Banner
राजावादीको निसानामा परेको जडीबुटी कम्पनीमा २८ करोड क्षति, अस्थायी टहराबाट उत्पादन गर्ने तयारी
२० चैत, काठमाडौं । यही चैत १५ गते शुक्रबार राजावादी समर्थकले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा तोडफोड र आगजनी गरे । उक्त आगजनीबाट कम्पनीमा २८ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
कम्पनीको महाप्रबन्धक संगीता यादवको अनुसार प्रारम्भिक विश्लेषणअनुसार आगजनीबाट २८ करोड बराबरको क्षति भएको विवरण निकालिएको छ ।
जीएमपी अनुसार सञ्चालन गरिएको भवनलगायत स्वचालित उपकरण जलेर ध्वस्त हुँदा उत्पादन ठप्प छ । अस्थायी संरचना तयार गरेर भएपनि उत्पादन सुरु गर्ने र यसका लागि सरकारी निकायको ध्यानाकर्षण हुनुपर्ने यादवले बताइन् ।
कम्पनी पुरानै अवस्थामा फर्किने आशामा रहेको महाप्रबन्धक यादवको भनाइ छ । ‘सबै जलेर खरानीमा परिणत भएको छ । विभिन्न चुनौतीबीच कम्पनीले प्रगति गरिरहेको थियो । शाखा पनि विस्तार गरिरहेका थियौं’, यादवले भनिन्, ‘ कम्पनी पुनः आफ्नै खुट्टामा उभ्याउन पर्छ । त्यसका लागि सबैको साथ सहयोग अपेक्षा छ ।’
उनले अगाडि थपिन्, ‘कम्पनीलाई पुनः सुरु गर्न सरकारको साथको आवश्यक छ । वन मन्त्रालयसँग १० करोड मागेको छौं । सरकारले यसलाई गम्भीर भएर सोचिदिनुपर्छ । अस्थायी टहरा बनाएर भएपनि उत्पादन गर्ने योजनामा छौं ।’
‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’(जीएमपी) सुविधासहितका दुईवटा भवनमा क्षति पुग्नाका साथै औषधि उत्पादनमा प्रयोग हुने कच्चापदार्थ, उपकरण, फर्निचर, कागजातल, प्याकेजिङलगायत सामग्री जलेर खरानी भएका छन् ।
भवन खण्डरहर बनेको छ । भएका उपकरण र अन्य सामग्री जलेर खरानी भएका छन् । परिसरमा सिसाको टुक्रा यत्रतत्र छरिएका छन् । बस्न योग्य कुनै कोठा छैन । परिसरमा रहेका एक दर्जन बढी गाडी र मोटरसाइकलको अस्थिरपञ्चर मात्रै छ ।
अहिले खण्डहर भवनमा रहेका भग्नावशेष र खरानी पन्छाउने काम जारी छ । त्यो दिनको मन भक्कानिन्छ,’ कहालीलाग्दो क्षण सम्झिँदै उनले भनिन्, ‘जनमानसमा ‘सञ्चो’उत्पादन गर्ने संस्थाका रूपमा चिनिएको कम्पनी आफ्नै आँखा अगाडि खरानी भएको देख्दा आँखाबाट आँसु नै आयो । मन थाम्न सकिँन ।’
पहिलाकै अवस्थामा कम्पनीलाई ल्याउन कठिन भए पनि प्रयास र समन्वय भइरहेको छ । कम्पनीले देशभरिमा रहेका शाखा कार्यालयबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । यादवले भनिन्, ‘आफैं कमाउने आफैं खाने संस्था हो । अर्थतन्त्रमा यसको पनि योगदान हुन्छ । त्यसैले उत्पादन रोकिनुहुन्न । आशा छ हामी चाँडै बौरिने छौं । सञ्चोको उत्पादन पुनः हुनुपर्छ भनेर लागिरहेका छौं, यसमा सबैबाट सहयोग पाउने छौं ।’
२०३८ मा स्थापित सरकारको स्वामित्व भएको यो कम्पनीले विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरूको संकलन र प्रशोधन गर्दै आएको छ ।
सरकारी स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी २०३८ सालमा स्थापना भएको हो । स्थापना भएको १८ वर्षपछि २०५६ सालदेखि सञ्चो उत्पादन भइरहेको छ । सञ्चो जस्तै प्रोडक्ट उत्पादन गर्ने निजी कम्पनी पनि छन् । तर जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् ।
कम्पनीले अहिले सञ्चो, सञ्चो बाम (भिक्स), सञ्चो शिलाजित, हिमालय मसाज तेल, बाम तेल, सञ्चो जटा केश तेल, सञ्चो पेन रिलिफ आयल उत्पादन गर्दै आएको छ । तीमध्ये सञ्चो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टिकाउने प्रमुख उत्पादन हो ।
२०८१ सालदेखि आधुनिक स्वचालित प्रविधिमा सञ्चोको उत्पादन हुन थालेको छ। कम्पनीले गुड म्यान्युफ्याक्चरिङ प्राक्टिस (जीएमपी) मापदण्डको लाइसेन्स प्राप्त गरिसकेको छ ।
अहिले नयाँ प्याकमा ५ र १० मिलिलिटर आएसँगै सञ्चोको आकर्षण झन् बढ्दै गएको छ । ‘देशभर शाखा विस्तार गर्ने र नयाँ प्रोडक्ट निकालिरहेका थियौं । सञ्चोको उत्पादनलाई मेसिनबाट प्याकिङ गरेर बजारमा पठाइरहेका थियौं,’ यादव भन्छिन्, ‘ विश्वस्तरमै सबै पोडक्ट निर्यात गर्ने अवस्था पुगेका थियौं ।’
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कम्पनी ऐनअन्तर्गत चलेको कम्पनी हो । यो आफैं कमाउने, आफैं सञ्चालन हुने संस्था हो ।
कम्पनीमा केही स्याथी, केही मासिक करार र केही ज्यालादारी कर्मचारी छन् । कम्पनीमा ७० प्रतिशतभन्दा बढी महिला कर्मचारी कार्यरत छन् ।
महाप्रबन्धक यादवका अनुसार जडीबुटी उत्पादन कम्पनीको सञ्चो विदेशी उपभोक्ताले पनि अत्यधिक रुचाउने गरेका छन् । ‘सञ्चो तेल’ विगत १५ वर्षदेखि स्विडेनमा निर्यात हुँदै आइरहेको छ । सञ्चो तेल प्रत्येक वर्ष सरदर ५० केजी विदेश निर्यात भइरहेको यादवले बताइन् ।
‘हामीले उत्पादन मात्रै होइन, मूल्य सञ्चितको काम पनि गरिरहेका छौं,’ उनी भन्छिन्, ‘ तत्काल नै सञ्चो उत्पादन गरेर बजारमा नपठाउने हो भने विदेशी प्रोडक्टको मनोमानी सुरु हुन्छ ।’
जडिबुटी कम्पनीले स्थानीय स्तरसम्म पुगेर रोजगारी दिँदै आएको छ । सञ्चो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ जडिबुटीको खेती कम्पनीको आफ्नै जग्गामा हुने गरेको छ ।
त्यति मात्रै होइन, सञ्चो उत्पादनका लागि बिउ कम्पनीले नै वितरण गर्दै आम नागरिकलाई रोजगारी दिँदै आएको छ । कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको छ । जसमा ९ सयभन्दा बढी किसान जडीबुटी खेतीमा जोडिएका छन् ।
महाप्रबन्धक यादव विभिन्न संस्था र सरकारी निकायसँग संस्था पुनः खुट्टामा उभ्याउनका लागि हारहुगार गरिहेकी छिन् । उनी भन्छिन्, ‘यो सरकारले गर्व गर्ने संस्था हो । संस्थालाई पुनःउत्थान गर्न सरकारले पनि सोच्नुपर्छ ।’
Facebook Comment
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login