Banner
प्रदर्शनस्थलमै समातिएका दुर्गा प्रसाईं कसरी फुत्किए ? अहिले कहाँ छन् ?
१८ चैत, काठमाडौं । शुक्रबार तीनकुनेमा मच्चिएको विध्वंशका नाइके दुर्गा प्रसाईंले उत्तेजित हुँदै प्रहरी, सञ्चारकर्मी अनि आफ्नै समर्थकलाई समेत किच्याउने हिसाबले गाडी हुइँक्याएको दृश्य तपाईंले हेर्नु भएकै होला ।
धेरैले त्यो श्रव्यदृश्य हेरेपछि प्रहरीमाथि प्रश्न गरेका छन्, किन त्यतिबेला गोली चलाइएन ? काठमाडौंका प्रहरी अधिकृतहरु नै उनको त्यो गतिविधिलाई केही बेर पहिल्यै रोक लगाउनु पर्नेमा चुक भएको स्वीकार्छन् ।
धेरैले त्यसबेला आत्मरक्षाका अरु कदमहरु किन नचालेको भनेर फिल्डमा खटिएका प्रहरीहरुमाथि पनि प्रश्न गरिरहेका छन् ।
तर, कमैलाई थाहा छ, प्रसाईं त्यसरी उद्दण्डता मच्चाउँदै तीनकुने पुल कटेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सुविधानगर अगाडि प्रहरी घेरा हालेर बसेको ठाउँमा उनी ‘बाग्मती प्रदेश ०२७ च ३८४७’ नम्बरको गाडी हुइँक्याउँदै आएका थिए, पछाडि उनका समर्थक र केही युट्युबरहरु चढेका थिए । त्यही बेला निषेधित क्षेत्र तोडेर अगाडि बढ्न नदिने गरी लहरै खटिएकामध्ये एक प्रहरीले प्रसाईंको गाडीको चाबी खोस्न खोजेका थिए ।
तर, उनले झ्यालको सीसा बन्द गरिहाले । र, जबरजस्ती अगाडि बढे । आफैंलाई किच्याउने स्थिति भएपछि प्रहरी पछि हट्न बाध्य भयो ।
थोरै अघि रहेका सशस्त्र प्रहरीको टोलीले भने प्रसाईंको गाडीमा लाठी बजारे, यद्यपि तीब्र गतिमा आएका अराजक प्रसाईंसामू तत्काल सशस्त्र प्रहरीले पनि थप कदम चाल्न सकेन ।
तीनकुने पुल कटेपछि बीचको लेन बन्द थियो, उनले गाडी दाहिनेतिर मोडे । त्यहाँ रहेको ट्राफिकको गति सीमित गराउने ‘कोन’मा समेत हान्दै प्रसाईं तीन सय मिटर अगाडि गए ।
यद्यपि धेरै अघि पनि बढेनन्, सायद रस्साकस्सीपछि गन्तव्यबारे नै अलमलमा थिए । गाडी त्यहीँ साइड लगाए, पछाडि बसेका मानिसहरु ओर्लिएका मात्र के थिए, हेल्मेट र हतियारसहित भिड नियन्त्रणमा खटिएको प्रहरीको एउटा टोली सिटी फुक्दै आइपुग्यो ।
प्रहरीले गाडी पछाडि बसेकाहरुलाई पनि निकाल्न थाल्यो, युट्युबरहरुलाई पनि क्लियर गर्नु भन्दै पछाडि हट्न लगायो । पछाडि दुई वटा झण्डासँगै बसेका मानिसहरु ओर्लिए, प्रसाईंले चाहिँ प्रहरी भएतिर झ्याल समेत खोलेनन् । केही बेरमा प्रसाईं बसेको सिटतर्फ आएर युट्युबरहरुले सोधे, ‘प्रहरीले तपाईंलाई समात्न खोजी रा’छ नि !’
‘..त्यत्रो सल्लाह गरेर, कार्यक्रम सकेर निस्किने भनेको… हामी हाम्रो आमसभा गर्न नपाउने ?’
उनले पूरा जवाफ दिन नपाउँदै अर्को प्रश्न सोधियो, ‘तर, तपाईं प्रहरी दाजुभाइ, पत्रकार सबैलाई कुल्चिने तरिकाले…’
प्रसाईंले छोटो जवाफ दिए, ‘होइन, हद भयो नि त… ।’
उनलाई फेरि भनियो, ‘प्रहरीले समात्न खोजी रा’छ… ।’
‘समातोस् न त, गिरफ्तार गर्दा हुन्छ, गिरफ्तार गर्दा केही फरक पर्दैन ।’
प्रहरीलाई समातोस् भनेका उनी त्यसपछि चाहिँ आत्तिए जस्तो देखिए । सँगै रहेका एक जना सहयोगीलाई ‘केटाहरुलाई बोलाउँ न’ भन्दै अह्राए ।
युट्युबरले फेरि प्रहरीले घेरिसक्यो भनेपछि उनले केही फरक नपर्ने भन्दै गाडीको चाबी खोज्न थाले । ‘चाबी कहाँ लगेछन् ?’, प्रसाईंले पटकपटक प्रश्न गरिरहे । त्यसबेला उनको गाडीको चाबी प्रहरीले लगेको थियो वा कुनै सहयोगीले लिएर हिँडे भन्ने स्पष्ट छैन ।
लगत्तै एक जना प्रहरीले प्रसाईंलाई बाहिर निस्किन आग्रह गरे । तर, उनले मानेनन् । झ्याल खोल्न लगाए, त्यसमा पनि सहमति जनाएनन् ।
यसपछि खटिएका प्रहरी अधिकारी केही आक्रोशित सुनिए, ‘यहाँ आउनुस् भनेको… ।’
प्रसाईं गाडीभित्र, प्रहरी बाहिर । त्यहीँ भनाभन हुन थाल्यो ।
दुर्गाः ‘… होइन, मेरो सुरक्षाकर्मी यहीँ छन् ।’
प्रहरीः हामी पनि सुरक्षाकर्मी हो त ।
दुर्गाः होइन, यो लफडा नगर्नुस् ।
प्रहरीः ल.. आउनु न, यहाँ आउनुस् भनेको । (दुई/तीन पटक प्रहरीले बोलाइरहे)
यो संवाद चलिरहँदा प्रहरी अधिकृतले गाडीभित्र सञ्चार सेट देखे । प्रहरीले बोक्ने जस्तो सञ्चार सेट देखेपछि उनका सहयोगीले छैन भन्दै लुकाउन खोजे ।
प्रसाईं पनि निस्किन नमानिरहेका बेला त्यो देखेपछि प्रहरीले गाडीको सिसा हातले हानेर फुटाइदिए । पन्जा लगाएका प्रहरीले एकैपटकमा सिसा तोडेको भिडियोमा समेत देखिन्छ ।
त्यसपछि प्रहरीले सञ्चार सेट नियन्त्रणमा लियो । यद्यपि, त्यो प्रहरीकै थियो वा दुर्गाका सुरक्षागार्डहरुले प्रयोग गर्ने गरेको थियो भन्ने खुलेको छैन ।
यो परिस्थितिपछि बाध्यतावश निस्किएका प्रसाईंलाई युट्युबरहरुले पनि घेरे । प्रहरीसँगै थिए, त्यही बीच हिँड्दै जाने भन्दै निस्किए । केही समर्थकहरु समेत भए पनि प्रहरीले उनलाई घेरामा हालेर नियन्त्रणमा लिइसकेको थियो । यसबारे उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा पनि खबर पुगिसकेको थियो ।
दुर्गाले पनि त्यतिञ्जेलमा आफू पूणतः प्रहरीको घेरामा परिसकेको महसुस गरे । यद्यपि, जबरजस्ती नगर्नु भन्दै प्रतिवाद गर्ने कोशिश गरिरहे ।
तर, जब प्रसाईंलाई घेरेको भिडसँगै प्रहरी अधिकृतहरु तीनकुनेतर्फ आए, त्यसपछि परिस्थिति बदलियो । उनी जति अगाडि बढे, त्यति नै समर्थकहरुले छोपिन थाले । उनलाई घेर्ने प्रहरी अधिकृतहरु कमजोर देखिन थाले ।
राजतन्त्र जिन्दावादको नारासँगै बढ्दो भीडमा प्रसाईंलाई प्रहरी घेराबाट उनका निजी सुरक्षागार्ड दिपक खड्काले खोसे । त्यसपछि उनी प्रहरीको नियन्त्रणबाट बाहिर पुगे । यसबारे उपत्यका प्रहरी कार्यालयमा समेत छलफल भएको छ । तर, फिल्डमा खटिएका एक अधिकृत भन्छन्, ‘त्यतिञ्जेल प्रसाईंलाई नियन्त्रणमा लिनु भन्ने आदेश समेत नआएकाले समस्या भएको हो ।’
यसपछि प्रहरी र प्रसाईंबीच लुकामारी चल्यो । अश्रु ग्यास प्रहार भएको स्टेजतिर छिरेका उनी क्षणभरमै दृश्यबाट हराए । केही बेरमा प्रहरीको एउटा इन्टलिजेन्स टोलीले सूचना पायो, ‘प्रसाईं महादेवस्थानतिर जाने बाटोमा रहेको एउटा घरको भुइँतलामा सटरभित्र लुकेर बसेका छन् ।’
उनी सुरक्षित हुन लुकेको स्थान त्यही हो, जहाँबाट अघिल्तिर रहेको भवनको छतमा बसेर प्रहरीले अश्रु ग्यास हानेको भन्दै राजावादी प्रदर्शनकारीले ढुंगा हानेर तोडफोड गरेका थिए ।
त्यो सूचना पाएका एक प्रहरी अधिकृतका अनुसार, त्यसबेला पनि ‘ग्रीन सिग्नल’ पाएको भए प्रसाईं समातिन्थे । ‘आन्दोलनको सिंगो कमाण्ड गरेका व्यक्ति नै हचुवाको तालमा समात्ने कुरा भएन, फेरि त्यतिबेला मृत्यु र उनले मच्चाएका अरु वितण्डाका विवरणहरु बाहिर आइसकेका थिएनन्’, एक अधिकृत भन्छन्, ‘त्यसैले त्यो समयमा पक्राउको आदेश नआउनु स्वभाविक पनि थियो ।’
केही समय बाहिर आफ्ना सुराकी राखेर सटरभित्र लुकेका प्रसाईंले त्यहाँ लामो समय बस्नु सुरक्षित ठानेनन् । त्यसपछि समर्थकलाई गाडी ल्याउन लगाए । कोटेश्वर, महादेवस्थान जाने बाटोतिर राखिएको बी ए बी ४२०८ नम्बरको स्कर्पियो केही बेरमै सटर अगाडि आइपुग्यो ।
त्यसक्रममा उनका सुरक्षागार्ड र अरु सहयोगीहरुले घेरा हालेर उनलाई गाडीभित्र चढ्ने प्रबन्ध मिलाए । अन्ततः अपराह्न ३ः२६ बजे उनी टाउको लुकाउँदै स्कर्पियोभित्र छिरे । त्यतिबेला उनी एकदमै डराएको जस्तो देखिन्थे । त्यहाँबाट निस्किएपछि भने प्रहरीको सर्भिलेन्स टुट्यो ।
राति प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाके । त्यसअघि गृहमन्त्री रमेश लेखकसमेत चारै सुरक्षा निकायका प्रमुखलाई राखेर उनले छलफल गरे ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दिपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापाले शुक्रबार दिनभरको घटनाक्रमबारे बेलिविस्तार लगाए । त्यतिञ्जेल दुईजनाको मृत्यु र कम्तिमा २२ जना घाइते भएको विवरण आइसकेको थियो । प्रदर्शनका कतिपय भिडियोहरु समेत आइसकेका थिए ।
प्रधानमन्त्री ओलीले बैठक अघि नै ती भिडियोहरु हेरिसकेको एक अधिकारी बताउँछन् । ‘त्यसपछि यो आन्दोलन हिंसात्मक भएको देखिएकाले संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने निष्कर्ष निस्कियो’, सुरक्षा सम्बद्ध एक अधिकारीले अनलाइनखबरसँग भने, ‘लगत्तै नवराज सुवेदीलाई घरमै नियन्त्रणमा राखिएको हो, राप्रपा नेताहरु धवलशमशेर राणा, रवीन्द्र मिश्र लगायत पक्राउ परेका हुन् ।’
दुर्गा प्रसाईंलाई समात्न पनि त्यही बेला स्पष्ट आदेश प्राप्त भएको थियो । त्यसपछि प्रसाईंलाई खोज्न प्रहरीका विभिन्न युनिटहरु परिचालित भए ।
केही बेरमै प्रहरी प्रधान कार्यालय, नक्सालबाट सीमा जोडिएका जिल्लाहरुमा अतिरिक्त प्रहरी समेत खटाएर निगरानी गर्न आदेश भयो । ‘बारा, पर्सा, चितवन, रौतहट, कपिलवस्तु, नेपालगञ्ज लगायतका जिल्लाका सीमामा विशेष निगरानी गर्न भनिएको थियो’, स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यसअनुसार सुरक्षा व्यवस्था एकदमै कडा पारेका थियौं ।’
साँझ केन्द्रको कडा निर्देशनपछि भारतसँग सीमा जोडिएका जिल्लाहरुले चेकजाँच बढाए । तर, अत्तोपत्तो लागेन ।
मोबाइल समेत गैरीगाउँमै स्वीच अफ गरिसकेको भेटियो । बरु त्यही बीचमा प्रसाईंले आफूलाई पक्राउ गर्ने सूचना पाएको भन्दै साँझ ६ः४५ मा फेसबुकमा स्ट्याटस लेखे, ‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ, त्यहीँ आउँछु ।’
भलै जहाँ बोलाए पनि आउँछु भनेका प्रसाईं यतिञ्जेल गायब छन्, उनको खोजीमा प्रहरीले सम्पूर्ण शक्ति लगाउनु परिरहेको छ । प्रसाईं सुरुमा भागेको गाडी खोज्दै जाँदा त्यहाँ धर्मगुरु पुष्कर खतिवडा समेत चढेको खुलेको थियो ।
सोधपुछका क्रममा खतिवडाले प्रसाईं इमाडोलस्थित घरमा सँगै आएको स्वीकारेका छन् । ‘आफूसँगै आएका प्रसाईं घरमा केरा र स्याउ खाएर निस्किएको उनले बयानमा खुलाएका छन्’, ललितपुर प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारी भन्छन्, ‘त्यसपछि कता गए थाहा नभएको भनेका छन् ।’
यसपछि आइतबार दिउँसो १ः१२ बजे छापामार शैलीमा एउटा भिडियो सन्देश बाहिरिएको छ, जसमा प्रसाईंले आफू काठमाडौंकै एक मन्दिरमा रहेको दाबी गरेका छन् । आफूलाई सरकारले गोली हान्न लागेको थाहा पाएपछि सुरक्षित स्थानमा हिँडेको दाबी गरेका प्रसाईंको पृष्ठभूमिमा एउटा मन्दिर समेत देखिन्छ ।
अनुसन्धानमा खटिएका एक अधिकृतको दाबीमा, त्यो मन्दिर नेपालभित्रको जस्तो देखिँदैन । ‘नेपालको होइन कि भन्ने शंकामा भारतीय सुरक्षा संयन्त्रसँग पनि कुराकानी गरिरहेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘तर, हालसम्म उनी कहाँ छन् भन्ने यकिन भइसकेको छैन ।’
प्रसाईंको खोजीका लागि प्रहरीका विभिन्न युनिटसँगै अरु सुरक्षा संयन्त्रका अधिकृतहरु समेत परिचालित छन् । अर्को एउटा स्रोतले भने प्रसाईं उपत्यकामै हुनसक्ने दाबी गरेको छ ।
सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना पनि भइरहेको छ ।
तर अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘सामाजिक सञ्जालका कम्पनी नेपालमा दर्ता नहुँदा तत्काल सूचना लिन प्रहरीलाई पनि गाह्रो छ, यस्ता कतिपय अरु प्राविधिक कठिनाइ समेत छन्, जसका कारण उनले केही समय पाएका मात्र हुन् ।’
ढिलोचाँडो उनलाई प्रहरीले जहाँसुकैबाट भए पनि समातेर ल्याउने उनले जिकिर गरेका छन् ।
Facebook Comment
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
Banner
कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।
समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।
जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login