Connect with us
Advertisement

हिन्दुकुश हिमालयमा लगातार तेस्रो वर्ष कम हिउँ, दुई अर्ब मानिस संकटमा पर्ने चेतावनी

Published

on

१२ वैशाख, काठमाडौं । हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिउँ कमीको प्रवृत्ति लगातार तेस्रो वर्षसम्म जारी रहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सार्वजनिक गरेको सन् २०२५ को अध्यावधिक हिउँ रिपोर्टमा हिन्दुकुश हिमालयमा पछिल्ला २३ वर्षयताकै सबैभन्दा कम हिउँ परेको उल्लेख छ ।

हिन्दुकुश पर्वत शृंखला अफगानिस्तानदेखि म्यानमारसम्म फैलिएको छ । आर्कटिक र अन्टार्कटिका महादेशपछि यही क्षेत्रमा सबैभन्दा ठूलो हिउँ र हिमनदीको भण्डार छ ।

यिनै जलाशयहरू करिब दुई अर्ब मानिसका लागि ताजा पानीको मुख्य स्रोत हुन् । तर हिउँको मात्रा घट्ने र छिटो पग्लिने दर बढ्दै गएकाले हिमालको हिउँको पानीमा निर्भर करिब दुई अर्ब मानिस ऊर्जा, खानेपानी र खाद्यसुरक्षाको संकटमा पर्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

इसिमोडले भनेको छ, ‘२०२५ को हिउँ अपडेट रिपोर्टअनुसार, हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रमा लगातार तेस्रो पटक सामान्यभन्दा कम हिउँ परेको छ । यस वर्ष हिउँको स्थायित्व अर्थात् हिमपातपछिको अवधिमा जमेको हिउँ जमिरहने अनुपात विगत २० वर्षको कीर्तिमानी न्यूनतम स्तर माइनस २३.६ प्रतिशतमा झरेको छ । यो स्थिति हिन्दुकुश हिमालयबाट उद्गम हुने १२ ठूला नदी बेसिनहरूमा निर्भर लगभग दुई अर्ब मानिसहरूको पानी सुरक्षाका लागि गम्भीर चिन्ताको विषय हो ।’

इसिमोडका रिमोट सेन्सिङ विशेषज्ञ तथा २०२५ को हिउँ अध्यावधिक रिपोर्टका प्रमुख विज्ञ शेर मोहम्मद भन्छन्, ‘हामीले यस्तो हिउँ अभाव तीन वर्षदेखि लगातार देखिरहेका छौं । यो निकै चिन्ताजनक अवस्था हो । त्यसैले प्रत्येक देशले आफ्ना नदी बेसिनहरूको विशेषता अनुसार अलग नीति बनाउनु आवश्यक छ, विशेषगरी ती क्षेत्रहरू जहाँ मौसमी हिउँ नै पानीको प्रमुख स्रोत हो ।’

नेपालसहित यी देशहरूमा पर्न सक्छ असर

हिमालय क्षेत्रमा हिउँ कमीको असर नेपालसहित चीन, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान र म्यानमारसम्म पर्नसक्ने इसिमोडका विज्ञहरूले चेतावनी दिएका छन् ।

यी देशहरु अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का सदस्यहरु हुन् । इसिमोडले यस क्षेत्रका १२ प्रमुख नदी प्रणालीमा निर्भर देशहरूलाई जल व्यवस्थापन, खडेरीको तयारी, पूर्वचेतावनी प्रणाली सुधार गर्न तथा क्षेत्रीय सहकार्य बढाउन आह्वान गरेको छ । ताकि कृषि, जलविद्युत् क्षेत्र तथा पर्यावरणमा पर्ने अन्य असरहरू न्यूनीकरण गर्न सकियोस् ।

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनका अनुसार, एशिया जलवायु सम्बन्धी प्रकोपहरूबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । संगठनले सन् २०२५ वर्षको मार्चमा प्रकाशन गरेको एक प्रतिवेदनमा उल्लेख गरेअनुसार, पछिल्ला ६ वर्षमध्ये ५ वर्ष यस्तो थियो, जसमा हिमनदीमा सबैभन्दा तीव्र गिरावट देखिएको थियो । यो अवस्था वातावरणीय स्थायित्व र मानव जीवनका लागि बढ्दो चुनौतीको संकेत हो ।

इसिमोडको सन् २०२५ को हिउँ अध्यावधिक रिपोर्ट अनुसार सबैभन्दा धेरै हिउँ स्थायित्वमा गिरावट मेकोङ्ग नदीमा निम्न नदी बेसिनमा देखिएको छ । मेकोङ्ग बेसिनमा ५१.९ प्रतिशतले हिउँ स्थायित्व घटेको छ ।

यसैगरी सलविनमा माइनस ४८.३ प्रतिशत, तिब्बती पठारमा माइनस २९.१ प्रतिशत, ब्रह्मपुत्रमा माइनस २७.९ प्रतिशत, याङ्त्सेमा माइनस २६.३ प्रतिशत र गंगा नदी बेसिनमा माइसन २४.१ प्रतिशतले हिउँको स्थायीत्व घटेको छ ।

औसतमा, यी प्रमुख नदीहरूमा मौसमी हिउँ पग्लिएर आएको पानीले वार्षिक नदी प्रवाहको लगभग एकचौथाइ हिस्सा पुर्‍याउँछ, जसको अनुपात पूर्वी बेसिनहरूभन्दा पश्चिमतिर बढ्दै जान्छ । यद्यपि बेसिनअनुसार मौसमी हिउँपानीमा निर्भरता फरक भए पनि समग्रमा लगातार हिउँको अभावले नदीमा जलप्रवाह घटाउँछ र गर्मी सुरु हुनासाथ चर्को गर्मीको मार खेपिरहेका तल्लो तटीय क्षेत्रका बासिन्दाहरू पानीको संकटमा पनि पर्न थाल्छन् ।

इसिमोडको प्रतिवेदनमा लेखिएको छ, ‘पश्चिमी नदी बेसिनहरूमा यस वर्षको हिउँ स्थायित्वको अभाव अघिल्लो वर्षभन्दा कम देखिए तापनि त्यो पानीको संकटबाट राहत हुने संकेत भने होइन । ती क्षेत्रमा मौसमी हिउँपानी अत्यन्तै महत्वपूर्ण छ । त्यसैले निरन्तर कम हिमपात र पग्लिने दरको गिरावटले पानीको उपलब्धता झनै गम्भीर बनाउँछ ।’

‘अर्कोतर्फ, पूर्वी नदी बेसिनहरू, जसमा गत वर्ष हिउँको स्थायित्व सामान्य थियो, यस वर्ष ५० प्रतिशतसम्म कमी देखिएको छ । यद्यपि यी नदीहरूमा मौसमी हिउँको योगदान तुलनात्मक रुपमा कम (झण्डै १५प्रतिशत) भए पनि हिउँको स्थायित्वमा आएको गिरावटले तल्लो भेगका बासिन्दा, विशेषतः हिमाली क्षेत्र र तिब्बती पठारमा प्रभाव पार्न सक्छ, जहाँ हिउँको अवस्था पहिलेबाटै अस्थिर रहँदै आएको छ ।’

२००३ देखि २०२५ सम्मको २३ वर्षे समयावधिमा नोभेम्बरदेखि मार्चसम्मको हिउँ स्थायित्वको अध्ययनमा लगातार कमी र वर्षैपिच्छे तीव्र उतारचढाव देखिएको इसिमोडले उल्लेख गरेको छ ।

यस्तो छ प्रमुख नदी बेसिनहरुको अवस्था

विशेष गरी पछिल्ला पाँच वर्षमा हिन्दुकुश हिमालयबाट उत्पन्न हुने प्रमुख नदी बेसिनहरूको अवस्था यस्तो छ –

मेकोंग नदी : सन् २०१९ मा प्लस ८०.३प्रतिशतबाट सन् २०२५ मा माइनस ५१.९ प्रतिशत गिरावट ।

सलविन नदी : २०२० मा प्लस ४१.९ प्रतिशतबाट सन् २०२५ मा माइनस ४८.३ प्रतिशत गिरावट ।

यलो रिभर : सन् २००८ मा प्लस ९८.२ प्रतिशतबाट २०२३ मा माइनस ५४.१ प्रतिशतमा झरेको थियो । सन् २०२५ मा भने माइनस १८.६ प्रतिशत घटेको ।

ब्रह्मपुत्र नदी : सन् २०१९ मा प्लस २७.७ प्रतिशतबाट सन् २०२५ मा माइनस २७.९ प्रतिशत घटेको ।

तिब्बती पठार : सन् २०२२ मा प्लस ९२.४ प्रतिशतबाट सन् २०२५ मा माइनस २९.१ प्रतिशत घटेको ।

याङत्से नदी : सन् २०२५ मा –२६.३ प्रतिशत घटेको ।

गङ्गा नदी : सन् २०१५ मा प्लस ३०.२ प्रतिशतबाट सन् २०२५ मा माइनस २४.१ प्रतिशत (२३ वर्षकै कम) ।

टारिम बेसिन : सन् २००६ मा प्लस २८.७ प्रतिशतबाट सन् २०२४ मा माइनस २६.९प्रतिशत । सन् २०२५ मा माइनस ४ प्रतिशत कायम ।

सिन्धु नदी : सन् २०२० मा प्लस १९.५ प्रतिशतबाट सन् २०२४ मा माइनस २४.५प्रतिशत । सन् २०२५ मा माइनस १६प्रतिशत कायम ।

हेलमन्द नदी : सन् २०१८ मा माइसन ४५.०प्रतिशतबाट सन् २०२० मा प्लस ४९.२ प्रतिशत । सन् २०२५ मा माइनस १५.२ प्रतिशत ।

अमू दरिया: सन् २००८ मा प्लस ४०.४ प्रतिशतबाट सन् २०२४ मा माइनस ३१.९ प्रतिशत । सन् २०२५ मा माइनस १८.८ प्रतिशत

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको आग्रह

Published

on

इरानमा रहेका नेपालीहरूलाई तत्काल स्वदेश फर्कन सरकारले आग्रह गरेको छ ।

इरानमा विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ निकालेर नेपाली नागरिकलाई इरान भ्रमणमा नजान र त्यहाँ रहेका नेपालीलाई तत्काल देश छाड्न आग्रह गरेको हो । मन्त्रायलले इरानबाट आपत्कालीन अवस्थामा बाहिरिन सहज होस् भनेर राहदानी र परिचयपत्रलगायतका यात्रा कागजातहरू तयारी अवस्थामा राख्न भनेको छ ।

इरानमा रहेका नेपालीहरूले समन्वय र सहयोगका लागि परराष्ट्र मन्त्रालय र कतारको दोहामा रहेको राजदूतावासलाई सम्पर्क गर्नसक्ने ‘ट्राभल एड्भाइजरी’ मा उल्लेख छ ।

Continue Reading

Banner

सूर्यकुण्ड हाइड्रोको आईपीओमा आजदेखि आवेदन खुला

Published

on

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज (माघ १८ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ६८ हजार ९६७ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारीहरुका लागि र ३४ हजार ४८४ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ २१ गते हुनेछ भने ढिलोमा फागुन ३ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।७१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

Continue Reading

Banner

टी–२० शृङ्खलामा अस्ट्रेलियामाथि पाकिस्तानको ऐतिहासिक जीत

Published

on

अस्ट्रेलियासँगको टी–२० शृङ्खला पाकिस्तानले जितेको छ । पाकिस्तानले लगातार दोश्रो खेलमा अस्ट्रेलियालाई ९० रनले हराउँदै ३ खेलको टी–२० शृङ्खला जितेको हो ।

यो पाकिस्तानले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १५ ओभर ४ बलमा १ सय ८ रनमा अलआउट भयो । अस्ट्रेलियाका क्यामरुन ग्रीनले सबैभन्दा धेरै ३५ रन बनाए । पाकिस्तानका अब्रार अहमद र शादाब खान समान ३ विकेट लिए । त्यसअघि लाहोरमा गएराति टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ५ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।

पाकिस्तानका सलमान आगाले ७६ र उस्मान खानले ५३ रन बनाए । यो जीतसँगै पाकिस्तानले थुप्रै कीर्तिमान समेत बनाएको छ । पाकिस्तानले टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियासँग बनाएको सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि सन् २०१८ मा जिम्बाब्वेमा भएको त्रिकोणात्मक शृङ्खलाको लिग खेलमा पाकिस्तानले १ सय ९४ रन बनाएको थियो ।

साथै पाकिस्तानले टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियासँग सबैभन्दा बढी अन्तरले जितेको खेल पनि बनेको छ । यसअघि सन् २०१८ मा युएईमा भएको टी–२० मा पाकिस्तानले ६६ रनले जितेको थियो ।

यसैगरी टी–२० अन्तर्राष्ट्रिय खेलको इतिहासमा पहिलो पटक पाकिस्तानका स्पिन बलहरुले सबै १० विकेट लिएका छन् । यी दुई देशबीचको तेश्रो तथा अन्तिम टी–२० खेल लाहोरमै आज नेपालीसमयअनुसार दिउँसो पौने ५ बजे शुरू हुनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक