Banner
कस्तो छ तपाईँको आईफोनको ब्याट्री हेल्थ ? लामो समयसम्म फोन टिकाउन यी टिप्स अपनाउनुहोस्
आईफोनको ब्याट्रीको कुरा आउने बित्तिकै मानिसले सोध्ने पहिलो प्रश्न हो- फोनको ब्याट्री हेल्थ कस्ताे छ नि ? आईफोनमा ब्याट्रीको समस्यालाई लिएर बजारमा विभिन्न प्रकारका चर्चा हुने गर्छन् । यदि तपाईँ आईफोन प्रयोगकर्ता हुनुहुन्छ, अथवा नयाँ आईफोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने यो लेख तपाईँका लागि उपयोगी हुनसक्छ ।
वास्तवमा आईफोनको ब्याट्री हेल्थ भनेको तपाईँको फोनको ब्याट्रीको अधिकतम क्षमता हो । नयाँ आईफोनको ब्याट्री हेल्थ १००% हुन्छ । तर समयसँगै यो घट्दै जान्छ । ८०% भन्दा कम ब्याट्री हेल्थ भएको आईफोनलाई मानिसले रुचाउँदैनन् । आईफोन ब्याट्री हेल्थ घट्नु सामान्य कुरा भएपनि यसलाई लामो समयसम्म राम्रो अवस्थामा राख्न केही उपाय अपनाउन सकिन्छ ।
एप्पलले प्रमाणित गरेको चार्जर मात्र प्रयोग गर्नुहोस्
पछिल्ला केही वर्षहरूमा एप्पलले नयाँ फोनमा चार्जर दिन छोडेको छ । यसको अर्थ हो, एप्पल प्रयोगकर्ताले फोन खरिद गर्दा चार्जर पनि छुट्टै खरिद गर्नुपर्ने हुन्छ । यसकारण, धेरै प्रयोगकर्ताले आफ्नो फोन चार्ज गर्न बजारमा उपलब्ध कुनै पनि प्रकारका चार्जर प्रयोग गर्ने गरेका छन् । अथवा एउटा केबल खरिद गरेर अन्य कुनै एडप्टर प्रयोग गरेर पनि चार्ज गर्ने चलन छ ।
धेरैजसो अवस्थामा अन्य ब्रान्डका चार्जर एप्पलको तुलनामा सस्तो हुनसक्छ । तर तपाईँको ब्याट्री हेल्थको लागि, एप्पलले प्रमाणित गरेको चार्जरहरू प्रयोग गर्नु नै उपयुक्त हुन्छ । यसका साथै तपाईँले फास्ट चार्जरको प्रयोग नगर्नु पनि उपयुक्त हुन्छ ।
सामान्यतया फास्ट चार्जर प्रयोग गर्दा फोन तात्ने समस्या हुन्छ । यसले फोनको ब्याट्रीमा असर गर्छ । यसले गर्दा फोनलाई सामान्य चार्जिङ सपोर्ट गर्ने चार्जरबाट नै चार्ज गर्नु उपयुक्त हुन्छ ।
फोनलाई रातभर चार्जिङमा छोड्न म्यागसेफ वायरलेस चार्जर प्रयोग गर्नुहोस्
धेरैजसो स्मार्टफोन प्रयोगकर्ताको फोनलाई राति चार्जमा राखेर सुत्ने बानी हुन्छ । यसले गर्दा मानिसहरूलाई राति फोन चार्जमा नराख्नुस् भन्ने सल्लाहले खासै काम गर्दैन । यसको लागि प्रविधिले नै काम गर्नुपर्ने स्थिति हुन्छ ।
यदि तपाईँको पनि राति फोन चार्जमा राखेर सुत्ने बानी छ भने एप्पलको म्यागसेफ वायरलेस चार्जर प्रयोग गर्न सक्नुहुन्छ । वायरलेस चार्जरले सामान्यतया वायर्ड चार्जरले भन्दा सुस्त काम गर्छ । यसले ब्याट्री तात्ने समस्या हुँदैन ।
ब्याट्रीको प्रतिशत सधैं २० देखि ८० को बिचमा राख्नुहोस्
तपाईँको आईफोनको ब्याट्री हेल्थ लामो समयसम्म राम्रो अवस्थामा राख्न सबैभन्दा ध्यान दिनुपर्ने कुरा हो ब्याट्रीको लेभल । अर्थात् फोनमा कति प्रतिशतभन्दा कम ब्याट्री हुन नदिने अथवा कति प्रतिशतसम्म ब्याट्री चार्ज गर्दा पनि हुन्छ भन्ने विषयलाई ध्यान दिन जरुरी छ ।
स्मार्टफोनले लिथियम ब्याट्री प्रयोग गर्छ, जसमा सीमित संख्यामा चार्जिङ साइकल हुन्छ। चार्जिङ साइकल भनेको एकपटक चार्ज गरेर चार्जरबाट फोन निकाल्दाको समय भनेर बुझिन्छ । यो जति धेरै हुन्छ, त्यति नै चार्जिङ साइकल घट्दै जान्छ र तपाईंको ब्याट्रीको हेल्थ पनि कम हुँदै जान्छ ।
त्यसैले तपाईँको ब्याट्रीको चार्जिङ साइकल प्रयोग गर्नबाट बच्न तपाईँको ब्याट्रीलाई सधैं २० देखि ८० प्रतिशतको बिचमा राख्न उपयुक्त हुन्छ ।
फोनलाई अत्यधिक तापक्रमबाट जोगाउनुहोस्
तपाईँको स्मार्टफोनलाई अत्यधिक तापक्रममा राख्नु अथवा धेरै तातो हुने समयसम्म फोन प्रयोग गर्नु नराम्रो बानी हो । किनभने लिथियम ब्याट्रीमा प्रयोग हुने रसायनले तापक्रमका कारण गलत प्रतिक्रिया दिन्छ ।
आफ्नो स्मार्टफोनलाई प्रत्यक्ष घाममा पर्ने गरी प्रयोग गर्दा वा राख्दा, आफ्नो कारको ड्यासबोर्डमा राख्दा वा कुनै पनि प्रकारको तातोले ब्याट्रीको स्वास्थ्यलाई असर गर्नसक्छ । जब गर्मीका कारण ब्याट्री घट्न थाल्छ, यसले तपाईँको फोनको ब्याट्रीको लाइफ साइकल स्वतः कम गर्न थाल्छ।
अप्टिमाइज्ड ब्याट्री चार्जिङ फिचर एक्टिभेट गर्नुहोस्
यो फिचरको विषयमा धेरै आईफोन प्रयोगकर्तालाई थाहा नहुनसक्छ । यो फिचर मुख्यत: ती व्यक्तिहरूका लागि हो, जाेसँग वायरलेस चार्जर छैन, तर आफ्नो फोन रातभर चार्ज गर्ने बानी भने छ । आईओएसमा ‘अप्टिमाइज्ड ब्याट्री चार्जिङ’ नामक फिचर छ, जसले तपाईँलाई सुत्दा तपाईँको ब्याट्री व्यवस्थापन गर्न मद्दत गर्छ ।
यो फिचरले तपाईँको ब्याट्री चार्ज गर्ने तरिका व्यवस्थापन गर्न तपाईँले तपाईँको फोनलाई प्रयोग गर्ने र चार्ज गर्ने बानीलाई निगरानी गर्छ र सोही अनुरूप फोनको व्यवस्थापन गर्छ । यो फिचर एक्टिभेट गरेर फोन चार्ज गर्दा ८० प्रतिशत ब्याट्रीको लेभल पुगेपछि यसले चार्जिङलाई स्वतः रोक्छ ।
अन्य अवस्थामा भने तपाईँले आफ्नो फोनलाई १०० प्रतिशतभन्दा अगाडि अनप्लग गर्नुभयो भने यो फिचरले तपाईँलाई १०० प्रतिशत नपुग्दासम्म चार्ज जारी राख्न आग्रह गर्दछ । यसले तपाईँको ब्याट्रीलाई सुरक्षित रहन मद्दत गर्छ । यसका लागि सेटिङमा गएर ब्याट्री अप्सनमा ट्याप गर्नुहोस् ।
यसपछि ब्याट्री हेल्थ एन्ड चार्जिङ अप्सनमा ट्याप गरेर अप्टिमाइज्ड ब्याट्री चार्जिङ अप्सनलाई एक्टिभेट गर्नुहोस् ।
अन्य टिप्स
- ब्याट्री सेभिङ मोड प्रयोग गर्नुहोस्: फोनको ब्याट्री कम छ भने ब्याट्री सेभिङ मोड प्रयोग गर्दा फोनको पावर बचाउन मद्दत पुग्छ र ब्याट्री लाइफ बढ्छ ।
- चार्ज गर्दा केस हटाउनुहोस्: फोन चार्ज गर्दा यसको तापमान बढ्न सक्छ । तातोको प्रभाव कम गर्न केस हटाउनुहोस् ।
- सफ्टवेयर अपडेट राख्नुहोस्: एप्पलले बेलाबेला आईफोनको सफ्टवेयर अपडेट गर्छ । यसले ब्याट्री व्यवस्थापनमा सुधार ल्याउँछ । आफ्नो फोनमा नियमित सफ्टवेयर अपडेट राख्नुहोस् ।
- अनावश्यक एप्लिकेसन र सेटिङ हटाउनुहोस्: केही एप्लिकेसनहरूले अनावश्यक पावर खपत गर्छन् । यस्ता एप्लिकेसनलाई अनइन्स्टल गर्नु र अनावश्यक सेटिङ्गहरूलाई बन्द गर्नु उपयुक्त हुन्छ ।
Facebook Comment
Banner
कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।
उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।
समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।
कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।
Banner
सुन्दरहरैँचामा क्विज प्रतिस्पर्धा, लभ्ली एन्जल्स प्रथम,सुबिजिमुर दोस्रो, सगरमाथा हिमाल तेस्रो
एउटै मञ्चमा २६ विद्यालयका विद्यार्थी। प्रश्नमाथि प्रश्न, उत्तरका लागि तीव्र प्रतिस्पर्धा र सही जवाफसँगै बढ्दो उत्साह। सुन्दरहरैँचामा आयोजित अन्तरविद्यालयस्तरीय क्विज प्रतियोगिताले विद्यार्थीको ज्ञान, तर्कशक्ति र आत्मविश्वासलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर दिएको छ।
सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा सम्पन्न ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ मा सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी भएका थिए।
प्रतियोगिताका विभिन्न चरणमा विद्यार्थीले सामान्य ज्ञानसँगै सिर्जनात्मक क्षमता, तार्किक सोच र तत्काल निर्णय गर्ने क्षमताको प्रदर्शन गरेका थिए। अन्ततः १२० अङ्क प्राप्त गर्दै लभ्ली एन्जल्स इङ्लिस स्कुलले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बनेको छ।
प्रतियोगितामा १०५ अङ्कसहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र ९५ अङ्कसहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तेस्रो भए। ८० अङ्क प्राप्त गरेको शिशिर एकेडेमीले सान्त्वना स्थान हासिल गरेको छ।
विजेता लभ्ली एन्जल्स इङ्लिस स्कुलले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ६ हजार र ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। सान्त्वना हुने विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीको उत्साहले कार्यक्रमलाई केवल प्रश्नोत्तरमा सीमित राखेन। एउटै मञ्चमा विभिन्न विद्यालयका विद्यार्थीबीच भएको प्रतिस्पर्धाले उनीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै आफ्ना ज्ञान र क्षमता प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्यो।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्रीले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। पाठ्यपुस्तकको ज्ञानसँगै सामान्य ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न विद्यालयस्तरीय क्विज उपयोगी हुने उनको भनाइ थियो।
विद्यार्थीलाई पढाइमा मात्र सीमित नराखी उनीहरूको प्रतिभा प्रस्फुटन हुने वातावरण निर्माण गर्न विद्यालय, शिक्षक र अभिभावकको सहकार्य आवश्यक रहेको क्षेत्रीले बताए। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरित गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्छ।
प्याब्सन सुन्दरहरैँचाका सचिव सूर्य दंगालले विद्यालयस्तरबाटै विद्यार्थीको ज्ञान र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिनु सकारात्मक भएको बताए। विद्यार्थीको क्षमता परीक्षाको अङ्कमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले अतिरिक्त क्रियाकलापमार्फत व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्नुपर्नेमा जोड दिए।
विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा सहभागी गराएर प्रतिस्पर्धा गराउँदा विद्यालयहरूबीचको सम्बन्धसमेत थप मजबुत हुने दंगालले बताए।
सफल सिद्धार्थ एकेडेमीका फाउन्डर सदस्य गोविन्द कार्कीले विद्यार्थीको प्रतिभा र क्षमता उजागर गर्ने कार्यक्रमले शिक्षालाई थप व्यवहारिक र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
विद्यालयका प्रिन्सिपल राजन लम्सालले सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगिताले विद्यार्थीलाई आफ्नो ज्ञान र प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर दिएको बताए। विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी सर्वाङ्गीण विकासमा विद्यालयले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि क्षमता विकास, नेतृत्व सीप, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए।
२६ विद्यालयका विद्यार्थीको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको आयोजकको भनाइ छ। विद्यार्थीमा ‘जान्ने, सिक्ने र अघि बढ्ने’ संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता पुरस्कार वितरणसँगै सम्पन्न भएको हो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न विद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो।
Banner
नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login