Connect with us
Advertisement

अग्लो बन्ने आकांक्षामा एक्लो ओली

Published

on

१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीको खण्डनमा उत्रन पार्टीका नेता–कार्यकर्तालाई बारम्बार निर्देशन दिँदै आएका छन् । आइतबार, १४ वैशाखमा राजधानीमा आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रम मार्फत पनि ओलीले विरोधीको आरोपलाई खण्डन गर्न अपिल गरे ।

पार्टीको औपचारिक निर्णय मार्फत नै एमाले नेता–कार्यकर्तालाई नेतृत्वको रक्षार्थ उभिन पटकपटक निर्देशन गरिएको छ । तर नेतृत्वको रक्षार्थ भन्दा पनि विरोधीलाई बल पुग्नेगरी गतिविधि भइरहेको गुनासो आइतबारको कार्यक्रममा ओलीले गरे ।

‘पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो, सही बाटो होइन’, ओलीले भनेका छन् ।

आफ्नै नेता–कार्यकर्तासँग यस्तो गुनासो गरेपछि प्रधानमन्त्री ओली सत्ता सहयात्री नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध खनिए । गभर्नर नियुक्तिको सन्दर्भमा थापाले प्रधानमन्त्रीको बेडरुमसम्म विचौलिया पुग्ने गरेको टिप्पणी गरेका थिए । ‘हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरुको पहुँज प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो । नेतृत्वको बेडरुमसम्म हुने भयो’, २ वैशाखमा थापाले भनेका थिए ।

थापाको यस्तो टिप्पणीले ओलीलाई बिझाएको बुझियो । ओलीको चाहना रहेछ, अरू नेताले नै गगन थापाको प्रतिवाद गरिदेओस् । तर कसैको पनि सशक्त प्रतिवाद नसुनेपछि उनी आफैं अगाडि सरे ।

 

आफूमाथिको टिप्पणीविरुद्ध ओली स्वयं प्रतिवादमा उत्रनु वर्तमान एमाले नियतिको पछिल्ला प्रतिनिधि घटना मात्र हुन् । केही वर्षयता एमाले नेतृत्व र निर्णयप्रति हुने हरेकजसो गतिविधि, टिप्पणी र निर्णयको प्रतिवादमा ओली एक्लैजसो भिडिरहेका छन् ।

नलुकेको संकट

शनिबारको संसदीय दलको बैठकमा भने ओलीले पार्टीकै नेताहरूबाट साथ नपाएको निष्कर्ष सुनाएका थिए । शिक्षक आन्दोलनले अप्ठ्यारो परिरहेका बेला पार्टीकै नेताले शिक्षामन्त्रीबाट राजीनामा दिने अनि राजीनामा दिएका नेतालाई हिरो बनाउन शीर्ष नेता नै लागिपरेको उनको भनाइ थियो ।

तर ओलीले सुनाएको संकटमा ‘साझेदार बन्छौं भन्ने’ जवाफ दिनलाई त्यो बैठकमा कोही निस्किएनन्, सबै सांसद सुनिरहे मात्रै । जबकि ओली र उनी नेतृत्वको सरकार सामुन्ने शिक्षक आन्दोलन सहित देखिनेगरीका अरू थुप्रै संकट छताछुल्ल छन् ।

अनेक समूहका आन्दोलनले राजधानी अस्तव्यस्त छन् । शिक्षक आन्दोलित छन्, चिकित्सक आन्दोलित छन् । न्यायको माग राखेर सहकारी र लघुवित्त पीडित आन्दोलित छन् । कवाड ब्यावसायी आन्दोलित छन् । अरू सामाजिक आन्दोलन उत्तिकै चर्को छ ।

राजनीतिक माग सहितका आन्दोलन थप सशक्त बनिरहेको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले गणतन्त्र स्थापनापछि पहिलोपटक भिडियो सन्देश मार्फत् निर्णायक अपिल (समय आयो भन्ने भाषामा) गरेका छन् । राजावादीहरू तुलनात्मक एकताबद्ध छन् । ओलीले नै हुर्काएका दुर्गा प्रसाईंदेखि गंगा चौधरीहरू ‘एमाले सिध्याउने’ भनेर चुनौती दिइरहेका छन् ।

विपक्षीहरू एकताबद्ध छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका विपक्षी दलहरू आवद्ध समाजवादी मोर्चाले एकताबद्ध गतिविधि गरिरहेको छ । सत्ता साझेदारभित्रै असहजता छ । मुख्यगरी कांग्रेसभित्रको अन्तर संघर्ष चर्को छ । अशोक राई र उपेन्द्र यादवलाई सँगै लिएर हिँड्नु सजिलो छैन ।

भन्नलाई दुई तिहाइको सरकार भनेपनि भूमि सम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने परिस्थितिले ओलीको संकट अनुमान लगाउन सकिन्छ ।

भू–राजनीतिक संकट लुकेको छैन । प्रधानमन्त्री बनेको ९ महिना हुन लाग्दा समेत ओलीलाई दक्षिण छिमेक भारतले भ्रमणको निम्तो दिएको छैन । यसप्रति उठेको टिप्पणीमा पनि ओली आफैंले खण्डन गरिरहेका छन् । ओलीले भनिरहेका छन्– यो सरकार ढल्दैन, छिट्टै भारत भ्रमण गर्छु ।

लामो राजनीतिक संघर्ष र इतिहास बोकेका एमाले नेताहरू बोलिरहेकै छन्, सकेको पहलकदमी पनि लिइरहेकै छन् । तर उनीहरुको बोली र पहलकदमी अर्थपूर्ण बनिरहेको छैन ।

तर ओलीका संकट सकिएका छैनन् । शिक्षक आन्दोलनका क्रममा झडप भएलगत्तै कांग्रेस संस्थापन इतरका नेता शेखर कोइरालाले चर्को टिप्पणी गरेका छन् । कोइरालाले शिक्षकहरुको माग सम्बोधन गर्नुको साटो बल प्रयोग हुनु कुशासनको उदाहरण भएको टिप्पणी गरेका छन् ।

कोइरालाको भाषामा कांग्रेस महामन्त्री गगन थापा सहितका नेताहरुको पनि साथ देखिन्छ । संभवतः कोइराला–थापा टिप्पणीको जवाफ ओलीले केही दिनभित्रै दिन सक्छन् ।

किनकि अहिले ओली चुप लाग्दा पनि एमालेका अरू नेताले बोलेर अथवा पहलकदमी लिएर कुनैपनि समस्या हल हुन सक्ने स्थिति छैन । जबकि एमाले विधानतः सामूहिक नेतृत्व प्रणालीबाट चल्ने पार्टी हो ।

यसको अर्थ १९ जनाको पदाधिकारी सहित झण्डै साढे तीन सय केन्द्रीय सदस्यको निर्णयबाट एमाले चल्नुपर्ने हो । तर पार्टीका गतिविधि, निर्णय र राष्ट्रिय राजनीतिक संघर्षहरूमा ओली एक्लै देखिन्छन् ।

यसको अर्थ अरू नेता निष्कृय रहेको भन्ने होइन । लामो राजनीतिक संघर्ष र इतिहास बोकेका एमाले नेताहरू बोलिरहेकै छन्, सकेको पहलकदमी पनि लिइरहेकै छन् । तर उनीहरुको बोली र पहलकदमी अर्थपूर्ण बनिरहेको छैन । एमालेमा ओली बाहेक अरुको कुरा चल्दैन भन्ने बुझाइ लगभग स्थापित छ । त्यसैले एमालेमाथि उठ्ने प्रश्नको जवाफ अरू नेताले दिँदा आम पंक्तिले नस्वीकार्ने तथ्यप्रति स्वयं ओली जानकार छन् ।

ओली ब्राण्डको असर

राष्ट्रिय राजनीतिमा देखिने संकटहरुमा अहिले ओली लगभग एक्लै पर्ने परिस्थिति भने उनी स्वयंले निर्माण गरेका हुन् । यदि पार्टीलाई सामूहिक नेतृत्व प्रणालीमै चल्न दिएका थिए भने संभवतः एमालेका अरु पदाधिकारी र नेताहरू पनि संकट/अवसरका साझेदार बन्ने थिए ।

तर ओलीले आफ्नो एकल ब्राण्ड निर्माणमा ठूलै शक्ति खर्च गरे । १ भदौ २०८० को पार्टी बैठकबाट त उनले आफूलाई पुष्पलाल, मदन भण्डारी र मनमाहेन अधिकारीकै तहको नेताका रुपमा निर्णय गराए ।

‘कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रज नेताहरू– संस्थापक महासचिव पुष्पलाल, जनननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त) पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको छ’, एमालेको अपानिमा भनिएको थियो ।

एमाले भनेकै ओली भन्ने भाष्य उत्कर्षमा पुगेको चाहिँ प्रतिनिधि सभा विघटन र नेकपाको विभाजनपछि हो । ५ पुस २०७७ मा ओलीले प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक निर्णय गरेपछि राष्ट्रिय राजनीति नै ध्रुविकृत बन्यो ।

प्रतिनिधि सभा विघटनका पक्षधरहरुले ओलीलाई साथ दिए भने बाँकीले विरोधमा आवाज उठाए । समयान्तरमा प्रतिनिधि सभा विघटनको पक्षमा उभिने नेताहरू ओलीका छाया पात्र जस्ता बन्न पुगे । अलग अस्तित्व र निर्णय लिने हैसियत ती नेताहरुमा रहेन । किनकि प्रतिनिधि सभा विघटनमै उनीहरूले ‘ओलीले गरेको निर्णयलाई साथ दिनुपर्छ’ भन्ने बाहेक आम स्वीकार्य तर्क गर्न सकेका थिएनन् ।

‘आज होइन भोलिलाई– दश वर्ष ओलीलाई’, ‘केपी बा– वी लभ यू’, ‘राज नेता केपी बा– जिन्दावाद !’ जस्ता नारा लिएर सडकमा ओलीको मस्कट सहित निस्कने जुलुसहरूको ती नेताहरू मौन साक्षी बने ।

कतिसम्म भने पुनर्स्थापित एमालेको वडा अधिवेशनको प्रमुख अतिथि पनि ओली बाहेक अरू नेता नबन्ने परिस्थिति बन्यो । ६ कात्तिक २०७८ मा भर्चुअल माध्यमबाट प्रमुख अतिथि बन्दै ओलीले देशैभरका (६,७४३ वडामै कमिटी रहेको एमाले दाबी छ) वडा अधिवेशन एकैपटक उद्घाटन गरे ।

यस्तै शैलीमा ९ कात्तिक २०७८ मा ७५३ वटै पालिका र २३ पुस २०७८ मा ७७ जिल्लाकै अधिवेशन ओलीले उद्घाटन गरे । अधिवेशनहरूमा पुगेका बाँकी एमाले नेताहरू ताली बजाउने भूमिकामा सीमित भए ।

बिस्तारै–बिस्तारै ‘ओलीलाई अप्ठ्यारो पार्नेगरी प्रश्न गर्नु भनेको एमाले र सिंगो देशमाथि आक्रमण गर्नु हो’ भन्ने निष्कर्ष कार्यकर्ताहरूलाई पढाउन थालियो ।

पार्टी प्रशिक्षण बाहेक अरु माध्यमबाट पनि ओलीको एकल ब्राण्डलाई जोड दिइयो । पार्टीका विद्यार्थी र युवा संगठन मार्फत् ‘केपी बा’ ब्राण्ड आम रुपमा फैलाने प्रयास भयो । ओली आफैंले ‘केपी बा’ नामक युट्यूब च्यानल खोले ।

‘मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरू मेरो युट्यूब च्यानलमा शेयर गर्दै आइरहेको छु । आगामी दिनमा पनि म यस्तै अनुभवहरू बाँड्दै जानेछु । च्यानल सब्सक्राइब गर्नुहोस् न है’ ३१ असार २०८० मा ओलीले फेसबुक स्टाटस लेखेका थिए । आजसम्म ‘केपी बा’ युट्यूब च्यानलमा ओलीका ११३ वटा भिडियो पोष्ट गरिएको छ ।

यस्ता थिएनन् ओली

आज समकालीन नेताहरूलाई अनुयायी जस्तो भूमिकामा सीमित गरेका ओलीको शक्ति–स्रोत भने पार्टीभित्रको आन्तरिक लोकतन्त्र र सामूहिक नेतृत्व प्रणालीको वकालत थियो ।

जसका निम्ति ११ वर्ष अघिको परिस्थिति सम्झनुपर्छ । २०६५ सालको आठौं महाधिवेशनमा झलनाथ खनालसँग हारेका ओलीले २०७१ मा सम्पन्न नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई हराएर अध्यक्ष जितेका थिए । ४१ मत अन्तरले माधव नेपालविरुद्ध जित निकाल्नु अघिसम्म केपी ओली पार्टीभित्र आन्तरिक लोकतन्त्रका चर्का वकालतकर्ता थिए ।

‘प्रत्येक व्यक्तिलाई सरकार, राजनीतिक पार्टीहरू, सामाजिक संस्थाहरू, नेताहरू र अधिकारीहरूको बारेमा आफूलाई लागेका कुराहरू स्वतन्त्र रूपमा बोल्न दिनुपर्छ’, नवौं महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरिरहँदा पनि ओलीको मान्यता थियो ।

त्यसबेला पार्टी नेतृत्वमा झलनाथ खनाल थिए भने अध्यक्ष पदको प्रतिस्पर्धामा माधव नेपाल थिए । ओलीले लोकतान्त्रिक प्रतिस्पर्धा मार्फत नेतृत्व हस्तान्तरणको एजेण्डा अगाडि बढाएका थिए ।

‘आफू बाहेक अरुले पार्टीको नेतृत्व गर्नै नसक्ने मनोदशा बोकेर कसरी नयाँ नेतृत्व निर्माण हुन सक्छ र राष्ट्रले नयाँ नेतृत्व पाउन सक्छ ?’ ओलीको सार्वजनिक प्रश्न र प्रतिबद्धता थियो, ‘म स्पष्ट गर्न चाहन्छु, अब पार्टी छिटाछिटो नयाँ नेतृत्व हुँदै नयाँ पुस्तामा नै जाने स्थिति सुनिश्चित गर्नुपर्छ । म त्यसका लागि मार्गप्रशस्त गर्दै अघि बढ्न चाहन्छु ।’

कतिसम्म भने वामदेव गौतम र ईश्वर पोखरेललाई फकाउन ओलीले पुरा कार्यकाल पनि अध्यक्ष नचलाउने सार्वजनिक प्रतिबद्धता गरेका थिए । ‘म त भन्छु अब एक कार्यकाल पनि पुरा गर्नु हुँदैन । किनभने नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रिया धेरै अवरूद्ध भइसक्यो’ ओलीले महाधिवेशनकै प्रयोजनमा प्रकाशित गरेको ‘जबज र पार्टी जीवनको लोकतान्त्रीकरण’ पुस्तकमा लेखेका थिए ।

अझ अगाडि बढेर ओलीले बहुपद र सामूहिक निर्णय प्रणालीले एमाले सशक्त बन्ने दाबी गर्थे । ‘… हामी त नायकहरूको खेती गर्छौं र नायकहरू पैदा गर्छौं । हाम्रो गोलकिपर नायक छ, तर गोल हान्ने मान्छे चाहिँ छैन भन्ने खालको अवस्था हुनु हुँदैन । एक से एक एघारवटै हाम्रा खेलाडी मैदानमा एक–एक नायक र असाधारण हुनैपर्छ’, ओलीको निष्कर्ष थियो ।

नेताहरुका अनुसार पार्टी बैठकहरूमा पनि नेतृत्वको देवत्वकरण गरिन नहुने अडान लिन्थे, ओली । ‘पार्टी नेतृत्वको कमजोरी भेटेपछि माफी नमागेसम्म अवथा नसच्याएसम्म केपी ओली अडान छोड्थेनन्’, एक नेता सम्झन्छन्, ‘एकपटक झलनाथ खनालको फोटो भित्तामा राखिएको थियो, त्यो गल्ती थियो भनेपछि बल्ल बैठक अगाडि बढेको थियो ।’

ती नेताका अनुसार ओलीले त्यो बैठकमा निकै नरमाइलो उदाहरण दिएका थिए । ‘जिउँदो मान्छेको फोटो भित्तामा टाँगेर कार्यक्रम कसरी गर्ने ? यसरी त दिवगंत नेताहरुलाई राखिन्छ’ तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनालप्रति ओलीको टिप्पणाी थियो ।

अध्यक्ष जितेपछि भने ओलीले विगतका आफ्नै निष्कर्ष र प्रतिबद्धताहरू भुले, जसकारण उत्पन्न संकटमा सामू ओली गुनासा गरिहेका छन् । अनि आन्तरिक लोकतन्त्रको अभ्यासको माग राख्नेहरूलाई भनिरहेछन्– अझै २०/२५ वर्ष कुर्नू ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक