्वासका साथ जोडिएर आएका अनेकौं धर्म संस्कार र संस्कृतिहरूको निर्माण सँगसँगै मृत्यु संस्कारहरूको जन्म भएको छ ।

वास्तवमा जुनसुकै धर्मशास्त्रहरूले जन्मलाई भन्दा मृत्युलाई विशेष महत्वको साथ हेर्दछ र सबै धर्मशास्त्रहरूमा भौतिक शरीर मरेर गए पनि आत्मा भने नमर्ने कुरा उल्लेख भएको पाइन्छ । यो विश्वासको निर्माण आजबाट मात्र होइन आदिम युगबाटै हुँदै आएको हो । मानव सभ्यताले आजको अवस्थामा आइपुग्न विभिन्न चरणहरू पार गरेको छ । किनकि यो स्थिर अवधारणा होइन । लेन्सकी (१९९५) ले मानव समाजको विकासको चरणलाई पाँच भागमा विभाजन गरेका छन् । यसको शुरुवाती चरण अथवा पूरापाषाण युग (एबभियष्तिजष्अ कतबनभ) देखि नै मृत्युलाई भने विशेष मान्ने गरेको र मृतकको दाहसंस्कार गर्दा उसले चलाउने हतियार समेत मृतकसँगै जमिनमा गाडिदिने जस्तो आस्थाजनित संस्कारको विकास भएको तथ्य विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ ।

अध्येताहरूको अध्ययनले बताएको छ कि आदिम युगदेखि नै मान्छेमा जन्म र मृत्युको सघन बोध थियो । त्यस युगका मानव पुनर्जन्म, ईश्वर, अलौकिक जगत, अदृश्य शक्ति अर्थात् आत्मा (पितृ) र प्रकृतिमाथि अगाध विश्वास गर्दथे । यसकारण त्यस बेलाको समाजमा पनि जन्म भन्दा मृत्युलाई विशेष रुपमा लिने गरेको तथ्य नकार्न सकिन्नँ ।

गुरुङ जातिले गर्ने गरेको कुनै पनि संस्कार गुरुङको शास्त्र ‘प्येँ ता ल्हुताँ’ बाट निर्देशित छ । जुन शास्त्र जीववाद अर्थात् (एनिमिजम्) मा आधारित छ । यसकारण गुरुङ जातिले गर्ने मृत्यु संस्कारको आफ्नै खालको मौलिक विशेषता महत्व छ र यो विज्ञानमा आधारित छ । जस्तो कि तमूहरूको पुर्खाले पृथ्वीको आकार यसको सृष्टिताकादेखि नै गोलो छ भन्ने कुरा पत्ता लगाइसकेका थिए । यसको प्रमाण स्वरुप गुरुङका विभिन्न संस्कार मध्ये प्लह खु (सातु बोलाउने अनुष्ठान) गर्ने संस्कारमा पृथ्वीको प्रतीकको रुपमा प्रयोग गरिने गोलो डल्ला (कैतु) बाटै प्रष्ट छ । जुन घिउ र भात मुछेर बनाइएको हुन्छ । यीलगायत वैज्ञानिक तथ्यमा आधारित विभिन्न आद्य विम्बहरूको प्रयोग र व्याख्या तमूको वेद ‘प्ये ताँ ल्हुताँ’मा गरिएको छ ।

मृत्यु पर्यन्त मान्छेको आत्मा कहाँ जान्छ ? कसरी जान्छ ? कोकोसँग भेट हुन्छ ? स्थायी रुपमा कहाँ रहन्छ ? मृत्यु संस्कार नगरे के हुन्छ ? र गुरुङको संस्कारले कसरी मृत्युमाथि विजय प्राप्त गर्न सिकाउँछ ? भन्ने जस्ता विषयमाथि आफ्नै आस्था र विश्वास छ । तिनलाई आधार दिने विभिन्न लिखित वा अलिखित दस्तावेजहरू छन् । आजसम्म कायम रहेका यस्ता विश्वासहरूलाई स्थापित गर्दै निरन्तर राख्न शास्त्रमा उल्लेखित वा मौखिक रुपमा हस्तान्तरित हुँदै आएका घटनाक्रम वा कथा किंवदन्तीहरूको निसन्देह महत्वपूर्ण भूमिका रहन्छ । भलै आजको वैज्ञानिक युगमा यसको कुनै औचित्य नहोला । तर वास्तवमा विभिन्न धर्मशास्त्रहरूमा उल्लेखित यस्ता कथा, कहानी तथा मौखिक रुपमा नै जीवित रहेका लोककथा, किवंदन्ती र मिथकहरूले समाजमा रहेका मानवीय सम्बन्धहरूलाई मजबुत बनाउँछ । साथै परिवार र समाजमा रहेर सम्बन्धहरूसँगै बाँच्ने कुनै पनि मान्छेलाई सही मार्ग पहिल्याउन प्रणालीकृत गर्दछ । त्यसमा पनि मान्छेले जराको महत्वलाई बिर्सिनु हुदैन भन्ने शिक्षा गुरुङको शास्त्रमा उल्लेखित च्युम्ही हुइँटोको कथामा पाइन्छ ।

च्युम्ही हुइँटोको कथा
हजारौं वर्ष पहिले क्होला सोंथर (जसलाई गुरुङ जातिको ऐतिहासिक स्थल मानिन्छ) मा क्याल्बुरुजु राजाले राज्य गर्दथे । राजा क्याल्बुरुजुको एक जना च्युम्ही हुइँटो नाम गरेको कारिन्दा थियो । जो राज्यको कर उठाउँथ्यो । कर उठाउने निश्चित समय भएपछि ऊ प्रत्येक घर कुरियामा पुगेर, गाउँगाउँ घुमेर कर उठाउने गथ्र्याे र उठाएको कर घरधुरी गन्ती गरी राजालाई बुझाउँथ्यो ।

एक पटक कर उठाउने समय आयो । ऊ कर उठाउन हिँड्यो । उसले प्रत्येक गाउँ टोल डुलेर, घरघर पुगेर कर उठायो तर आफ्नो आस्यों (मामा) लेम्कोबाट कर उठाउन सकेन । कारण उसका मामा अति गरिब थिए । उनीसँग कर बुझाउनको लागि केही थिएन । उनीहरू पिठो पिस्ने घट्टमा छोडिएको रहल पहल बटुलेको पिठोको खोले खाएर छाक टार्दै थिए । आफ्नो आस्योंको यति दयालाग्दो अवस्था देखेर उसले कर माग्न सकेन । च्युम्ही हुइँटोले राज्यको सबैसँग कर उठाएको तर आफ्नो आस्योँ (मामा) लेम्को र आङ्ङी (माइजु) टुलिस्यो बाट अति गरिबीको कारण कर उठाउन नसकेको कुरा राजालाई बतायो । यो कुरा सुनेर राजा क्याल्पुरुजु क्रोधित हँुदै भने, ‘तिम्रो आस्योँको बाट जे जसरी पनि कर लिएर आऊ । तिम्रो आस्योँले कर दिन सक्दिनँ भनेर धर पाउँदैन ।’

च्युम्ही हुइँटो डरले काँप्दै फेरि मामा माइजूको घर जान्छन् । राजाको उर्दीअनुसार जनताले जसरी पनि राज्यको कर तिर्नु पर्दछ । विचरा लाचार मामा माइजुको नाजुक स्थिति उही छ । केही परिवर्तन भएको छैन । हिजोको आजै के पो जादु हुनु र ? उनीहरूसँग कर तिर्ने केही हुँदैन । च्युम्ही हुइँटो खाली हात दरबार फिर्छन् । उनी कर नउठाई रित्तो हात फर्केको देखेर राजा रिसले झन रातो हुन्छन् र आँखा तर्दै च्युम्ही हुइँटोलाई कराउँछन् । राजाले जसरी पनि कर तिर्नुपर्ने जिद्दी गर्छन् ।

‘यदि कर तिर्न सक्दैन भने तेरो आस्योँको दाहिने हात र आङ्ङीको देब्रे स्तन काटेर ले’, राजाले क्रुर आदेश दिन्छन् । निरीह र परिस्थितिको दास च्युम्ही हुइँटो फेरी आस्योँ आङ्ङीको घरमा जान्छन् र कर तिर्न बिन्तीभाउ गर्छन् । जति बिन्ती गरे पनि केही उपाय नलागेपछि उसलाई राजाको क्रोधपूर्ण आदेशको सम्झना हुन्छ । राजाको हुकुम नमान्दा आफ्नै प्राण उड्ने डरले उसलाई समात्छ र केही उपाय नलागेपछि निर्दयतापूर्ण तरिकाले आस्योँको दाहिने हात र आङ्ङीको देब्रे स्तन छपाछप काटेर राजालाई बुझाउन लिएर जान्छ ।

यही कथा मानवशास्त्री पोलबहादुर क्रोम्छै तमूको पुस्तक ‘जनजातिभित्र तमु संस्कार र संस्कृति’ मा यदि कर बुझाउन नसके च्युम्ही हुइँटोले मामा लेम्को र माइजु टुलिस्योको क (टाउको) ङ्हये (दूध) सुँ (मुख) ल्ये (जिब्रो) यो (हात) प्ई (कुम) काटेर ल्याउनु भनी राजाले कडा आदेश जारी गरेको कुरा उल्लेख छ । यसका साथै शास्त्रमा उल्लेख गरिए अनुसार शरीरका अङ्गहरू नाम लिएर ती अङ्गहरू काटेर ल्याउनु भनिए पनि सम्बन्धित अङ्गहरू नै नभएर कठोर जरिवाना गर्नु भनेको हो भन्ने दर्शाएको पाइन्छ ।

भीषण गरिवीको मारमा परेका आफूहरूलाई आफ्नै भान्जाले कर तिर्न नसक्दा यति कठोर र क्रुर सजाय दिएकोले उनीहरू असह्य पीडाले छटपटिन्छन् । अतिशय पीडाको रापले पोलेपछि उनीहरूले भान्जालाई सत्तो सराप गर्दछन । त्यही सराप लागेर भान्जा च्युम्ही हुइँटो सिकिस्त बिरामी पर्छन् । अन्तमा त्यही बिरामले उस्को मृत्यु हुन्छ । क्होँला राज्य भरी च्हिमी हुइँटो मरेको खबर फैलिन्छ । मृत्युपछि उस्को अर्घुम –काजकिरिया ) कसरी कसले गर्ने भन्ने चर्चा चल्छ । अन्त्यमा अर्घुम त्यसै राज्यको स्योँली पच्यु (तान्त्रिक पुरोहित) ले गर्ने टुङ्गो हुन्छ । राजा क्याल्बुरुजु र स्योँली पच्युको मिलेमतोमा राजाले स्योँली पज्युद्वारा विना मावली च्युम्ही हुइँटोको अर्घुम् गराउँछन् । खासमा स्योँली पच्युको काम अर्घु गर्ने होइन । उसलाई अर्घुम गर्ने विधि विधान नै थाहा हुँदैन । स्यौंली पच्युको काम अर्घु गर्ने नभएता पनि त्यस समय राजाको डरले कसैले स्योँली पच्युको विरोध गर्न सक्दैन ।

बिस्तारै क्होला राज्यमा च्युम्ही हुइँटो र उनको पयको चर्चा सेलाउँदै जान्छ । एक दिन दुईजना खेगी (गुरु) हरू कोइबोबाट पूजा सकेर घर फर्किदै हुन्छन् । फर्किदै गर्दा बाटोमा अचम्मको कीरारुपी जीव फेला पर्छ । जुन कीरा अचम्मको आवाज निकालेर कराइरहेको हुन्छ । उक्त जीवले सास फेर्दा फ्याँफ्याँ, हप्याकहप्याक आवाज आइरहेको थियो । उसलाई सास फेर्न बहुत कष्ट परिरहेको भान हुन्थ्यो । उक्त अनौठो जीव घरी च्योच्योर च्योच्योर घरी फ्योकुर फ्योकुर गर्दै अनौठो आवाज निकालेर कराउँथ्यो ।

त्यो जीव देखेर खेगीहरूलाई बहुत जिज्ञासा जाग्यो र गुरुहरूले सोधे, ‘तिमी के हौ ? तिमी को हौ ? किन यसरी यहाँ भौतारिइरहेका छौ ?’ नभन्दै उक्त जीवले मानव बोलीमै उत्तर दियो, ‘म क्याल्वुरुजु राजाको राज्यमा कर उठाउने कारिन्दा च्युम्ही हुइँटो हुँ । आस्योँको सराप लागेर मैले असामयिक मृत्युवरण गर्नुपर्यो । मेरो अर्घुम आस्योबिना नै गरिदिएको हुनाले म स्वर्ग जान नसकी यही नरकलोकमा यस्तो रुपमा भट्किइरहेको छु । मलाई भोक लागेको छ । मैले खान पाएको छैन । मलाई प्यास लागेको छ । मैले पानी पाएको छैन । मलाई जाडो लागेको छ मैले न्यानो कपडा पाएको छैन । मलाई चारैतिरबाट डरैडरले घेरेको छ तर मैले कोही साथी पाएको छैन । उक्त अनौठो जीवको उत्तरमा अथाह पीडा थियो ।

अचम्मको कीरारुपी च्युम्ही हुइँटोको दशा देखेर खेगीहरूलाई खुब दया जाग्छ र उसको उद्दारको लागि केही गर्न सकिन्छ भनेर प्रश्न सोध्छन्, ‘हामीले तिमीलाई के सहयोग गर्न सक्छौँ त ? कसो गरेमा तिमी पार तर्छौ र स्वर्ग पुग्छौ ।’

उक्त अजीवको जीवले भन्छ, ‘आस्योँ पिउरी (मावलीले दिने चामल र कपडा) दिएर मामासहित पच्यु लौरीले मेरो अर्घुम गरेमा मैले पार पाउँथेँ । मेरो आस्योँ मबाट खुब रिसाएका छन् त्यसैले उहाँलाई मेरो भएभरको श्रीसम्पत्ति सुन पैसा दिएर फकाएर भए पनि मलाई आँस्यो दिएर मेरो अर्घुम गर्न राजी बनाउनु होला । पूरा विधिविधान सहित मेरो अर्घुम गरिदिएमा मैले यो कीराको जुनीबाट मुक्ति पाउथेँ र म स्वर्ग जान्थेँ त्यसैले यो खबर सौरेह्युलका मान्छेहरूमा पुर्याइदिनू ।’

त्यो अचम्मको कीराको यस्तो कुरा सुने पनि उक्त कीरो पक्का च्युम्ही हुइँटो नै भन्ने यकिन हुन्छ । यकिन भएपछि खेगीहरूले उसलाई सानो बाँसको ढुङ्ग्रोमा हालेर क्होँला राज्यतिर लिएर जान्छन् । क्होँलामा पुगेर यो सब कुराको बेलीबिस्तार राजासमक्ष लगाउँछन् । राजा क्याबुरुजु यो कुरा सुनेर छक्क पर्छन् । पहिले त यस्तो पनि हुन्छ र भनेर राजालाई विश्वासै लाग्दैन । खेगीहरूले प्रत्यक्ष भोगेको घटना स– प्रमाण हाजिर छ भनेर ढुङ्ग्रोमा थुनेको अनौठो जीव देखाएपछि राजाले विश्वास नगरी धर पाउँदैनन् । अन्त्यमा राजासँग भएको च्युम्ही हुइँटोको सम्पूर्ण सुनचाँदी लगायतका श्रीसम्पत्ति मामालाई दिनुपर्छ र आँस्यो पियुरी लिएर अर्घुम गर्नुपर्छ अनि मात्र च्युम्ही हुइँटो स्वर्ग जान्छ नत्र यसले पछि सबैलाई हानि गर्छ भनेर राजालाई अर्घुम गर्न राजी बनाउँछन् । त्यसपछि च्युम्ही हुइँटोको सबै श्रीसम्पत्ति झिकेर राजाले खेगीहरूलाई दिन्छन् । खेगीहरू उक्त कीराले भने जसरी सुन चाँदी लिएर आस्योँ लेम्कोको घरमा जान्छन् ।

खेगीहरूलाई च्युम्ही हुइँटोको हालत दशाबारे सारा कुरा भने र मामाले दिने आस्योँ पियुरी सहितको उसको अर्घुम गर्न अत्यन्त जरुरी भएको कुरा बताउँछन् । मामा लेम्को र माइजू टुलिस्योले पहिले भान्जा च्युम्ही हुइँटोले गरेको क्रुर कुकर्म सम्झेर खेगीहरूले भनेको काम गर्न मान्दै मान्दैनन् । माइजू टुलिस्योले त च्युम्ही हुइँटोले अझ दुःख पाओस् कुनै लोकमा वास नपाओस् भनी थप सराप दिइन् र त्यहाँबाट अन्तै कतै लागिन् । तर खेगी गुरुहरूले मामा लेम्कोलाई माइजू टुलिस्यो नभएको मौका छोपी खुब फकाउँछन् ।

‘च्युम्ही हुइँटोको जम्मै सुन, चाँदी श्रीसम्पत्ति तपाईँलाई दिने हो । यी लिनुहोस् । यी सुन चाँदी र पैसा तपार्इँ नै राख्नुहोस् । च्युम्ही हुइँटोलाई आस्योँ पियुरी सहितको अर्घु गरिदिनुहोस् ।’ खेगीहरूले लेम्को यसरी फकाए । आखिरमा भीषण गरिबीको मार खपेका लेम्कोले सुनचाँदी पैसा देखेपछि एकापट्टि भान्जा स्वर्ग जान नपाई आधा बाटोमै कीराको जुनी लिएर भट्किरहेको महाबिजोग सम्झिन्छन् भने यता भान्जा च्युम्ही हुइँटोले आफूहरूमाथि गरेको कहालीलाग्दो क्रुर अत्याचार पनि बिर्सिहाल्न सक्दैनन् । के गरौं, के नगरौं भनी मामालाई खुब द्विविधा हुन्छ ।

तर यति असह्य अत्याचार गरेकै कारण उसले आँस्यो पाएन र नरकलोकमा किीराको जुनी भएर भट्किनु परिरहेको छ । उसका लागि यो भन्दा घोर सजायँ के हुन सक्छ र ? उसको कर्मको फल उसले भोग्दैछ । उसको अपराधको लागि यत्ति सजाय नै काफी छ । यस्तै सोचे र मनमनै सम्झे उस्ले जे गरे पनि आखिर आफ्नै भान्जा हो । अब उप्रान्त उसको सारा क्रुर कर्तुतलाई माफी दिएर आस्योँ दिनु नै मामा लेम्कोले आफ्नो कर्तव्य सम्झिए । आफूसँग जे छ त्यसैले आस्योँ दिएर अर्घुम गरिदिन राजी भए । तर अत्यन्त गरीब मामा लेम्कोसँग उही घट्टमा छोडिएको रहलपहल पिठो र घट्ट पुस्ने टालो (फ्योलु) सिवाय केही हुदैन । त्यसैलाई मनैबाट आँस्यो पियुरी सम्झेर आस्योँ दिन्छन् ।

यसरी खेगीहरूको प्रयासबाट राजासँग सरसल्लाह गरी मामा लेम्कोबाट आस्योँ पियुरी लिएर पूरा विधिविधानसहित च्युम्ही हुइँटोको अर्घुम् गरिसके पछि उक्त ढुङ्ग्रो खोलेर हेर्दा त्यहाँ त्यो अचम्मको स्वरुपको कीरारुपी च्युम्ही हुइँटो हुँदैन । अन्य ठाउँ कहीँ कतै फेरि त्यस्तो जीव फेरि भेट्टाउँदैन । र सबैले च्युम्ही हुइँटो सिमी नासा (पितृलोक) पुगेको अनुमान लगाउँछन् ।
कुनै शास्त्रमा कीरारुपी च्युम्ही हुइँटोलाई जङ्गलको बाटो हिँड्दा कीराको रुपमा भेट्ने खेगीहरू नभई शिकारीहरू थिए भनिएको छ भने कुनै प्येमा (शास्त्रमा) ती मान्छेहरू खेगी वा शिकारी नभई वोनवादी लामा थिए भनिएको छ । कुनै प्येमा चाहिँ ती मान्छेहरू खेगी वा शिकारीहरू नभई गोठालाहरू थिए जो सौरे ह्युल आउँदै गर्दा उक्त कीरा भेटिएको हो भनिएको छ । पछि तिनै गोठालाहरूले लामाहरूको सहयोग मागी च्युम्ही हुइँटोको अर्घुम् गराउन सफल भएको हो भनिएको छ ।

खासमा मामा लेम्को च्युम्ही हुइँटोको मातृमूलपट्टिको जरा हो । जरासँग सम्बन्ध टुटाएर मान्छेले कुनै लोकमा स्थान पाउँदैन भन्ने उदाहरण च्युम्ही हुइँटोको कथाले बताउँछ । यो कथाले मामा मावली अथवा आमा उत्पन्न हुने वृक्षको जरा अथवा मातृ मुहानको महत्वलाई बिर्सन नहुने यस्को महत्वलाई अवमूल्यन गर्न नहुने शिक्षा प्रदान गर्दछ भने मृत्यु पछिको मार्ग निर्देश गर्ने मावली नै हुन् भन्ने गहिरो विश्वास यस शास्त्रमा उल्लेखित यस कथाले बताएको छ ।

हुन त यस्ता कथा कहानी वा घटनाहरूलाई अहिले कतिपयले मिथ्या मान्दछन्, जुन कुरा मिथ्या चाहिँ किमार्थ होइन मिथक हुन् । मिथकहरू नै हाम्रो संस्कार संस्कृति र परम्पराहरूका स्रोत हुन् । हाम्रा मूल्य मान्यताका जग हुन् । मिथकबारे मानिसका अनेक धारणा छन् । मूलभूत रूपमा मान्दा मिथक एक सांस्कृतिक रचना हो, जसले व्यक्ति समाज र समुदायहरूलाई एक आपसमा जोड्दछ । यस्तो योग अथवा समझदारी धार्मिक वा धर्मनिरपेक्ष दुवै हुन सक्छ । अर्को महत्वपुर्ण कुरा मिथकले समाजलाई सकारात्मक वा नकारात्मक जुनसुकै कोणबाट गहिरोसँग प्रभावित पारेको हुन्छ । किनभने परापूर्व कालमा भएका विशेष घटनाक्रमहरू नै उत्ताराद्र्धमा आएर अनेक संस्कृति, मिथक वा किंवदन्तीमा परिणत हुन्छन् ।
मिथकको अर्थबोध भारतीय दर्शनमा भने नवीन होइन । केही ऋषि मुनिहरूले मिथकलाई मिथ्याका रूपमा पनि बुझ्दथे । तर मिथक वा पौराणिक कथा, साहित्य, शास्त्र हाम्रा संस्कारहरूका प्राचीन धरोहर हुन्, जसले हामीलाई आफ्नो आदिम इतिहासहरूको खोज गर्ने आधार दिएका छन् । शास्त्रमा उल्लेख गरिएका, नगरिएका अनेकौँ कथाहरू, लोककथाका कथातत्व, जसमा अलौकिक पात्र, परिवेश र घटना आउँछन्, जसमाथि लोकविश्वास छ, खासमा त्यसलाई नै नयाँ अर्थमा मिथकका रूपमा व्याख्या गरिएको हो । वास्तवमा विभिन्न धर्मग्रन्थ, जनश्रुति, शास्त्र, वेद, पुराण आदिमा पाइने पौराणिक कथा कहानी तथा किंवदन्तीहरूबाट मन्थन गरिएका मिथकहरूले अनेक युग र कालखण्डहरूमा हाम्रो मानव सभ्यताहरूलाई विभिन्न तवरबाट आजसम्म निर्देशित गर्दै ल्याएको छ ।

यसैकारण ब्रिटिस मानवशास्त्री ब्रोनिस्ल मालिनोस्कीले भनेका छन्, ‘मिथक विगतको यथार्थबाट निर्माण हुन्छ र जीवित यथार्थको रुपमा हाम्रो परम्परालाई समर्थन गर्दै संस्कार संस्कृतिको रुपमा समाजमा क्रियाशील हुन्छ ।’ यही सैद्धान्तिक धरातलको जग टेकेर हेर्दा यस्ता लिखित वा अलिखित कथा वा मिथकहरू मानव जीवनको एक अभिन्न अंग हो भन्नुमा दुई मत छैन । किनकि मिथकहरू हाम्रा पूर्वजहरूको जीवनगाथा पनि हो । मानव जीवनका प्रत्येकजसो दैनिक कार्य यसै अन्तर्गत नै चल्दै आएको हुन्छ र त्यहीँबाट समाज परिचालित हुन्छ । जहाँ मनुष्यको सामाजिक मूल्य निर्भर रहेको हुन्छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा

Published

on

नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन आइतबारदेखि शुरू हुँदै गर्दा शनिबार पार्टी मुख्यालयम सानेपामा पत्रकार सम्मेलन गर्दै डा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ। हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’

शर्माले कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेकोसमेत बताएका छन् ।

शर्माको राजनीतिक यात्रा भने लामो छ । २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्।

पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ।

फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।

महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।

Continue Reading

Banner

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

Published

on

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।

असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।

महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।

Continue Reading

Banner

सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित

Published

on

सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

शर्माले प्राप्त गरेको मतले कांग्रेसको १५औँ महाधिवेशनमा उनको राजनीतिक सक्रियता र नेतृत्वसम्बन्धी चासोलाई थप बलियो बनाएको छ। वडा अधिवेशनबाटै उनको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए।

यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा पछिल्लो समय पार्टीभित्र नेतृत्वको भूमिकामा पनि चर्चामा छन्।

शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन्। वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ।

१५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट प्राप्त ६५० मतले उनको राजनीतिक यात्राप्रति थप चासो बढाएको छ। नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने शर्मा आफूलाई जनतासँग निरन्तर जोडिने नेताका रूपमा स्थापित गर्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक