Connect with us
Advertisement

ओली फर्किए, भण्डारी झापा–मोरङ दौडाहामै

Published

on

विराटनगर — सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मोरङको कटहरीमा निर्माण भएको एक अस्पताल उद्घाटन गरेर शनिबार हेलिकोप्टरमार्फत काठमाडौं फर्किए । तर, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भने अझै झापा–मोरङका विभिन्न कार्यक्रममा सक्रिय रहिरहेकी छन् ।

बिहीबार विराटनगर ओर्लिएकी भण्डारी झापा र मोरङका कार्यक्रममा व्यस्त छिन् । उनको तालिका सोमबारसम्म व्यस्त छ । विराटनगर ओर्लिएपछि उनी मोरङका विभिन्न पार्टी कार्यकर्तासँग भेटघाट र विविध कार्यक्रममा सहभागी भइरहेकी छन् । शुक्रबार उनले विराटनगरमा पालिकाका उपप्रमुख–उपाध्यक्षहरूको राष्ट्रिय भेलाको उद्घाटन गरेकी थिइन् ।

शनिबार उनले झापाको बिर्तामोडस्थित देवी माविमा एमाले विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । आइतबार नारी सञ्चार गृहद्वारा आयोजित कार्यक्रममासमेत उनी सहभागी भइन् ।

भण्डारी औपचारिक कार्यक्रम मात्र होइन, अनौपचारिक भेटघाट र स–साना भेला तथा छलफलमा पनि सक्रिय देखिएकी छन् । विशेषगरी झापाका एमाले नेता तथा कार्यकर्तासँग उनले आन्तरिक बैठकसमेत गरेकी छन् । ‘झापाका ओली निकट नेता–कार्यकर्ताहरूसँग पूर्वराष्ट्रपतिज्यूले विशेष रूपमा भेटघाट गर्नुभएको थियो,’ एक नेताले बताए ।

झापामा ओली निकट मानिने प्रदेश सांसद चिन्तन पाठक, पूर्व प्रदेश सांसद वसन्त बानियाँ, झापा एमालेका उपाध्यक्ष शिव ढुंगेलजस्ता नेताहरूसँग उनले भेटघाट गरेकी थिइन् । कोशीका पूर्व मुख्यमन्त्री शेरधन राई बिहीबारदेखि नै उनीसँगै छन् । विमानस्थलमा स्वागत गर्न देखि झापा–मोरङमा आयोजित विभिन्न सभा, सम्मेलन र छलफलमा राई सहभागी छन् ।

आइतबार विराटनगर फर्किने क्रममा भण्डारीले झापाको शिवगञ्जस्थित झापा इनर्जीको उत्पादन केन्द्र अवलोकन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि विराटनगर फर्केर सोमबार मोरङको इटहरास्थित पुर्ख्यौली घर अवलोकन गर्ने र त्यसपछि काठमाडौं फर्किने तयारी रहेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।

ओलीनिकट एमालेका एक नेताले भने, ‘पार्टीका सबै तहमा संगठन बलियो बनाउन अध्यक्ष ओली व्यापक दौडाहाको तयारीमा हुनुहुन्छ । पूर्व राष्ट्रपतिज्यूको सक्रियतालाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।’

एमालेभित्र केही नेताहरू भण्डारीलाई सम्भावित भावी अध्यक्षको रूपमा पनि हेरिरहेका छन् । उनको दौडाहाले राजनीतिमा पुनः सक्रिय बन्ने भण्डारीको मनसाय सतहमै देखिन थालेको छ ।

प्रकाशित : जेष्ठ २५, २०८२ १०:२१

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Published

on

उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको  ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ ।  घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।

Continue Reading

Banner

सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने

Published

on

झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।

गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

Continue Reading

Banner

एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने

Published

on

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।

मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।

बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक