Connect with us
Advertisement

एक सातामा १६ जनामा कोरोना संक्रमण पुष्टि, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

Published

on

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले पछिल्लो एक सातामा भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरूमा सङ्क्रमण देखिएकाे हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एक/एक जनामा सङ्क्रमण देखिएको हो । सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए । जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्रिनगर नाकामा कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांश भारतको दिल्लीबाट घर फर्किएका व्यक्ति हुन् । यसले सुदूरपश्चिममा कोरोनाको जोखिम उच्च देखाएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

नाकामा रहेका हेल्थ डेस्कहरुमा पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या हुने गरेको बताइएको छ । विभागले २०० कीट पठाएसँगै प्रदेशमा अहिले ३७० कीट मात्रै उपलब्ध रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कञ्चनपुरको गड्डाचौकी नाकामा १०० कीट मङ्गलबार उपलब्ध भएपछि परीक्षण सुरु गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले मङ्गलबारदेखि नाकामा परीक्षण सुरु गरिएको बताए । उनकाअनुसार मङ्गलबार गड्डाचौकी नाकामा सात जनाको परीक्षण गरिएको थियो ।

स्वास्थ्यकर्मीहरूले हेल्थ डेस्कमा भारतबाट फर्किएकाहरूको स्वास्थ्य अवस्था र लक्षणका बारेमा सोधपुछ तथा मलेरिया, डेङ्गीलगायतका अन्य परीक्षण र परामर्श गर्ने गरेका छन् । (रासस)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

Published

on

काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो ।

आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते चालकलाई साेमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।

प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

Continue Reading

Banner

आज र भोलि पनि केही स्थानमा भारी वर्षा हुने

Published

on

आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ।

आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

यो पनि पढ्नुहोस
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह
यसैगरी, असोज ७ गते दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

असोज ७ गते दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ७ गते राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

रातिको समयमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

महाशाखाका अनुसार असोज ७ गते राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

Continue Reading

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक