Connect with us
Advertisement

डिजेलको तुलनामा बिजुलीको गाडी कति सस्तो, कति महँगो?

Published

on

चीनसँगको सीमावर्ति रसुवा नाकाबाट गत साउन र भदौमा १२ सय ३० वटा गाडी आयात भएका थिए। तीमध्ये २३ वटा डिजेल गाडी थिए भने बाँकी सबै बिजुली गाडी।

यो तथ्यांकले बिजुली गाडीको प्रयोग कसरी द्रुत गतिमा बढिरहेको छ भन्ने देखाउँछ।

निजी कार मात्र होइन, सार्वजनिक यातायातमा पनि बिजुली गाडीको प्रयोग बढ्दो छ। कतिपयले डिजेलभन्दा बिजुली गाडीबाट राम्रो आम्दानी हुन्छ भनिरहेका छन्। केहीले भने सुरूमा फाइदा भए पनि ब्याट्री फेर्नुपर्दा धेरै खर्च लाग्छ भन्छन्।

वास्तविकता के हो त? डिजेलको तुलनामा बिजुली गाडी कति सस्तो छ वा कति महँगो छ?

यो स्टोरीमा हामीले दुइटा फरक रूटको सार्वजनिक यातायातमा बिजुली गाडी (इभी) चलाउने दुई जना व्यवसायी/चालकसँग कुरा गरेका छौं। सँगसँगै, सार्वजनिक यातायातमा बिजुली गाडी प्रवर्द्धन गरिरहेको ‘दीगो क्लिन इनर्जी’ का अध्यक्ष राजन रायमाझीलाई पनि सोधेका छौं।

सुरूमा यातायात व्यवसायीहरूको कुरा सुनौं।

रामेछापका सागर बस्नेतले इभी चलाउन थालेको १५ महिना भयो। उनको १० सिटको इभी भ्यान काठमाडौं-रामेछाप रूटमा चल्छ। करिब ४३ लाख रूपैयाँ पर्ने यो गाडी उनले १८ लाख नगद भुक्तानी र बाँकी किस्तामा किनेका हुन्। मासिक किस्ता ७२ हजार रूपैयाँ छ।

‘किनेदेखि खासै धेरै खर्च गर्नुपरेको छैन,’ सागरले भने, ‘महिनाको साढे २ लाख रूपैयाँसम्म कमाइ हुन्छ। चार जनाको परिवार राम्ररी चलेको छ। थोरै बचत पनि गर्दैछु।’

 

उनी पहिले यही रूटमा डिजेल गाडी चलाउँथे। प्रत्येक ट्रिपमा ६ हजार रूपैयाँको डिजेल लाग्थ्यो। अहिले बिजुली खर्च एक हजार रूपैयाँभन्दा कम छ। इन्धनमा मात्र प्रतिट्रिप ५ हजार रूपैयाँ बचत भइरहेको उनी बताउँछन्।

सागरको एउटै चिन्ता छ — ब्याट्री फेर्नुपर्दा लाखौं पर्ने हो कि!

‘कसैले १० लाख भन्छन्, कसैले १५ लाख,’ उनले भने, ‘भविष्यमा ब्याट्रीलाई लाग्न सक्ने खर्च अहिल्यै छुट्याएर राख्ने गरेको छु।’

नुवाकोटका छविलाल परियारले पनि ११ सिटको बिजुली माइक्रो किनेर काठमाडौं-त्रिशूली रूटमा चलाएको दुई वर्ष भयो। लगभग ४५ लाख रूपैयाँमा किनेका हुन्। त्यसमध्ये १३ लाख रूपैयाँ तिरिसके। महिनाको ९२ हजार ५ सय रूपैयाँ किस्ता तिरिरहेका छन्। कमाइ डेढ लाख रूपैयाँ हुन्छ।

पहिले यही रूटमा प्रतिट्रिप ३ हजार रूपैयाँको डिजेल जान्थ्यो। अहिले ६ सय रूपैयाँको बिजुली भए पुग्छ। ट्रिपमै २४ सय रूपैयाँ बचत भइरहेको उनी बताउँछन्।

‘अहिलेसम्म त राम्रै छ। पछि ब्याट्री फेर्दा २०-२५ लाख नै खर्च हुन्छ भन्ने सुनेको छु। त्यसपछि त किस्ता तिर्न सकिँदैन होला,’ उनले भने, ‘सार्वजनिक यातायातमा बिजुली गाडी बढाउने हो भने बैंक ब्याजदर, ब्याट्री खर्च र पाटपुर्जा समेतमा सहुलियत दिनुपर्छ। चार-पाँच वर्षपछि ब्याट्री फेर्दा १०-१२ लाखमै आउने हो भने बल्ल डिजेल गाडीभन्दा फाइदा हुन्छ।’

व्यवसायीहरूको अनुभवपछि अब दीगो क्लिन इनर्जीका अध्यक्ष राजन रायमाझीको कुरा सुनौं।

उनले एउटै रूटमा चल्ने र समान सिट क्षमता भएका यात्रुवाहक बिजुली गाडी र डिजेल गाडीको लागत-खर्च तुलना गरेर देखाए।

रायमाझीका अनुसार ११ सिटे बिजुली गाडीको मूल्य भन्सार छुटसमेत हिसाब गर्दा करिब ४५ लाख ४५ हजार रूपैयाँ पर्छ। त्यति नै सिटको डिजेल गाडीलाई भन्सार छुटसहित ४६ लाख ५० हजार तिर्नुपर्छ। त्यसैले यी दुईबीच मूल्यमा खासै भिन्नता नभएको उनले बताए।

‘सञ्चालन खर्च भने आनका तान फरक छ,’ उनले भने, ‘मानौं यी दुवै किसिमका गाडी काठमाडौं-सिन्धुली रूटमा चल्छन्। यो रूटमा एक वर्ष गुड्दा बिजुली गाडीले लगभग ४८० किलोवाट बिजुली खपत गर्छ भने डिजेल गाडीलाई १२ हजार लिटर डिजेल चाहिन्छ।’

प्रचलित मूल्यअनुसार ४८० किलोवाट बिजुलीको खर्च २ लाख ४१ हजार ९२० रूपैयाँ हुन्छ। डिजेल खर्च भने १७ लाख ८८ हजार रूपैयाँ पर्छ। भन्नुको मतलब, बिजुली गाडी चलाउँदा इन्धनमा मात्र वर्षको १५ लाख ४६ हजार रूपैयाँ बचत हुन्छ।

अब ब्याट्री फेर्नुपर्ने अवस्थाको कुरा गरौं।

‘सामान्यतया बिजुली गाडी चार लाख किलोमिटर गुडेपछि ब्याट्री फेर्नुपर्ने हुन्छ। चार लाख किलोमिटर गुड्दासम्म ब्याट्री चार्ज गर्न करिब चार लाख रूपैयाँ लाग्छ। त्यसपछि नयाँ ब्याट्री फेर्दा १५ लाख नै लाग्यो भने पनि चार वर्षको जम्माजम्मी खर्च १९ लाख हुन्छ,’ रायमाझीले भने, ‘यही कुरा डिजेल गाडीमा हिसाब गर्दा चार लाख किलोमिटर गुड्दासम्म कम्तीमा ५० हजार लिटर डिजेल चाहिन्छ। यो भनेको लगभग ८० लाख रूपैयाँ हो। अब भन्नुस्, डिजेल गाडी सस्तो पर्‍यो कि बिजुली गाडी?’

बिजुली गाडी सञ्चालकले पछि ब्याट्री फेर्नलाई भनेर हरेक ट्रिपमा केही रकम छुट्याएर राख्ने हो भने एकैपटक भार नपर्ने उनको भनाइ छ।

रायमाझीको कम्पनी दीगो क्लिन इनर्जीले अहिलेसम्म ११, १४, १६ र १९ सिटे बिजुली गाडी बजारमा ल्याएको छ, जुन विभिन्न ठाउँमा सार्वजनिक यातायातका रूपमा प्रयोग भइरहेका छन्। यसले कार्गो र पिकअप भ्यानमा पनि बिजुली गाडी बिक्री गर्छ।

सार्वजनिक यातायातमा बिजुली गाडीको प्रयोग बढाउन राज्यले खासै सहयोग नगरेको उनी बताउँछन्।

उनले यसमा भन्सार महसुलको उदाहरण दिए।

पेट्रोल र डिजेलबाट चल्ने निजी गाडीको भन्सार महसुल २५० देखि ३०० प्रतिशत छ। बिजुलीबाट चल्ने निजी गाडीमा भने ५० प्रतिशत तिरे पुग्छ। यसमा २०० प्रतिशतसम्मको अन्तर देखिन्छ। यही अन्तर व्यावसायिक प्रयोजनका डिजेल र बिजुली गाडीको हकमा एकदमै नमिल्दो छ। व्यावसायिक प्रयोजनका डिजेल गाडीको भन्सार महसुल ४० प्रतिशत छ। जबकि, ११ देखि १४ सिटको बिजुली गाडी ल्याउँदा २२ प्रतिशत भन्सार तिर्नुपर्छ। १५ सिटभन्दा माथिको गाडीलाई पनि १ प्रतिशत भन्सार लाग्छ।

‘व्यावसायिक प्रयोजनका डिजेल र बिजुली गाडीको भन्सारमा खासै अन्तर छैन,’ उनले भने, ‘जति सहुलियत निजी बिजुली गाडीले पाइरहेको छ, त्यति सहुलियत सार्वजनिक वा व्यावसायिक बिजुली गाडीलाई छैन। जबकि यसको उल्टो हुनुपर्थ्यो। यो कुरा लगातार उठाउँदा पनि सुनुवाइ भएको छैन।’

सार्वजनिक बिजुली गाडीमा बैंकिङ समस्या पनि रहेको उनले बताए।

उनका अनुसार निजी बिजुली गाडी किन्दा जुनसुकै बैंकले सात वर्षका लागि ८० प्रतिशतसम्म लगानी गरिदिन्छ। सार्वजनिक गाडीमा भने ६० देखि ७० प्रतिशत मात्र लगानी गर्छ। त्यो पनि बिनाधितो ऋण पाइँदैन।

‘पहिले डिजेल गाडीमा एकदमै कम नाफा हुन्थ्यो। व्यवसायीहरू किस्ता तिर्न सक्थेनन्। त्यसैबाट डराएर बैंकहरूले बिजुली गाडीमा कडाइ गरिरहेका छन्। तर यसमा फाइदा धेरै छ। डिजेल गाडीजस्तो ट्र्याकिङको समस्या छैन। कुन चार्जिङ स्टेसनमा कुन गाडी चार्ज भयो भनेर सजिलै थाहा हुन्छ,’ रायमाझीले भने, ‘बैंकहरूले लगानी गर्न डराउनु पर्दैन।’

ब्याट्री फेर्दा बढी खर्च हुने भएकाले भविष्यमा बिजुली गाडी महँगो पर्छ भन्ने अनुमान पनि सही नभएको उनको भनाइ छ।

‘हरेक दिन डिजेल हाल्दा हजारौं रूपैयाँ खर्च हुन्छ। त्यसको सट्टा ब्याट्री फेर्दा लाग्ने खर्च तुलनात्मक कमै हुन्छ,’ उनले भने, ‘भविष्यमा ब्याट्री फेर्नुपर्छ भनेर अहिल्यै चित्त दुखाउनु पनि सही होइन। समय पुगेपछि त फेर्नुपर्छ नै।’

सार्वजनिक यातायात व्यवसायीहरू बिजुली गाडीको प्रयोग बढाउन चार्जिङ स्टेसनहरू धेरै र भरपर्दो हुनुपर्ने बताउँछन्।

चालक सागर बस्नेतले काठमाडौं-रामेछाप रूटकै उदाहरण दिए। यो रूटमा ठाउँठाउँमा चार्जिङ स्टेसन भए पनि कहिलेकाहीँ बिजुली नहुनु वा भोल्टेज कम हुनुले समस्या पर्ने गरेको उनको अनुभव छ। अरू कम्पनीको चार्जिङ स्टेसनमा नयाँ गाडीले चार्ज गर्न नपाउने समस्या पनि छ।

उनले गएको वैशाखमा आफूले झेलेको एउटा समस्या सुनाए —

उनी ८ जना यात्रु लिएर रामेछापबाट काठमाडौं आउँदै थिए। मूलकोट नजिकको चार्जिङ स्टेसन पुग्दा साँझ ४ बजेको थियो। तर बत्ती नभएकाले पुग्नेबित्तिकै चार्ज गर्न पाएनन्। त्यो दिन राति ९ बजे मात्र बत्ती आयो। एक घन्टा चार्ज गरेर १० बजे हिँडेको उनले बताए।

‘तुरून्तै चार्ज गर्न पाएको भए ८ बजे काठमाडौं आइपुगिन्थ्यो, बित्थामा रातको १ बज्यो,’ उनले भने, ‘यात्रुहरूलाई फकाउँदा फकाउँदा हैरान भएँ। आखिरमा घरघरै पुर्‍याएपछि मात्र छुट्कारा पाएँ। भोलिपल्ट रामेछाप जाने पालो पनि पाइएन।’

केही चार्जिङ स्टेसनमा जेनेरेटर राखिएको भए पनि सधैं काम गर्दैन। बिजुली नहुँदाको विकल्प नभएसम्म ढुक्कले इभी चलाउन नसकिने उनको भनाइ छ।

यसबारे दीगो क्लिन इनर्जीका रायमाझीसँग कुरा गर्दा उनले चार्जिङ स्टेसनहरूको क्षमता बढाउने काम भइरहेको बताए। दीगोले नेपालका विभिन्न ठाउँमा चार्जिङ स्टेसन पनि निर्माण गरेको छ, जहाँ चार्जिङका अतिरिक्त रेस्टुरेन्ट, वासरूम लगायत थुप्रै सुविधा छन्।

‘काठमाडौं-सिन्धुली रूटकै कुरा गर्ने हो भने पहिले मूलकोट नजिकै रामटारमा मात्र चार्जिङ स्टेसन थियो। अहिले ३५ ठाउँमा छन्,’ उनले भने, ‘चार्जिङ स्टेसन बढेसँगै बिजुली ‍गाडीको माग पनि बढेको छ। सुरूमा हामीले तीनवटा बिजुली बस चलाएको बिपी राजमार्जमा अहिले दुई हजारभन्दा धेरै बिजुली गाडी चल्छन्।’

सार्वजनिक बिजुली गाडी प्रवर्द्धनमा सरकारी असहयोग भने सुधार हुनुपर्ने उनको भनाइ छ।

उनले एउटा उदाहरण दिए — दीगो क्लिन इनर्जीले डेढ वर्षअघि ७२ वटा गाडी मगाएको थियो। ती गाडीमा फोल्डिङ सिट भएको भन्दै ६ महिना भन्सारमै रोकियो।

‘फोल्डिङ सिट भएकाले बढी भन्सार तिर्नुपर्छ भनियो। निजी गाडीमा पनि त फोल्डिङ सिट हुन्छ नि, होइन?’ उनले भने।

रायमाझीका अनुसार अहिले सडकमा चल्ने कुल बिजुली गाडीमध्ये ३० प्रतिशत मात्र सार्वजनिक वा व्यावसायिक प्रयोजनका छन्।

‘सार्वजनिक यातायातमा बिजुली गाडीको प्रयोग बढाउने हो भने सरकारले भन्सार महसुलदेखि बैंकिङ लगानीमा समेत सुधार गर्नुपर्ने खाँचो छ,’ उनले भने, ‘व्यवसायीहरूलाई दीर्घकालीन फाइदा हुन्छ भनेर विश्वास दिलाउन सकियो भने मात्र धेरैभन्दा धेरै डिजेल गाडीलाई बिजुलीले प्रतिस्थापन गर्न सक्छ। त्यसपछि बल्ल देशले आर्थिक र वातावरणीय रूपमा बिजुली गाडीको लाभ पाउनेछ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

Published

on

नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।

उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।

कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।

Continue Reading

Banner

सुन्दरहरैँचामा क्विज प्रतिस्पर्धा, लभ्ली एन्जल्स प्रथम,सुबिजिमुर दोस्रो, सगरमाथा हिमाल तेस्रो

Published

on

एउटै मञ्चमा २६ विद्यालयका विद्यार्थी। प्रश्नमाथि प्रश्न, उत्तरका लागि तीव्र प्रतिस्पर्धा र सही जवाफसँगै बढ्दो उत्साह। सुन्दरहरैँचामा आयोजित अन्तरविद्यालयस्तरीय क्विज प्रतियोगिताले विद्यार्थीको ज्ञान, तर्कशक्ति र आत्मविश्वासलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर दिएको छ।
सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा सम्पन्न ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ मा सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी भएका थिए।
प्रतियोगिताका विभिन्न चरणमा विद्यार्थीले सामान्य ज्ञानसँगै सिर्जनात्मक क्षमता, तार्किक सोच र तत्काल निर्णय गर्ने क्षमताको प्रदर्शन गरेका थिए। अन्ततः १२० अङ्क प्राप्त गर्दै लभ्ली एन्जल्स इङ्लिस स्कुलले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बनेको छ।
प्रतियोगितामा १०५ अङ्कसहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र ९५ अङ्कसहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तेस्रो भए। ८० अङ्क प्राप्त गरेको शिशिर एकेडेमीले सान्त्वना स्थान हासिल गरेको छ।
विजेता लभ्ली एन्जल्स इङ्लिस स्कुलले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ६ हजार र ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। सान्त्वना हुने विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीको उत्साहले कार्यक्रमलाई केवल प्रश्नोत्तरमा सीमित राखेन। एउटै मञ्चमा विभिन्न विद्यालयका विद्यार्थीबीच भएको प्रतिस्पर्धाले उनीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै आफ्ना ज्ञान र क्षमता प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्‍यो।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्रीले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। पाठ्यपुस्तकको ज्ञानसँगै सामान्य ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न विद्यालयस्तरीय क्विज उपयोगी हुने उनको भनाइ थियो।
विद्यार्थीलाई पढाइमा मात्र सीमित नराखी उनीहरूको प्रतिभा प्रस्फुटन हुने वातावरण निर्माण गर्न विद्यालय, शिक्षक र अभिभावकको सहकार्य आवश्यक रहेको क्षेत्रीले बताए। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरित गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्छ।
प्याब्सन सुन्दरहरैँचाका सचिव सूर्य दंगालले विद्यालयस्तरबाटै विद्यार्थीको ज्ञान र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिनु सकारात्मक भएको बताए। विद्यार्थीको क्षमता परीक्षाको अङ्कमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले अतिरिक्त क्रियाकलापमार्फत व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्नुपर्नेमा जोड दिए।
विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा सहभागी गराएर प्रतिस्पर्धा गराउँदा विद्यालयहरूबीचको सम्बन्धसमेत थप मजबुत हुने दंगालले बताए।
सफल सिद्धार्थ एकेडेमीका फाउन्डर सदस्य गोविन्द कार्कीले विद्यार्थीको प्रतिभा र क्षमता उजागर गर्ने कार्यक्रमले शिक्षालाई थप व्यवहारिक र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
विद्यालयका प्रिन्सिपल राजन लम्सालले सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगिताले विद्यार्थीलाई आफ्नो ज्ञान र प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर दिएको बताए। विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी सर्वाङ्गीण विकासमा विद्यालयले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि क्षमता विकास, नेतृत्व सीप, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए।
२६ विद्यालयका विद्यार्थीको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको आयोजकको भनाइ छ। विद्यार्थीमा ‘जान्ने, सिक्ने र अघि बढ्ने’ संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता पुरस्कार वितरणसँगै सम्पन्न भएको हो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न विद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक