Connect with us
Advertisement

भोक, भोग र सम्भोगको कथा समेटिएको ‘समभोक’

Published

on

मोरङको सुन्दरहरैंचामा जन्मिएका र दुई दशक अमेरिकामा बसेपछि पछिल्लो समय नेपाल र अमेरिकामा ओहोरदोहोर गरिरहने शिव प्रकाशको हालै विमोचित उपन्यास ‘समभोक’को चर्चा अहिले नेपाली साहित्यमा बढ्दै गइरहेको छ । डा. गोविन्द केसी र राजनीतिज्ञ गगन थापाले विमोचन गरेको कृतिमा क्लिष्ट शब्दको प्रयोग त्यत्ति पाइँदैन । पाठकको मन छुने विषय समेटिएको कृति मुख्य तीन खण्डमा विभक्त छ भोक, भोग र सम्भोग ।

तीन खण्डमध्ये भोक खण्डको कथानक बढी छ । समग्र कृतिको ६० प्रतिशतभन्दा बढी भाग ओगटेको भोक शीर्षकभित्रै भोग र सम्भोग पनि अटाएको आभास हुन्छ कृति पढ्दै जाँदा । कृतिमा भोग र सम्भोगका भोका सबै देखिन्छन् । पहिलो खण्ड अर्थात् ‘भोक’ भित्र खान र लाउनको भोक मात्र समेटिएको छ । उपन्यासको मुख्य पात्र ईशुको सम्भोगको भोक भए पनि नारी पात्र सुबि (सुन्देवी) को पेट भर्ने र आङ ढाक्ने भोकको कथानककै वरीपरी घुमिरहेका छन् सबै चरित्रहरु ।

विशेष गरी अमेरिकामा रहेका आप्रवासी नेपालीको कथा हो समभोक । जीवनसाथी नेपालमा वा अमेरिकामै भए पनि लुकिछिपी वा देखादेखी हुने दम्पत्तिइतरको सम्बन्धको कथा समेटिएको उपन्यासका सबै पात्र भोका देखिन्छन् । नेपालमा श्रीमती सिन्धुकालाई छाडेर अमेरिकामा काम गरिरहेको मुख्य पात्र ईशु सुबीसँग बरालिएको छ । सुबीको लोग्ने सुन्दास त पत्नीकै अगाडि रेशमीसँग रात बिताउँछ, सुबी कोठामा एक्लै रात काट्छे । सुन्दास र रेशमी सडकमा रहेको आफ्नो कारलाई नै शयनकक्ष बनाउँछन् । उता, मुग्धा भने मुख्य पात्र ईशूतिर आकर्षित छे ।

ईशुको साथी फूलकुमार किस्नमायातिर सल्किएको छ । त्यतिले नभएपछि मेक्सिकन युवती मामासितातिर लहसिएको छ । मामासितासित रासलीला मच्चाउनेमा ईशुका साथी अँणबहादुर र ञबहादुर पनि छन् । उनीहरु केवल हास्य पात्रको रुपमा उपस्थित भएका छन् । मुग्धाको पति गोपालको चरित्रको बारेमा कृति मौन छ । आफू काम गर्ने पसलकी भारतीय मूलकी साहुनी पनि ईशुसँग रात बिताउन चाहन्छे । पति कामको सिलसिलामा बाहिर जानासाथ ऊ ईशुलाई विभिन्न बहानाले बस्ने गरी आउन बोलाउँछे । तर ईशु साहुनीप्रति आशक्त छैन, उसलाई विभिन्न बहाना बनाएरै टारिदिन्छ ।

अन्य नाम उल्लेख नभएका पात्रहरु पनि उपन्यासमा छन् । उनीहरुलाई कुरौटेको रुपमा बढी उभ्याइएको छ । साहुको भूमिका पनि कृतिमा गौण छ ।

‘सेक्स फ्री’ अमेरिकाको बोस्टन शहरको सेरोफेरोमा रहेर काम गर्ने नेपालीको कथा समेटिएको उपन्यासमा शारीरिक सुखभोगको चाहनालाई सर्जकले केन्द्रमा राखेका छन् । मुख्य पात्र ईशु शारीरिक भोक मेट्न पाँच वर्षसम्म सुबिलाई पछ्याउँछ । उसलाई नेपाल फर्कने टिकटसम्म काटिदिन्छ । तर सुबि जहिल्यै ईशुलाई शुरुमा यौनसुख अहिल्यै दिउँला झैँ गरी बोलाउँछे र अन्त्यमा आफ्नो पेटको भोक र किनमेलको भोक ईशुबाट मेटाएर फर्काउँछे । यस्तो भोक मेट्ने उपक्रम सुबि एक्लैले गरे पनि उपन्यास पढ्दै जाँदा उसको लोग्ने सुन्दासको पनि त्यसमा सहमति रहेको भान हुन्छ । सुबिको दृष्टिमा जीवन भोक हो, मान्छे शरीर मात्र हो ।

ईशु यौनको भोको छ, ऊ अघाउन चाहन्छ । त्यसैले ऊ भन्छ, ‘भोक मार्नु अपराध हो तर भोक मेट्नु अपराध होइन ।’

‘जीवन भोक र भोग हो, अर्थात् मान्छे शरीर र आत्मा हो’ भन्ने विचार लिएर बसेकी छ मुग्धा । एक्ली नारीलाई मात्र होइन, एक्लो पुरुषलाई पनि सुरक्षा चाहिन्छ भन्ने मुग्धा नेपालबाट ईशुकी श्रीमती सिन्धुका आउनासाथ ईशुसँगको सम्बन्ध त्यागेको सार्वजनिक गर्छे ।

ईशुकी पत्नी सिन्धुका भोक र भोगभन्दा माथि सम्भोग हो भन्छे । मान्छे शरीर मात्र होइन, आत्मा पनि हो र परमात्मा पनि हो  भन्छे सिन्धुका । १० वर्षपछि पतिसँग भेट भएपछि सिन्धुका भन्छे, ‘ईशू, तिमीले सम्भोगको अर्थ बुझेनौ ।’ उसले आफ्नो पतिले सुबिसँग राख्ने चाहेको सम्बन्ध दैहिक मात्रै भएको ठान्छे । मुग्धासँगको सहवास शरीर र आत्माको भेट भएको ठान्छे भने आफूसँगको सामीप्यता शरीर र आत्माका साथै परमात्मासँगको भेट हो भन्ने विचार राख्छे ।

अमेरिकामा बस्ने आप्रवासीको दैनिकीलाई समेटेको उपन्यासमा सशक्त संवाद छ । भाषामा लालित्य छ, आह्लादित बनाउने कथानक भएकाले उपन्यास बीचैमा छाड्न मन लाग्दैन । विषयवस्तुको उठान, पात्रहरूको चयन, कथाको संयोजन धेरैजसो सरल रेखामा नै देखिन्छ ।

लेखकको कथा भन्ने तरिका सुुन्दर छ । उपन्यासमा भएका कतिपय लालित्यपूर्ण भाषाले पाठकलाई तानेको तान्यै गर्छ । त्यस्ता केही वाक्य हुन्ः

निर्लज्जता सबैभन्दा ठूलो कला हो ।

काम कहिल्यै दुःख होइन, बेकाम सधैँ दुःख हो ।

काम गरेर खाएको सुखभन्दा अर्काे सुख के हुन्छ र ?

मान्छेले मान्छेका आँखामा हेर्न नसक्नु पनि मृत्यु हो ।

बिर्सिएपछि पो सम्झिने हो । बिर्सिँदै नबिर्सिएपछि सम्झनै पर्दैन ।

जीवनले सधैँ मृत्यु बोकेजस्तै शुरुवातले सधैँ अन्त्य बोकेको हुन्छ ।

नाइँ भन्न नसक्नु पनि फसादमा पर्नु हो । सजिलो हुनु भनेको अप्ठ्यारोमा पर्नु हो ।

समुद्रगमन शुरु हुन्छ । सर्पजस्तो बाँधिन्छन् । बेरिन्छन् । बटारिन्छन् । डल्फिनजस्तो उल्टिन्छन् । पल्टिन्छन् । माछाजस्तो पौडिन्छन् । डुबुल्की मार्छन् । पाहाजस्तो उत्तानो पर्छन् । गोहीजस्तो घोप्टो पर्छन् ।

जिउँदो मान्छेलाई न कहिल्यै चिन्न सकिन्छ, न कहिल्यै विश्वास गर्न सकिन्छ ।

मान्छे सधैँ त्यहाँ जानुपर्छ, जहाँ मन खुशी हुन्छ ।

पेल्न छोडी भने स्वास्नी हुनुको अर्थ पनि हुँदैन ।

त्यस्तै, भोकैभोकको र भौकैभोकाको कथा रहेका कृतिमा भोकसम्बन्धी उद्धरण औधी पाइन्छन् । जुन उद्धरणले पाठकलाई आख्यानभित्रै बाँधिरहन्छ । जस्तै,
भित्रभित्रै अनेक पीडा सहेर पनि मान्छेभित्र भोक सधैँ बाँचेको छ । भोकको सीमा छैन । भोकको आयु हुँदैन । जहाँ सीमा र आयु हुँदैन, त्यो अनन्त हुन्छ । त्यो अमर हुन्छ । भोक अनन्त छ । भोक अमर छ । भोक ‘ओम्निप्रेजेन्ट’ छ । भोकमा ‘अलमाइटी’ पावर छ ।

भोकले उसलाई भोलि गर्ने काम आजै र आज गर्ने काम अहिल्यै गर्नुजस्तो बनाएको छ ।

भोकले साइनो बदल्छ । भोकले सम्बन्ध बदल्छ । भोकले नाम बदल्छ । भोकले काम बदल्छ । भोकले मान्छे बदल्छ । भोकले संसार बदल्छ ।

मान्छेले भोक जन्माएको छ । तर मान्छेभन्दा बढी भोकले मान्छे जन्माएको छ । मान्छे त्यही भोक खाएर, त्यही भोक पिएर, त्यही भोकमा डुबेर भोकभोकै बाँचिरहेको छ । भोकभोकै मरिरहेको छ ।

अनुप्रासयुक्त भाषाशैलीले पाठकलाई आख्यानबाट बाहिर जान दिँदैन । कृतिमा अनुप्रासयुक्त कथन धेरै छन् । जस्तैः

टर्राे लयमा झर्राे नेपाली बोल्थ्यो । खाँडो जगाएजस्तो भाषाको भाँडो बजाउँथ्यो ।

भोकले वरिष्ठ र कनिष्ठलाई खुबै घनिष्ठ बनाएको थियो ।

भित्रभित्रै ढुक्क मात्रै भइन मुग्धा हुरुक्क पनि भई ।

कसैलाई कुर्नु भनेको कसैका बारेमा मनमा अनेक कुरा फुर्नु हो ।

यो पनि नारी । त्यो पनि नारी । एउटी उदार, अर्की खुङ्खार ।

फुल्न नसकेको फूलजस्तो भएको छ फूलकुमार ।

सिन्धुका आउँदा ईशुलाई वसन्त आएजस्तो लागेको छ । तर, आँधीबेरीभित्र रुमल्लिएको वसन्त ।

विमुखमा बोल्ने अरु धेरै मुख पनि सन्मुख भएका थिए, पहिलो पटक ।

उपन्यासले अमेरिकाको जनजीवनलाई ऐनामा झैँ छर्लङ्ग देखाएको छ ।

बिदेसिएको मान्छेको दुःखको पाटो पनि छ । तर मान्छे न देखाउँछन्, न पल्टाएर हेर्नै खोज्छन् । विदेशमा धेरैजसोले ठूला महल अगाडि उभिएका, समुद्र किनारमा डुलेका, पार्कमा घुमेका, राम्रा लुगा लगाएका, गहना भिरेका, कतौ बसेका र महङ्गा गाडी चढेका कुरा मात्र देखाउँछन् । त्यसका लागि आफू जाँतो भएको कहिल्यै देखाउँदैनन् । दिनरात नभनी पसिना बगाएको, ट्वाइलेट किचेन सफा गरेको, जुठा प्लेट उठाएको, भाँडा माझेको, अरुका छोराछोरीको दिसापिसाब सफा गरेको, बुढाबुढीको ¥याल सिँगान पुछेको पनि कहिल्यै कतै देखाउँदैनन् ।

मान्छे काम देखाउन सबै लजाउँछन् । शान देखाउन सबै लाज पचाउँछन् ।

अमेरिकामा नाम छैन, काम छ । नेपालमा काम छैन, नाम छ । काम नहुनेको झन् बढी नाम छ । काम गर्दागर्दै आफ्नै नाम बिर्सने ठाउँ हो, अमेरिका ।

उपन्यासमा प्रयुक्त दृष्टान्तले कृतिलाई ओजपूर्ण बनाएको छ । अधिकांश पृष्ठमा यस्तो दृष्टान्तयुक्त वाक्य पाइन्छन् । जस्तै,

‘समर’ मा युवतीले शरीरमा टाँसेका लुगाका टालाटुलीजस्तै ‘विन्टर’ मा रुखले हिउँका टालाटुली टाँसेका छन् ।

अक्करमा अड्केको फर्सीजस्तो हुन्छ टाउको ।

सुबीको ईर्ष्या सिरक सल्काएर आगो तापेजस्तो भएको छ ।

उनले अमेरिकाका मान्छेको नग्नतालाई प्रकृतिसँग दाँजेर सुन्दर तरिकाले भनेका छन् । उनी भन्छन्, ‘अमेरिकाको बोस्टन पनि वर्षमा दुईपटक नाङ्गिन्छ । ६ महिना प्रकृति, ६ महिना मान्छे । प्रकृतिलाई हिउँ र स्याँठले नङ्ग्याउँछ । मान्छेलाई मौसम र फेसनले नङ्ग्याउँछ । प्रकृति भोकाए रुख नाङ्गिन्छन् । मान्छे भोकाए आफैँ नाङ्गिन्छन् । नग्नता पनि भोक हो ।’

अमेरिकामा प्रकृति र पात्रबीच नाङ्गिने प्रतिष्पर्धा चल्छ ।

अमेरिकामा फेसनको नाममा मान्छे नाङ्गिने प्रवृत्तिजस्तै प्रकृति पनि नाङ्गिने गरेको प्रसङ्ग जोड्दै उनी भन्छन्ः मान्छेजस्तै नग्नताको सौन्दर्य देखाउने भोक पालेर बसेको छ प्रकृति पनि । शिशिर याममा देखिने प्रकृतिको नग्नतामा हिमपात हुँदाको दृश्य वर्णन गर्ने क्रममा लेखकले नग्नतलाई पनि सुन्दरतासँग जोडेका छन् ।

उपन्यासको कथा अमेरिकाको बोस्टन शहरको सेरोफेरोमा भए पनि स्थानीयता पनि झल्कन्छ । सुन्दरहरैंचाका सर्जक शिव प्रकाशले स्मृतिमा भए पनि नेपालको स्थानीय परिवेशलाई पनि समेटेका छन् । जस्तै,

कालीखोला, कालीथान, हात्तीसार र हाटखोलाका रङ्गीन क्षणहरु सम्झन्छ । गाउँका जमुना, चम्पा, चन्दा, इन्द्रा, कान्ता, नयनकान्ता, देवकी सबै सम्झन्छ ।

समग्रमा यो औपन्यासिक कृति अमेरिकामा रहेका आप्रवासी नेपालीको दम्पत्तिइतरको सम्बन्ध देखाउन सक्षम भएको देखिन्छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्रमिला ढकाल ‘एरिका’ कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार

Published

on

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि युवा नेतृ प्रमिला ढकाल ‘एरिकाले उम्मेदवारी दिने तयारी गरेकी छन्। कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता असोज १९ गते हुने निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेको छ।
ढकालले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघको इकाइ सदस्यबाट सुरु गरेकी हुन्। उनका अनुसार उनी २०७२ सालमा सुकुना बहुमुखी क्याम्पसको नेविसंघ इकाइ सदस्य, २०७५ सालमा नेविसंघ सुन्दरहरैँचा नगर उपसभापति हुँदै संगठनमा सक्रिय रहिन्।
त्यसपछि २०८० सालमा नेविसंघको केन्द्रीय सदस्य बनेकी ढकालले २०८१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय शिक्षा विभाग प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्। २०८० सालमा एरिका ढकाललाई नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य रहेकी थिइन् उनको राजनीतिक सक्रियता विद्यार्थी संगठनमा मात्र सीमित छैन। २०८१ सालमा उनी नेपाली कांग्रेसकी क्षेत्रीय प्रतिनिधि बनेकी थिइन् भने प्रदेश सभा निर्वाचन क्षेत्र ३(ख)को सचिव पदका लागि प्रत्याशीसमेत बनेको उनले जनाएको विवरणमा उल्लेख छ।

ढकालले कांग्रेसलाई नेपाली समाज, युवा पुस्ता र वर्तमान समयको आवश्यकता अनुरूप अघि बढाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएकी छन्।

“नेपाली कांग्रेस पार्टीलाई नेपाल र नेपाली माटो सुहाउँदो युवा मैत्री पहिलो पार्टी बनाउनका निमित्त मैले उम्मेदवारी दिँदैछु,” ढकालको भनाइ छ।

उनले कांग्रेसको राजनीतिक दस्तावेजलाई अझ प्रगतिशील र समयसापेक्ष बनाउँदै नेपालको समुन्नतिका लागि काम गर्ने आफ्नो उद्देश्य रहेको बताएकी छन्।

युवा पुस्ताको सहभागिता, विद्यार्थी राजनीतिबाट पार्टीको मूल नेतृत्वसम्मको यात्रा र संगठनभित्र प्राप्त जिम्मेवारीलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गर्दै ढकालले कांग्रेसको भावी राजनीतिक दिशामा युवाको भूमिका थप बलियो बनाउनुपर्ने धारणा अघि सारेकी छन्।

Continue Reading

Banner

साफको इतिहासमा नेपाल पहिलोपटक नखेल्ने,एन्फा निलम्बनको असर,

Published

on

साफले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।

नेपालले बंगलादेशमा आगामी नोभेम्बर ४ देखि १७ सम्म आयोजना हुने १५औं संस्करणको साफ च्याम्पियनसिप गुमाउने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) माथि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले १० असारमा अनिश्चितकालका लागि निलम्बन गरेको थियो ।

निलम्बनपछि नेपालले एकपछि अर्काे अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदै आएको छ । त्यसक्रममा ३३ वर्षको साफ इतिहासमा पहिलोपटक नेपाल सहभागी नहुने निश्चित भएको हो ।

दक्षिण एसियाली फुटबल महासंघले यसअघि ३० सेप्टेबरसम्म निलम्बन फुकुवा भए नेपाललाई समेट्ने गरी खेल तालिका सार्वजनिक गरेको थियो । तर, तोकिएको समयसीमामा निलम्बन फुकुवा नभएसँगै नेपालले साफ गुमाउन लागेको हो ।

योसँगै यसपटक साफमा ६ देश सहभागी हुने भएका छन् । समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै श्रीलंका र भुटान छन् । समूह ‘बी’मा भारत, पाकिस्तान र माल्दिभ्स छ । निलम्बन खुलेको अवस्थामा नेपालले समूह ‘ए’बाट खेल्न पाउँथ्यो ।

नेपालले साफको यसअघिका १४ संस्करण सबैमा सहभागिता जनाएको थियो । जसमा नेपाल एकपटक उपविजेता र एकपटक तेस्रो बनेको छ । त्यसबाहेक पनि ५ पटक सेमिफाइनल पुगेको थियो ।

साफमा नेपालले आफ्नो दाबेदारी प्रस्तुत त गर्थ्यो नै, खेलाडीहरूले पनि आफ्नो क्षमता देखाउन पाउँथे । तर, यसपटक सहभागिता नजनाउँदा उक्त अवसर गुम्न पुगेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान, प्रशिक्षक तथा एन्फा पूर्वउपाध्यक्ष उपेन्द्रमान सिंह साफ सहभागी नहुँदा खेलाडीले आफुलाई प्रमाणित गर्ने प्लाटफर्म गुमाएको बताउँछन् ।
‘दुई–तीन वर्षमा आउने प्रतियोगिता, यही प्रतियोगिता खेलेर कतिजना खेलाडीहरू विदेश अरू देशमा व्यावसायिक फुटबलमा कन्ट्याक्ट हुने अवसर पनि हो, एउटा प्लेटफर्म पनि हो साउथ एसियाका खेलाडीहरूको लागि । अब यो पनि वञ्चित हुने भयो’ उनी भन्छन्, ‘माथिको एउटा पोलिटिकल लडाइँले गर्दाखेरि आज खेलाडीहरूमा ठूलो मार परिरहेको मैले महसुस गरेको छु ।’

‘मै हुनुपर्छ’ भन्ने दम्भका कारण नेपाली फुटबल यो अवस्थामा आइपुगेको सिंहको अनुभव छ । ‘जुन पहिला राजनीतिक संरक्षण थियो । त्यो राजनीतिक संरक्षण भएको कारणले गर्दाखेरि उहाँहरूसँग दम्भ आयो त्यो बेलामा, हामीलाई कसैले केही गर्न सक्दैन, बहुमत हामीसँग छ, जस्तै गलत निर्णय गरे पनि हामी नै हौँ भन्ने भयो’ उनी भन्छन्, ‘एउटा दम्भ, घमण्ड र जुन पोलिटिकल शक्तिको मिसयुज भयो । जसले गर्दाखेरि नै फुटबलमा यो घटना दुर्घटना घटेको हो ।’

सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मंगलबार मात्रै साफमा नेपालको सहभागिता सम्भव नरहेको संकेत गरेका थिए । साफका लागि ढिलो भइसकेको र घरेलु लिग सञ्चालनको तयारीमा लागिरहेको उनको भनाइ थियो । एन्फाको निलम्बन फुकुवा कहिले हुन्छ ? भन्ने प्रश्नमा मन्त्री पोखरेलले भने, ‘साफभन्दा अगाडि ढिलो भइसकेको छ । केही गरी निलम्बन खुलेन भने के गर्ने भनेर हामीले विभिन्न खेलाडीसँग छलफल गरेका छौं । घरेलु लिग गर्नुपर्‍यो । घरेलु लिग नखेलेको वर्षौं भइसक्यो भनेर खेलाडीहरूबाट आइसकेपछि घरेलु लिगका लागि तयारी गरिराखेका छौंं ।’

उनको भनाइलाई आधार मान्ने हो भने नेपाल तत्काल फिफाबाट निलम्बन फुकुवा हुने सम्भावना छैन । यसअघि मन्त्री पोखरेलले सार्वजनिक रुपमै फिफासँग सकारात्मक छलफल भएको र छिट्टै निलम्बन फुकुवा हुने अभिव्यक्ति दिँदै आएका थिए । तर, फिफाबाट सकारात्मक जवाफ नआएपछि सरकार घरेलु फुटबल गतिविधि अगाडि बढाउने दिशामा अगाडि बढेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खेल मिलेमतोको आरोपमा एन्फा कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई पक्राउ गरेको छ । अनुसन्धानको घेरा भएपछि एन्फा पदाधिकारीहरू अहिले सम्पर्कविहीन छन् । जसले नेपाली फुटबल झनै अन्यौलतातर्फ धकेलिएको छ ।

Continue Reading

Banner

सलकपुरमा चारदिने कला उत्सव हुने

Published

on

मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा सलकपुर कला उत्सव २०८३ आयोजना हुने भएको छ। शिल्पी नाट्य केन्द्र, सलकपुरको आयोजनामा हुने उत्सव चार दिनसम्म सञ्चालन हुनेछ।
उत्सवमा नाटक, कविता, गजललगायतका साहित्यिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै, गायिका झुमा लिम्बु र रैथाने ब्यान्डको विशेष साङ्गीतिक प्रस्तुति समेत रहनेछ।
कला, साहित्य, सङ्गीत र संस्कृतिप्रति रुचि राख्ने दर्शकलाई लक्षित गर्दै आयोजना गरिएको उत्सवमा परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमको आनन्द लिन आयोजकले आग्रह गरेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक