Connect with us
Advertisement

भोक, भोग र सम्भोगको कथा समेटिएको ‘समभोक’

Published

on

मोरङको सुन्दरहरैंचामा जन्मिएका र दुई दशक अमेरिकामा बसेपछि पछिल्लो समय नेपाल र अमेरिकामा ओहोरदोहोर गरिरहने शिव प्रकाशको हालै विमोचित उपन्यास ‘समभोक’को चर्चा अहिले नेपाली साहित्यमा बढ्दै गइरहेको छ । डा. गोविन्द केसी र राजनीतिज्ञ गगन थापाले विमोचन गरेको कृतिमा क्लिष्ट शब्दको प्रयोग त्यत्ति पाइँदैन । पाठकको मन छुने विषय समेटिएको कृति मुख्य तीन खण्डमा विभक्त छ भोक, भोग र सम्भोग ।

तीन खण्डमध्ये भोक खण्डको कथानक बढी छ । समग्र कृतिको ६० प्रतिशतभन्दा बढी भाग ओगटेको भोक शीर्षकभित्रै भोग र सम्भोग पनि अटाएको आभास हुन्छ कृति पढ्दै जाँदा । कृतिमा भोग र सम्भोगका भोका सबै देखिन्छन् । पहिलो खण्ड अर्थात् ‘भोक’ भित्र खान र लाउनको भोक मात्र समेटिएको छ । उपन्यासको मुख्य पात्र ईशुको सम्भोगको भोक भए पनि नारी पात्र सुबि (सुन्देवी) को पेट भर्ने र आङ ढाक्ने भोकको कथानककै वरीपरी घुमिरहेका छन् सबै चरित्रहरु ।

विशेष गरी अमेरिकामा रहेका आप्रवासी नेपालीको कथा हो समभोक । जीवनसाथी नेपालमा वा अमेरिकामै भए पनि लुकिछिपी वा देखादेखी हुने दम्पत्तिइतरको सम्बन्धको कथा समेटिएको उपन्यासका सबै पात्र भोका देखिन्छन् । नेपालमा श्रीमती सिन्धुकालाई छाडेर अमेरिकामा काम गरिरहेको मुख्य पात्र ईशु सुबीसँग बरालिएको छ । सुबीको लोग्ने सुन्दास त पत्नीकै अगाडि रेशमीसँग रात बिताउँछ, सुबी कोठामा एक्लै रात काट्छे । सुन्दास र रेशमी सडकमा रहेको आफ्नो कारलाई नै शयनकक्ष बनाउँछन् । उता, मुग्धा भने मुख्य पात्र ईशूतिर आकर्षित छे ।

ईशुको साथी फूलकुमार किस्नमायातिर सल्किएको छ । त्यतिले नभएपछि मेक्सिकन युवती मामासितातिर लहसिएको छ । मामासितासित रासलीला मच्चाउनेमा ईशुका साथी अँणबहादुर र ञबहादुर पनि छन् । उनीहरु केवल हास्य पात्रको रुपमा उपस्थित भएका छन् । मुग्धाको पति गोपालको चरित्रको बारेमा कृति मौन छ । आफू काम गर्ने पसलकी भारतीय मूलकी साहुनी पनि ईशुसँग रात बिताउन चाहन्छे । पति कामको सिलसिलामा बाहिर जानासाथ ऊ ईशुलाई विभिन्न बहानाले बस्ने गरी आउन बोलाउँछे । तर ईशु साहुनीप्रति आशक्त छैन, उसलाई विभिन्न बहाना बनाएरै टारिदिन्छ ।

अन्य नाम उल्लेख नभएका पात्रहरु पनि उपन्यासमा छन् । उनीहरुलाई कुरौटेको रुपमा बढी उभ्याइएको छ । साहुको भूमिका पनि कृतिमा गौण छ ।

‘सेक्स फ्री’ अमेरिकाको बोस्टन शहरको सेरोफेरोमा रहेर काम गर्ने नेपालीको कथा समेटिएको उपन्यासमा शारीरिक सुखभोगको चाहनालाई सर्जकले केन्द्रमा राखेका छन् । मुख्य पात्र ईशु शारीरिक भोक मेट्न पाँच वर्षसम्म सुबिलाई पछ्याउँछ । उसलाई नेपाल फर्कने टिकटसम्म काटिदिन्छ । तर सुबि जहिल्यै ईशुलाई शुरुमा यौनसुख अहिल्यै दिउँला झैँ गरी बोलाउँछे र अन्त्यमा आफ्नो पेटको भोक र किनमेलको भोक ईशुबाट मेटाएर फर्काउँछे । यस्तो भोक मेट्ने उपक्रम सुबि एक्लैले गरे पनि उपन्यास पढ्दै जाँदा उसको लोग्ने सुन्दासको पनि त्यसमा सहमति रहेको भान हुन्छ । सुबिको दृष्टिमा जीवन भोक हो, मान्छे शरीर मात्र हो ।

ईशु यौनको भोको छ, ऊ अघाउन चाहन्छ । त्यसैले ऊ भन्छ, ‘भोक मार्नु अपराध हो तर भोक मेट्नु अपराध होइन ।’

‘जीवन भोक र भोग हो, अर्थात् मान्छे शरीर र आत्मा हो’ भन्ने विचार लिएर बसेकी छ मुग्धा । एक्ली नारीलाई मात्र होइन, एक्लो पुरुषलाई पनि सुरक्षा चाहिन्छ भन्ने मुग्धा नेपालबाट ईशुकी श्रीमती सिन्धुका आउनासाथ ईशुसँगको सम्बन्ध त्यागेको सार्वजनिक गर्छे ।

ईशुकी पत्नी सिन्धुका भोक र भोगभन्दा माथि सम्भोग हो भन्छे । मान्छे शरीर मात्र होइन, आत्मा पनि हो र परमात्मा पनि हो  भन्छे सिन्धुका । १० वर्षपछि पतिसँग भेट भएपछि सिन्धुका भन्छे, ‘ईशू, तिमीले सम्भोगको अर्थ बुझेनौ ।’ उसले आफ्नो पतिले सुबिसँग राख्ने चाहेको सम्बन्ध दैहिक मात्रै भएको ठान्छे । मुग्धासँगको सहवास शरीर र आत्माको भेट भएको ठान्छे भने आफूसँगको सामीप्यता शरीर र आत्माका साथै परमात्मासँगको भेट हो भन्ने विचार राख्छे ।

अमेरिकामा बस्ने आप्रवासीको दैनिकीलाई समेटेको उपन्यासमा सशक्त संवाद छ । भाषामा लालित्य छ, आह्लादित बनाउने कथानक भएकाले उपन्यास बीचैमा छाड्न मन लाग्दैन । विषयवस्तुको उठान, पात्रहरूको चयन, कथाको संयोजन धेरैजसो सरल रेखामा नै देखिन्छ ।

लेखकको कथा भन्ने तरिका सुुन्दर छ । उपन्यासमा भएका कतिपय लालित्यपूर्ण भाषाले पाठकलाई तानेको तान्यै गर्छ । त्यस्ता केही वाक्य हुन्ः

निर्लज्जता सबैभन्दा ठूलो कला हो ।

काम कहिल्यै दुःख होइन, बेकाम सधैँ दुःख हो ।

काम गरेर खाएको सुखभन्दा अर्काे सुख के हुन्छ र ?

मान्छेले मान्छेका आँखामा हेर्न नसक्नु पनि मृत्यु हो ।

बिर्सिएपछि पो सम्झिने हो । बिर्सिँदै नबिर्सिएपछि सम्झनै पर्दैन ।

जीवनले सधैँ मृत्यु बोकेजस्तै शुरुवातले सधैँ अन्त्य बोकेको हुन्छ ।

नाइँ भन्न नसक्नु पनि फसादमा पर्नु हो । सजिलो हुनु भनेको अप्ठ्यारोमा पर्नु हो ।

समुद्रगमन शुरु हुन्छ । सर्पजस्तो बाँधिन्छन् । बेरिन्छन् । बटारिन्छन् । डल्फिनजस्तो उल्टिन्छन् । पल्टिन्छन् । माछाजस्तो पौडिन्छन् । डुबुल्की मार्छन् । पाहाजस्तो उत्तानो पर्छन् । गोहीजस्तो घोप्टो पर्छन् ।

जिउँदो मान्छेलाई न कहिल्यै चिन्न सकिन्छ, न कहिल्यै विश्वास गर्न सकिन्छ ।

मान्छे सधैँ त्यहाँ जानुपर्छ, जहाँ मन खुशी हुन्छ ।

पेल्न छोडी भने स्वास्नी हुनुको अर्थ पनि हुँदैन ।

त्यस्तै, भोकैभोकको र भौकैभोकाको कथा रहेका कृतिमा भोकसम्बन्धी उद्धरण औधी पाइन्छन् । जुन उद्धरणले पाठकलाई आख्यानभित्रै बाँधिरहन्छ । जस्तै,
भित्रभित्रै अनेक पीडा सहेर पनि मान्छेभित्र भोक सधैँ बाँचेको छ । भोकको सीमा छैन । भोकको आयु हुँदैन । जहाँ सीमा र आयु हुँदैन, त्यो अनन्त हुन्छ । त्यो अमर हुन्छ । भोक अनन्त छ । भोक अमर छ । भोक ‘ओम्निप्रेजेन्ट’ छ । भोकमा ‘अलमाइटी’ पावर छ ।

भोकले उसलाई भोलि गर्ने काम आजै र आज गर्ने काम अहिल्यै गर्नुजस्तो बनाएको छ ।

भोकले साइनो बदल्छ । भोकले सम्बन्ध बदल्छ । भोकले नाम बदल्छ । भोकले काम बदल्छ । भोकले मान्छे बदल्छ । भोकले संसार बदल्छ ।

मान्छेले भोक जन्माएको छ । तर मान्छेभन्दा बढी भोकले मान्छे जन्माएको छ । मान्छे त्यही भोक खाएर, त्यही भोक पिएर, त्यही भोकमा डुबेर भोकभोकै बाँचिरहेको छ । भोकभोकै मरिरहेको छ ।

अनुप्रासयुक्त भाषाशैलीले पाठकलाई आख्यानबाट बाहिर जान दिँदैन । कृतिमा अनुप्रासयुक्त कथन धेरै छन् । जस्तैः

टर्राे लयमा झर्राे नेपाली बोल्थ्यो । खाँडो जगाएजस्तो भाषाको भाँडो बजाउँथ्यो ।

भोकले वरिष्ठ र कनिष्ठलाई खुबै घनिष्ठ बनाएको थियो ।

भित्रभित्रै ढुक्क मात्रै भइन मुग्धा हुरुक्क पनि भई ।

कसैलाई कुर्नु भनेको कसैका बारेमा मनमा अनेक कुरा फुर्नु हो ।

यो पनि नारी । त्यो पनि नारी । एउटी उदार, अर्की खुङ्खार ।

फुल्न नसकेको फूलजस्तो भएको छ फूलकुमार ।

सिन्धुका आउँदा ईशुलाई वसन्त आएजस्तो लागेको छ । तर, आँधीबेरीभित्र रुमल्लिएको वसन्त ।

विमुखमा बोल्ने अरु धेरै मुख पनि सन्मुख भएका थिए, पहिलो पटक ।

उपन्यासले अमेरिकाको जनजीवनलाई ऐनामा झैँ छर्लङ्ग देखाएको छ ।

बिदेसिएको मान्छेको दुःखको पाटो पनि छ । तर मान्छे न देखाउँछन्, न पल्टाएर हेर्नै खोज्छन् । विदेशमा धेरैजसोले ठूला महल अगाडि उभिएका, समुद्र किनारमा डुलेका, पार्कमा घुमेका, राम्रा लुगा लगाएका, गहना भिरेका, कतौ बसेका र महङ्गा गाडी चढेका कुरा मात्र देखाउँछन् । त्यसका लागि आफू जाँतो भएको कहिल्यै देखाउँदैनन् । दिनरात नभनी पसिना बगाएको, ट्वाइलेट किचेन सफा गरेको, जुठा प्लेट उठाएको, भाँडा माझेको, अरुका छोराछोरीको दिसापिसाब सफा गरेको, बुढाबुढीको ¥याल सिँगान पुछेको पनि कहिल्यै कतै देखाउँदैनन् ।

मान्छे काम देखाउन सबै लजाउँछन् । शान देखाउन सबै लाज पचाउँछन् ।

अमेरिकामा नाम छैन, काम छ । नेपालमा काम छैन, नाम छ । काम नहुनेको झन् बढी नाम छ । काम गर्दागर्दै आफ्नै नाम बिर्सने ठाउँ हो, अमेरिका ।

उपन्यासमा प्रयुक्त दृष्टान्तले कृतिलाई ओजपूर्ण बनाएको छ । अधिकांश पृष्ठमा यस्तो दृष्टान्तयुक्त वाक्य पाइन्छन् । जस्तै,

‘समर’ मा युवतीले शरीरमा टाँसेका लुगाका टालाटुलीजस्तै ‘विन्टर’ मा रुखले हिउँका टालाटुली टाँसेका छन् ।

अक्करमा अड्केको फर्सीजस्तो हुन्छ टाउको ।

सुबीको ईर्ष्या सिरक सल्काएर आगो तापेजस्तो भएको छ ।

उनले अमेरिकाका मान्छेको नग्नतालाई प्रकृतिसँग दाँजेर सुन्दर तरिकाले भनेका छन् । उनी भन्छन्, ‘अमेरिकाको बोस्टन पनि वर्षमा दुईपटक नाङ्गिन्छ । ६ महिना प्रकृति, ६ महिना मान्छे । प्रकृतिलाई हिउँ र स्याँठले नङ्ग्याउँछ । मान्छेलाई मौसम र फेसनले नङ्ग्याउँछ । प्रकृति भोकाए रुख नाङ्गिन्छन् । मान्छे भोकाए आफैँ नाङ्गिन्छन् । नग्नता पनि भोक हो ।’

अमेरिकामा प्रकृति र पात्रबीच नाङ्गिने प्रतिष्पर्धा चल्छ ।

अमेरिकामा फेसनको नाममा मान्छे नाङ्गिने प्रवृत्तिजस्तै प्रकृति पनि नाङ्गिने गरेको प्रसङ्ग जोड्दै उनी भन्छन्ः मान्छेजस्तै नग्नताको सौन्दर्य देखाउने भोक पालेर बसेको छ प्रकृति पनि । शिशिर याममा देखिने प्रकृतिको नग्नतामा हिमपात हुँदाको दृश्य वर्णन गर्ने क्रममा लेखकले नग्नतलाई पनि सुन्दरतासँग जोडेका छन् ।

उपन्यासको कथा अमेरिकाको बोस्टन शहरको सेरोफेरोमा भए पनि स्थानीयता पनि झल्कन्छ । सुन्दरहरैंचाका सर्जक शिव प्रकाशले स्मृतिमा भए पनि नेपालको स्थानीय परिवेशलाई पनि समेटेका छन् । जस्तै,

कालीखोला, कालीथान, हात्तीसार र हाटखोलाका रङ्गीन क्षणहरु सम्झन्छ । गाउँका जमुना, चम्पा, चन्दा, इन्द्रा, कान्ता, नयनकान्ता, देवकी सबै सम्झन्छ ।

समग्रमा यो औपन्यासिक कृति अमेरिकामा रहेका आप्रवासी नेपालीको दम्पत्तिइतरको सम्बन्ध देखाउन सक्षम भएको देखिन्छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Published

on

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading

Banner

आज शहीद दिवस

Published

on

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

Continue Reading

Banner

तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ

Published

on

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक