Connect with us
Advertisement

के हामी नेपाल आमाका सन्तान होइनौँ ?

Published

on

नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा बीडीएस अध्ययनरत सुषमा गुरुङले तमु ल्होसार मनाउन नपाएको सरासर ४ साल भयो । सोही कलेजमा अध्ययनरत इलामकी प्रिया तामाङले बाल्यकालमा परिवारका साथ मनाएको सोनाम ल्होसारको रौनकको सम्झना मनमा सजाएरै चित्त बुझाउँछिन् ।

काठमाडौं बौद्धकी कञ्चन तामाङको परिवार सामुहिक सोनाम ल्होसार मनाउन टँुडिखेलमा वर्षेनी जान्छ । तर कञ्चन जान नपाएको ३ वर्ष भइसक्यो । काठमाडौंकै बासिन्दा भएर पनि मेडिकल विषयको पढाइले गर्दा होस्टलमा बस्न बाध्य थानकोटका सरोज महर्जन र विवेक महर्जनले सार्वजनिक बिदा नभएकाले सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको घोडेजात्राको उल्लासमय हुलमा मिसिन पाएनन् । भरतपुर मेडिकल कलेज पढ्ने जमिला खातुन दुई वर्ष अघि ईद मनाउन ३ दिनको बिदा लिएर सुनसरी आउँदा छुटेको क्लास मेकअप गर्न नसक्दा उनी ६ महिना ब्याक बस्नुप¥यो ।

नवप्रभात मावि पोखरामा कक्षा ७ मा पढ्ने कपिलवस्तुका गुल हसनले ईद मनाउन जाँदा ७ दिनको पढाइ छुटाउन बाध्य भए । त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीमा बीएस्सी नर्सिङ चौथो वर्षमा अध्ययनरत शिवानी राईले उँधौली र उँभौलीमा घर जान नपाएको ३ वर्ष भइसक्यो । सङ्खुवासभाको खाँदबारीमा रहेको सूर्य बोर्डिङ स्कुलमा पढ्ने थुनाङ शेर्पाले ग्याल्बो ल्होसार मनाउन नपाएको त वर्षाँै भयो । उनी दशैं मनाउँदैनन् न त तिहार नै मनाउँछन् । हिमाली भेकमा हिमपात शुरु हुन थाल्नाले दशैंतिहारको लगभग १ महिनाको बिदामा थुनाङ आफ्नो घर चेपुवा नै जान सक्दैनन् र बा, आमा, भाइ, बहिनी र साथीहरूसँग खेलेर रमाउन पाउँदैनन् । जडीबुटी व्यापार गर्ने दिदीले डेरामा पकाएको भात खाएर दिनभर गुवाबारीको बाटोका गल्लीहरूमा गुच्चा, डण्डीबियो आदि खेलेर नै उनी लामो बिदा कटाउँछन् । विगत ३ वर्षदेखि क्रिसमस मनाउन पाएका छैनन् कान्तिपुर डेन्टल कलेजमा अध्ययरत जनम लिम्बूले ।

यिनीहरू सबैले वर्ष दिनमा एक पल्ट आउने आआफ्नो महान चाड मन नलागेर नमनाएका भने होइनन् । पढाइ छुट्ने भएर हो ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतालाई निष्पक्षीय तवरले समान रूपमा समेट्दै लैजाने ब्याख्या गरिएको लोकतन्त्रमा परापूर्व कालबाट मनी ल्याएको सनातन धर्म व्यवस्थालाई जोगाउँदै लाने शर्तमा हिन्दू धर्म परम्परा अन्तर्गतका दशैं, तिहार शिवरात्री माघेसंक्रान्तिजस्ता चाडपर्वमा मात्र ११ दिन राष्ट्रिय बिदा दिइएको छ भने अन्य धर्म र जातजातिको पर्वमा जाति बिषेशलाई मात्र बिदा दिने गरेको छ । जबकि यसअघिको अन्तरिम संविधानले सबै धर्म र जातिले मान्ने मुख्य पर्वको दिनमा राष्ट्रिय बिदा दिएको थियो । तर राष्ट्र समृद्धिमा बाधा पर्ने बहाना बनाई लोकतन्त्रपछि लेखिएको संविधानले ती सबै जातीय पर्वका बिदाहरू कटौती गरेको छ । सो दिन जात विशेषलाई बिदा दिए पनि स्कुल कलेज सरकारी कार्यालय खुल्ला हुन्छन् ।

यस वर्षको पुस ६ गतेको चिसो सिरेटोमा देशका पिभिन्न भागमा बस्ने गुरुङ समुदायले तमुहरूको महान चाड तमु ल्होसार पर्वमा राष्ट्रिय बिदा कायम गरियोस् भनेर देशव्यापी रुपमा मौन आन्दोलन ग¥यो । यसपाली मात्र होइन गत साल पनि यस्तै आन्दोलन गरेको हो । पोहोर साल पनि गुरुङसहित अन्य आदिवासी जनजातिले दशैं, तिहार, माघे संक्रान्ति, शिवरात्रीबाहेक अन्य जातीय पर्वका दिनलाई पनि राष्ट्रिय बिदा कायम गरियोस् भनेर सामुहिक रूपमा ज्ञापनपत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलन गरेका थिए ।

आन्दोलनको परिणामस्वरूप कुनै प्रदेशमा पुरै त कुनै प्रदेशमा जात विशेषको चाडमा सो जातिलाई मात्र बिदा दिइयो तर राष्ट्रिय पर्वको रुपमा राष्ट्रिय बिदा घोषणा गरिएन । स्कुल कलेजहरूमा पढाइ रोकिएन । सरकारी कार्यलयमा काम चलिनै रह्यो । मारमा परे बिदा लिने जनजाति विद्यार्थी र जनजाति जनता । विभिन्न जातजाति, वर्ण, समुदायले बनेको नेपालमा हिन्दूबाहेक अन्य जातिको मुख्य एक÷एक पर्वमा राष्ट्रिय बिदा दिँदा देश समृद्धिमा जान बाधा पुग्छ भने देशको कुल जनसङ्ख्याको ३८ प्रतिशत जनता वर्षाैंदेखि आफ्नै माटोमा हराएको पहिचान, खोसिएको अधिकार खोज्न हरेक साल, महिना, दिनहरू सडकमा आन्दोलन गर्न बाध्य छन् भने ती जनताको समृद्धिको सवालमा भने किन चुप लाग्छ सरकार ? किन हिसाब गरिन्न उनीहरूको खेर गएको अमूल्य समयको ?

स्कुल कलेजजस्तो भविष्यका राष्ट्र निर्माणका कर्णधारहरू उत्पादन गर्ने विद्या र ज्ञानको कारखानामा नै शुरुदेखि विभेदको व्यावहारिक पाठ पढाइन्छ भने यस्तो खाले व्यवहारले सम्पूर्ण आदिवासी जनजाति युवाहरूमा आउने निराशाले रोजेको पलायनले भविष्यमा राष्ट्रलाई कति क्षति होला यो अनुमान लगाउन जरुरी छ । आजमात्र होइन वर्षाैंदेखि पहिचान र अधिकार खोज्दै र पहिचानको लागि लड्दै आएका विभिन्न जनजाति, कमजोर वर्ग आदिवासी, पिछडिएका, अल्पसङ्ख्यक र सीमान्तकृत जातजाति छन् । १० वर्षे जनयुद्ध लड्ने, देश र जनताका लागि प्राणको आहुति दिने विभिन्न कालखण्डमा बलिदान र बहादुरीको इतिहास रच्ने, राष्ट्रको अस्तित्व र सार्वभौम सत्ता रक्षाको लागि विभिन्न भूमिका खेल्ने केवल हिन्दू धर्मावलम्बी मात्र थिएनन् ।

१० वर्षे जनयुद्धकालमा मात्र होइन पृथ्वीनारायण शाहको सिंगो नेपाल निर्माण अभियानदेखि चीन र भारतजस्ता ठूला साम्राज्यलाई बेलायती उपनिवेशवादले विश्व हल्लाएको बखत नेपाललाई जोगाउन हजारौं देशभक्त नेपालीले वीरतापूर्वक युद्ध लडेका छन्, ज्यान दिएका छन् जसमा खस आर्य मात्र होइन हजारौं आदिवासी जनजाति पनि थिए ।

नेपालको इतिहासलाई हेर्ने हो भने कहिले घाम नअस्ताउने साम्राज्य बिस्तारमा लागेका अङ्ग्रेजहरूलाई ऐतिहासिक गढी सिन्धुलीमाडीमा एशियाकै पहिलो हारको धुलो चटाउने वीर योद्धा सरदार वंशु गुरुङ र उनको कमाण्डमा खटिएका सबै समुदायका सैनिक थिए ।

खजाञ्ची वीरभद्र उपाध्याय श्रीहर्ष पन्तलगायतको सहयोगमा शिकारी सरदार वंशु गुरुङको कमाण्डमा खटिएको ७ सयको सङ्ख्यामा रहेका सैनिकका सेनापति गुरुङ र पृथ्वीनारायण शाहको रणनीति र युद्धको विभिन्न तजबिज लगाई सिस्नो, अरिंगालको गोला, ढुंगा, भाला, घुएँत्रो, धनुषवाण, खुकुरी, जस्ता घरेलु हतियारको सहायतामा युद्ध लडेका थिए । ती हतियारको सहायतामा तोप बन्दुकजस्तो आधुनिक हतियारसहित आएको २ हजार ४ सय हाराहारीको सैनिकको मुख्य जत्थालाई वि.सं. १८२४ कात्तिक २४ गते अर्थात् सन् १७६७ नोभेम्बर ११ का दिन तित बितर पारी अङ्ग्रेजहरूलाई ऐतिहासिक हारको स्वाद चखाएका थिए भने सुन्दर हिमालयको काखमाथि बसी विश्वमाथि राज गर्ने मिठो सपना चकनाचुर पारेका थिए ।

काठमाडांै उपत्यकालाई हात पार्न सहज हुने गोप्य रणनीति बनाई नेपालमाथि सत्ता जमाउने सपना देखेका अङ्ग्रेजले त्यसै हारलाई स्मरण गरी ४७ वर्षसम्म नेपालमाथि गिद्दे नजर उठाउने हिम्मत गर्न सकेनन् । थाहा छैन त्यो समय वंशु गुरुङ थिएनन् भने नेपालको इतिहासले कस्तो मोड लिन्थ्यो ? त्यो हारको उल्लेख कप्तान जर्ज किनलकको डायरी ‘एक्स्पिडिसन अफ नेपाल भ्याल्ली’ मा उल्लेख गरिएको छ भने वीर साहसी योद्धा वंशु गुरुङको वीरता याज्ञवल्क्यको स्मृति ग्रन्थमा स्पस्ट उल्लेख गरिएको छ भने इतिहासविद् महेशचन्द्र रेग्मीले पनि यसबारे लेखेका छन् ।

इष्ट इण्डिया कम्पनीमाथि ऐतिहासिक विजय गरेको सिन्धुलीगढीको विजयमा जनकपुरका दानदेव चौधरीको पनि ठूलो भूमिका रहेको इतिहास छ जसले अङ्ग्रेजको लागि रसदपानीको जिम्मा लिने बहानामा कूटनीतिक चाल चली गोर्खाली फौजलाई ठूलो सहयोग गरेका थिए । गौण पात्र भए पनि गहन भूमिका खेल्ने चौधरी नेपालका आदिवासी हुन् ।

पादरीको जामा भित्र लुकेर व्यापारको तुलो झिकी साम्राज्य बिस्तार गर्दै आएका विश्व विजयको अभियानमा लागेका अङ्ग्रेजले त्यसअघि फ्रान्स, स्पेन, क्यानडा, चीन र भारत लगायतका विशाल राष्ट्रमा आफ्नो सत्ता कायम गरिसकेका थिए ।

त्यसैगरी, वि. सं. २००७ सालको क्रान्तिमा शहीद रामप्रसाद राईको कमाण्डमा जनमुक्ति सेनाको गठन गरिएको थियो । सोही जनमुक्ति सेनाले राणाहरूको सैनिकलाई पूर्वको तत्कालीन २, ३ र ४ नम्बर क्षेत्रमा परास्त पारी २००७ सालमा प्रजातन्त्र ल्याउन अहम भूमिका निर्वाह गरेका थिए । पूर्वमा शहीद रामप्रसाद राई, मध्य नेपालमा एकदेव आले मगर, भैरहवा मर्चवारमा के आइ सिंह र सुदूर पश्चिममा चित्रबहादुर गुरुङको पहलकदमीमा मुक्तिसेना गठन गरी जहानियाँ सामन्तवादी सत्ताको विरुद्धमा गरेको क्रान्ति अतुलनीय छ । तर अहिले आएर नश्लीय राज्यसत्ताले यी सपूतहरूको योगदानलाई चटक्कै बिर्सेको छ ।

नेपालको इतिहासमा कालो समयको रूपमा चिनिने १ सय ४ वर्ष लामो जहानियाँ निरंकुश राणा शासनका प्रवर्तक जङ्गबहादुर राणाले जनताप्रति गरेको अन्याय अत्याचारको विरुद्धमा र राष्ट्रको अस्तित्व जोगाउनका निम्ति बुलन्द आन्दोलन गर्ने जनजातिहरू नै थिए । देश र जनताका लागि मृत्युवरण गर्ने प्रथम शहीद लखन थापामगर र नेपाली जनताप्रति गरिएको क्रुर दमन र अत्याचार सहन नसकी जंगबहादुरको विरुद्धमा विद्रोह गरी प्राणको आहुति दिने बौद्ध धर्मगुरु प्रथम गुरुङ शहीद शुकदेव गुरुङ जनजातिकै पुत्र थिए । निरंकुश एकदलीय पञ्चायती व्यवस्था विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा ५ जनाले शहादत प्राप्त गरेको सुखानी काण्डमा पर्नेमा कृष्ण कुइँकेल, रामनाथ दाहाल, नेत्र घिमिरेसँगै वीरेन राजबंशी र नारायण श्रेष्ठ पनि थिए ती जनजाति नै हुन् ।

यस्ता सयौं व्यक्ति इतिहासमा साक्षी छन् सबैको उल्लेख गर्न यहाँ सम्भव छैन । राष्ट्र निर्माणदेखि देश विकासको लागि जनजातिले बलिदान र योगदान दिएका थिए र अझै दिनेछन् ।

राष्ट्र र राष्ट्रियताको लागि हरेक क्षेत्रमा हातेमालो गरेर हिँड्ने जनजातिलगायत सबै नेपाली समान हुन् भने खोइ त व्यवहारमा समानता ? खोइ त संस्कार, संस्कृति, जातजाति, भाषा, धर्म, सेवा सुविधा र अवसरमा एकरूपता ?

विभिन्न समुदायका लाखौं जनताले बलिदान दिएर ल्याएको लोकतन्त्रको संविधानमा उल्लेख गरिएको परिभाषा खोइ कहाँनेर छ त ? जुन मानव जीवनको लागि अपरिहार्य चीज शिक्षाजस्तो पहिलो खुड्किलोमै भेदभावको प्रविष्टि देखिन्छ ।

नेपालको संविधान २०७२ ले बहुसंस्कृतिवाद र सामाजिक, सांस्कृतिक विविधतालाई स्वीकारेको छ । संविधानको प्रस्तावनामा नै भनिएको छ कि सामन्ती निरंकुश केन्द्रीकृत राज्य व्यवस्थाले सिर्जना गरेको तमाम विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी सामाजिक, सांस्कृतिक, ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रबद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारको जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गर्दै जनताको प्रतिस्पर्धातमक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली नागरिक स्वतन्त्रता तथा सक्षम निष्पक्ष र स्वतन्त्र न्यायपालिका र कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित दिगो शान्ति सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट यो संविधान जारी गर्दछ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भने के हामी नेपाल आमाका सन्तान होइनौँ ?

Continue Reading

Facebook Comment

101 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

Published

on

 विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक र टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन्। नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक र टोपी दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्। १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ। विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्। यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।

Continue Reading

Banner

सुन्दरहरैचा–११ मा निर्माणाधीन लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा सम्पन्न

Published

on

सुन्दरहरैचा नगरपालिका वडा नं. ११ मा निर्माणाधीन लोहित गंगा मुक्तिघाटको प्रथम वार्षिक साधारण सभा गंगा घाट परिसरमा सम्पन्न भएको छ।

हालसम्म सुन्दरहरैचा नगरभित्र आफ्नै भौगोलिक क्षेत्रमा व्यवस्थित मुक्तिघाट नहुँदा यहाँका नागरिक अन्तिम संस्कारका लागि इटहरी वा बेलबारी क्षेत्रका घाटहरूमा निर्भर रहँदै आएका थिए। लोहित गंगा मुक्तिघाटको निर्माण सम्पन्न भएसँगै सुन्दरहरैचाको पूर्वी क्षेत्रका नागरिकलाई अन्तिम संस्कारका कार्यमा ठूलो सहजता हुने अपेक्षा गरिएको छ।

साधारण सभामा पछिल्लो समय मुक्तिघाट निर्माणसँग सम्बन्धित अनियमितता भएको भनी सामाजिक सञ्जालमा आएका विषयहरूबारे पनि छलफल गरिएको थियो। छलफलपछि ती आरोपहरू गलत तथा भ्रामक रहेको निष्कर्ष निकाल्दै, तथ्यबिनाका सामग्री सामाजिक सञ्जालमा प्रचार नगर्न आग्रह गरिएको छ। सत्य–तथ्यमा आधारित विषयवस्तु मात्र सार्वजनिक गर्न सबैलाई अनुरोध गरिएको सभाले जनाएको छ।

मुक्तिघाट निर्माण सम्पन्न भएपछि यो क्षेत्रकै सुविधासम्पन्न मुक्तिघाट बन्ने विश्वास व्यक्त गरिएको छ। निर्माण कार्यलाई तीव्रता दिन समाजका अगुवा तथा सरोकारवालाहरू सक्रिय रूपमा जुटिरहेको जानकारी पनि सभामा गराइएको थियो।

साधारण सभाले नवराज चापागाईंको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार उपाध्यक्षमा धनमाया तामाङराजेन्द्रप्रसाद दाहाल, सचिवमा दिलीप दाहाल, कोषाध्यक्षमा टीका सुवेदी चयन भएका छन्।

सभामा गत आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्नुका साथै चालू वर्ष र आगामी वर्षका लागि नीति, कार्यक्रम तथा बजेटसमेत पारित गरिएको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक