Connect with us
Advertisement

त्रियुगा नदीको बाढीले बगायो बस

Published

on

२३ वैशाख, काठमाडौं। उदयपुरको चौदण्डीगढी नगरपालिका-५ स्थित सिवाई-बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीको बाढीले जन्ती पुर्‍याएर फर्किएको बस बगाएको छ ।

सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्‍याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक यात्रुबाहक त्रियुगा नदीमा आएको बाढीले बगाएको हो ।

इलाका प्रहरी कार्यालय सिवाईका असई जगदशप्रसाद मेहताले बस सोमबार राति ११ बजे त्रियुगा नदीमा आएको बाढीमा बगेर डुबेको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘यो बस सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्‍याएर फर्किने क्रममा थियो। तर दिउँसोदेखि नै पानी परेकाले त्रियुगा नदीमा बाढी आएको थियो। बस राति ११ बजे जन्ती पुर्‍याएर फर्कने क्रममा बीच नदीमै फस्यो।’

असई मेहताका अनुसार नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू सकुशल रहेका छन् । नदीमा डुबेको उक्त बस निकाल्न क्रेन बोलाइएको छ । न्‍यू प्रतिसारा यातायातद्वारा सञ्चालिक उक्त यात्रुबाहक बस धरान-बेल्टार रूटमा चल्‍ने गरेको असई मेहताले बताए ।

भाँचिएको पुल नबन्दा स्थानीयलाई बर्खामा सास्ती

चौदण्डीगढी नगरपालिका-५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमा बाढी आउँदा बर्खायाममा यहाँका जनताले प्रत्‍येक वर्ष सास्ती भोग्नु परेको छ । अझ रोचक त के छ भने, यही ठाउँमा बनेको पक्कीपुल उद्घाटनअघि नै भाँचिएपछि यस क्षेत्रका बासिन्दा बर्खायाममा सास्ती भोग्न बाध्य भएका हुन् ।

वर्षायाम नजिकिँदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरू ज्‍यान जोखिममा राखेर नदी तर्न बाध्‍य हुन्छन्। पुल नहुँदा चौदण्डीगढी-५ स्थित सिवाई-बेल्हाका बासिन्दा बढी समस्यामा परेका स्थानीय भास्कर चौधरी बताउँछन् । उनी भन्छन्, ‘जब-जब बर्खायाम सुरु हुन्छ, अनि हामीलाई त्रियुगा नदीको बाढीले तर्साउँछ। कतिबेला बाढी बस्तीमा पस्ने हो, थाहै हुन्न। हामी जहिले त्रासमै बाँचेका हुन्छौं।’

उनका अनुसार १२ वर्षपछि त्रियुगा नदीमा पुल बनेको थियो । तर उक्त पुल उद्‌घाटन नहुँदै भत्किएपछि यहाँका बासी (सिवाई-बेल्हा) ज्यान जोखिममा राखेर तर्न बाध्‍य हुने गरेको उनको भनाइ छ ।

हिउँदमा ह्युमपाइप राखेर अस्थायी बाटो बनाए पनि बर्खायाम सुरु नहुँदै नदीले आफ्नो रौद्र रूप देखाउन थाल्‍ने चौदण्डीगढी-५का वडाध्यक्ष तुसलसीराम ढकाल बताउँछन् । उनी भन्छन्, ‘दैनिक वर्षाको कारण नदीमा पानीको बहाव बढ्दै जान थालेपछि बेल्टार बजार आउजाउ गर्नुपर्नेहरू डराउँछन् । हामी बर्खायाम आउन नपाउँदै नदीमा वारपार गर्न सतर्क हुनुपर्छ। अझ मनसुन सुरु भएपछि त वारिका बासी वारि र पारिका बासी पारि नै बस्नुपर्ने बाध्यता छ।’

चौदण्डीगढीस्थित सिवाई-बेल्हा जोड्‍ने उक्त पुलको मर्मत तथा पुनःनिर्माणमा कसैले चासो नदेखाएको वडाअध्‍यक्ष ढकालको गुनासो छ। ‘हामीले पटक-पटक संघीय सरकारलाई गुहार मागेका हौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर पुल बनाइदिन आग्रह गरेका हौं। उहाँले संसदमा पनि आफ्नो भाषणमा पुल अब नयाँ डिजाइनमा बन्ने आश्वासन दिनुभयो। तर अहिलेसम्म यहाँ हेर्न पनि आएका छैनन्,’ उनले पीडा पोखे।

त्यसअघि संघीय सरकारको भौतिक मन्त्रालयमा भाँचिएको पुल बनाइदिन भौतिकमन्त्रीहरूलाई ज्ञापनपत्र बझाएर माग गरे पनि कुनै सुनुवाइ नभएको वडाध्यक्षले बताए ।

सिवाई-बेल्हा जोड्‍ने यो पुल २०६६ सालमा शिलान्यास भई २०७८ मा निर्माण सम्पन्न हुने चरणमा पुगेको थियो । तर  निर्माण सकिनै लागेको पक्की पुल त्रियुगाको बाढीले बगाएको थियो ।  बाढीले पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र अवस्थामा छ ।

यो पुलले उदयपुरलाई खोटाङको दक्षिणी भेग र भोजपुरको पश्चिमी भेगलाई तराई-मधेशसँग जोड्ने गर्छ । साथै उदयपुरकै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५, ९ र १० का करिब २० हजार जनसंख्यालाई नगरको केन्द्रसँग सिधा सम्पर्क गराउँछ। तर पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीलाई आउ-जाउ गर्न समस्या भएको छ ।

बाढीले क्षति पुगेको पुलमा २५/ २५ मिटरका १२ स्पान छन् भने दुई स्पान र एक पिलर धसिएको छ । पुलको लम्बाई ३ सय ७ मिटर र ५ मिटर चौडाइ रहेको छ ।

पुलको निर्माण महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गरेको थियो । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading

Banner

गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा

Published

on

मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।

बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।

Continue Reading

Banner

एनपीएलमा आज दुई खेल

Published

on

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक