Connect with us
Advertisement

सार्वजनिक यातायात दुर्दशा : गुन्द्रुक जसरी खाँदिन्छन् यात्रु

Published

on

भक्तपुरबाट कलंकी जाने बस चढेकी स्मिता श्रेष्ठलाई सहचालकले धकेलेको भन्दै झगडा पर्‍यो । सहचालकले ‘पछाडि सिट खाली छ’ भन्दै धकेलेपछि श्रेष्ठले प्रतिकार गरेकी थिइन्, लगत्तै झगडाको स्थिति भएको थियो ।यात्रु कोचाकोच हुँदा रोक्दै मान्छे हाल्दै हिँडेको बसमा भने जम्मा १६  सिट थियो । ‘बस चाहिँ यत्रो छ, मान्छे चाहिँ ६० सिटे बसमा हाल्ने जति हाल्छ, गुन्द्रुक जसरी खाँदेर हुन्छ त ?,’ स्मिताको पक्षमा बोल्ने अन्य यात्रुले सहचालकलाई गाली गरे ।

मंगलबार जडीबुटीमा घटेको उक्त घटना काठमाडौंमा सयौं यात्रुले भोग्ने एउटा प्रतिनिधि घटनामात्र हो । सार्वजनिक सवारीमा यात्रा गर्नेले बसमा यस्ता घटना दैनिकजसो भोग्नुपर्छ । टिकाथलीबाट महाराजगञ्ज चल्ने नेपाल यातायात चढेका ४७ वर्षीय भागिरथी बास्तोला भन्छिन्, ‘हामी सुरुमा चढ्ने, अन्तिममा ओर्लने भएर अन्तिम सिटमा बस्छौं तर यत्रो पुन्टे बस हालेको छ । त्यहाँ कोटेश्वर चोक पुग्दा मान्छे खाँदेर लास्टसम्म आइपुग्छ ।’

उनले यात्रु चाप हुने धेरै स्थानमा लामो र दुई तले बस हुनुपर्ने बताइन् । ‘कम्तीमा बस राख्दा अहिलेको ३ वटा चल्ने बस बराबर एउटै बस हुनुपर्‍यो नि, बस चाहिँ टेम्पोजक्रो छ, मान्छे चाहिँ कोचेर हुन्छ त ?,’ आत्रोशित मुद्रामा उनले भनिन् ।

छेउमै रहेका नेपाल यातायातका सहचालकले उनको तर्क काट्दै भने ‘अहिले हालेको बस त लामै छ, पुरानो त सबै सानै त छ नि! धन्य, यति नै चलायो भन्नु छैन, जो पनि गाली गर्न आउँछ,’ ती सहचालक रिसाउँदै भन्छन् ।

काठमाडौं उपत्यकामा चल्ने बस छोटा र कम सिटे हुँदा सार्वजनिक सवारी याक्रुले सास्ती बोक्दै आएको गुनासो व्यत्त गर्छन् । यात्रुले सार्वजनिक बस सुधार्दा धेरै निजी सवारी कम हुने बताउँदै आएका छन् ।

 

व्यवसायीलाई गाह्रो छ’

उपत्यकामा सार्वजनिक बस चलाउने यातायात व्यवसायी भने सरकारकै कारण व्यवसायीलाई छोटा बस हटाउन गाह्रो भएको बताउँछन् । अरनिको यातायात व्यवसायी संघ अध्यक्ष केदार क्षेत्रीले व्यवसायीले पुरानो छोटो गाडी हटाएर नयाँ बस राख्न नसक्ने बताए ।

‘अहिले चक्रपथमा बाहेक अन्य रुटमा ठूलो गाडीले यात्रु पाउन सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘४२ सिटे बस भएर के गर्नु ? मान्छे खोज्न गाडी रोकेर बस्नुपर्ने अवस्था आएपछि । अहिले पिक आवर बाहेक अन्य समयमा साना बस त भरिन सकेको छैन ।’

क्षेत्रीले गौंडा–गौंडामा स्टेसन राख्न नहुने भन्दै निश्चित स्थानमा राखे भने ठूलो बस राखेको महत्त्व हुने बताए । ‘५०–६० लाख लागतमा बस किनेर यात्रु पाउने ग्यारेन्टी नभएसम्म व्यवसायीले लामो बस हाल्नै सक्दैनन्,’ उनले भने ।

सहरी सार्वजनिक यातायात विज्ञ आशिष गजुरेल सरकारकै कारण ठूला सहरमा सार्वजनिक यातायात व्यवस्थित हुन नसकेको बताउँछन् ।

उनले निश्चित स्थान बस स्टेसन हुने र अन्तबाट सवारी हाल्ने, उतार्न नपाउने भएमात्र लामो बस सम्भव हुने बताए । ‘बस स्टेसनमा २ सय यात्रु बस्ने ठाउँ हुनुपर्छ, एउटा बसले टन्न यात्रु बोक्छ । आफ्नो समय पछि हिँड्छ, सोही ठाउँमा ओर्लने पनि त्यत्तिकै यात्रु हुन्छन् । २ मिनेटको बस स्टेसन छ । हाल्ने कि उतार्ने ? बस कम्पनीलाई कसरी नाफा हुन्छ र यसरी सधैं आधा गाडी मान्छे बोकेर ?’

सरकारले व्यवसायीलाई सार्वजनिक यातायातमा प्रोत्साहन गर्नुपर्नेमा हतोत्साहित गरेको उनको गुनासो छ । ‘साना सार्वजनिक यातायातबाट ठूलो यातायातमा जानुपर्नेमा यहाँ त उल्टो भइरहेको छ,’ उनले भने, ‘सरकारले सार्वजनिक यातायातमैत्री व्यवहार गर्न नसक्दा निजी सवारी बढिरहेको हो ।’

सरकारकै कारण समस्या

सहरी सार्वजनिक यातायात विज्ञ आशिष गजुरेल सरकारकै कारण ठूला सहरमा सार्वजनिक यातायात व्यवस्थित हुन नसकेको बताउँछन् ।

‘हाम्रो सरकारले व्यवसायीलाई सार्वजनिक यातायातका लागि मनलाग्दी छाडेको छ । जहाँ पनि रोक्ने, जति पनि मान्छे हाल्न दिन्छ, गतिलो बस स्टेसन नभएसम्म व्यवसायीले पनि लामा बस कसरी हाल्नु ?,’ उनले भने ।

उनले  काठमाडौंको रुट वर्गीकरण गर्दा नै प्राइमरी रुट, सेकेन्डरी र टर्सरी रुट वर्गीकरण गरिएको बताए । वर्गीकरण गर्दा प्राइमरी रुटमा ठूला सार्वजनिक सवारी र टर्सरीमा साना माइक्रो, टेम्पो चलाउने भनेर वर्गीकरण भइसकेको उनले बताए  । तर, उपत्यकाभित्र सबै सडकमा लामा बस चलाऔं भन्ने अवस्था पनि सडकको नभएको गजुरेलको तर्क छ ।

‘लामा सवारीलाई कतिपय स्थानमा मोड नपुग्ने समस्या छ । डबल डेकर त आकासे पुलले गर्दा सम्भव नै छैन । अहिले तत्काल गर्न सक्ने भनेको बस स्टेसनलाई निश्चित गराउने, केही घुम्तीलाई फराकिलो बनाएर लामो बस चलाउन सकिन्छ । यसका लागि सरकारले अपनत्व लिनुपर्ने हो, तर सरकारले चाहिने जति सार्वजनिक सवारी सुधार्न चासो दिएको जस्तो लाग्दैन,’ उनी भन्छन् ।

व्यवसायीले भने जस्तै अहिले लामो बस हाल्दा पिक आवर बाहेक अन्य समयमा खाली नै हिँड्नुपर्ने स्थिति रहेको भन्दै गजुरेलले यसलाई सुधार्न बस स्टेसन सुधार गरेर बस रोकिने समय, तालिका र रुटबारे राम्रो व्यवस्थापन गर्न आवश्यक  रहेको टिप्पणी गरे ।

गलत भएको छ, सुधार पनि हुँदैछ : सरकार

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको  यातायात व्यवस्था विभागले राजधानी तथा ठूला सहरमा सार्वजनिक यातायात सुधारमा काम गरिरहेको  जनाएको छ ।

विभागका अधिकारीहरू व्यवसायीले गरेको गुनासो गलत नभए तापनि सरकारले सार्वजनिक यातायात सुधार्न प्रयत्न गरिरहेको बताउँछन् ।

‘सरकारको नीति नै सार्वजनिक यातायातलाई प्राथमिकता दिने हो । सहरी क्षेत्रका लागि संघीय सरकारले यातायात प्राधिकरण गठन गर्न विधेयक नै बनाएको छ । उक्त विधेयक अनुसार काम हुँदै पनि छ,’ विभागका एक अधिकारी भन्छन्, ‘सार्वजनिक यातायातका लागि काम नै नगरेको भन्न चाहिँ मिल्दैन ।’

काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुबेर नेपालीले सहरी यातायातका दृष्टिकोणले काठमाडौंमा चल्ने सार्वजनिक बस अधिकांश अनुपयुक्त रहेको बताए ।

‘हाम्रो बस छोटा मात्रै छैनन्, सहरी यातायातमा हुनुपर्ने सिटको संरचना पनि मिलेको छैन । नेपालको सार्वजनिक सवारीमा त मिस म्यानेजमेन्ट नै देखिन्छ,’ नेपालीले भने ।

उनले अहिलेका सहरी सार्वजनिक यातायात व्यवसायी नाफामा प्रतिस्पर्धा गर्ने हुँदा मनलाग्दी भइरहेको बताए । ‘सहरी यातायात सधैं सेवमूलक हुनुपर्छ । बरु, राज्यले सहयोग गरेर व्यवस्थापन कडाइ गर्नुपर्छ । हाम्रो व्यवस्थापन पक्ष राम्रो नहुँदा सार्वजनिक यातायातमैत्री बस नभएको हो,’ उनले भने ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

Published

on

काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो ।

आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते चालकलाई साेमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।

प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

Continue Reading

Banner

आज र भोलि पनि केही स्थानमा भारी वर्षा हुने

Published

on

आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ।

आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

यो पनि पढ्नुहोस
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह
यसैगरी, असोज ७ गते दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

असोज ७ गते दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ७ गते राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

रातिको समयमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

महाशाखाका अनुसार असोज ७ गते राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

Continue Reading

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक