Connect with us
Advertisement

डिजिटल युगलाई झस्काउने स्पेनको त्यो ऐतिहासिक ‘ब्ल्याकआउट’

Published

on

सन् २०२५ अप्रिल २८ । यो दिन म कहिल्यै बिर्सन सक्दिनँ । स्पेनको पर्यटकीय सहर बार्सिलोना, दिउँसोको १२:३२ बजेको थियो । म रेस्टुरेन्टमा काममा व्यस्त थिएँ । एक्कासी बत्ती गयो । सुरुमा मलाई सामान्य लाग्यो, सायद कुनै स्थानीय समस्या हो । केही मिनेटमा फर्किएला भन्ने सोचें । तर, बत्ती फर्किएन । त्यसपछि मोबाइल सञ्जाल पनि गुम्न थाल्यो । हामी केही बुझ्न नसकेर अलमलमा पर्‍यौं ।

बत्ती गएको केही सेकेन्डमै स्पेनको ऊर्जा प्रणाली युरोपेली ग्रिडबाट छुट्टियो । विद्युत् सेवा प्रदायक ‘रेड इलेक्ट्रिका दे एस्पान्या’का अनुसार, एकैचोटि १५ हजार मेगावाट ऊर्जा उत्पादन बन्द भयो । विकसित देशको रुपमा चिनिने स्पेन दिउँसै अँध्यारोमा डुब्यो । यो सामान्य प्रविधिगत गडबडी थिएन । देशको ६० प्रतिशतभन्दा बढी विद्युत् आपूर्ति ठप्प भयो- म्याड्रिडदेखि गालिसिया, बार्सिलोनादेखि अन्डालुसियासम्म।

त्यो दिन आँधी आएन, न ठूलो मानवीय गल्ती भयो । तर, प्रणाली ढल्यो । डिजिटल पूर्वाधारमा पूर्ण निर्भर मुलुक स्तब्ध बन्यो । मोबाइल सञ्जाल, इन्टरनेट, बैंकका एटिएम, पसलका कार्ड मेसिन, ट्राफिक बत्ती, मेट्रो र रेल-सबै प्रणाली बन्द भए ।

पर्यटकहरूसँग नगद थिएन, कार्ड मात्र थियो। हाम्रो रेस्टुरेन्टमा पनि यस्तै भयो । सेवा बीचमै रोकिन सक्दैनथ्यो तर कार्ड मेसिन काम नगरेपछि कतिले पैसा तिर्न नसकी निस्किए, कतिले उधारोमा खाए । मलाई लाग्यो- बत्ती जानु यहाँ सेवा नै जानुजस्तै हो ।

एक विदेशी महिला पर्यटक हात जोड्दै पानी मागिरहेकी थिइन् । मोबाइल चल्दैनथ्यो, होटल फिर्ता जान सक्ने उपाय थिएन । उनले भनिन्, ‘मसँग पैसा छैन, फोन चल्दैन, कृपया पानी दिनुहोस् ।’ त्यो मानवताको क्षण थियो, जुन दृश्यले भित्रसम्म छोयो ।

स्पेनको त्यो ऐतिहासिक ब्ल्याकआउटले याद गरायो- जब बिजुली जान्छ, डिजिटल सेवा पनि जान्छ । अनि बाँकी रहन्छ- नगद र मानवता

हामी एक यस्तो युगतिर अघि बढिरहेका छौं, जहाँ ‘कार्ड’ र ‘मोबाइल पे’ नै मुख्य भुक्तानी माध्यम बन्न थालेका छन् । नगद बोक्नु पुरानो शैली जस्तो लाग्न थालिसकेको छ। तर, स्पेनको त्यो ऐतिहासिक ब्ल्याकआउटले याद गरायो- जब बिजुली जान्छ, डिजिटल सेवा पनि जान्छ । अनि बाँकी रहन्छ नगद र मानवता।

स्पेनका प्रमुख सहरहरूमा मेट्रो ठप्प भए । भूमिगत सुरुङमा सयौं मानिसहरू अड्किए, घन्टौं कुर्नुपर्‍यो । अस्पतालका आकस्मिक सेवा जेनरेटरमा सरे । अनलाइन सेवा बन्द भएपछि एयरबीएनबी बुकिङ गरेका पर्यटकहरू अलपत्र परे । बालबालिका च्यापेर आएका उनीहरू न त ढोका डोरबेल बजाउन सके, न होस्टसँग सम्पर्क गर्न ।

लिफ्ट बन्द हुँदा वृद्ध र बालबालिकासहितको यात्रा दुःखद बन्यो । शहरका अपार्टमेन्टहरू जेलजस्तै बने । दसौं तलासम्म सानो बच्चा वा वृद्ध आमा-बुबालाई बोकेर हिँड्नु कुनै सजिलो काम थिएन । अँध्यारो भर्‍याङ, पसिनाले चिप्लिने हात, ती सबै दृश्यहरूले हामीलाई फेरि सम्झाए, प्रविधि मात्र होइन, परम्परागत विकल्पहरू पनि कति आवश्यक छन् ।

बालबालिकालाई बिहान झोलामा स्यान्डविच, पानीको बोतल, अनि माया भरिएको चुम्बन दिएर विद्यालयमा छोडेर आमाबाबुहरू दैनिकीझैं कामतर्फ लागे। तर, दिउँसोको आकस्मिक ब्ल्याकआउटले सबै योजना भताभुङ्ग बनाइदियो । मेट्रो चलेन, बस रोकिए, ट्याक्सी सेवा भेट्नै मुश्किल । जनजीवन अस्तव्यस्त भयो।

आफ्ना सन्तानको अनुहार सम्झँदै कामबाट दौडिन खोज्ने आमाबाबुहरू बाटोमै अल्झिए । कोही सुरुङमा अड्किए, कोही बस नपाएर पैदलै हिंड्न थाले। मोबाइल चलेन, इन्टरनेट थिएन-स्कूललाई सन्देश पठाउन सकिएन, फोन गर्न सकिएन। शिक्षकहरू पनि अन्योलमा परे।

 सहयोगी बन्यो रेडियो

त्यति बेला लाखौँ मानिस वर्षौंपछि फेरि एफएम रेडियोतर्फ फर्किए । सबै डिजिटल सञ्चार साधन असफल भएपछि, रेडियो एकपटक फेरि आपतकालीन सूचनाको प्रमुख स्रोत बनेर उदायो । म्याड्रिडदेखि ग्रामीण क्षेत्रसम्म, रेडियोले सरकारी निर्देशन, स्थानीय प्रशासन र आपतकालीन सेवाको जानकारी पुर्‍यायो ।

नेपालमा अहिले कतिपय एफएम रेडियो स्टेसनहरू संकटमा छन् । तर, यो घटनाले देखायो- रेडियो संकटका बेला जीवनरक्षक हुनसक्छ । आधुनिक प्रविधिको दौडमा परम्परागत सञ्चारको मूल्य बुझ्न यो चेतावनीजस्तै हो ।

हामीले देख्यौं- ‘केही सेकेन्डको प्रणालीगत झट्काले कसरी नागरिक जीवन, अर्थतन्त्र, यातायात र स्वास्थ्यलाई प्रभावित पार्छ ।  यो केवल प्राविधिक दुर्घटना थिएन, यो डिजिटल युगमा हाम्रो संवेदनशीलता र असुरक्षा देखाउने गम्भीर चेतावनी थियो।’

त्यो अँध्यारोमा मैले नेपालका लोडसेडिङका दिनहरू सम्झिएँ जहाँ १२–१४ घण्टा बत्ती जाँदा पनि हामी सहजै बाँचेकै थियौं, काम गर्थ्यौं । मैनबत्ती, रेडियो, इन्भर्टर प्रयोग गर्थ्यौं । तर युरोपमा ? जहाँ सबै कुरा विद्युतीय यन्त्रमा भर पर्छ- बत्ती जानु भनेको जीवन नै ठप्प हुनु हो । के हामी डिजिटल यन्त्रहरूको दास बन्दै गइरहेका छैनौं ?

जब डिजिटल संसार बन्द हुन्छ, त्यति बेला हामी आफूलाई पुनः चिन्छौं । चेतनाको उज्यालो त्यो अँध्यारोमा टल्किएको दिन थियो । बत्ती त गयो, तर त्यो दिन हामी ब्युँझिएको दिन थियो

स्पेनको त्यही ऐतिहासिक ब्ल्याकआउटसँग सँगै, पोर्चुगलमा पनि यस्तै समस्या देखापरेको थियो । पोर्चुगलमा पनि मेट्रो र अन्य यातायात सेवा ठप्प भई, मानिसहरूले घण्टौंको अप्ठ्यारोको सामना गर्नुपर्‍यो।

छानबिन प्रारम्भ

यस घटनाको कारण अझै स्पष्ट नभए पनि प्रारम्भिक अनुसन्धान साइबर आक्रमणको आशंकासहित अघि बढेको छ। स्पेनको केन्द्रीय आपराधिक अदालत ‘अउदिएन्सिया नासियोनाल’ले न्यायाधीश खोसे लुइस कालामाको नेतृत्वमा गम्भीर छानबिन प्रारम्भ गरिसकेको छ ।

प्रधानमन्त्री पेद्रो सान्चेजले भनेका छन्, ‘हामी कुनै पनि सम्भावना नकार्दैनौँ, तर हडबड नगरौँ । तथ्यलाई बुझ्न दिनुहोस् ।’ सरकारले निजी ऊर्जा कम्पनीको जवाफदेहिता सुनिश्चित गर्दै प्रणाली सुधारको प्रतिबद्धता जनाएको छ । साथै, युरोपेली आयोगसँग स्वतन्त्र अनुसन्धानको मागसमेत गरिएको छ।

अदालतले रेड इलेक्ट्रिका, राष्ट्रिय क्रिप्टोलोजी केन्द्र र गुप्तचर विभागलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । न्यायाधीश कालामाले भनेका छन्, ‘हाम्रो समाजको आधारभूत पूर्वाधारहरू परस्पर निर्भर छन् । सानो गडबडीले व्यापक संकट निम्त्याउन सक्छ।’ उनले २०१७ को साइबर खतरासम्बन्धी प्रतिवेदन र युक्रेनको २०१६ को आक्रमण उदाहरण दिँदै सतर्क रहन आग्रह गरेका छन् ।

मानवताको उज्यालो

त्यो दिन हामीले देख्यौं- ‘केही सेकेन्डको प्रणालीगत झट्काले कसरी नागरिक जीवन, अर्थतन्त्र, यातायात र स्वास्थ्यलाई प्रभावित पार्छ । यो केवल प्राविधिक दुर्घटना थिएन, यो डिजिटल युगमा हाम्रो संवेदनशीलता र असुरक्षा देखाउने गम्भीर चेतावनी थियो ।’

सायद सबैभन्दा गहिरो क्षण त्यो थियो, जब मेरो छोरीले मोबाइल देखाउँदै भनिन्, ‘बुबा, युट्युब चल्दैन !’ म भित्रैसम्म झस्किएँ । उसलाई म यति निर्भर बनाउँदै छु, जसको नियन्त्रण मसँग छैन।

तर, त्यस अँध्यारोमा पनि उज्यालो थियो- मानवताको उज्यालो । पानी माग्ने पर्यटक, निःशुल्क सेवा दिनेहरू, सहयोगी छिमेकी, अस्पताल चलाउने समर्पित कर्मचारी सबैले देखाए, अँध्यारोमा पनि मान्छेको आत्मा उज्यालो रहन्छ।

अब अवस्था सामान्य हुँदै गएको छ । विद्युत् सेवा बहाल भइसकेको छ, सञ्चार सेवा पुनः सुचारु भएका छन् । तर, त्यो दिनले दिएको सन्देश अझै मभित्र गुञ्जिरहेछ।

त्यो दिन, म एक मनोवैज्ञानिक झट्कासँग बाँचें । जब डिजिटल संसार बन्द हुन्छ, त्यति बेला हामी आफूलाई पुनः चिन्छौं । चेतनाको उज्यालो त्यो अँध्यारोमा टल्किएको दिन थियो । बत्ती त गयो, तर त्यो दिन हामी ब्युँझिएको दिन थियो । हामीले थाहा पायौं- प्रविधि असफल भए पनि हाम्रो आन्तरिक शक्ति र आत्मविश्वास नै महत्वपूर्ण हो।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक